भर्खरै :

काम्पानेलाको घमाइलो सहर– २

प्रमुख : मलाई प्रशासकहरूको काम कर्तव्य, शिक्षा र जीवनशैलीबारे बताऊ । त्यहाँ राजतन्त्र, गणतन्त्र वा कुलीनतन्त्र के छ, भन न ।
कप्तान : त्यस जातिका मान्छेहरू भारतबाट आएका हुन् । मागी नाउँको लुटेरा र क्रूर जातिले उनीहरूको देश ध्वस्त पा¥यो । मागीहरूको तरबारबाट भागेर उनीहरूले आपसी मित्रतामा आधारित दार्शनिक जीवन व्यतीत गर्ने निधो गरे । चेलीबेटीलाई अन्य जातिलाई नदिए पनि त्यहाँ अन्य सबथोक साझा हुन्छ । यसको तारतम्य प्रशासकहरूले मिलाउँछन् । कला, स्वाभिमान र आनन्द साझा हुन्छ । तिनलाई कसैले आफ्नो निजी बनाउन नसक्ने गरी व्यवस्थित गरिएको छ ।
उनीहरू भन्छन्, प्रत्येक व्यक्तिको आफ्नो घर, जहान र बालबच्चा होस् भन्ने हेतुले मात्र निजी सम्पत्ति राख्न र बढाउन दिइन्छ । यसबाट आत्ममोह अङ्कुराउँछ । हामीले सन्तानलाई धेरै धन र प्रतिष्ठाको विरासत छोड्यौँ भने हामीले राज्यको सम्पत्ति हडप्ने तयारी गर्छौँ । त्यसै पनि धनीमानी र सत्ताधारीहरूको शक्तिप्रतिको आम त्रास हामीले उखेल्नैपर्छ । अथवा, थोरै सम्पत्ति, तुच्छ शक्ति र लरतरो विरासत भएको व्यक्ति छ भने ऊ लोभी, चाप्लुसे र पाखण्डी हुन पुग्छ । तर, हामीले आत्ममोह नै उखेल्यौँ भने राज्यप्रतिको मोहमात्र बाँकी रहन्छ ।
प्रमुख : यस्तो अवस्थामा कसैले पनि श्रम गर्न मान्ने छैनन् । उसले अरूले मात्र काम गरून् भन्ने चाहनेछ । उनीहरूको मिहिनेतको फल खाएर ऊ बाँच्छ । प्लेटोविरुद्ध अरस्तुले यस्तै तर्क दिएका थिए ।
कप्तान : उनीहरूको तर्कको कसरी जवाफ दिने भन्ने मलाई थाहा छैन । तर, म दाबी गरेर भन्छु, उनीहरूमा आफ्नो पितृभूमिप्रति गहिरो माया छ । यो देखेर मलाई विश्वास गर्न पनि गाह्रो भएको थियो । इतिहासमा रोमनहरू आफ्नो निजी सम्पत्ति गुमाएरै पनि आफ्नो देशका निम्ति मरिमेटेको पाइन्छ । ‘घमाइलो सहर’का बासिन्दाहरू ती रोमनहरूभन्दा पनि देशभक्त छन् । आफ्ना इष्टमित्रको मोहले, धेरै प्रतिष्ठा कमाउने महत्वाकाङ्क्षाले कमजोर हुँदैनथे भने हाम्रो देशका जोगी, भिक्षु र पुजारीहरूले सम्पत्तिमाथि यति अनुराग राख्ने थिएनन् । अथवा, सत्य युगमा जस्तै अरूलाई दानपुण्य गर्ने कुरामा चप्किने थिएनन् । अझै पनि यस्तो प्रवृत्ति देखिन्छ ।
प्रमुख : सेन्ट अगस्टिनले त्यसो भन्न सक्छन् । तर यस जातिका मान्छेहरूबीच मित्रताको मूल्य छैन किनभने उनीहरूले अरूको भलाइ गर्ने मौका नै पाउँदैनन् ।
कप्तान : हैन । बरु, कसैले पनि कसैबाट उपहार नपाएको देख्दा अचम्म लाग्छ । जसलाई जे चाहियो, उसले त्यो समुदायबाट पाउँछ । प्रशासकहरूले चाहिनेभन्दा बढी कसैले नलिऊन् भनी निगरानी गर्छन् । कसैलाई पनि चाहिने कुराबाट वञ्चित गरिन्न । युद्ध वा बिरामीको बेला, कला प्रतियोगिताहरूमा उनीहरूले एकअर्कालाई सिकाउँदै सघाउँछन् । कहिलेकाहीँ उनीहरूले एकअर्काको प्रशंसा गरेर, भलाकुसारी गरेर, काम गरेर, आफूलाई चाहिने वस्तुका कारण आफूलाई निखार्दै लग्छन् । आफ्नो उमेरका सबै दौँतरीलाई उनीहरू बन्धु भन्छन् । बाइस वर्षका सबैजनालाई उनीहरू बुबा भन्छन् । बाइस वर्षभन्दा मुनिकालाई बुबाहरूले छोरा भन्छन् । साथै प्रशासकहरूको चुस्त कामकारबाहीले गर्दा बन्धुत्वमा कसैले हानि पु¥याउन सक्दैन ।
प्रमुख :कसरी ?
कप्तान : हामीकहाँ जति सद्गुणहरू छन्, त्यति नै नाउँका त्यहाँ प्रशासकहरू छन् । त्यहाँ एकजना कृपा नामका प्रशासक छन् । अर्का बहादुरी नामका प्रशासक छन् । तेस्रो कौमार्य, चौथो उदारता, पाँचौँ अपराध र नागरिक न्याय, छैटौँ आनन्द, सातौँ सत्य, आठौँ करुणा, दसौँ कृतज्ञता, एघारौँ प्रसन्नता, बाह्रौँ मिहिनेत, तेह्रौँ सादगी आदि । तिनीहरू आफ्नै प्रवृत्तिको काममा खटाइएका हुन्छन् । प्रत्येकलाई किशोरकालबाट आफू अब्बल भएको काममा लगाइन्छ । त्यसकारण उनीहरूबीच लुटपाट वा हत्याहिंसा, तडकभडक, दुराचार, व्यभिचार वा अन्य अपराधहरू पाइँदैन । बरु, कोही अल्छी, दुःखी, रिसालु, लाञ्छना लगाउने, दोष दिने वा झूटो बोल्ने व्यक्ति छ र उसले त्यसलाई कबुल गर्दैन भने उनीहरूले आफैलाई कृतघ्न र दुष्ट भएको ठान्छन् । झूटो बोल्ने बानीलाई त्यहाँ पापसरह तीव्र घृणा गरिन्छ । न्यायाधीशलाई उनीहरू सुध्रिनसक्ने कुरामा पत्यार नलाग्दासम्म आरोप लागेका व्यक्तिहरूसँग एउटै टेबलमा बसिन्न, उनीहरूलाई सम्मान दिइन्न ।
प्रमुख : प्रशासकहरूलाई कसरी चुनिन्छ, बताऊ त ।
कप्तान : उनीहरूको जीवनशैलीबारे थाहा पाएनौ भने तिमीले यो कुरा बुझ्न सक्दैनौ । महिला पुरुष जे भए पनि उनीहरूले युद्ध सुहाउँदो एकै खालको लुगा लगाउँछन् । महिलाहरूले घुँडा ढाकिने लुगा लगाउँछन् भने पुरुषले घुँडामाथि आउने लुगा लगाउँछन् । महिला र पुरुष दुवैलाई हरेक कलामा सँगै तालिम दिइन्छ । सुरुमा यी कुरा सिकाएपछि तेस्रो वर्षभन्दा ठीक अगाडि केटाहरूले भित्ताहरूमा घुमेर भाषा र कखरा सिक्छन् । उनीहरूका चारजना नेता, चारजना अग्रज हुन्छन् । तिनले उनीहरूलाई निर्देशन दिन्छन् र पढाउँछन् । ती व्यक्तिहरू मान्यता प्राप्त हुन्छन् । केही समयपछि उनीहरूले दौडलगायत विभिन्न खेलकुद सिक्छन् । यसले उनीहरू सबैको मांसपेशीहरू दर्बिला हुन्छन् । उनीहरू सधैँ नाङ्गो खुट्टा बस्छन् । सातौँ घेरामा पुग्दासम्म उनीहरूको शिर पनि मुण्डन गरिएको हुन्छ । पछि उनीहरूलाई व्यापार, जुत्ता सिउने, खाना पकाउने, धातुकर्म, काष्ठकर्म, चित्रकारिता आदिको ज्यासलमा तालिम दिइन्छ । सातौँ वर्षपछि रुचिअनुसारको प्रतिभा खुट्याउन उनीहरूलाई सबै विज्ञानको अध्ययनमा लगाइन्छ । सातौँ वर्षसम्ममा उनीहरूले भित्ताका गणितहरूको अध्ययन गरिसकेका हुन्छन् । विज्ञानका सबै शाखामा चारवटा प्रवचन दिइन्छ । चार घण्टामा चारजना शिक्षकहरूले आफ्नो विषयबारे सबै कुरा व्याख्या गर्छन् ।
कसैले शारीरिक शिक्षा लिन्छन् वा कसैले आफूलाई सार्वजनिक सेवा वा काममा व्यस्त गराउँछन् । बाँकीले आफूलाई अध्ययनमा लगाउँछन् । यी कामबाहेक धेरैले आफूलाई जटिल गणित, औषधि विज्ञान र त्यसै कोटीका विज्ञानमा समर्पित गर्छन् । उनीहरूमा निरन्तर वादविवाद र तर्कवितर्क हुन्छन् । उनीहरू आफू अब्बल देखिएको विज्ञान वा मानवीय कलाका विषयमा प्रशासक बनेपछि उनीहरू सबैले आफ्ना नेता र न्यायाधीशको विचारको अनुशरण गर्छन् । उनीहरू कामको मैदानमा उत्रिन्छन् र अज्ञानीहरूलाई दीक्षित गर्ने काममा पोख्त हुन्छन् । घमाइलो सहरका बासिन्दाहरूले आफूलाई धेरै कलाको अध्ययनमा समर्पित गर्ने र तिनको विवेकसम्मत अभ्यास गर्ने व्यक्तिलाई भद्र र लोकप्रिय मान्छन् । जब कि उनीहरू हामीलाई देखेर अट्टहास गर्छन् किनभने हाम्रा कामदारहरूलाई हामी अभद्र ठान्छौँ र कुनै कुरामा अब्बल नहुने तर आरामदायी जीवन बाँच्ने र आफ्नो आनन्द र वासनाका निम्ति धेरैभन्दा धेरै कमाराकमारी राख्ने मानिसहरूलाई भद्र भलाद्मी मान्छौँ । यसरी हामीकहाँ दुष्ट विचारधाराका मानिसहरूबाटै यति धेरै कामचोर र खराब व्यक्तिहरू राज्यलाई तहसनहस पार्न अघि सर्छन् ।
अन्य प्रशासकहरूलाई चारजना प्रधानहरू – होह, पोन, सिन र मोरले चयन गर्छन् । यस छनोटमा सम्बन्धित कलाका शिक्षकहरूको पनि हात हुन्छ । यी शिक्षकहरूलाई योग्य विद्यार्थीबारे राम्ररी थाहा हुन्छ । आयोगमा निश्चित व्यक्तिलाई प्रशासकहरूले प्रस्ताव गर्छन् । उनीहरू आफै भने उम्मेदवार हुन खोज्दैनन् । छनोटको लागि ल्याइएका व्यक्तिको खोट छ भने उनीहरूले विरोध गर्छन् । त्यसो नभएमा व्यक्तिको पक्षमा बोल्छन् । तर, कोही पनि होहको बराबरीमा पुग्दैन । विभिन्न राष्ट्रहरूको इतिहास, तिनको संस्कृति, बलिदानी र कानुन, तिनको सरकारको ढाँचा (गणतन्त्र वा राजतन्त्र) बारे जान्ने व्यक्तिमात्र होहको हाराहारीमा पुग्छ ।
उसलाई विधि निर्माताहरू र विज्ञानका आविष्कारकहरूको नाम थाहा हुनुपर्छ । उसले पृथ्वी र नक्षत्रहरूको नियम र इतिहास जानेको हुनुपर्छ । उनीहरू भन्छन्, उसले सबै मानवीय कलाहरू, भौतिक विज्ञानहरू, खगोलशास्त्र र गणित पनि जानेकै हुनुपर्छ । दुई दिन बिराएर उनीहरूले हाम्रा मानवीय कलाहरू पढाउँछन् । उनीहरूले अचाक्ली काम गर्न पाउँदैनन् । तर, बेलाबखत गरिने अभ्यास वा चित्रकारिताले सिकाइलाई सजिलो बनाइन्छ । धेरै भाषाभाषी सिक्नमा जोड दिइन्न किनभने तिनीहरूको राज्यमा प्रशस्त व्याकरणकारहरूले दोभाषेको काम गर्छन् । तर सबैभन्दा ठूलो कुरा होहले दर्शनशास्त्र र धर्मशास्त्र बुझ्नुपर्छ । उनलाई सम्पूर्ण कला र विज्ञानहरूको उद्गम, आधार र स्वरूपहरूबारे, चीजबीजका समानता र भिन्नताबारे, ब्रह्माण्डको लयात्मकता, आवश्यकता र नियतिबारे, वस्तु र ईश्वरको शक्ति, विवेक र प्रेमबारे, जीवनका चरणहरू र तिनका प्रतीकहरूबारे, स्वर्ग, धर्ती र समुद्रका सम्पूर्ण पक्षबारे, मरणशील मानिसले जान्नसक्ने जति ईश्वरको अवधारणाबारे राम्रोसँग थाहा हुनुपर्छ । उनले सन्तहरू र खगोल विद्याबारे गतिलो गरी पढेको हुनुपर्छ । त्यसैले सहरवासीहरूलाई को होह बन्दै छ भन्ने कुरा पहिले नै थाहा हुन्छ । उनलाई त्यस महान् पदमा पैतीस वर्षको नपुग्दासम्म छनोट गरिन्न । यस्तो छनोट लामो समयसम्म चलिरहन्छ किनभने को सबैभन्दा बुद्धिमान हुनसक्ला वा शासन गर्न योग्य होला भनी थाहा हुँदैन ।
प्रमुख : त्यस्तो बुद्धिमान त को होला खोइ ? कसैलाई विज्ञानको ज्ञान छ भने उसमा शासन चलाउने सीप नहुने देखिन्छ ।
कप्तान : यो प्रश्न मैले पनि सोधेँ । उनीहरूले भने, “यस्तो सुशिक्षित व्यक्तिसँग शासन गर्ने ज्ञान हुन्छ भन्नेमा हामी ढुक्क छौँ । अज्ञानी व्यक्तिलाई सत्तामा राख्ने र शासक खलकबाट आएको हुनाले वा केही शक्तिशाली गुटले चुनेकै भरमा उपयुक्त शासक ठान्ने तिमीहरूलाई त्यस्तो नलाग्न सक्छ । तर, शासन गर्न सबैभन्दा योग्य हाम्रा होह क्रूर वा कुटिल छैनन्, उनी निरङ्कुश छैनन् । बरु, उनी अत्यन्त विवेकवान छन् । यो तर्क तिमीहरूको हकमा लागू हुँदैन भन्ने कुरा तिमीहरूलाई थाहा नहुने कुरै भएन किनभने तिमीहरूले व्याकरण, तर्कशास्त्र वा अरस्तु वा अन्य लेखकबारे धेरै जानकारी राख्नेलाई नै सबैभन्दा शिक्षित मान्छौ । तिमीहरूको जस्तो ज्ञानका निम्ति दासजस्तो मिहिनेत र स्मरणशक्ति आवश्यक हुन्छ । यसले गर्दा मान्छे दक्षताहीन रहन्छ । उसले किताबी अक्षरहरूबारे चिन्तन गर्छ र वस्तुका मृत चिह्नहरूमा घोत्लिएर अर्थहीन परिणाम निकाल्न दिमाग खियाउँछ । यसरी ईश्वरले कसरी ब्रह्माण्डमाथि शासन गर्छन् भन्ने कुरा थाहा पाउँदैन । उसले प्रकृतिको नियम र विभिन्न राष्ट्रहरूको संस्कृतिबारे थाहा पाउँदैन । यसकारण, ऊ हाम्रो होहको बराबरीमा आउँदैन । जसले यति धेरै कला र विज्ञानबारे छरितो ज्ञान राख्दैन ऊ वास्तविक योग्यताका निम्ति उत्सुक हुँदैन । त्यसैले ऊ खासगरी शासनका निम्ति योग्य हुँदैन । हामीलाई यो कुरा स्पष्ट थाहा छ, एउटा मात्र विज्ञानमा उपयोगी व्यक्ति अथवा किताबी ज्ञान बटुलेको व्यक्ति अज्ञानी र अदक्ष नै हुन्छ । तर ज्ञानका प्रत्येक शाखाको विज्ञ र तीखो बौद्धिकहरूको हकमा यो कुरा लागू हुँदैन । यो कुरा प्रकृतिको चिन्तनमा पनि लागू हुँदैन । हाम्रो होहका निम्ति यी ज्ञानहरू अत्यावश्यक हुन्छन् । त्यसो त हाम्रो राज्यमा तिमीले देखेका पनि छौ, धेरै सुविधा दिएर विज्ञानहरू सिकाइन्छ । यसले गर्दा तिमीकहाँ १० वा १५ वर्षमा जति विद्वानहरू जन्माइन्छ, त्यति यहाँ १ वर्षमै तयार हुन्छन् । हाम्रा केटाहरूलाई जाँचेर हेर न ।”
यसरी म उनीहरूको वास्तविक बहस र मेरो भाषा नबुझ्ने त्यहाँका केटाहरूको जाँचले म चकित भएँ । उनीहरूमध्ये तीनजनाले हाम्रो भाषा जानेका रहेछन्, तीनजनाले अरबी, तीनजनाले पोल्यान्डको भाषा र अन्य भाषामा पनि तीन–तीनजना केटाहरू पोख्त रहेछन् । शिक्षित नहुँदासम्म उनीहरूलाई कुनै किसिमको आराम गर्न नदिइने रहेछ । त्यसको लागि उनीहरूलाई दौडमा भाग लिन, वाण वा भाला चलाउन, बन्दुक चलाउन, वन्यजन्तुको शिकार गर्न र वनस्पति र पत्थरहरू, खेतीकिसानी र पशुपालनको ज्ञान दिन बाहिर लगिन्छ । केटाहरूको टोलीले थरीथरीका काम गरिरहन्छन् ।
उनीहरू भन्छन्, होहलाई सघाउने अन्य तीनजना शासकले आफ्नो कलाबाहेक अन्य विषयमा जानकारी राख्नैपर्छ भन्ने छैन । त्यसैले उनीहरूले आफूहरूबीच साझा रहेको कलाको ऐतिहासिक ज्ञानमात्र राख्छन् । तर, आफ्नो विषयमा भने उनीहरू खारिएका हुन्छन् किनभने उनीहरू अरूभन्दा आफ्नो विषयमा बढी समर्पित हुन्छन् । यसरी शक्ति सैन्य कलामा, सेनालाई परिचालन गर्ने, शिविरहरू स्थापना गर्न, सबैखाले हतियार र युद्ध मेसिन उत्पादन गर्न, रणनीतिहरू बनाउन र सबै सैन्य मामिलामा दक्ष हुन्छन् । त्यसैले यी प्रधानहरू दार्शनिक, इतिहासकार, राजनेता र भौतिकशास्त्री होऊन् भनी कामना गरिन्छ । अरू दुई प्रधानहरूलाई शक्तिलाई जस्तै आफ्नो विषयमा दक्ष हुन्छन् ।
प्रमुख : उनीहरूका सार्वजनिक कर्तव्य र उनीहरूबीचका भिन्नताबारे तिमीले मलाई बताउँछौ होला । उनीहरूलाई कसरी सँगै पढाइन्छ भन्ने पनि खुलस्त भन है ।
कप्तान :उनीहरू साझा आवासमा बस्छन् । उनीहरूका बिस्तरा र आवश्यक सामान पनि साझा हुन्छन् । तर ६÷६ महिनामा उनीहरूलाई प्रमुखहरूले अलग पार्छन् । कोही एउटा घेरामा सुत्छन् भने कोही अर्को घेरामा सुत्छन् । कोही पहिलो तलामा बस्छन् भने कोही दोस्रो तलामा बस्छन् । यी घरहरूमा ढोकाको सिरानमा कुँदिएको अक्षरले चिन्ह लगाइएको हुन्छ । दुवै पुरुष र महिलालाई पेशागत, शारीरिक र सैद्धान्तिक ज्ञान दिइन्छ । तर, पुरुषहरूले कडा मिहिनेत लाग्ने र लामो दूरी हिँड्नुपर्ने खनजोत, रोपाइँ, फलफुल टिप्ने, बाली झाँट्नेजस्ता पेशा राम्रोसँग गर्छन् । महिलाहरूले भने गाई दुहुने र दूधको चीज बनाउनेजस्ता काम रोज्ने चलन छ । त्यसैगरी उनीहरू सहर छेउका बगैँचाहरूमा सागपात र तरकारी लिन जान्छन् र त्यसको खेती गर्छन् । वास्तवमा सबै हलुका र टाढा जानु नपर्ने लुगा बुन्ने, धागो कात्ने, सिउने, नाइको काम, औषधि बेच्ने र सबै प्रकारका लुगा सिउनेलगायतका काम महिलाहरूले गर्छन् । उनीहरूलाई वनपात गर्न र हतियार उद्योगमा काममा लगाइन्न । कुनै महिला चित्रकारिता गर्छिन् भने उनलाई त्यस कामबाट वञ्चित गरिन्न । तर, गीत सङ्गीतको काम भने महिलालाई मात्र दिइन्छ किनभने उनीहरूले धेरै आनन्द दिन्छन् र छोरा मान्छेप्रति इमानदार हुन्छन् । तर, महिलाहरूमा नगरा बजाउने र कर्नाल फुक्ने अभ्यास पाइन्न ।
उनीहरूले आफ्नो खानपानको तयारी गर्छन् र त्यसैगरी भान्सा टेबल सजाउँछन् । बीस वर्ष नपुगेका केटाकेटीहरूले टेबलमा खानाको प्रतीक्षा गर्ने चलन छ । प्रत्येक घेरामा उपयुक्त भान्सा, भकारी र खानपानका भाँडाकुँडा हुन्छन् । हरेक विभागमा एकजना पाको उमेरका बा र आमा बस्छन् । उनीहरूसँग खाना पस्किन लगाउने, लापरबाही वा आज्ञा उल्लङ्घन गर्नेलाई हप्काउने अधिकार हुन्छ । उनीहरूले आफ्नो कर्तव्यमा खरो उत्रिने दुवै छोरा र छोरी मान्छेको परख गर्छन् र ध्यानमा राख्छन् ।
युवाहरूले ४० नाघेका पाका सदस्यहरूलाई पर्खिन्छन् र राति सुत्न जानुभन्दा पहिले पाको उमेरका जोडीले बिहान कसले काम गर्नुपर्ने भनी आदेश दिन्छन् । कोठा अलग पार्ने जिम्मा कसको पालोमा पर्छ भनी बताइन्छ । जवानहरूले नचाहँदा नचाहँदै पनि छुट्टिनुपर्ने हुन्छ । उनीहरूका दुइटा टेबल हुन्छन् र दुवैतिर कुर्सीहरू पनि हुन्छन् । एकातिर महिला बस्छन् र अर्कोतिर पुरुष बस्छन् । भिक्षुहरूको मठमा जस्तै कोठा सुनसान हुन्छ । खाने बेलामा एकजना युवकले मञ्चबाट मीठो स्वरले पुस्तक वाचन गर्छ । प्रशासकहरूले पुस्तकको महत्वपूर्ण प्रसङ्गमा प्रश्नहरू सोधिरहन्छन् । ती भर्खर उमेरका, सुन्दर र सुहाउँदो लुगा लगाएका त्यति धेरै दौँतरी, बन्धु, छोराहरू, बुबा र आमाहरू सबैजना इमानदारी, अदब र प्रेमका साथ सँगै जीवन बिताइरहेको देख्दा एकदम आनन्द लाग्छ । प्रत्येकलाई रुमाल, थाल, माछा र खानाको कचौरा दिइन्छ । प्रत्येक दिन भान्सेलाई बुढापाका, केटाकेटी र बिरामीका निम्ति केकस्तो खाना पकाउने भन्ने कुरा बताउनु औषधिविज्ञको कर्तव्य हो । प्रशासकहरूले अलि बढी खाना पाउँछन् । उनीहरूले आफ्नो भागको केही खाना बिहानी कक्षामा वा विवेक र हतियारको विषयमा मिहिनेत र तर्क गर्ने केटाकेटीमा बाँड्छन् र यसलाई उच्च सम्मान मानिन्छ । ६ दिनसम्म टेबलमा गीत गाउन दिइन्छ । थोरैले गीत गाउँछन् । प्रत्येक स्वरले एउटा अलग बाजाको धुन निकाल्छन् । उनीहरू सबै मिलेपछि अर्थोक चाहिँदैन । भान्साको काममा र नोकरचाकरका मठहरूमा खटाइएका पाका व्यक्तिहरूले सडक, घर, भवन, लुगा पसल, ज्यासल र भन्डारहरूको सरसफाइको प्रशंसा गर्छन् ।
उनीहरूले सेतो रङको भित्री लुगा लगाउँछन् । त्यसबाहिर उनीहरू चटक्क मिलेको कोट र सुरुवाल लगाउँछन् । लुगा बाँध्ने ठाउँमा गोला र बाटुला टाँख हुन्छन् । तिनलाई यताउतिबाट फित्ताले बाँधेको हुन्छ । खुट्टामा एकनासको सोल भएको जुत्ता हुन्छ । मोजा लामो खालको हुन्छ । मोजालाई बक्कलले कसेको हुन्छ । त्यसमाथि उनीहरूले बुट लगाउँछन् । त्यसबाहिर उनीहरूले (रोमनहरूले जस्तो) बेरुवा वस्त्र लगाउँछन् । लुगाहरू शरीरअनुसार सिलाइएको हुन्छ । बेरुवा वस्त्र च्यातिँदाघरि शरीरका सम्पूर्ण अङ्गहरू छ्याङ्गै देखिन पुग्छन् । उनीहरूले विभिन्न कारणले वर्षमा चारचोटि लुगा फेर्छन् । त्यो भनेको सूर्य मेष, कर्कट, तुला र मकर तारामण्डलमा पुग्दा स्वास्थ्य अधिकारीहरूले परिस्थिति र आवश्यकता हेरेर लुगा फेर्न भन्छन् । विभिन्न घेरामा लुगाको बन्दोबस्त गर्नेहरूले नियमितजसो लुगा वितरण गर्छन् । एकै समयमा सहरवासीलाई चाहिएजति मौसमअनुसार हलुका र बाक्ला खालका लुगाको बन्दोबस्त गरेको देख्दा अचम्म लाग्छ । उनीहरू सबैले सेतो लुगा लगाउँछन् । त्यसलाई प्रत्येक महिना साबुनले धोइन्छ । त्यसैगरी सानातिना व्यवसायका ज्यासल, भान्साघर, भन्डार, भकारी, गठ्ठाघर, मठ र स्नानगृह आदिलाई प्रत्येक महिना सफा गरिन्छ ।
लुगालाई मन्दिरका खाँबानिर धोइन्छ । नहरबाट पानीको व्यवस्था गरिन्छ र त्यही नहर फोहर फाल्ने नाला बन्छ । विभिन्न घेराका प्रत्येक गल्लीमा उपयुक्त पानीका फोहोरा हुन्छन् । त्यहाँबाट कुलोको माध्यमबाट पानी बाहिर पठाइन्छ । पहाडको फेँदबाट एकप्रकारको उपकरणको चक्का घुमाएर पानी डाँडासम्म पु¥याइन्छ । फोहोरा र ट्याङ्कीहरूमा पानी हुन्छ । वर्षाको पानीलाई घरघरका छानाबाट जम्मा गरेर बालुवाका पाइप हुँदै जम्मा गरिन्छ । विज्ञ र अनुभवीहरूको आदेशअनुसार सबैले नुहाइधुवाइ गर्छन् । मन्दिरमा सबै यान्त्रिक कलाको अभ्यास हुन्छ तर अवलोकनको काम पेटी वा बार्दलीहरूमा हिँड्दै गरिन्छ । किनभने, त्यहाँ आकर्षक चित्रहरू कोरिएका हुन्छन् । तर, पवित्र कुरा मन्दिरभित्र सिकाइन्छ । घेराका सभाभवन र बाहिरफेर घामघडी, घण्टी र हतौडा राखिएको हुन्छ । त्यसलाई घण्टाघण्टा र मौसमको हेरफेरमा बजाइन्छ ।
–क्रमश

Leave a Reply

Your email address will not be published. Required fields are marked *