भर्खरै :

सक्वको म राजदास – ७३ / धेरै अपमानित भए सोभियत नेता लिओनिद ब्रेझनेभ

सन् १९६४ मा निकिता ख्रुश्चेभको पालादेखि सुरु भएको खाद्यान्न सङ्कट लिओनिद ब्रेझनेभ सत्तामा आएपछि पनि समाधान गर्न सकिएन । यद्यपि, सन् १८६० को दशकमा तत्कालीन सोभियत सरकारले कृषि क्षेत्रमा ठूलो धनराशी लगानी ग¥यो ।
निकिता ख्रुश्चेभले जस्तै लिओनिद ब्रेझनेभले पनि सोभियत सङ्घको विशाल अर्थ–मरुभूमि काजाक्स्तानको स्टेपमा र साइवेरियाको बाँझो भूमिमा खाद्यान्न उत्पादनमा जोड दिए । तर, विभिन्न कारणले गर्दा आशातीत उत्पादन प्राप्त गर्न सकिएन ।
कृषि उत्पादन गर्ने क्षेत्रमा देशको अर्थतन्त्रको २७ प्रतिशत बजेट विनियोजन गर्दा पनि देशलाई चाहिने मात्रामा खाद्यान्न मुख्यतया गहुँ उत्पादन गर्न सकिएन । विदेशबाट आयात गरेर खाद्यान्न आपूर्ति गर्नु परेको थियो । तर, सोभियत सङ्घ त्यतिबेलासम्ममा औद्योगिक क्षेत्र, सामरिक हातहतियार उत्पादन क्षेत्र, अन्तरिक्ष अनुसन्धान क्षेत्र, कृषि औजार र यातायातका साधन उत्पादन क्षेत्रलगायत इन्धन विकास क्षेत्र तेल, ग्यास उत्पादन र नियतिमा धेरै सबल भइसकेको थियो । यसले गर्दा देशलाई आवश्यक खाद्यान्न आयात गर्नमा कुनै समस्या भोग्नु परेको थिएन ।
संयुक्त राज्य अमेरिकाको दाँजोमा तत्कालीन सोभियत सङ्घ विश्वमा एक धनाढ्य र सर्वशक्तिमान राष्ट्र भइसकेको थियो । हातहतियार उत्पादनमा सोभियत सङ्घ र अमेरिका दुवै को भन्दा को कमको स्थितिमा थिए । आणविक अस्त्रको होडबाजी रोक्न अमेरिका र सोभियत सङ्घ दुई राष्ट्रको समझदारीमा आणविक हतियार नियन्त्रण सन्धि(साल्ट) सम्पन्न भएको थियो ।
साल्ट वार्ता
स्ट्राटेजीक आर्मस् लिमिटेसन टक (साल्ट), संयुक्त राज्य अमेरिका र सोभियत सङ्घबीच आणविक क्षेप्यास्त्र बोक्न सक्ने सामरिक हतियार उत्पादनमा रोक लगाउने उद्देश्यले गरिएको वार्ता र सम्झौतालाई ‘साल्ट’ भनिन्छ । रुस र अमेरिकाबीच ‘साल्ट–१’ र ‘साल्ट–२’ गरी दुईपटक सम्झौता भएका थिए ।
सन् १९७२ मा ‘साल्ट–१’ र सन् १९७९ मा ‘साल्ट–२’ गरी दुईपटक सम्झौतामा हस्ताक्षर भएको थियो । यी सम्झौताले आणविक हतियार बोक्न सक्ने लामो दुरीका र छोटो दुरीका क्षेप्यास्त्रहरूको उत्पादनमा रोक लगाउने र सीमित मात्रामा उत्पादन गर्न पाउने भन्ने कुरा मुख्य थियो ।
साल्ट सम्झौतामा सन् १९६७ मा सर्वप्रथम अमेरिकी राष्ट्रपति लिन्डन बि. जोन्सनले प्रस्ताव गरेका थिए । सन् १९६८ को गर्मीयाममा सम्झौता गर्ने निर्णय गरिएको थियो । सन् १९६९ को नोभेम्बरमा सम्झौता भएको थियो ।
त्यसपछि सन् १९७२ को मे २ मा सोभियत नेता लिओनिद ब्रेझनेभ र अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले यी सम्झौताहरूको विस्तृतरूपमा लेखाजोखा गरी हस्ताक्षर गरेका थिए ।
संयुक्त राज्य अमेरिका र सोभियत सङ्घबीचको सामरिक हातहतियारको सम्झौतापछि सोभियत सङ्घले पूर्वी युरोपका वार्सा सन्धिअन्तर्गतको समाजवादी देशहरूमाथि आफ्नो आधिपत्य जमाउने बढी अवसर पाए भने ‘नाटो’ सङ्गठनका पश्चिमी युरोपका राष्ट्रहरूमाथि संयुक्त राज्य अमेरिकाको वर्चस्व बढ्न गयो ।
यसै सैनिक आधिपत्यको आधारमा सोभियत सङ्घले सन् १९६८ मा पूर्वी युरोपका आफ्ना सहयात्री देशहरूसँग मिली चेकोस्लोभाकियामा सैनिक हस्तक्षेप गरी सोभियत समाजवादको मोडेलबाट फरक धारमा जान लागेको ‘डुब्चेक’को सरकारलाई अपदस्थ गरेको थियो । अमेरिकाले यसमा कुनै हस्तक्षेपकारी भूमिका खेल्न पाएन । यद्यपि, सन् १९८० मा आएर सोभियत नेता गोर्भाचोभले पूर्वी युरोपका समाजवादी देशहरूमा त्यहाँका जनताले आ–आफ्ना समाजवादी सरकार ढाल्न शान्तिपूर्णरूपमा स्वीकृति दिएका थिए ।
यसरी ब्रेझनेभको पालामा अमेरिकासँग भएको सम्झौताले विश्व दुई ध्रुवमा केन्द्रिकृत हुन पुग्यो । ‘नाटो’ र ‘वार्सा’ गुटका राष्ट्रहरूबीच शीतयुद्धको तुँवालो झन् झन् बाक्लो हुँदै गयो । ब्रझनेभले यसैको फाइदा उठाई आफ्नो शक्ति झन्झन् मजबुत पार्दै लग्यो । सोभियत सङ्घ र पूर्वी युरोपका समाजवादी देशहरूमाझ लिओनिद ब्रेझनेभ आफ्नो शक्ति प्रदर्शन गर्दै देशभित्र एक प्रकारले ‘देवत्व’ को वातावरण सिर्जना गरे । ठूला–ठूला पार्टी र सरकारी सभाहरूमा ब्रेझनेभको स्तुती गान पनि गाउन लगाइए । ब्रेझनेभलाई सर्वोत्तम कम्युनिस्टहरूको पनि सर्वोत्तम भन्न लगाइयो ।
शक्तिको मातमा उन्मक्त भएका ब्रेझनेभले देशको सबभन्दा ठूलो पदक ‘लेनिन पदक’ एकपछि अर्को गर्दै चारवटा प्राप्त गरे । दोस्रो विश्वयुद्धमा आफूले खेलेको भूमिकालाई बढाइ–चढाइ गरी दोस्रो विश्वयुद्धको हिरो भन्ने पदवीसम्म हात पारे, जुन उनको मृत्युपश्चात् सोभियत कम्युनिस्ट पार्टीले खोसेको थियो । आफ्नो प्रशंसा बढाउँदै ब्रेझनेभले सोभियत सङ्घभित्र धेरै कलकारखानाहरू, बाटो–घाटो र ठाउँ–ठाउँमा सार्वजनिक चोकहरू पनि आफ्नो नाममा थप्दै लगे ।
विश्वमा समाजवाद र भ्रातृत्वको नाममा धेरैजसो अर्धविकसित र विकासोन्मुख देशहरूमा सोभियत सङ्घको प्रभाव विस्तृत गर्न धेरै लगानी भयो । लाखौँ लाख विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति प्रदान गरी उच्च शिक्षा दिने नाममा देशभित्र ल्याइयो । यी देशहरूमा सोभियत समर्थित कम्युनिस्ट पार्टीहरू खडा भए । यस्ता देशहरूमध्ये नेपाल पनि एक पर्दछ । विश्वमा सोभियत समर्थित जनमानस बढेको देखेर सोभियत नेतृत्वमा एक बृहत् अहङ्कार जागृत भयो । मङ्गोलिया र भारतजस्ता देशलाई आफ्नै स्याटलाइट देशजस्तो व्यवहार गर्न थालियो । सन् १९७० को दशकमा इन्दिरा गान्धीको पालामा ‘इन्डो–सोभियत’ सम्बन्ध धेरै मजबुत भएको थियो । यही घनिष्टताले सन् १९७२ मा सोभियत सङ्घले बङ्गलादेश निर्माणमा भारतलाई प्रत्यक्ष समर्थन गरेको थियो । पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तानको युद्धमा पाकिस्तानलाई मद्दत गर्न भनी बङ्गाल खाडीतिर आइरहेको संयुक्त राज्य अमेरिकाको विश्वकै एक सर्वशक्तिमान युद्धपोत ‘सेभेन्थ फ्लीड’ लाई सोभियत सैनिक वेडाले भगाएर इन्डियाको समर्थन गरे । पाकिस्तानबाट बङ्गलादेश अलग्याइएको थियो ।
आफ्ना छिमेकी देशहरूमा सोभियत प्रभाव फैलाउने उद्देश्यले ब्रेझनेभले अफगानिस्तानमा हात हाल्न पुगे । केही वर्षपछि धेरै धनजनको क्षति व्यहोर्दै, हार खाएर अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरे ।
सन् १९६९ देखि १९७५ सम्म सोभियत सङ्घमा मैले ब्रेझनेभको सोभियतकाल राम्ररी देखेर भोगेर आएको थिएँ ।
सोभियत सङ्घको इतिहासमा अन्य समयमा भन्दा ब्रेझनेभको समयमा (१९६४–१९८२) सोभियत सङ्घ तुलनात्मकरूपमा धेरै सम्पन्न थियो । शान्ति सुरक्षाको अवस्था पनि राम्रो थियो । विदेशमा पनि सोभियत सङ्घको साथ राम्रो थियो । तापनि, सोभियत जनता त्यति सन्तोष भएको मैले पाइनँ । मलाई पनि खासै सोभियत नीति त्यति मनपरेको थिएन । भित्रभित्रै उकुस–मुकुस भइरहेको थियो । सोभियत जनता र सोभियत नेतृत्वको व्यवहारले उनीहरूमा समाजवादप्रतिको विश्वास घट्दै गएको मैले महसुस गरेँ । यसै कुरालाई लिएर मेरी श्रीमतीसँग ठूलो छलफल चल्थ्यो । भालेन्टिना कट्टर कम्युनिस्ट स्वभावकी थिइन् । तत्कालीन सोभियत नेतृत्वमा उनको ठूलो आस्था र भरोसा थियो । म भन्थेँ, “तिम्रो ब्रेझनेभको नीति र नियत ठीक छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *