भर्खरै :

सहिदहरूको स्मरण गर्नुपर्छ

पञ्चायती व्यवस्था निरङ्कुश थियो । त्यस व्यवस्थामा राजाको हुकुमी शासन चल्थ्यो । प्रजातन्त्र निलेर नै पञ्च र राजाले देशमा निरङ्कुश व्यवस्था ल्याएका थिए । मौलिक र राजनीतिक अधिकार नभएको पञ्चायती व्यवस्था जनतालाई मन परेको थिएन । देशका वामपन्थी, प्रगतिशील र कम्युनिस्टहरू २०३६ को जनमतसङ्ग्रहमा सक्रियतापूर्वक बहुदलको पक्षमा लागेका भए उहिल्यै देशमा बहुदलीय व्यवस्था स्थापना हुन्थ्यो । बहुदलीय व्यवस्था स्थापना भएको भए २०४६ को आन्दोलन पर्खनु पर्दैनथ्यो । नेका र वामपन्थीहरू मिलेर संयुक्त आन्दोलन गर्नुपर्दैनथ्यो । देशका सपुत नेपालीहरू सहिद हुनुपर्दैनथ्यो, अन्ध, अपाङ्ग हुनुपर्दैनथ्यो ।
देशमा दलीय व्यवस्थाको लागि २०४६ साल फागुन ७ गतेदेखि संयुक्त जनआन्दोलन सुरु भयो । दोस्रो दिन बन्द थियो । बन्द सफल पार्न भक्तपुरमा पनि शान्तिपूर्ण जुलुस भयो । उक्त जुलुसमा पञ्चायती शासकहरूको निर्देशनमा हानेको गोलीबाट पहिलो पटक भक्तपुरका चार नेपाली युवा सहिद भए । भक्तपुरमा चार जना आन्दोलनकारीले सहादत प्राप्त गरेपछि आन्दोलन देशभरि फैलियो । आन्दोलनमा गाउँ–गाउँ र बस्ती बस्तीबाट जनता सरिक भए । आन्दोलन सफल पार्न मजदुर, किसान, युवा, विद्यार्थी, महिला, शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, लेखक, कवि, कथाकार, कर्मचारी, इन्जिनियर, कलाकार, गायक, पाइलट तथा विभिन्न व्यवसाय र पेशामा लागेका व्यक्तिहरू पनि आन्दोलनमा सरिक भए ।
आन्दोलन व्यापक बन्दै गयो । आन्दोलनमा जनताको सहभागिता बढ्दै गयो । पञ्चायती सरकारले पनि दमन गर्नथाल्यो, नेता तथा कार्यकर्ता पक्रन थाल्यो । पक्रिएका नेता तथा कार्यकर्ता खोर र जेलमा भरिए । प्रहरीको दमन र हस्तक्षेप भए पनि आन्दोलन रोकिएन । आन्दोलन दबाउन नसकेपछि पञ्चायती सरकारको निर्देशनमा काठमाडौँ उपत्यकामा कफ्र्यु जारी भयो । कफ्र्युविरुद्ध पनि आन्दोलन अघि बढ्यो । आखिर २०४६ चैत २६ गते राति पञ्चायती व्यवस्थाका शासकहरू झुके र देशमा प्रजातन्त्र पुनस्र्थापना भयो ।
उक्त आन्दोलनमा भक्तपुरमा मात्रै ६ जना सहिद भए, सयौँ जना घाइते भए । राजकुमार सुवाल, कृष्णराम दुवाल, निर्मलकुमार शाक्य, हरिकृष्ण भुजु, महेश श्रेष्ठ र पुष्परत्न शाक्य सहिद भए । पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था स्थापना गर्न वीरगति गर्ने सहिदहरूलाई सरकारले सहिद घोषणा गरेन । अहिले पनि सहिदका परिवारको हालत दयनीय छ । यसरी ज्यानको बाजी थापेर मौलिक र राजनीतिक अधिकारका निम्ति लड्ने सहिदहरूको जहिल्यै सम्झनुपर्छ, स्मरण गर्नुपर्छ । ती वीर सपुत नेपालीहरूप्रति श्रद्धाञ्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *