भर्खरै :

खानै नपुग्ने चिया श्रमिकको ज्याला

चियाको चुस्कीबाट बिहानको कामकाज सुरु गर्ने नेपालीको बानी बसिसकेको छ । मगमगाउने त्यही चियाले पाहुनाको सत्कार पनि गर्ने गरिन्छ । त्यसैगरी चियाको व्यापार गरेर मुलुकले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्छ । त्यही चियाको बोटमा पसिना सिञ्चित गर्दै आएका हजारौँ श्रमिकले भने कहिल्यै खान पुग्ने गरी ज्याला पाउन सकेका छैनन् ।
सरकारले २०७५ साउन ३१ गते नेपाल राजपत्रमा सूचना जारी गर्दै चिया श्रमिकको न्यूनतम ज्याला रु. ३८५ तोकेको छ । दुई वर्ष बितिसक्दा पनि उक्त पारिश्रमिक बढाइएको छैन । समयसँगै महँगी बढ्छ, बजारमा वस्तु तथा सेवाको दाम अकासिन्छ । यही बीचमा कर्मचारीको तलब बढ्यो । इन्धन, शैक्षिक शुल्क, उपचार खर्च आदि सबै बढेका बढ्यै छन् । तर चिया मजदुरको पारिश्रमिक बढाउनुपर्छ भनेर सरकारले सोचेन । चिया बगान तथा उद्योगका मालिकले झन् सोचेनन् ।
विसं २०७४ मा नेपाल सरकारले नयाँ श्रम ऐन लागू ग¥यो । जसमा चिया क्षेत्र र गैर चिया क्षेत्र गरी आम मजदुरलाई दुई भागमा बाँडिएको थियो । चिया मजदुरहरूको न्यूनतम पारिश्रमिक गैर चिया क्षेत्रका मजदुरको भन्दा कम तोकिएको छ । मजदुरहरूले पारिश्रमिक तोक्ने कार्यमा सरकारबाटै विभेद भएको अथ्र्याउने गरेका छन् ।
गिरीबन्धु टी इस्टेटका मजदुर नारायण दर्जीले दुई वर्षअघि तोकिएको न्यूनतम पारिश्रमिकले परिवारको छाक टार्नै मुस्किल हुने बताउनुभयो । चामल, दाल, नुन, तेल, मरमसलालगायत खाद्यान्नको भाउ बढेर किनिनसक्नु भइसक्दा मजदुरको पारिश्रमिक बढाउन भने कसैले चासो नदेखाएको उहाँको गुनासो छ ।
नेपाल चिया विकास निगमको बाह्रदशी बगानमा कार्यरत पुराना मजदुर रामचन्द्र विश्वकर्माले राजनीतिक परिवर्तनले मात्र श्रमिकको जिन्दगीमा खुसियाली ल्याउन नसकेको जनाउँदै चिया बगानका मालिकहरूले मजदुरका समस्यालाई कहिल्यै मनन नगरेको गुनासो गर्नुभयो ।
चिया श्रमिकको जीवन निकै कष्टकर रहेको बताउँदै उहाँ प्रश्न गर्नुहुन्छ, “तीन सय पचासी रुपैयाँले कसरी जहान छोराछोरी पाल्नु ?, बिमारी पर्दा कहाँबाट ल्याएर उपचार खर्च गर्नु ? छोराछोरी कसरी पढाउनु ?”
नेपालमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, कास्की, रामेछाप, नुवाकोट, ललितपुर र लमजुङ गरी १६ जिल्लामा चिया खेती छ । नेपाल चिया तथा कफी विकास बोर्डको तथ्याङ्कलाई आधार मान्दा नेपालमा २८ हजार ५९५ हेक्टर क्षेत्रफलमा चिया खेती छ । यसमध्ये १३ हजार ९२७ हेक्टरमा साना किसानले चिया खेती गरेका छन् । अरू नेपाल चिया विकास निगम र निजी क्षेत्रका ठूला बगान छन् ।
समग्रमा चिया क्षेत्रमा ५० देखि ६० हजार रोजगार श्रमिक भएको अनुमान गरिँदै आएको छ तर करिब पाँच हजार जनाले मात्र स्थायी श्रमिकको मान्यता पाउन सकेका छन् । पहाडमा अर्थोडक्स र मधेसमा सीटीसी चिया उत्पादन हुने गरेको छ । ग्रीन टीको रूपमा अग्र्यानिक चियाको समेत थोरै मात्रामा उत्पादन भइरहेको देखिन्छ ।
मधेसमा ३२ वटा सीटीसी र दुई वटा अर्थोडक्स चियाको कारखाना सञ्चालनमा छन् । पहाडमा ३१ वटा अर्थोडक्स कारखाना छन् । अधिकांश कारखाना झापा र इलाम जिल्लामा छन् ।
चियाको क्षेत्रफल र उत्पादनका आधारमा झापा मुलुकको सबैभन्दा ठूलो चिया उत्पादक जिल्ला हो । यहाँ २६ वटा चिया कारखाना र ७० भन्दा बढी चिया बगान छन् । करिब ३६ हजार चिया मजदुर यही जिल्लामा भएको अनुमान गरिँदै आएको छ ।
तर, सबैभन्दा बढी सङ्ख्यामा चिया बगान र किसान आबद्ध रहेको जिल्ला इलाम हो । इलाममा किसानहरूले करेसाबारीमा समेत चिया हुर्काउने गरेका छन् । नेपालमा चिया खेती सुरु भएको १५७ वर्ष भइसक्यो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीनबाट चियाको बीउ ल्याएका थिए । चिनियाँ सम्राटले दिएको त्यो चियाको बीउलाई जङ्गबहादुरले आफ्ना ज्वाइँ एवं इलामका बडाहाकिम गजराज सिँह थापालाई रोप्न दिएका थिए । गजराजले विसं १९२० मा पहिलोपल्ट इलाम चिया कमानमा चियाको बिरुवा हुर्काएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *