भर्खरै :

शीतलपाटीमा नेमकिपाको पुस्तक प्रदर्शनी

पाल्पाको सदरमुकाम तानसेन । तानसेनको मुटु शीतलपाटी । आइतबार शीतलपाटीमा नेपाल मजदुर किसान पार्टीको पुस्तक प्रदर्शनी भयो । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा उक्त पुस्तक प्रदर्शनी आयोजना गरिएको हो । नेमकिपाले देशव्यापी पुस्तक प्रदर्शनी अभियानकै रूपमा ४७ औँ स्थापना दिवस मनाइरहेको छ ।
बिहान १० बजेदेखि पुस्तक प्रदर्शनी गर्ने भनिए पनि बिहान ११ बजेमात्र पुस्तक र पुस्तक प्रदर्शनी गर्ने आयोजकहरू शीतलपाटीमा पुगे । अन्य स्थानमाजस्तै पुस्तक सजाउन टेबलको व्यवस्था गरिसकेको थिएन । बिहानको ११ बजेको थियो । फेरि टेबल कुर्सीको बन्दोबस्त गरिरहँदा झन् ढिलो हुने सल्लाह भयो । पाल्पा दरबारको उत्तरी मूल ढोका सामुनेको पशुपति प्रधानले आफ्नो पसलको पेटी (फः) मा पुस्तक राख्न कुचो लगाउन थाल्नुभयो । आफ्नो पसलको सामान छेकिने गरी पुस्तक प्रदर्शनीको ब्यानर झुन्ड्याउन दिनुभयो । यद्यपि पुस्तक प्रदर्शनी बाटोको एक छेउमा पर्ने भएपछि ठाउँ सुहाउँदो नभएको महसुस गरियो । शितलपाटीको परिसर पर्खालबाहिर केही अग्लो दबुजस्तो ठाउँ रहेछ । ‘दबुुको छेऊमा सार्वजनिक फोहरमैलाको भाँडो थियो । सुक्खा धुलो र केही फोहरमैला भुइँमा असरल्ल परेको थियो । प्रधानसँगै कुचो मागियो र सफा गरियो । भुइँमा बिछ्याउन बोरा पाइयो । शीतलपाटीको पर्खालमा झुण्ड्याएको ब्यानर नजिकको खम्बा र मोटरसाइकलमा बाँधेपछि सुरु भयो – शीतलपाटीमा नेमकिपाको पुस्तक प्रदर्शनी ।
पुस्तक प्रदर्शनीमा देखाउन सजाइएका पुस्तक, पत्रिकालगायत प्रकाशन सामग्रीको अवलोकन हुनु स्वाभाविक भयो । प्रदर्शनीमा राखिएका पुस्तक, पत्रपत्रिका, बुलेटिनहरू दर्शकहरूले रुचि अनुसारको विषयका पुस्तकहरू खरिद पनि गर्ने भए । यी सबै पुस्तक प्रदर्शनीका अभिन्न अङ्ग हुन् । यस सँगसँगै पुस्तक प्रदर्शनीको सुन्दर र रमाइलो पक्ष भनेको आयोजक र दर्शकबीचको अन्तरक्रियात्मक छलफल पनि हो । पुस्तक प्रदर्शनीका दर्शकहरूले नेमकिपाको गतिविधिबारे चासो राखे र छलफल भयो । पाल्पाको इतिहासमै पहिलोपटक पार्टीगत पुस्तक प्रदर्शनी भएकोमा उनीहरुले खुसी व्यक्त गरे । पुस्तक प्रदर्शनीले नेमकिपा र अन्य पार्टीबीचको भिन्नता दर्शाएको चर्चा गरे । पाल्पामा पनि नेमकिपाको पार्टी सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिइयो ।
नेमकिपाको देशव्यापी पुस्तक प्रदर्शनी अभियानलाई टिप्पणीकारहरूले ‘शासक दलहरू शक्ति प्रदर्शनीमा, नेमकिपा पुस्तक प्रदर्शनीमा भनी टिप्पणी गरेको पाइन्छ । शासक दलहरू दिनदिनै कुनै न कुनै ठाउँ भीड जम्मा गर्ने अभियानमा जुटेका छन् । एकले अर्कोलाई मानिसको भीड हेर्न आउन चुनौती दिइरहेका छन् । भीडलाई नै शक्ति मान्नेहरूले आफ्नो कार्यक्रममा लाखौँ जनता सहभागी भएको दाबी गर्ने र अर्को पक्षको कार्यक्रममा हजारौँ पनि सहभागी नभएको भनी खिल्ली उडाउने प्रहसन देखाइरहेका छन् । असचेत र असङ्गठित होहल्लाको बीचमा नेमकिपाले पुस्तक प्रदर्शनीमार्फत भीडभन्दा टाढा बसेर सचेत जनतासँग संवाद गरिरहेको छ । देश र जनताको मुहार फेर्छु भन्दै शासन सत्तामा पुगेपछि आफ्नै र आसेपासेको मात्रै भुँडी भर्ने, आमूल परिवर्तन ल्याउँछौँ भन्दै कम्युनिस्टको नाममा शासन सत्तामा पुगेपछि कम्युनिस्टकै बदनाम गर्ने शासक दलहरूको असलियतबारे विचार विमर्श भइरहेको छ । पुस्तक प्रदर्शनीका दर्शकहरूको पुस्तक पठन अनुभवसहितका समीक्षात्मक प्रतिक्रियापछि संवादलाई अझै सघन बनाउने छ ।
प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशको लागि संसद् विघटन गर्नुलाई असंवैधानिक कदम भन्दै ठूला भनिने सञ्चारमाध्यमले एकहोरो प्रचार गरिरहेको छ । कतिपय कानुन व्यवसायी र नागरिक समाज भन्नेहरू पनि संविधानकै अविधा अक्षर समाएर संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको हल्ला गरिरहेका छन् । यसबीचमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संसद् विघटनलाई स्वाभाविक प्रक्रिया र औचित्यपूर्ण रहेको प्रतिक्रिया दिनुभएको छ । संसद् विघटनबारे अध्यक्ष रोहितको विचारप्रति नेमकिपाका शुभचिन्तकहरूले उत्सुकता जनाएका छन् । संसद् विघटनबाट देशै बर्बाद भएको र संविधान नै खारेज भएको जस्ता अतिरञ्जनापूर्ण हल्लाहरू गलत रहेको बुझिसकेका रहेछन् ।
नेमकिपाका अध्यक्ष रोहितले ताजा जनादेशको लागि संसद विघटनलाई स्वाभाविक प्रक्रिया भन्नुको कारण खुलाउँदै पाल्पाका बुद्धिजीवी निर्मल श्रेष्ठ भन्नुहुन्छ, “रोहितजीको कुरा प्रस्ट छ, चुनाव भयो भने उनीहरू (प्रचण्ड–ओली)को कुरा सबै बाहिर आउँछ, जनता सुसूचित हुन पाउँछ भन्ने हो । तर, अझै पनि उनीहरूले सबै कुरा बाहिर ल्याएका छैनन् ।” झन्डै दुई–तिहाइ बहुमत समर्थनप्राप्त सरकारले संसद नै विघटन गर्नुपर्ने गरी के के मुद्दामा झगडा भएको होला ? सत्तारुढ नेकपा फुट्नका कारणहरू के के होला ? ती विषयमा जनतालाई सत्यतथ्य बताउनुपर्ने हो । पदीय लुछाचुँडीबाहेक सतहमा देखिएको नेकपाभित्रको विवाद त एमसीसी नै हो । निर्मल श्रेष्ठलाई ‘एमसीसीकै कारण नेकपा फुटेको लागेको छ । त्यसो भए ‘प्रचण्डले किन एमसीसीको नारा लगाउन रोके होला ?’ पत्रकार राजेश अर्यालको आशङ्का छ । नेकपाको आन्तरिक द्वन्द्वमा वैदेशिक चलखेल रहेकोमा कसैको विमति छैन । प्रधानमन्त्री ओलीकै शब्दमा आफ्नो सरकार ढाल्न विदेशी चलखेल भयो । प्रचण्ड कहिल्यै जङ्गलमा नबसेको र जनताको छोराछोरीलाई जङ्गलमा राखेर आफू जेलवाला तेल लगाएर दिल्लीमा जुल्फी हल्लाएर बसेको प्रधानमन्त्री केपी ओलीले दाबी गरे । तर, हिजोआज ओलीको बोली फेरिएको छ । कुन देशको, कस्तो हस्तक्षेपको कारण देश अस्थिरतामा जान लागेको हो ? पार्टीमा विग्रह आएको हो ? ओलीले प्रस्ट पार्नुपर्ने हो । मूर्तरूपमा विदेशी हस्तक्षेपको प्रतिरोध गर्नुपर्ने हो । ओलीको बोली फेरिएको या ओली कमजोर हुँदै गएको प्रमाण त होइन ? एकले अर्काको छाला काढ्ने गाली पुराण चलाएर जनताले के पाउने ?
पत्रकार राजेश अर्यालका अनुसार नेकपाका धेरै कार्यकर्ताहरू सर्वोच्च अदालतको फैसला पर्खिरहेका छन् । अदालतको फैसलापछि मात्र ओली र प्रचण्ड–नेपालमध्ये को बलियो छ ? थाहा पाउन सकिन्छ । कार्यकर्ताको ताँती लाग्नेछ । अदालतले चुनावको लागि बाटो खोले पनि वैशाखमा चुनाव हुने सम्भावना छैन । चुनावमा भाग लिन पार्टीहरू तयार भइसकेका छैनन् । पाल्पाली बुद्धिजीवी छत्रराज शाक्यको बुझाइ भने फरक छ । उनका अनुसार समयमै चुनाव हुन्छ ।
पुस्तक प्रदर्शनीकै बीचमा अन्तरक्रिया भइरहेको छ । अन्तरक्रिया चलिरहेकै बेलामा पुस्तकका मुख्य–मुख्य अंशहरू वाचन भइरहेका छन् । पुस्तक वाचन, पार्टी स्थापना दिवसबारे चर्चा रोकिएको बेला उफरमा गीत निरन्तर बजिरहेकै छ । कति दर्शकहरू भर्खर वाचन गरिरहेको किताब खोइ भन्दै मागिरहेका छन् । कुनै कुनै किताबको सङ्ख्या धेरै थिएन । चीनको संविधान यति सानो आकारको भन्दै एकै पटक दुई जनाले किनेपछि तेस्रो व्यक्ति पनि खोज्दै थिए । चिल्लीमा फासीवादको प्रतिरोध, का. रोहितको साहित्यिक व्यक्तित्वलगायत पुस्तकको हिसाब गरी सकेर पनि सय वर्षपछिको भक्तपुर थप्दै वरिष्ठ पत्रकार मेघराज शर्माले भक्तपुरसँग सम्बन्धित अरू पुस्तकहरू खोजे । भक्तपुरको किसान आन्दोलनमा सहभागी किसान कार्यकर्ताको अनुभव सङ्गालिएको किसान सङ्घर्ष पाएर वरिष्ठ पत्रकार शर्मा खुसी भए ।
शीतलपाटीमा नेमकिपाको पुस्तक प्रदर्शनी साँझको ३ बजेसम्म जारी रह्यो । प्रदर्शनीको छोटो बसाइमा नेमकिपाको नीति र कार्यक्रमबारे मन्थन भयो । नेमकिपाले पुस्तक प्रदर्शनी गरेर वैचारिक छलफल अगाडि बढाएकोमा धेरैबाट प्रशंसा भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *