भर्खरै :

लेनिनका जीवनका पानाहरू –६/लेनिनको सरकार चलाउने शैली

लडाइँका मोर्चाहरूमा विजय तथा समाजवादी पुनः निर्माणको सफलताको लागि सोभियत राजकीय मेसिनरी कुशलतापूर्वक चलिरहनु अत्यन्त महत्वपूर्ण थियो । लेनिनले सोभियत राजकीय मेसिनरीको कामलाई गुणस्तरीय बनाउन,सरल र तीव्र बनाउन, सोभियत निकायहरूको दैनिक कामहरूमा कुशलता, व्यवस्था र अनुशासनमा ल्याउन अथक सङ्घर्ष गर्नुभयो । सोभियत जनतालाई श्रमप्रति एउटा नयाँ समाजवादी दिशा अपनाउन उहाँले आग्रहपूर्वक शिक्षा दिनुभयो ।
सोभियत राजकीय निकायहरूको कार्यलाई सङ्गठित र गुणस्तरीय बनाउन सोभियत सरकारद्वारा जारी गरिएका सबै कानुन र आदेशहरूलाई तुरून्त, कुशलतापूर्वक र कडाइका साथ पालना गर्न अति नै जरुरी थियो । लेनिनले क्रान्तिकारी कानुन र व्यवस्थालाई कडाइका साथ पालना गराउन अथक र नियमित सङ्घर्ष चलाउनुभयो । उहाँले सोभियत सत्ताद्वारा जारी गरिएका कानुन, आदेश तथा सोभियत जनतन्त्रको संविधानको गम्भीररूपले सम्मान गर्ने शिक्षा दिनुभयो ।
यस सम्बन्धमा उहाँसँग सूती कपडा पाउँ भनी बिन्ती बिसाउन आएका दानिलोभ सूती मिलका प्रतिनिधिहरूलाई लेनिनले दिनुभएको उत्तर (२४ मार्च १९१९) एउटा उदाहरण हो । लेनिनले लेख्नुभएको थियो, “यस प्रश्नको निर्णय केन्द्रीय कार्यकारिणी समितिको अध्यक्ष–मण्डलद्वारा गरिसकिएको छ, जुन संविधानका अनुसार जनकमिसार परिषद्भन्दा उच्चस्तर निकाय हो । त्यस निर्णयलाई बदल्ने अधिकार न त जनकमिसार परिषद्का अध्यक्षको रूपमा मलाई छ, न त स्वयम् जनकमिसार परिषद्लाई नै छ । यस तथ्यलाई ध्यानमा राखिदिनुहोला ।”
लेनिनको मागमा १९१९ मा न्याय जन–कमिसार परिषद्ले एउटा पम्प्लेट निकाल्यो । जसको शीर्षक थियो, ‘सोभियत जनतन्त्रका कानुनहरूको पालना गरौँ ।’ लेनिनले नै यस पम्पलेटको सम्पादन गर्नुभएको थियो । त्यसमा कामदार जनतासँग सोभियत सत्ताद्वारा स्थापित कानुनहरूलाई अक्षरसः पालना गर्न अपिल गरिएको थियो । लेनिनको आज्ञाले जनकमिसार परिषद्का सबै सदस्यहरूलाई त्यसको प्रति पठाइएको थियो । लेनिनले त्यस पम्प्लेटलाई जनकमिसार परिषद्को बैठकहरूमा सधैँ आफ्नो अगाडि राख्नुहुन्थ्यो । उहाँ त्यसको उदाहरण दिनुहुन्थ्यो र त्यसबारे जनकमिसारहरूलाई स्मरण गराइरहनुहुन्थ्यो ।
क्रान्तिकारी कानुनलाई कायम राख्न लेनिनले भष्टाचारको विरुद्ध अथक सङ्घर्ष गर्नुभयो । भ्रष्टाचारलाई उहाँले जारशाहीको घृणित विरासत भन्नुहुन्थ्यो । १९१८ को मे महिनामा न्याय जनकमिसार कुस्र्कीलाई लेखेको एउटा नोटमा लेनिनले निम्नलिखित प्रस्ताव गर्नुभएको थियो, ‘…तुरुन्त, एउटा यस्तो आशयको मस्यौदा पेश गर्नुस्, जसमा भ्रष्टाचारको (भ्रष्टाचार, कमिसन, दलाली आदि) सजाय दस वर्ष जेलभन्दा कम नहोस् र त्यसमाथि दस वर्षको अनिवार्य श्रम होस् ।’
आफ्ना दैनिक व्यवहारिक कार्यहरूमा लेनिन प्रायजसो भ्रष्टाचारविरुद्ध लड्ने समस्यामा पुग्नुहुन्थ्यो । यस काममा पनि उहाँले पार्टी सदस्यहरूको प्रमुख भूमिका त्यसरी नै निर्धारण गर्नुभयो, जसरी समाजवादी निमार्णसँग सम्बन्धित सबै कामहरू र राजकीय मेसिनरीलाई सुधार्ने काम गर्नुभएको थियो । १९२१ को अक्टोबरमा राजनीतिक शिक्षा निकाय(३) को दोस्रो अखिल रुसी अधिवेशनको आफ्नो रिपोर्टमा लेनिनले भन्नुभएको थियो, “यदि राजनीतिक शिक्षा निकायका सदस्यहरूले ‘हाम्रो विभागसँग यसको केही सम्बन्ध छैन वा हामीले यस विषयमा पम्पलेट र अपिल निकालेका छौँ भन्छन्, तब जनताले पनि हजुर असल पार्टी सदस्य होइन भन्नेछन् । पक्कै पनि यसको सम्बन्ध हजुरको विभागसँग नहोला, यसको लागि मजदुर किसान निरीक्षण संस्था (४) स्थापित छ, तर हजुर पनि पार्टीको सदस्य हो ।’
लेनिनलाई यदि कसैले सोभियत सत्ताद्वारा पास गरिएको कुनै एउटा पनि फैसला वा आदेशको पालना गरेका छैनन् भन्ने थाहा भएमा उहाँ निर्विवादरूपले दोषीलाई सजाय दिन आग्रह गर्नुहुन्थ्यो । उहाँ यो पनि भन्नुहुन्थ्योे, “सजाय कडा होस्, आवश्यक छैन । कहिलेकाहीँ गाली गर्दैमा काम बन्न सक्छ, तर दोषीहरू सजायबाट बँच्छन् भन्ने आम विश्वासलाई नष्ट गर्न जरुरी छ ।” लेनिनको भनाइ थियो, ‘दोषी ऊमात्र होइन जसले आफूलाई सुम्पिएको काम पूरा गर्न असफल हुन्छ, सरकारको फैसलालाई कार्यान्वयन नगर्नाले संस्थालाई नोक्सानीको भार बेहोराइरहने संस्थाको लापरबाह सञ्चालक झन् दोब्बर दोषी हो ।’ यसैकारण लेनिनले समयमा खतराको घण्टी नबजाउने, समस्याबारे गुनासो नगर्ने वा उपयुक्त निकायलाई जानकारी नै हुन नदिने सञ्चालकहरूलाई दोष दिनुहुन्थ्यो ।
लेनिनले दैनिक प्रशासनिक आदेशहरूप्रतिको लापरबाहीपन त झन् फिटिक्कै सहनुहुन्नथ्यो । घाइते भएपछि स्वस्थ भएर जब उहाँ आफ्नो काममा फर्किनुभयो, तब डाक्टरहरूले आग्रहपूर्वक चुरोटको धुवाँ भरिएको कोठामा काम नगर्न सल्लाह दिनुभयो । त्यसपछि सम्मेलन–कक्षमा धुमपान निषेध गरियो । लेनिनले आफ्नो कक्षमा डाक्टरहरूकै सुझावअनुसार ‘धुमपान निषेध’ को सूचना ठूला–ठूला अक्षरमा लेखेर भित्तामा टाँस्न लगाउनुभएको थियो । यसो गर्दा पनि त्यहाँ आउने सबै सदस्य साथीहरूले यस नियमको पालना गर्दैनथे । एक दिन कुनै सम्मेलनपछि हल चुरोटको धुँवाले भरिएको बेलामा लेनिनले मलाई भित्र बोलाएर भन्नुभयो, “टाँसेको सूचना हटाउनु प¥यो ।” उहाँले अझ थप्नुभयो, “यदि नियमको पालना गराउन सक्दैनौँ भने हामीले त्यसलाई हटाउनुपर्छ, ता कि नियमको महत्व नष्ट नहोस् ।”
जब कुनै दिन जनकमिसार परिषद् वा श्रम तथा प्रतिरक्षा परिषद्को बैठकमा लेनिनलाई कुनै सरकारी फैसला कार्यान्वयन भएको छैन भन्ने पत्ता लाग्थ्यो तब उहाँले दोषी व्यक्तिलाई दुई वा तीन दिनसम्म गिरफ्तारीमा राख्न आदेश दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, “उसलाई छुट्टीको दिनमा गिरफ्तार गर्नुस् र कामको दिनमा छोड्नुस्, ता कि कामको नोक्सान नहोस् ।”
कामदार जनताका असीम सम्मान तथा उनीहरूको हार्दिक श्रद्धाका पात्र भए पनि लेनिनले आफ्नो हैसियतको कहिल्यै पनि दुरूपयोग गर्नुभएन । न त आफ्नो मामिलामा कहिल्यै उहाँले स्थापित परम्परा, रीतिरिवाज वा कानुनमा छुट गर्ने स्वीकृति नै दिनुभयो । जनकमिसार परिषद्का प्रबन्ध व्यवस्थापकको नाममा २३ मे १९१८ मा लेखेको उहाँको पत्र सुविख्यात छ । त्यस पत्रद्वारा उहाँको जनकमिसार परिषद्को अध्यक्षका हैसियतले लेनिनको पारिश्रमिक ५०० बाट बढाएर ८०० रुबल प्रतिमहिना गरेकोमा बोँच–बु्रयेभिचलाई चर्को आलोचना गर्नुभयो । लेनिनले भन्नुभयो, “यस्तो गर्नु मनोमानीपन र गैरकानुनी हो ।”
लेनिनलाई कसैले उपहार वा भेट पठाएको फिटिक्कै मन पर्दैनथ्यो – खासगरी संस्था वा अधिकारीहरूद्वारा पठाइएको भेट । उदाहरणको लागि, मस्को सोभियतको खाद्य–विभागद्वारा २२ अगस्ट, १९१९ मा राजकीय फार्ममा उब्जाइएका फलका नमुना प्राप्त गरेपछि लेनिनले अर्को दिन अर्थात् २३ अगस्टमा यस्तो जवाफ लेख्नुभयो, “…फेरि यस्तो नर्गनुहोला भनी मैले विनम्रतापूर्वक प्रार्थना गर्न चाहन्छु, मलाई फल आदि पठाउन आवश्यक छैन । त्यसको ठाउँमा मैले केही तथ्य र आँकडाहरू चाहन्छु । जसबाट राजकीय फर्ममा उब्जाइएका फल इत्यादिलाई साधारणतया कुन तरिकाले वितरण गरिन्छ थाहा होस् । के त्यसबाट केही अस्पताल, स्वास्थ्य केन्द्र, बच्चाहरू आदिका लागि पठाउने गरिन्छ र यदि पठाइन्छ भने कहाँ र ठ्याक्कै कति–कति पठाइन्छ ?”
आफ्नो जीवनलाई अधिक सुविधा सम्पन्न बनाउने हर प्रयत्नलाई लेनिनले अरूभन्दा आफूलाई राम्रो स्थितिमा राख्न गरिने प्रयास मान्नुहुन्थ्यो र, यस्ता प्रयत्नहरूलाई अति अप्रसन्नताका साथ अस्वीकार गर्नुहुन्थ्यो ।
नोकरशाही तौर–तरिका र लाल फीताशाही सोभियत राजकीय मेसिनरीका गम्भीर दोष थिए । सोभियत सत्ताले पुरानो नोकरशाही राजकीय मेसिनरीलाई नष्ट गरिदिएको थियो र राजकीय प्रशासनमा कामदार मानिसलाई सामेल गराउन पनि एउटा नयाँ सोभियत मेसिनरीको निमार्ण गरेको थियो । सोभियत सत्ताको यो महान उपलब्धि थियो । एघारौँ पार्टी अधिवेशनमा भाषण गर्दै लेनिनले भन्नुभएको थियो, “हाम्रो राजकीय मेसिनरी चाहे जति पनि खराब किन नहोस्, फेरि पनि यसको निर्माण गरिएको हो, यो एउटा महान् ऐतिहासिक आविष्कार हो ।”
व्यवहारतः सोभियत राजकीय मेसिनरीमा गम्भीर दोष थिए । सुसंस्कृत कार्यकर्ताहरूको अभाव थियो । नौजवान सोभियत कार्यकर्ताहरूलाई त्यस समय राजकीय प्रशासन–कौशलको कुनै अनुभव थिएन । पुराना जारशाही जमानाका अधिकारी, रुढीवादी, नोकरशाहरू विभिन्न विभाग र संस्थाहरूमा चुक्कल लगाएर बसेका थिए । प्रायजसो उनीहरूले जानेरै काममा बाधा पारिरहन्थे । लेनिनले नोकरशाहीमाथि पूर्ण विजय पाउन सम्पूर्ण जनसङ्ख्यालाई राज्य–प्रबन्धमा समेट्न र जनताको आम सांस्कृतिक स्तरलाई ऊँचो उठाउन जरुरी छ भनी सिकाउनुभयो । यसको लागि एक–दुई होइन, दसौँ वर्षको आवश्यकता छ । यसैकारण लाल फीताशाही र नोकरशाहीको विरुद्ध दिन–प्रतिदिन सङ्घर्ष गर्नुपर्छ ।
लेनिनले जानकारीमा आएका कर्मचारीतन्त्र, नोकरशाही वा लापरबाहीका सबै मामिलाहरूमाथि कडाइका साथ रोक लगाउनुहुन्थ्यो । उहाँ काममा अत्याधिक सक्रियता तथा सोभियत सत्ताका आदेशहरूको तत्काल र पूर्ण कार्यान्वयनको माग गर्नुहुन्थ्यो । उहाँले काममा अनावश्यक उल्झन र बाधाहरू उत्पन्न गर्ने नोकरशाह, कर्मचारीतन्त्र र कानुनको उल्लङ्घन गर्नेहरूको विरुद्धमा सङ्घर्ष गर्नुहुन्थ्यो । ठोस तथ्यहरू तथा भुलचुकहरूको उदाहरणबाट लेनिनले नौजवान सोभियत कर्मीहरूलाई काम गर्ने तरिका सिकाउनुभयो ।
जनवरी १९१९ मा मजदुरहरूलाई रोटी आपूर्ति गर्ने सर्वाधिक महत्वपूर्ण कार्यप्रति अपनाइएको गैर–जिम्मेवार तथा लापरबाहीयुक्त काममाथि गम्भीर असन्तुष्टी प्रकट गर्दै ६ जनवरी १९१९ मा लेनिनले सिम्बीस्र्क गुर्बेनियाका खाद्य–कमिसारलाई लेख्नुभयो, “पेत्रोग्राद र मस्कोमा मजदुरी गर्ने ४२ वटा मजदुर सङ्गठनहरूका समितिले तपार्इँको प्रबन्धकीय अयोग्यताको गुनासो गरेका छन् । उनीहरूले तपाईँबाट अत्याधिक सहायता, कामप्रति नयाँ तरिका र मजदुरहरूको लागि हर प्रकारको सहायताको माग गरेका छन् । यसमा असफल भएमा मैले तपार्इँको संस्थाका सबै कर्मचारीहरूलाई गिरफ्तार गर्न र उनीहरूमाथि मुद्धा चलाउन बाध्य हुनुपर्नेछ ।”
लेनिनले १८ फेबु्रअरी, १९१९ मा ममादीश उयेज्दका कार्यकारिणी समितिलाई तार पठाउनुभयो, “सोर्मोभोका कम्युनिस्ट रुकाभिश्निकोभ एक महिनादेखि जेलमा छन् र उनको सम्बन्धमा अहिलेसम्म खोजीनीति भएको छैन भन्ने कुरा साँचो हो ? यदि यो साँचो हो भने यसको लागि जिम्मेवार व्यक्तिमाथि लाल फीताशाहीको मुद्धा चलाउनु पर्छ । जवाफ तारमार्फत दिनुहोस् ।”
लेनिनले कर्मचारीतन्त्र विरुद्धको सङ्घर्षलाई राजनीतिक महत्वको मामिला मान्नुहुन्थ्यो ।
न्याय जन–कमिसारियत, क्रान्तिकारी न्यायधीकरण आदिलाई लेखेका पत्रहरूमा लेनिनले कर्मचारीतन्त्रसँग सम्बन्धित मामिलाहरूमा अदालती कारबाही गरियोस् भनी माग गर्नुभएको थियो । कुस्र्कीलाई लेखेको आफ्नो ४ नोभेम्बर १९२१ को पत्रमा लेनिनले भन्नुभयो, “मस्कोका कर्मचारीतन्त्रसम्बन्धी ४–६ मामिला (१९२१–२२ को) यस पतझर र जाडोको समयमा मस्कोको अदालतमा लैजान आवश्यक छ । यसको लागि अधिक ‘ज्वलन्त मामिलाहरू’ लाई चुनियोस् र हरेक मामिलालाई राजनीतिक महत्वको बनाइयोस् ।”
लेनिनले २० अक्टोबर १९२१ मा खाद्य जन–कमिसारियतको लाल फीताशाहीसँग सम्बन्धित एउटा विशेष मामिलाको बारेमा मस्को क्रान्तिकारी न्यायधीकरणलाई लेख्नुभयो, “पुनश्चः कर्मचारीतन्त्रको मामिलामा अदालती कारबाहीलाई सम्भव भएसम्म गम्भीर र शिक्षाप्रद बनाइयोस् र फैसला अत्यन्त प्रभावोत्पादक होस् । यो पार्टी तथा राजनीति दुवैको दृष्टिबाट, विशेषतः सोभियतहरूको आठौँ अधिवेशनद्वारा स्वीकृत प्रस्तावहरूको दृष्टिमा, अत्याधिक महत्वपूर्ण छ ।”
कर्मचारीतन्त्रविरुद्धको सङ्घर्षमा लेनिनले आदेश परिपत्रहरूको कार्यान्वयनमाथि निगरानी राख्नु अत्यन्त महत्वपूर्ण ठान्नुहुन्थ्यो । सोभियत सत्ताका फैसलाहरूको कार्यान्वयनमाथि विभाग र संस्थाहरू, पार्टी र सोभियत कार्यकर्ताहरूले कडा ढङ्गले निगरानी राखून् र जाँच गरून् भन्ने उहाँको आग्रह थियो ।
राजकीय मेसिनरीको कामलाई अझै राम्रो बनाउन लेनिनले परिपत्रहरूको कार्यान्वयनमाथि निगरानी राख्नु र कर्मचारीहरूलाई समझदारीका साथ चुन्नुुलाई अत्यधिक महत्वपूर्ण सर्तहरू भन्नुहुन्थ्यो । जब १९२१ को अन्तिम दिनहरूमा त्सुरूपा जनकमिसार परिषद्का उपाध्यक्ष नियुक्त हुनभएको थियो, तब लेनिनले सुम्पिनुभएको उहाँको मुख्य कार्यभार राजकीय मेसिनरीको कामलाई नियमबद्ध बनाउनु थियो ।
टिप्पणीहरू :
१) मि.वा फ्रुन्जे (१८८५–१९२५) – बोल्शेभिक र सोभियत राज्यका नेता, एकजना प्रभावशाली सेनानायक तथा लालसेनाका प्रमुख सङ्गठनकर्ता । १९२० को अन्त्यमा दक्षिणी मार्चाका फौजहरूको कमान्डर थिए । जसले व्राङ्गेलका सेता फौजहरूलाई पूर्ण पराजित गरी क्रीमियालाई स्वतन्त्र पारेका थिए ।
२) मजदुर र किसानहरूको प्रतिरक्षा परिषद् – जनतन्त्रको प्रतिरक्षाको सञ्चालन गर्न नोभेम्बर १९१८ मा गठन भएको थियो । त्यसको नेतृत्व लेनिनको हातमा थियो । अप्रिल १९२० मा मजदुर र किसानहरूको प्रतिरक्षा परिषद् पुनर्संगठित भएर श्रम तथा प्रतिरक्षा परिषद् बन्यो ।
३) राजनीतिक शिक्षा निकाय–जन–शिक्षा पद्धतिको एक अंश, जसको काम युवाहरूमा शिक्षा–प्रचार (निरक्षरताको उन्मूलन, भिन्न प्रकारका स्कूलहरू, पाठ्यक्रमहरू, क्लवहरू तथा पुस्तकालयहरूको सञ्चालन) गर्नु थियो ।
४) मजदुर किसान निरीक्षण जन–कमिसारियत–१९२० मा स्थापित एक राज्य–नियन्त्रित निकाय, जसको काम राजकीय प्रशासनमा मानिसहरूलाई अधिकतम सङ्ख्यामा समावेश गर्न सहायता पु¥याउनु थियो ।
प्रस्तुतिः आरम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *