भर्खरै :

दिल्ली दङ्गाको एक वर्षपछि पनि पीडितलाई न्याय भएन

नयाँ दिल्ली, १ मार्च (द वायर) । उत्तरपूर्वी दिल्लीमा भएको दङ्गाको वर्ष दिन बितिसक्दा पनि अहिले पीडित न्यायको प्रतिक्षामा छन् र सरकार सामाजिक कार्यकर्ताहरूलाई नै अपराधी ठहर गर्नका लागि आफ्नो अभियानमा लागिरहेका छन् ।
दिल्ली दङ्गा भएपछि भारतका सरकारी निकायहरू पीडितहरूलाई न्याय र उचित क्षतिपूर्तिले वञ्चित गरेर पीडितहरूको तर्फबाट लडिरहेका वकिलहरू, मानव अधिकारवादी र सामाजिक कार्यकर्ताहरू तथा पत्रकारहरूको विरुद्ध अभियानै छेडेर लागेका छन् ।
जागरुक नागरिकहरूको समुदाय – कन्सर्नड सिटिजन्स कलेक्टिभ (सीसीसी) द्वारा आयोजित मिडिया सम्मेलनका वक्ताहरूले उक्त विचार व्यक्त गरेका हुन् ।
उक्त सम्मेलनमा भारतको सर्वोच्च अदालतका वकिल प्रशान्त भूषण, वरिष्ठ पत्रकार हरतोषसिंह बल, कार्यकर्ता नवदीपकी बहिनी राजवीर कौर, दिल्ली दङ्गासम्बन्धी मामिलामा पक्राउमा परेका खालिद सैफकी पत्नी नरगिस सैफी र युवा अतहर खानकी आमा नुरजहाँ वक्ता रहेका थिए । खालिद सैफ र अतहर खानमाथि गैरकानुनी गतिविधि रोकथाम अधिनियम (यूएपीए) अन्तर्गत मुद्दा दायर गरिएको छ ।
वक्ताहरूले न्यायमा ढिलासुस्ती, दङ्गा पीडितहरूलाई क्षतिपूर्ति, यूएपीएअन्तर्गत युवाहरूको पक्राउ र दङ्गापछि नागरिक समाज र मिडियाको भूमिकासहित विभिन्न विषयमा विचार राखेका थिए ।
वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले जसजसले सरकारको गलत निर्णयको र अन्यायको विरोधमा आवाज उठाउने साहस गरे उनीहरूलाई लगातार कानुनी झमेलामा फसाइरहेको बताए ।
उनले भने, यूपी पुलिस भारतमा सबैभन्दा ठुलो सङ्गठित गिरोह हो । त्यस्तै राष्ट्रिय जाँच एजेन्सी र दिल्ली पुलिसमा पनि गिरोहहरू छन् । यी सबै ठूला, सङ्गठित र आपराधिक गिरोहहरू हुन् । यिनीहरूले कानुनको पर्वाह गर्दैनन् बरु कानुनलाई आफ्नो अनुकूल व्याख्या र प्रयोग गर्ने अवैध गतिविधि गरिरहेका छन् ।
वरिष्ठ पत्रकार हरतोषसिंह बलले जेल एक समाजको रूपमा बाहिरी संसारभन्दा बढी स्वस्थ रहेको बताए ।
उनले भारत सरकार सीएएविरोधी प्रदर्शनकारी र आन्दोलनकारी किसानहरूलाई अपराधीकरण गर्न लागिपरेको चर्चा गरे ।
वकिल श्रेया कपुरले पेश गरेको एक प्रतिवेदनअनुसार शाहीन बागमा प्रदर्शन गरेका महिलाहरूमाथि यति दमन र त्रास दिइएको छ कि अहिले उनीहरूबाहिर आएर प्रदर्शन गर्न डराइरहेका छन् ।
सीसीसीका सदस्य बनोज्योत्सा लाहिरीले भनिन्, “दिल्ली दङ्गा विनाशकारी थियो तर त्यसभन्दा पनि बढी भयानक त्यसपछि सुरु भएको छानीछानीकन षड्यन्त्रपूर्ण पक्राउ हो । त्यसरी पक्राउ गरिएकाहरूले अपराध गरेको पुष्टि नभएपछि खालिद सैफ र इशरत जहाँलगायतलाई यूएपीएअन्तर्गत मुद्दा दायर गरिएको छ । यस अधिनियम (ऐन) मा सुरक्षा निकायहरूले कसैले शान्ति सुरक्षामा खलल पार्ने गतिविधि गर्नेछ भनी शङ्का लागेकै भरमा पक्राउ गरी मुद्दा चलाउन पाइने बन्दोबस्त छ ।
युवा कार्यकर्ता लाहिरीको कथनअनुसार भारतमा अहिले विच हन्टिङ (छानीछानीकन षड्यन्त्रपूर्ण पक्राउ) भइरहेको छ र राम्रो समाजको लागि लडिरहेका युवाहरूमाथि दमन र जेल सजाय भइरहेको छ ।
खालिद सैफकी पत्नी नरगिसले सैफमाथि पुलिसले अत्यन्त भयानक शारीरिक यातना दिएको, मुस्लिम धर्मावलम्बीहरूले नमाज पढ्न पाउने अधिकार हनन, कानुनी उपचारको हकबाट वञ्चित गर्न खोजिएको, कानुनी सहायताका लागि अगाडि आएका वकिलहरूमाथि गैरकानुनी धम्की पुलिस अधिकारीहरूबाटै मिलिरहेको सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *