भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – ३

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’(Next to Stalinm Notes of A Bodyguard) को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
सन् १९३५ मा म सरकारका पदाधिकारीहरूको सुरक्षाको लागि खट्ने सुरक्षाकर्मीहरूको एउटा टोलीको प्रमुख पदमा नियुक्त भएँ । कागानोविचसँगै म मस्को मेट्रो रेलको सुरक्षाबारे अनुगमनमा गएको थिएँ । हाम्रो सबभन्दा बढी चासो ‘जेरजिन्स्की चोक’ मा थियो किनभने त्यो ठाउँमा धेरैतिरबाट मेट्रो आवतजावत गथ्र्यो । कागानोविचले डकर्मीहरूलाई निकै जोडका साथ भनेका थिए, “रेल हिँड्ने पटरी जोडिने ठाउँमा ध्यान दिनुहोला है । ओजीपीयू (सोभियत गोप्य प्रहरी) को भवन कहीँ कतैबाट क्षति नहोस् । नभए हामी सबै जना जेलमा जाँकिनेछौँ ¤”
मलाई ओर्डझोनिकिड्सको सुरक्षा गर्ने जिम्मेवारी तोकिएको थियो । (ओर्डझोनिकिड्स जोर्जियामा जन्मेका रुसी क्रान्तिकारी नेता थिए । सन् १९१७ को फेब्रुअरी क्रान्तिताका उनी साइबेरियामा निर्वासन जीवन बिताइरहेका थिए । सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिपछि भएको गृहयुद्धको क्रममा उनी ककेसियामा खटिएका थिए । पछि उनले विभिन्न पदमा रही सोभियत समाजवादी सत्ताको आर्थिक निर्माणमा योगदान गरे–अनुवादक) लोकप्रिय यिनी कमान्डर जहिल्यै ठूलठूला भवन बन्दै गरेका निर्माणस्थलमा भेटिन्थे । त्यस्तै एउटा भवनको अनुगमनको शिलशिलामा उनले एक जना मजदुरले हातैले काम गरिरहेको देखे । उनले तत्कालै त्यहाँको मुख्य मान्छेलाई बोलाएर त्यसरी हातले काम गराउनु केटाकेटीपन भएको र तत्कालै यन्त्रको प्रयोग गरी काम गराउन अ¥हाए ।
अन्य धेरै जल्दाबल्दा समस्याबीच उनी उड्डयन वा हवाई यातायात क्षेत्रबारे विशेष चासो राख्थे । उनको कार्यालयको पल्लो कोठामा धातुका पङ्खासहितका नयाँ–नयाँ यानहरूका थुप्रै तस्बिर राखिएका थिए । काठका पङ्खा विस्थापन गरी धातुका पङ्खा प्रयोगमा ल्याउने तयारीमा ती सबै तस्वीर सङ्कलन गरिएका थिए ।
तिनताक उड्डयन क्षेत्रका प्रमुख एम.कागानोविच थिए । उनी सधैँ नयाँ विमान, नयाँ नमुना र प्रस्ताव बोकेर ओर्डझोनिकिड्जलाई भेट्न आइरहन्थे । “कस्तो अचम्म ¤ पश्चिमा विज्ञहरू हामीले कुनै पूर्वयोजना बनाउँदैनन् भनी आलोचना गरिरहेका छन् । हामीसँग कुनै पनि काम गर्दाको आधार हुने गर्दैन भनी उनीहरू आलोचना गर्छन् । … तर, हामीसँग जस्तो योजना के उनीहरूसँग होला र ? कमरेडहरू, यद्यपि हामीले एउटा वास्तविकताबारे विचार गर्नैपर्छ–किन पुनःउत्पादनको लागि पश्चिमका नमुना हाम्राभन्दा राम्रा छन् ?”
उनी स–साना तर समग्रतामा ज्यादै महत्वपूर्ण समस्यालाई सधैँ गम्भीरतापूर्वक लिने गर्थे । उनको शरीर एउटै मिर्गौलाले मात्र चलेको थियो । त्यही कारणले उनलाई बेला–बेला समस्यामा पाथ्र्यो । उनका सहायक प्लाताकोभको गिरफ्तारीपछि उनी सोभियत सभामा धरधरी रुँदै भाषण गरेका थिए । उनी प्लाताकोभलाई ज्यादै विश्वास गर्थे । प्लाताकोभले अदालतमा दिएको बयानको उतार पढेर उनी ज्यादै भावविह्वल बनेका थिए ।
उनले त्यहाँ भनेका थिए,“प्लाताकोभ वा रडेकजस्ता कसिङ्गर र धुलोले हाम्रो देशमा समाजवाद निर्माणको बाटोमा हामी कसैलाई रोक्न सक्दैन ।”
त्यसको केही समयपछि ओर्डझोनिकिड्ज बिरामी परे । क्रेमलिनमा सिकिस्त बिरामी परेको बेला डाक्टर लेभिनलाई उनको ज्यान जोगाउन खटाइएको थियो । यगोडाको निर्देशनमा डाक्टर लेभिनले भी. मिझन्स्की र गोर्कीको ‘उपचार’ गरेका थिए । तर, उनीहरू दुवैको रहस्यमय परिस्थितिमा निधन भएको थियो । के यगोडाको निर्देशनमा डा.लेभिनले सेर्गो ओर्डझोनिकिड्जलाई फरक ढङ्गले उपचार गरेका होलान् त ? अहँ असम्भव !
आफैभित्रका शत्रुले उछाल्ने समस्या, नेताहरूका रोग अनि अरू धेरै थरी बाधा–अवरोधबीच पनि हामीले सन्तोष मान्ने ठाउँ पनि थिए । हाम्रो वरपर सधैैँ उडान भर्ने बलिया र स्वस्थ युवाहरू हुन्थे जो संसारलाई सोभियत हवाई उडानले प्राप्त गरेका उपलब्धि देखाउन आतुर थिए । उनीहरू अरू कसैको पनि नमुना र हिम्मतसँग आफूलाई प्रतिस्पर्धामा होम्न तयार थिए । अनि विश्व रेकर्ड राख्न सक्षम थिए । जी.बेडुकोभको उत्तरी ध्रुवको ऐतिहासिक उडान त्यसैको एउटा उदाहरण हो । उनीसँगै थिए–बलिया र चलाख चकालोभ । चकालोभ स्तालिनप्रति गहिरो सम्मान भाव राख्थे । उत्तरी ध्रुवको यात्रामा निस्कनुअघि बेडुकोभले चकालोभलाई भने,“जाऊ ¤ स्तालिनलाई गएर भेट । उहाँले तिमीलाई मसँगै उत्तरी ध्रुवको यात्रामा जाने अनुमति दिन सक्नुहुन्छ ।”
“कुरा त ठिक्कै हो । तर, मैले कहिल्यै पनि ठूला विमान उडाएको छैन । सधैँ लडाकु र हलुका खालका विमानमात्र उडाएको अनुभव छ ।”
“नडराऊ मित्र । तिमी आफ्नो सीटमा बस । नआत्तिनु । अनि हामी सँगै अमेरिकातिर उड्ने छौं । हेर्दै गर्नू !”, बेडुकोभले भने ।
नभन्दै बहादुर चकालोभ स्तालिनलाई भेट्न गए । अनि उनले पनि उत्तरी ध्रुवको यात्रा गर्ने अवसर पाए । म अझै पनि ओर्डझोनिकिड्स र वास्तुकार तुपोलेभ रात–रातभर बसेर उत्तरी ध्रुवको यात्रामा निस्केका यात्रुहरूका रेडियो सूचनाहरू सुन्दै गरेको सम्झन्छु । ती नायकहरू उत्तरी ध्रुवको यात्राबाट फर्के । स्तालिनले उनीहरूलाई भव्य स्वागत गर्नुभयो । स्तालिनसँगै भोरोशिलोभ, ओर्डझोनिकिड्स र तुखाचेभ्स्की पनि थिए । औपचारिक अभिनन्दन कार्यक्रमपछि उनीहरूको सम्मानमा रात्रीभोजको आयोजना गरिएको थियो । स्तालिन रात्रीभोजमा ढिलासम्म बस्नुभएको थियो । चकालोभ चाँडै नै (रक्सीले) मात्तिए । मात्तिएको सुरमा उनले स्तालिनलाई अँगालो मारे र चुमे । अनि भने, “कमरेड ! अब हामीलाई आगोको लप्काभित्र पठाउनुस् । हामी जुनसुकै मूल्यमा पनि पार्टीको आदेश पालना गर्नेछौँ ।”
स्तालिनले निकै धैर्यताका साथ कुरा सुन्नुभयो अनि मुसुमुसु हाँसिरहनुभयो । खानपिनपछि नाचगानको कार्यक्रम सुरु भयो । चकालोभ नाच्न सक्ने अवस्थामा थिएनन् । उनलाई घर पु¥याइयो । क्रेमलिनमा आयोजित औपचारिक समारोहमा स्तालिनले टोस्ट प्रस्ताव गर्दै चकालोभकी श्रीमती ओल्गालाई भन्नुभयो, “तपाईँले चकालोभ र अरू युवाहरूलाई उत्तरी ध्रुवमा मैले मार्न पठाएको अथवा उनीहरू निकै साहसिक चालक भएर पठाएको सोच्नुभयो कि ? होइन है । मैले उनीहरूलाई यस्ता अनावश्यक जोखिम नउठाउन भनी सम्झाउने निकै कोसिस गरेको थिएँ ।”
केही समयपछि चकालोभ आई.१८० नम्बरको विमानको ककपिटमा बसेर नयाँ विमान उडाउन ठिक्क परेका थिए । स्तालिनले कुनै दुर्घटना हुनसक्ने सशंयका साथ एक जना सहयोगीलाई पठाएर चकालोभलाई विमान नउडाउन भन्नुभयो । चकालोभ भने आप्mनो निर्णय छोड्ने पक्षमा थिएनन् । तर, पछि उनले स्तालिनको आग्रह माने । विडम्बना ¤ केही समयपछि चकालोभको विमान दुर्घटनामै ज्यान गयो । स्तालिनले उत्कृष्ट विमानचालक बेडुकोभलाई सोध्नुभयो,“अब त्यो अक्षम विमान डिजाइनरलाई हामीले के गर्नुपर्ला ? विमानको डिजाइनर पोलिकार्पोभबारे तपाईंको धारणा के छ ? उसको यो डिजाइन दुर्घटनाको कारक बनिरहेको छ ।”
स्तालिनले केहीबेर उत्तरको प्रतिक्षा गर्नुभयो । त्यो विमानको डिजाइनर आफ्नो डिजाइन सफल होस् भनी सधैँ चर्चमा गएर प्रार्थना गथ्र्यो सायद । तर, बेडुकोभले स्तालिनलाई ‘विमान निर्माता संस्थाले रुसी प्रकारको प्राविधिक ज्ञानमा विश्वास नगरेको’ भनी जवाफ दिए । उनको यो कुराले पोलिकार्पोभ गिरफ्तार हुनबाट जोगिए । तर उनका सहकर्मीहरूमाथि भने मुद्दा चल्यो । अनि वास्तवमै विमान निर्माणको क्रममा तलमाथि भएको पुष्टि पनि भयो । विमान दुर्घटनाको विश्लेषणपछि उही पोलिकार्पोभ त्यो निष्कर्षमा पुगे । बेडुकोभले भने,“विमान निर्माणको प्राविधिक विषयमा स्तालिनलाई धेरै जानकारी छ । हवाई यातायातका विज्ञहरूसँगको कुराकानीमा उनलाई धेरै कुराको जानकारी भएको अनुभव हुन्छ । हवाई यातायात क्षेत्रका मजदुरहरूसँगको बैठकमा उहाँले डिजाइन र मेकानिक्सका समस्या भकाभकभन्दा सबै विज्ञहरू चकित परेका थिए ।”
मेरो विचारमा यहाँ अर्को एउटा घटनाबारे पनि भन्न आवश्यक छ । सोभियत सङ्घका वीर नायक एमएम ग्रोमोभले मलाई यो कुरा भनेका थिए :
“मेरो जीवनमा स्तालिनको ठूलो प्रभाव छ । हाम्रो देशको लागि खाँचो पर्ने उहाँ सबै काम गर्नुहुन्थ्यो । उहाँ चलाख, सबै कुरा बिस्तारमा बुझ्ने र सही विश्लेषण गर्नसक्ने, व्यक्तिको चरित्र बुझ्न सक्षम र उत्कृष्ट क्षमताका मानिसलाई एकै ठाउँमा ल्याएर कुनै ठूलो उपलब्धि हासिल गर्न सक्षम व्यक्ति हुनुहुन्छ । उहाँ भित्रैदेखि नै नेता हुनुहुन्थ्यो । एउटा नियमित ढाँचामा चल्ने, कुनै कल्पनशीलता नभएको, झूटा र सतही शब्दबाज, आफ्नो स्वार्थ हेर्ने र चाप्लुस मान्छे स्तालिन हुनुहुन्नथ्यो । हामी समर्पित विमानचालक हौँ । हामी धेरै गर्न खोज्छौं । तर, हामीलाई निकै थोरैमात्र थाहा छ । उहाँले हामीलाई कुनै पनि विषयमा गहिरो गरी सोच्ने बनाउनुभयो । उहाँले हामीलाई पश्चिमले हासिल गरेका सफलतातिर हेर्न धेरै पटक उत्साहित गर्नुभयो । अनि जहाँ सम्भव हुन्छ, अब्बल प्रविधिबारे सिक्न आग्रह गर्नुभयो । हामी जर्मनी र अमेरिका गएका थियौँ । त्यहाँबाट फर्केर हामीलाई रुचिकर लागेका सबै कुरा स्तालिनलाई सुनायौँ । स्तालिनले मलाई फेरि एकपल्ट यस्ता निर्देशन दिनुभयो, त्यो सुनेर म झन्डै कुर्सीबाट भुइँमा खसिनँ । उहाँको पहिलो निर्देशन थियो, “ग्रीष्मकालीन हवाई प्रतिष्ठानको प्रमुखको जिम्मेवारी सम्हाल्ने र दोस्रो, हाम्रो हवाई सेनाको कमान्डर बन्ने ।”
मलाई दिइएको जिम्मेवारी पूरा गर्ने क्रममा मेरो सम्पर्कमा आएका व्यक्तिहरू त्यस्ता थिए । मेरो हाकिम ओर्डझोनिकिड्जलाई योजना बनाएरै फुर्सद हुन्नथ्यो । हवाई क्षेत्रका भवनहरूको अनुगमनमा उनीलाई भ्याईनभ्याई हुन्थ्यो । फेब्रुअरी १८ को राति १० बजे म ओर्डझोनिकिड्जको घर गएको थिएँ । त्यसको भोलिपल्ट उनको निधन भयो । उनको निधनको विषयमा पनि धेरै थरी मत छन् । वास्तवमा भएको के थियो ?
त्यत्तिबेला ढोकामा पालो दिने जिम्मेवारी जेम्स्कीको थियो । सेर्गो(ओर्डझोनिकिड्ज)को क्रेमलिनस्थित कार्यालय सबैतिर सुनसान थियो । सेर्गोकी श्रीमती जिना पनि त्यहाँ थिइनन् । सेर्गोको घरमा एक जना सहयोगीमात्र थिइन् । उनलाई अस्थायीरूपमा काममा लगाइएको थियो । उनको नाम लाभ्रेन्टेभा थियो । अचानक उनी चिच्याउँदै बाहिर आइन् :
“सेर्गोलाई गाह«ो भइरहेको छ । सेर्गोलाई गाह«ो भइरहेको छ ।”
त्यहाँ कहीँ कतै गोली चलेको आवाज नसुनिएको सुरक्षाकर्मी जेम्स्कीले भने । त्यहाँ गोली चलेको थिएन ¤ तर, सुरक्षाप्रमुख येझोभ त्यहाँ देखापर्न भने ५० मिनेटभन्दा बढी समय लागेको थियो ¤ उनले आएर के भएको भनी सोधे । कसैलाई केही थाहा थिएन । तर, कसैले पनि मेडिकल डाक्टर बोलाउन आवश्यक पनि ठानेन । किन ?
सेर्गोको निधनपछि मलाई ए.मिकोयानको कमान्डअन्तर्गतको सोभियत एजेन्सीमा सरुवा गरियो । मिकोयान व्यवहार र चालढालमा सेर्गोभन्दा नितान्त फरक थिए । मिकोयानलाई एकपल्ट अर्मेनियाको ऐरेभान जानु थियो । म पूर्वतयारीको लागि पहिले नै गएको थिएँ । त्यहाँ झन्डै १५० जना जति सरकारी कर्मचारी भेला भएका थिए । मिकोयानले बैठकको उद्घाटन गरे । अनि सबैलाई आफ्ना कुरा राख्न आग्रह गरे । कोही पनि बोलेनन् ।
“त्यसको अर्थ कसैको केही भन्नु छैन ।”
अनि बैठक समापन भयो । उनको शैली त्यस्तो थियो । उनी खास समस्या के हो, के कुराको खाँचो छ भन्ने विषयमा सक्रिय छलफलमा भाग लिंदैनथे । सेर्गो भने उनको स्वभावभन्दा ठीकविपरीत स्वभावका थिए ।
सोभियत सङ्घको सर्वोच्च सोभियतको चुनाव आउँदै थियो । मिकोयान अर्मेनियाबाट उम्मेदवार बन्नु थियो । त्यसको लागि उनी ऐरेभान जानु थियो । रेल स्टेसनमा उनलाई स्वागत गर्न धेरै उनका शुभचिन्तकहरू भेला भए । अर्मेनियाका जनता उनीसँग हात मिलाउन आतुर थिए । उनीहरूले त रेललाई घेरा हाले । अवस्था सम्हाल्न मैले सबै उनका शुभचिन्तकहरूसँग अलग अलग कुराकानी गर्नुपरेको थियो ।
चुनावकै क्रममा उनी आफ्ना मतदातासामु देखापर्नु पर्ने थियो । ‘लेनिन चोक’मा एक लाखभन्दा बढी मानिस भेला भएका थिए । त्यहाँ काठको एउटा डबु बनाइएको थियो । डबुमा मानिसको यस्तो भीड लागेको थियो, अचानक त्यसको खुट्टाले साथ छोड्यो । दबु भाँचियो । मिकोयानलाई त्यो ठाउँबाट जोगाएर सुरक्षित स्थानमा लान हामीलाई हम्मेहम्मे भएको थियो । त्यसपछि उनले सोभियत कम्युनिस्ट पार्टीको कार्यालयको कौसीबाट जनसमुदायलाई सम्बोधन गर्न खोजे । तर, भीड यति अव्यवस्थित बनेको थियो । जताततै हल्लैहल्लामात्र थियो । अन्ततः सभा नै स्थगित गर्नुपरेको थियो ।
नेताहरूले खाने खाना र पेय पदार्थबारे रेखदेख गर्नु पनि मेरो जिम्मेवारी थियो । कसैले ती खाद्यपदार्थमा विष प्रयोग गर्नसक्ने सम्भावनालाई हामीले विचार गर्नुपथ्र्यो । नेताहरूले खाने सबै वाइनको बोटल पहिले म आफूले चाख्थेँ र कुनै अलमल नभएको निश्चित गर्थेँ । एकपल्ट त यसरी चाख्ने क्रममा मलाई कति बेला रक्सी लागिसकेको थियो, मैले चालै पाइनँ । मलाई हतार हतार कोठामा लगिएको थियो ।
एक दिन ऐरेभानमा बिना जानकारी बेरिया र मलेन्कोभ आए । बेरियाले रेलबाटै सार्किसोभलाई जर्जियाली भाषामा केही भन्दै थिए । अर्मेनियाको पार्टीका प्रथम सचिव ए. कोस्टान्टियन, केन्द्रीय कार्यकारी समितिका अध्यक्ष एस. मार्कितियान, अर्मेनियाली गृह सुरक्षाका चार जना शाखा प्रमुख र चार जना सहायक अध्यक्षहरूलाई गिरफ्तार गर्न तीन जना एनकेभीडी (सोभियत गोप्य प्रहरी) का पदाधिकारीहरू आएका थिए । सन् १९३७ मा २२ जना उच्चपदस्थ अमेर्नियाली अधिकारीहरूलाई गिरफ्तार गरिएको थियो ! उनीहरूमध्ये अधिकांश दोषी थिएनन् । उनीहरूको गिरफ्तारको पछाडि येझोबको हात थियो ।
बाँकी भोलिको अङ्कमा
नेपाली अनुवादः बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *