भर्खरै :

युरोपमा कोभिड– १९ प्रतिरोध खोप अपुग नेताहरू सबै खोपलाई खुला गर्ने सोचमा

ब्रसेल्स, ४ फेब्रुअरी । युरोपेली सङ्घ (ईयू)को परीक्षण उत्तीर्ण गरेका कुनै पनि उत्पादकको कोभिड– १९ प्रतिरोधी खोपलाई युुरोपेली नेताहरूले खुला गर्ने भएका छन् ।
युरोपेली आयोगका सभापति उरूसुला भोन डेर लेएनले मङ्गलबार रूस र चीनका कोरोना भाइरसप्रतिरोधी खोपले ‘यदि उनीहरूले सबै तथ्याङ्क देखाए मात्र’ प्रयोगको लागि अनुमति प्राप्त गर्ने बताएकी थिइन् ।
“यदि चिनियाँ उत्पादकहरूले सबै तथ्याङ्क देखाए मात्र उनीहरूलाई अन्य उत्पादकलाई जस्तै सशर्त बजार दिन सकिने छ”, ईयूका सांसदहरूको एउटा बैठकमा भोन डेर लेएनले भनिन् ।
आयोगकी प्रवक्ताले मङ्गलबार खोपको लागि ईयूसँग सम्झौताको एउटा शर्त भनेको उत्पादकले ईयूभित्रै देशमा खोप उत्पादन गरिनुपर्ने बताएकी थिइन् ।
औषधि उत्पादकहरूले अपेक्षा गरेभन्दा निकै धिमा गतिमा खोप उपलब्ध गराएको हुनाले युरोपले यतिबेला खोपको अभाव सामना गरिरहेको छ ।
ईयूले हालसम्म ६ वटा खोप आपूर्तिकर्ताहरूसँग सम्झौता गरिसकेको छ । तर, उसले संरा अमेरिका–जर्मनी संयुक्त लगानीको पिफाइजर र बायोएनटेक, बेलायती–स्वीडीस बहुराष्ट्रिय अस्ट्राजेनेका र संरा अमेरिकाको मोडर्ना खोपलाई मात्र स्वीकृति प्रदान गरेको छ ।
जर्मनीकी चान्सलर एन्जेला मर्केलले मङ्गलबार ईयूमा खोपको आपूर्तिमा व्यवधान देखिएको हुनाले कोभिड–१९ का सबै खोपलाई स्वागत गर्ने बताएकी थिइन् ।
“सर्वियामा सबभन्दा छिटो खोप अभियान सञ्चालन भइरहेको छ । सर्वियाले चिनियाँ खोप प्रयोग गरिरहेको छ । युरोपेली औषधि विभाग (ईएमए) बाट अनुमोदनको लागि प्रयास गरिरहेको कुनै पनि खोपलाई हामीले हार्दिक स्वागत गर्नेछौँ”, मार्केलले एउटा टेलिभिजन कार्यक्रममा भनिन् ।
चान्सलरले गर्मी यामको अन्त्यसम्मममा जर्मनीका सबै नागरिकलाई दुई मात्राको खोपमध्ये एक मात्राको खोप लगाइने बताइन् । जर्मनीमा राष्ट्रिय खोप अभियानमा हालसम्म कुनै समस्या आइपरेको छैन ।
मर्केलकै कुरामा लय मिलाउँदै फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले युरोपेली र फ्रान्सेली स्वास्थ्य कार्यालयले अनुमोदन गरेको कुनै पनि खोपलाई फ्रान्सले स्वागत गर्ने बताए ।
खोपसम्बन्धी निर्णय राजनीतिक नभई वैज्ञानिक आधारमा गरिने माक्रोँले भने । स्पेनका स्वास्थ्य मन्त्री कारोलिना डारियासले बुधबार स्पेनले इएमएले अनुमोदन गरेलगत्तै रूसी स्पुतनिक पाँचौं कोरोनाभाइरस खोपको प्रयोगको लागि खुला गरिने बताए ।
हालसम्म ईयूका सदस्यहरूमध्ये हंगेरी मात्र चीनको साइनोफार्म कोभिड– १९ खोप र रूसी खोपलाई प्रयोगको अनुमति दिने देश बनेको छ ।
ईयूको बाल्कन क्षेत्रको साझेदार सर्वियाले रूस र चीनका खोपको प्रयोगको लागि अनुमति दिइसकेको छ । जनवरी महिनाको मध्यसम्ममा चीनको साइनोफार्मबाट दसौँ लाख मात्रा खोप सर्वियाले प्राप्त गरिसक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *