भर्खरै :

दस वर्षपछिको लिविया

त्रिपोली, १७ फेब्रुअरी । लिवियाको राजधानी त्रिपोलीमा सिलाई पसल चलाइरहेका ४८ वर्षका मोहम्मद तिशोर बितेका केही दिनदेखि नियमित सहिद चोकमा पुग्ने गरेका छन् ।
लिवियाका नेता मोअम्मर गद्दाफीविरुद्धको विद्रोहको दसौँ वार्षिकोत्सव नजिकिएसँगै सहिद चोकमा झन्डा र नारा लेखिएका ध्वजाहरू सजाइएका छन् ।
“यो ठाउँको ठूलो अर्थ छ । धेरै लिवियाली जनताको भावनासँग यो ठाउँ जोडिएको छ”, सहिद चोकको बेन्चमा बस्दै उनले भने ।
“दस वर्षअघि जब लिविया जनता सडकमा आएका थिए, उनीहरूको नारा वा मनसाय अरू केही थिएन, स्वतन्त्रता र सबैको लागि समानता मात्र थियो । ती सबै लक्ष्य प्राप्त गर्न हामीले अझै लडाइँ अघि बढाइरहेका छौँ”, उनले भने ।
सन् २०११ को फेब्रुअरीमा तत्कालीन गद्दाफी सरकारविरुद्ध धेरै सङ्ख्यामा लिवियाली जनता सडकमा उत्रेका थिए । त्यही सडक सङ्घर्ष सशस्त्र द्वन्द्वमा परिणत भएको थियो ।
त्यति बेलादेखि लिविया लगातार हिंसा, राजनीतिक विभाजन र आर्थिक स्थायित्वबाट प्रभावित छ ।
“त्यही अवस्था छिचोल्दै हामी यहाँ आइपुगेका छौँ । विविध राजनीतिक, भौगोलिक र सामाजिक आबद्धताबीच सबै जनताबीच राष्ट्रिय मेलमिलाप खोजिरहेका छौँ”, तिशोरले भने ।
“हामी बलियो लिवियाली समाज चाहन्छौँ जसलाई राजनीतिले विभाजन गर्न नसकोस् । हामी जनताले क्रान्तिको समर्थन वा विरोध जे गरेको भए पनि आफ्नो अधिकार निर्भय उपभोग गर्न पाउने बन्दोबस्त चाहन्छौँ”, उनले भने ।
इब्तिसम डारडोरका छोरा पनि गद्दाफीको विरोधमा भएको आन्दोलनमा सहभागी भएका थिए । डारडोर पनि लिवियालाई जोगाउने एउटै मात्र बाटो भनेको राष्ट्रिय मेलमिलाप भएको विश्वास गर्छिन् ।
“फेब्रुअरी १६ (२०११) को रात सहिद चोकमा बाहिर निस्कनेमा मेरो छोरो पनि थियो । ऊ हजारौँ युवाहरूसँगै क्रान्तिको पक्षमा नाराबाजी गरिरहेको थियो”, दोडरले भनिन् ।
गहभरि आँसु राखी उनले आफ्नो छोरो अब्दुल्लाह त्यही हिंसामा मारिएको सुनाइन् ।
‘राष्ट्रिय मेलमिलाप–शान्ति र सहअस्तित्वको बाटो’ लेखिएको प्लेकार्ड बोकेकी उनले लिवियालीहरूबीचको द्वन्द्व अन्त्यको लागि राष्ट्रिय मेलमिलाप आवश्यक भएको बताइन् ।
“क्रान्तिको सुरुआतमा मुअम्मर गद्दाफीको समर्थन गर्ने जो कोही देख्दा पनि मेरो पारो तात्थ्यो । किनभने उनीहरू सबैलाई म मेरो छोरोको हत्यारा सोच्थेँ । तर, आज म उनीहरूलाई क्षमा गर्दै छु किनभने घृणाले मेरो छोरा फिर्ता ल्याउन सक्दैन”, दाडोरले भनिन् ।
उनले नयाँ सरकारले राष्ट्रिय मेलमिलापमा पुग्दो ध्यान दिनेमा विश्वास गरिन् र सबै विस्थापितहरू सहरमा फर्किन सक्ने आशा व्यक्त गरिन् ।
युद्धको कारण कायल भएको देशमा हालै राजनीतिक प्रतिक्रियाले केही मूर्त गति लिएको छ ।
सन् २०२० को अक्टोबरमा लिवियाली राजनीतिक दलहरूले पूर्वी क्षेत्रमा आधारित सेना र त्रिपोलीभित्र तथा वरपरका क्षेत्रमा रहेका संयुक्त राष्ट्र सङ्घको साथ प्राप्त सरकारबीच युद्ध अन्त्य गर्न स्थायी युद्धविराम सम्झौतामा सहमति गरेका थिए ।
यसै महिनाको सुरुमा लिवियाली राजनीतिक संवाद मञ्चले देशको नयाँ अन्तरिम कार्यकारी निकाय मनोनयन गरेको थियो । सर्वदलीय सहमतिको आधारमा सो निकायमा मनोनयन गरिएको थियो । सो निकायले सन् २०२१ को डिसेम्बरमा हुने आमनिर्वाचनको तयारी गर्नेछ । लिवियाका राजनीतिक शक्तिहरूबीच भएका यस्ता सहमतिलाई संयुक्त राष्ट्र सङ्घले ‘कोशेढुङ्गा’ को संज्ञा दिएर स्वागत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *