भर्खरै :

घरभित्रको श्रमको उचित मूल्याङ्कन कहिले ?

  • फाल्गुन १३, २०७७
  • – प्रतिभा महर्जन, काठमाडौं
  • पाठक विचार

महिलाहरूलाई जनशक्तिको रूपमा विकास गर्ने प्रयास भइरहेको छ । समय र जीवनको आवश्यकताले बाध्य भएर पनि महिलाहरू घरबाहिरको काममा संलग्न भइरहेका छन् । हुन त सबै महिलाका श्रम समान किसिमका होइनन् तर घरबाहिर काम गर्न निस्केका महिलाहरू थप जिम्मेवार बनेका छन् । अर्थात्, उनीहरू घरभित्रका काम र घरबाहिरको आफ्नो पदीय जिम्मेवारी अनुसारको काम पनि गरिरहेका छन् । हाम्रो समाजमा अहिले पनि पितृसत्ताको प्रभाव बाँकी नै रहेकाले घरभित्रका काम महिलाले मात्र गर्नुपर्छ र पुरुषले गर्नुहुँदैन भन्ने मानसिकता छ । यस्ता मानसिकता कतिपय घरमा ससुरा, लोग्नेलगायत पुरुषहरूसित मात्र नभई सासू र स्वयम् बुहारीहरूमा पनि रहेको देख्छौँ, पाउँछौँ । त्यसको सबैभन्दा बढी मार घरबाहिरसमेत काम गर्ने छोरीबुहारीहरूमाथि परिरहेको छ । मैले यसो भनिरहँदा एकाध जागरिदार महिलाहरूले आफ्नो जागिर र कमाइको धाक देखाएर घरको कुनै कामै गर्ने नगरेका घटनाबारे कसैले उठाउन सक्छ । तर, एउटा रुखले वनै छेकिने उखानझैँ एक दुईको जीवन हेरेर सबैलाई उस्तै सोच्नु कदापि सही हुनसक्दैन ।
महिलाहरूले घरको काम गर्नु हुँदैन भन्ने यो पत्रको आशय होइन । तर, महिलाहरूले घरभित्र पूरा गरिरहेको कामको उचित मूल्याङ्कन नभइरहेको गुनासो हो । घरबाहिर काम गर्ने महिलाको घरका पुरुषहरूले पनि घरभित्रका आफ्नो परिवारका लागि जरुरी कामहरू बाँडेर पूरा गरेमा समयमै सबैजसो काम हुने, महिलाहरूमाथिको कामको बोझ कम हुने र परिवारमा हाँसीखुसी रहने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *