भर्खरै :

उपत्यकाका तीन सहर र सडक दुर्घटनाका प्रमुख कारणहरु

नेपालमा विकासको रूपमा सबैले सडकलाई लिने गरेका छन् । सडक भयो भने विकास हुने र सबै कुराको परिपूर्ति हुने सपना राजनीतिक दलका नेता, कार्यकर्तादेखि सरकारसम्मले बाँड्ने आश्वासन हो । जबजब निर्वाचन आउन थाल्छ सडक, विद्यालय, पाटी पौवा निर्माण र योजनाका कुराहरू यत्रतत्र सुन्न पाइन्छन् । नेपाल सरकारको स्वीकृति नै नलिई डाँडापाखा सबैतिर जथाभावी बाटो खन्ने कार्यले गर्दा बर्सेनि ठूलठूला दुर्घटना हुनपुगेको हामीले देख्दै र भोग्दै आइरहेकै छौँ । सडक लेन जथाभावी खनिँदा पूरै बस्तीमात्र होइन प्राकृतिक वनस्पतिहरूसमेत चोरी निकासी हुनपुगेका छन् । हिमाली तथा पहाडी क्षेत्रहरूमा खनिएका कच्ची बाटोमा सवारी हुइँक्याईंदा बर्सेनि थुप्रैले ज्यान गुमाएका छन् भने कैयन् नागरिकहरू अङ्गभङ्ग भएका छन् । केन्द्रको अधिकार स्थानीय निकायमा पुगिसकेको अवस्थामा समेत स्थानीय निकायहरूले सडक विस्तार र व्यवस्थापनमा खासै चासो देखाएको देखिँदैन । विकास निर्माणमा अधिकांश बजेट छुट्याई सडक विस्तार गरिए तापनि सडक छेउमा डे«न, सङ्केत चिह्नहरू राखिएका हुँदैनन् । धाप र पहिरो जाने जोखिमयुक्त क्षेत्रहरूमा समेत सडक निर्माण गरिएको देखिन्छ । नेपाल सरकारका विज्ञ, प्राविधिकलगायतले सडक खन्न हुने वा नहुने विषयको स्थलगत अध्ययन, अनुसन्धान गरेर मात्रै सडक निर्माण गर्नु उपयुक्त हुने हुँदाहँुंदै पनि हतपतको काम लतपत भनेझैँ विकासको नाममा हतारोमा सडक निर्माण कार्य हुनु दुर्भाग्य नै मान्नुपर्दछ ।
राजधानीलगायतका महत्वपूर्ण क्षेत्रहरूको भित्री सडक पुनर्निर्माण तथा मर्मत सम्भार कार्य पनि तीव्ररूपमा अघि बढिरहेको हामीले देख्दै आएका छौँ । विशेषगरी काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रहरूमा मर्मत भइरहेका सडकहरूले गर्दा केही समयका लागि सर्वसाधारणहरूले दुःख र हैरानी व्यहोरिरहेका देखिन्छन् । स्थानीय निकायहरूले आफ्नो क्षेत्रलाई कसरी सुरक्षित यात्रा गराउने, दुर्घटना न्यूनीकरण गर्नेजस्ता विषयलाई प्राथमिकता राख्नुपर्दछ । काठमाडौँ र ललितपुरमा सडकलाई चौडा पारिए तापनि ट्राफिक जाम घट्नसकेको देखिंदैन । ती चौडा सडकहरूमा नगरपालिकाले आय–आर्जन गर्नका लागि सडकको छेउमा पार्किङ्ग राखिएको दृश्य देखिरहेका छौँ । त्यतिमात्रै नभई स–साना चोकहरूमा समेत अव्यवस्थित रूपमा पार्किङ गरिरहेको देखिन्छ । सडक विस्तारको लागि स्थानीयहरूको घर घडेरी खाली गराएर उठीबास लगाउने र तिनै स्थानहरूमा पार्किङ्ग राख्नु के उपयुक्त हो ? ललितपुर महानगरपालिकाले सहरका मुख्य र केही भित्री सडकहरूमा साइकल लेन विस्तार गरेको छ भने सडक बत्ती, तार व्यवस्थापन, सरसफाइतर्फ पनि ध्यान दिएको पाइन्छ । काठमाडौँ महानगरपालिकाले तार भूमिगत गर्ने, सरसफाइ गर्ने, फोहोर व्यवस्थापन गर्ने, सडक निर्माण गर्नेजस्ता महत्वपूर्ण कार्य अगाडि बढाएको देख्नसकिन्छ ।
भक्तपुर नगरभित्रका क्षेत्रहरूमा इँटा बिच्छ्याइएको र ठूला सवारी प्रवेशमा नियन्त्रण गरिएकै कारण सडक बिग्रिएको देखिंँदैन । अनुशासन, मितव्ययिता, पारदर्शिता, सुशासन स्थापित भएको खण्डमा विकास निर्माण कार्यले समेत प्राथमिकता दिने कुरा भक्तपुर नगरपालिकाले सन्देश दिएको देखिन्छ । भक्तपुर नगरपालिकाले सडक निर्माण गर्दा खेतीयोग्य जमिनलाई प्रयोग गर्न नदिने निर्णय गर्नु सकारात्मक मान्नुपर्दछ । वामपन्थी दल नेपाल मजदुर किसान पार्टीले लामो समयदेखि जिम्मेवारी पाएको भक्तपुर नगरपालिका विकासको नमुना सहरको रूपमा स्थापित भएको देख्न सकिन्छ । भाषा, साहित्य, संस्कृतिले धनी नगरपालिकाको रूपमा रहेको भक्तपुर नगरपालिकाले श्रमजीवी, किसान, महिला, जनजातिलगायतलाई प्राथमिकता दिँदै स्थानीय नागरिकहरूको चाहना र मागबमोजिम विकास निर्माणको कार्य गर्दै आइरहेको देख्नसकिन्छ । अन्यत्रको राजनीतिले खासै असर नगर्ने भक्तपुर नगरपालिकाले स्थानीयहरूको शिक्षा, स्वास्थ्य र सरसफाइलाई उच्च स्थानमा राख्दै आइरहेको देख्न सकिन्छ । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको सहर रहेको भक्तपुर नगरपालिका स्वच्छ, सफा, हराभरा र कलाकृतिले परिपूर्ण रहेकै कारण आन्तरिक तथा बाह्य पर्यटकहरूको चाप बढेको देख्नसकिन्छ । उपत्यकाका तीनै सहरहरूमा पर्याप्त मात्रामा ट्राफिक बत्तीहरू व्यवस्थापन नहुनाले घण्टौँ जाममा बस्नुपर्ने बाध्यता विगतदेखि हालसम्म घट्न सकिरहेको देखिंदैन । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक रहेको देखिन्छ ।
नेपालमा विशेषगरी दसैँ, तिहार, छठजस्ता पर्वहरूमा सडक दुर्घटनाहरू बढी हुने गरेको तथ्याङ्क ट्राफिक प्रहरीले समय–समयमा सार्वजनिक गरेको पाइन्छ । सरकारले सडकहरूको निर्माण कार्य र समयमै स्तरोन्नति समयमै सम्पन्न गर्न नसक्दा दिनहुँजसो सवारी दुर्घटनाहरू हुने गरेका छन् । सडकहरू जीर्ण, खाल्डाखुल्डी भएका कारण पनि सडक दुर्घटनाहरू बढ्दै गइरहेका छन् । अझै पनि नेपालका कैयौँ स्थानहरूमा सडक सञ्जालको योजनाबद्घ विकास हुन नसक्दा यातायातको सुविधाबाट नागरिकहरू वञ्चित हुनपुगेका छन् । राजधानीभित्रकै राम्रा र चिल्ला सडकहरूमा समेत दिनहुँ हुने दुर्घटनाबाट कैयौँ नागरिकहरूले ज्यान गुमाएका छन् भने कैयौँ नेपालीहरू अङ्गभङ्ग भई अपाङ्ग जीवन बिताउन बाध्य भएका छन् । नेपालमा बर्सेनि सडक दुर्घटनाबाट थुप्रै नागरिकहरूले ज्यान गुमाउन नपरोस् भनेर सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नेपाल सरकारले समय–समयमा विभिन्न कार्यक्रमहरू ल्याए तापनि त्यति प्रभावकारी हुन सकिरहेको देखिँदैन । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार आ.व. २०७५÷०७६ मा ८९१८ दुर्घटना भएको तथ्याङ्क देखिएको छ । ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीले ६७ प्रतिशत, यात्रुको गल्तीले ४ प्रतिशत, गलत र जथाभावी ओभरटेकबाट ४ प्रतिशत, तीव्रगतिका कारण १५ प्रतिशत, यान्त्रिक गडबडीका कारण ४ प्रतिशत र अन्य कारणहरूमा ६ प्रतिशत रहेको जनाएको छ । मुख्यतया सडक दुर्घटना हुने प्रमुख कारणहरूमा ट्राफिक नियम पालना नगर्नु, मौसम, सडकको भौतिक अवस्था, यान्त्रिक कारण, मानवीय त्रुटी आदि कारण मुख्यरूपमा रहेका छन् । सरसरती हेर्दा सडक दुर्घटनाका मुख्य कारक तत्वहरूलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छः
१. यान्त्रिक कारण
सवारी साधनहरूमा प्रयोग हुने नक्कली र कमसल पार्टपुर्जा, कमसल ल्युब्रिकेन्ट प्रयोगको अलावा चालकहरूले सवारी चलाउनुपूर्व आफ्नो सवारी साधनको क्लच, ब्याट्री, चक्काका नटहरू, टायरको हावा, पानीको चेकजाँच नगरी सवारी चलाउँदा दुर्घटना हुने गरेको पाइएको छ । सवारी ऐन २०४९ मा सवारी साधनहरू परीक्षण गरी चलाउनुपर्ने र निश्चित अवधिपश्चात् परीक्षणपछि मात्र सडकमा गुडाउन अनुमति दिनुपर्ने प्रावधान रहे तापनि सार्वजनिक तथा निजी सवारी साधनहरू बिनापरीक्षण सडकमा चलाइरहेको हामी पाउँदछौँ । यातायात विभागले सार्वजनिक सवारी साधनहरूको परीक्षण गर्ने जिम्मा पाए तापनि व्यवहारमा लागू भएको छैन । सरकारले दिने हरियो स्टिकरसमेत सवारी साधनहरूको चेकजाँचबिनै पाइनुले यातायात व्यवस्था विभागमा भएको विकृतिको झल्को अवश्यै दिन्छ ।
२. सडकको भौतिक अवस्था र पूर्वाधार
नेपालको भौतिक अवस्था हेर्ने हो भने हिमाल, पहाड र तराई मिलेर बनेको छ । हिमाल र पहाडका अधिकांश सडकहरू घुमाउरो, साँघुरो र उकाली, ओराली र घुम्तीहरू रहेका छन् । एउटै पडाडमा धेरै फन्का लगाउँदा चालकहरूलाई रिङ्गटा लाग्ने, थाक्ने र सन्तुलन गुमाउने र साना सडकहरूमा सवारी साधनहरूलाई साइड दिँदा सवारी साधनहरू ठोक्किएर दुर्घटना हुने गर्दछन् भने सडकका मोडहरू, ओराली, उकाली बाटोमा ब्रेकले साथ नदिने, स्टेरिङ्ग नउल्टने कारण पनि दुर्घटना हुने गर्दछ । त्यस्तै गरी सडकको स्तरोन्नति नभएका ठाउँहरूमा जबरजस्ती सवारी चलाउनु, पहाडी सडकहरूमा कालोपत्रे नहुनु, धेरै मोडहरू तथा घुम्तीहरू हुनु र पर्याप्त मात्रामा ट्राफिक सङ्केतहरू नहुनु, त्यस्ता सडकहरूमा चालकहरूले तीव्रगतिमा सवारी चलाउँदा दुर्घटनाहरू हुने गरेका छन् । त्यस्तै गरी सडकमा सवारी साधनअनुसार लेन फरक नहुनु, सडक छेउमा अव्यवस्थित अतिक्रमण गरी बनाइएका संरचनाहरू, जथाभावी पार्किङ्गले गर्दा पनि दुर्घटना भइरहेका छन् ।
३. ट्राफिक नियमको पालना नगर्नु
नेपाल सरकारले सडकहरूमा पर्याप्त मात्रामा ट्राफिक लाइटको व्यवस्था गर्नसकेको छैन भने भएका सङ्केत चिह्नहरूसमेत मर्मत गर्न सकिरहेको छैन । सडकमा ट्राफिक प्रहरीको सङ्केतअनुसार सवारी साधन चलाउनुपर्ने बाध्यता रहिआएको छ । उपत्यका भित्रिने र बाहिरिने स्थानहरूमा समेत ट्राफिक चिह्नहरूको अभावका कारण सडक दुर्घटना भइराखेका छन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी चालकहरूले अनिवार्यरूपमा विविध ट्राफिक नियम र लेन अनुशासन पालना गराउने नियम ल्याए तापनि व्यवहारमा लागू हुन
सकिरहेको छैन । ट्राफिक प्रहरीको निर्देशन अवज्ञा गर्दै सवारी साधन चलाउने गलत प्रवृत्तिले गर्दा सवारी दुर्घटनामा वृद्घि हँुदै गइरहेको छ । मापसे चेकका अलावा ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू समय–समयमा ल्याई जनचेतना जगाउने कार्यक्रमहरू गरिरहेको देखिन्छ । सडक दुर्घटना कम गराउने दायित्व सडक प्रयोगकर्ता, सवारी चालक सबैको भएकोले सबै सचेत र सतर्क हुनसकेको खण्डमा मात्रै दुर्घटना न्यूनीकरण हुनसक्दछ । नेपालका कतिपय स्थानहरूमा ट्राफिक प्रहरीको पहुँच नपुग्दा सवारी चालकहरूले जथाभावी सवारी साधन चलाउँदा दुर्घटना हुने गरेको छ । नेपालमा सबैभन्दा बढी दुर्घटना मोटरसाइकल हुने गरेको छ भने सार्वजनिक सवारी साधनहरूसमेत दुर्घटना हुने अग्रपङ्क्तिमा रहेको छ । सरकारले सवारी अनुमति पत्र प्रदान गर्ने कानुन फितलो भएका कारण जस्तोसुकै व्यक्तिले पनि लाइसेन्स पाएकै कारण दुर्घटना बढ्न गएको कुरालाई नकार्न सकिन्न । सीट बेल्ट नबाध्ने, हेल्मेट नलगाउने, मापसे गर्नेलाई हदैसम्मको कारबाही गर्नसकेको खण्डमा र सवारी साधनको गति नियन्त्रण गर्न सकिएको खण्डमा दुर्घटना न्यूनीकरण गर्नसकिन्छ । नेपाल सरकारले सडकअनुसार ट्राफिक प्रहरीहरूको सङ्ख्यामा समेत वृद्घि गर्नुपर्ने आवश्यकता रहेको छ ।
४. तीव्रगति
सवारी साधन चलाउँदा सीमित गतिमा चलाउनुपर्दछ । नक्कली लाइसेन्स बोकेका र कलिला उमेरका सहचालकहरूले सवारी साधन चलाउँदा दुर्घटना हुने गरेको पाइएको छ । राजधानीका साँघुरा सडकहरू र भर्खरै बनेका सवारी साधन चलाउन अनुमति प्राप्त नभएका सडकहरूमा तीव्रगतिमा सवारी साधन चलाउँदा दुर्घटना हुने गरिएको पाइएको छ । राजधानी बाहिरिने र भित्रिने राजमार्गहरूमा जथाभावी ओभरटेक गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि सवारी दुर्घटना हुने गरेको पाइएको छ । तीव्रगतिमा सवारी साधन कुदाउँदा जेब्राक्रसबाट बाटो पार गर्ने सर्वसाधारणहरू, बाटो छेउबाट हिँडिरहेका बटुवाहरू अनाहकमै ज्यान गुमाउन पुगेका छन् भने तीव्रगतिकै कारण ट्राफिक सङ्केतमा रातो बत्ती बल्दासमेत सवारी साधन रोक्न नसकी अगाडिका सवारी साधनहरूमा ठोक्किन पुगी जनधनको क्षति हुने गरेको पाइएको छ । राजमार्ग बाहिर जाने सवारी साधनहरूमा दुई जना चालकको व्यवस्था गर्नु भन्ने सरकारी नियमलाई समेत लत्याउने र राजमार्गका सडकहरूमा तीव्रगतिमा सवारी हाँक्ने र एकले अर्कालाई उछिन्ने अस्वस्थ प्रतिस्पर्धाले गर्दा सडक दुर्घटना बढ्ढै गइरहेको छ ।
५. मौसम तथा अन्य कारणहरू
नेपालमा हिउँद ऋतुमा विशेषगरी तराईका विभिन्न स्थानहरूमा सडकै नदेखिने गरी लाग्ने बाक्लो हुस्सुका कारण राजमार्ग र सहायक मार्गहरूमा सवारी दुर्घटना हुने गरेका छन् । वर्षात्याममा ढलको उचित व्यवस्थापन हुननसक्दा सडकहरूबाटै पानी बहने र खाल्डाखुल्डी नदेखिने हुँदा सवारी चालकले सडक नै ठम्याउन कठिन हुने कारणले गर्दा सडक दुर्घटना हुने गरेका छन् । कतिपय स्थानहरूमा पहिरो आई सडक अवरूद्घ हुने र वैकल्पिक बाटो प्रयोग गर्दा सडक माथिबाट ठूल्ठूला चट्टानहरू झर्न गई दुर्घटना हुने गरेका छन् । मौसममा आउने परिवर्तनले गर्दा बाक्लो हुस्सु, शीतलहर र पानी परेको अवस्थामा सवारी गति नियन्त्रण गरी सवारी नचलाउँदा सडकमा चिप्लिएर दुर्घटना हुने तथ्य ट्राफिक प्रहरीले जनाएको छ ।
६. मानवीय कारण
सवारी चालकहरू मानसिक तनावमा रही लामो दूरीसम्म सवारी चलाउँदा थकान र निन्द्रामा रहनुका कारण आँखाको दृष्टि कम हुन गई दुर्घटना हुने गर्दछ । त्यस्तै गरी कम उमेरमै सवारी चालक अनुमति पत्र पाउनु, मोबाइल प्रयोग, अस्वस्थ प्रतिस्पर्धा, देखासिकी, लापरबाहीसँग सवारी साधन चलाउनु, सडकको अवस्थाबारे जानकारी नहुनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारी साधनको बारे प्राविधिक ज्ञान नहुनु, ट्राफिक चिह्नहरू र ट्राफिक नियमको कार्यान्वयन नगर्नु सडक दुर्घटनाको मुख्य कारण हो ।
७. सडकमा जथाभावी रूपमा छाडा गाईवस्तु, कुकुर, घरपालुवा जनावरहरू छोड्दा सडक दुर्घटना हुने गरेको पाइन्छ । तिनको उचित व्यवस्थापन सम्बन्धित निकायले समयमै गर्न सकिएको खण्डमा दुर्घटना न्यूनीकरण गर्नसकिन्छ ।
सडक सुधारकै लागि भनेर उठाइएको सवारी करको सहीरूपमा सदुपयोग गर्दै सडक मर्मत सम्भारलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि सरकार र आम नागरिकहरू बेलैमा सचेत र सतर्क हुनु आवश्यक रहेको छ । कमजोर सडक पूर्वाधार, अनुपयुक्त तथा पुराना सवारी साधन, सवारी चालक र सडक प्रयोगकर्ताको लापरबाही कम गर्नका लागि नेपाल सरकारले ट्राफिक सचेतना कार्यक्रम सबै ठाउँमा लागू गराउँदै विद्यालयस्तरदेखि नै पाठ्यक्रममा समावेश गरी जगदेखि नै ट्राफिक नियमको सन्देश प्रवाह गर्न सकिएको खण्डमा भोलिका दिनहरूमा दुर्घटना कम हुने विश्वास लिनसकिन्छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी धनीलाई ब्लु बुक दिने, सवारी दर्ता खारेज गर्नसक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्नसक्ने अधिकारको व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता रहेको छ । सवारी साधनलाई समय–समयमा मर्मत सम्भार गरी सवारी साधनलाई चुस्त दुरूस्त अवस्थामा राखी सवारी चलाउने, सडकहरू मर्मतसम्भार गर्ने, यात्रु तथा पैदल यात्रुहरू स्वयम् सचेत हुने र ट्राफिक नियमको पालना गर्ने परिपाटी अवलम्बन गर्न सकिएको खण्डमा सडक दुर्घटनालाई केही हदसम्म भए पनि न्यूनीकरण गर्नसकिन्छ ।
(लेखक न्हुछेनारायण श्रेष्ठ अधिवक्ता तथा हाल त्रि.वि. इ.अ.सं. डीन कार्यालयमा कार्यरत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *