भर्खरै :

ट्रम्प गए, साम्राज्यवाद कायमै

संरा अमेरिकामा राष्ट्रपति फेरिएका छन् । डोनाल्ड ट्रम्पको स्थान जोसेफ बाइडेनले लिइसकेका छन् । अमेरिकी राष्ट्रपति फेरिएसँगै पूरै मन्त्रिपरिषद् र प्रशासनका मुख्य मुख्य पदाधिकारीहरू पनि फेरिएका छन् । संरा अमेरिकामा स्प्वाइल सिस्टम छ, जसको आधारमा राष्ट्रपतिको बदलावसँगै मुख्य मुख्य पदाधिकारीहरू पनि बदलिन्छन् । तर, अझै पनि अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस र अमेरिकी प्रशासनमा ट्रम्पको प्रभाव हटिसकेको देखिंदैन । हुन त बाइडेनले कार्यकारी आदेशमार्फत ट्रम्प प्रशासनले लागू गरेका केही नीतिहरूलाई फेरिसकेका छन् । तर, मूल समस्या अर्थात् अन्य देशहरूमाथि चलखेल, हस्तक्षेप र आक्रमण गर्ने संरा अमेरिकाको साम्राज्यवादी चरित्र हटिसकेको छैन । कतिपय समाचार विश्लेषकहरूले संरा अमेरिकामा ट्रम्पको कार्यकालको अन्त्यसँगै संरा अमेरिका पूरै सुध्रिसकेको वा अब त्यसबाट कुनै देशमाथि कुनै समस्या नहुने, कुनै समस्या आउन नदिई विश्वको नेतृत्व संरा अमेरिकाले गर्नेजस्ता अति मूल्याङ्कन पस्किरहेका छन् ।
संरा अमेरिकी राष्ट्रपति परिवर्तन भए पनि विभिन्न देशका लागि त्यसको विदेश नीतिहरू नबदलिने उदाहरण विगतमा पनि देखिएकै थियो र अहिले पनि त्यस्तै छ । ट्रम्पका उत्तराधिकारीका रूपमा आएका बाइडेनले पनि आफ्नो छिमेकी सानो टापु राष्ट्र क्युवामाथि लगाउँदै आएको नाकाबन्दीलाई निरन्तरता दिने सङ्केत गरेका छन् । अमेरिकी नाकाबन्दीका कारण क्युवाले हरेक वर्ष अरबौँ डलर बराबरको नोक्सानी ब्यहोरिरहेको छ भने क्युवाली जनताले अत्यावश्यक औषधिको अभावलगायत अनाहकमा अनेक सास्ती भोग्न बाध्य छन् । क्युवाले कायम राखेको आफ्नो स्वाधीनता र अगाडि बढाइरहेको समाजवादी व्यवस्था नै क्युवामाथि अमेरिकी नाकाबन्दीका कारण हुन् ।
त्यस्तै ल्याटिन अमेरिकी देशहरू भेनेजुयला, निकारागुवा र बोलिभिया पनि अनेक किसिमका अमेरिकी प्रतिबन्धहरूबाट आक्रान्त छन् । अमेरिकी शासकहरूले भेनेजुयलामा त्यहाँका जननिर्वाचित राष्ट्रपतिविरुद्ध विद्रोह गराउन अल्पसङ्ख्यक दक्षिणपन्थी तत्वहरूलाई उक्साइरहेका छन् । ट्रम्पले त भेनेजुयलामा वैधानिक राष्ट्रपति र शासनविरुद्ध सडकमा स्वघोषित राष्ट्रपतिलाई मान्यता दिएको घोषणासम्म गरेका थिए । अहिले बाइडेन प्रशासनका उच्च अधिकारीहरूले भेनेजुयाली प्रतिक्रियावादीहरूसित भेट गरेर संरा अमेरिकाको भेनेजुयला नीतिमा कुनै परिवर्तन नआउने सङ्केत दिइरहेका छन् । निकारागुवाका जननिर्वाचित राष्ट्रपति र सान्डानिस्टा क्रान्तिका नेता ड्यानियल ओर्टेगाको सरकारविरुद्ध पनि अमेरिकी प्रशासन खुलेरै लागिरहेको छ र अनेकन प्रतिबन्धहरू लादेको छ । बोलिभियामा गत वर्ष वामपन्थी राष्ट्रपति ते मोरालेसविरुद्ध सैनिक विद्रोह गराउन संरा अमेरिकाको प्रत्यक्ष र परोक्ष भूमिका लुकाएर लुकेको छैन । राष्ट्रपतिमा पुनः वामपन्थी उम्मेदवारहरूलाई जिताएर बोलिभियाली जनताले निर्वाचनमार्फत सैनिक विद्रोहलाई परास्त गरेपछि अमेरिकी शासकहरूको छटपटी यत्रतत्र पोखिने भइरहेको छ ।
विश्वको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिको रूपमा उदाएको एसियाली राष्ट्र चीनविरुद्ध ट्रम्पले व्यापार युद्ध नै थालेका थिए । चीन निश्चय पनि संरा अमेरिकाको प्रतिस्पर्धी हो तर उसको सबैभन्दा ठूलो व्यापार साझेदार पनि हो । अर्थात् संरा अमेरिकाको सबैभन्दा बढी व्यापार चीनसित हुन्छ । तर, चीनप्रति अमेरिकी शासकहरूको विषवमन रोकिएको छैन । ट्रम्पले कोरोना भाइरस पहिलो पटक चीनको उहान सहरमा देखिएकै आधारमा त्यसलाई चाइनिज भाइरस नामकरण गर्दै कोभिड–१९ फैलिनुमा चीन दोषी रहेको आरोप लगाएका थिए । विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञहरूको टोली उहान आएर पनि भाइरसको उद्भव र सङ्क्रमणबारे अध्ययन गरिसकेको छ । विशेषज्ञ टोलीले सबै तथ्य प्रमाणको आधारमा यो कुनै मानव निर्मित भाइरस नभई प्राकृतिक भाइरस भएको र यसको उत्पति चीनमै भएको प्रमाण नभएको प्रतिवेदन दियो । अमेरिकी बाइडेन प्रशासनले विशेषज्ञ टोलीको उक्त प्रतिवेदनमाथि विश्वास नभएको भनी शङ्का व्यक्त गरेको छ । बेलायत सरकार पनि संरा अमेरिकाकै पछाडि लागेको छ । बाइडेन प्रशासन पनि ट्रम्प प्रशासनकै पदचिह्न पछ्याएको देखिन्छ । यसले चर्का र अशिष्ट बोल्ने राष्ट्रपति ट्रम्प गए पनि संरा अमेरिकाको साम्राज्यवादी नीति कायम रहेको प्रस्ट पार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *