भर्खरै :

महिला मुक्तिको गाँठी कुरा

नातिनीको स्थान
तिहार पर्वमा ‘म्हपूजा’ को लागि मण्डपअगाडि लहरै परिवारका सबैजना पलेटी मारेर बस्न थाले – हजुरबा, बाबा, काकाहरू, भाइहरू क्रमशः । त्यसपछि हजुरआमा, आमा, काकीहरू र अन्तिम लहरमा ६ वर्षकी नातिनीलाई बसालियो तर उनको चित्त बुझेन । भाइहरूभन्दा पछाडि किन राखिएको भन्ने जवाफ दिने कुनै चित्तबुझ्दो तर्क थिएन । लौ, भाइहरूभन्दा अगाडि नै बस्नू न त भनेपछि उनको मुहार उजेलियो ।
नेवार समुदायमा मनाइने ‘म्हपूजा’ ले मानवको शरीरको महत्वबोध गराउँछ, यसमा सबैलाई बराबरी सम्मान दिइएको हुन्छ । ‘म्हपूजा’ बडो गज्जबको संस्कृति मानिन्छ । तर, ‘पूजा’मा पहिलो लहरमा पुरुष नै किन बस्ने ? महिला किन नबस्ने ? बाबाभन्दा आमा कसरी सानी हुन्छिन् ? मेरो बाल मस्तिष्कमा पनि यस्ता प्रश्न उठ्थे । आजसम्म पनि यी प्रश्नको चित्तबुझ्दो जवाफ फुरेको छैन ।
सिपकी धनी आमा !
मेरी आमा (एउटी आम आमाजस्तै) ले विभिन्न सिप जान्नुभएको छ । घरपरिवारको निम्ति आवश्यक लवाइखवाइसँग सम्बन्धित सबै चिजबिज बनाउने काममा बढीजसो संलग्नता आमाकै हुन्छ । आफ्ना केटाकेटीका लुगा सिलाउने कपडा आमा आफैँ बुन्नुहुन्थ्यो । पहिले पुन्टु, हलेगो, मलेगा आदि विभिन्न थरिका कपडा बुन्ने तरिका उहाँलाई कण्ठस्थ थियो । हाकुपटासी, पटुका, बेलविवाहको निम्ति चाहिने बालधोती (इहिँपटासी) बुन्न मेरी आमा अत्यन्तै सिपालु हुनुहुन्थ्यो । उहाँ भुइँमा ओछ्याउने सुकुल बुन्नुहुन्थ्यो । वर्षेमासमा ‘सुकुचा’ तरकारी खान हिउँदमा तोरीको कलिलो साग मुठा पारी लामो माला बनाई (तुकंचा मः) घरको टुँडालमा तेस्र्याएर बाँधिएको बाँसमा झुण्ड्याएर सुकाउने सिप उहाँमा थियो । गुन्द्रुक बनाउन होस् वा सिन्की, जाँड बनाउन होस् वा रक्सी, दही बनाउन होस् वा सुकुटी (सुकुला) बनाउन मेरी आमा अझै पनि अब्बल हुुनुहुन्छ । उहाँलाई रातोमाटो र भैँसीको गोबर मिलाएर भुइँ लिप्न, कमेरो माटोले भित्ता लिप्नमात्र होइन, धान, गहुँ, चामल, आलु, प्याज, लसुन, छ्यापी आदि कृषि उपज सुरक्षित बनाउने काइदा पनि थाहा छ । योमरी, मुटुमरी, चटामरी, चाकुमरी, गोमरी, ग्वारामरी मात्र होइन ग्वार्चा (पानीरोटी) लगायतका अनेक व्यञ्जन बनाउने कला पनि उहाँसँगै छ । सुत्केरी स्याहार्नेदेखि केटाकेटीका अनेक संस्कार चलाउने काइदा पनि जान्नुभएको छ उहाँले । सानाठूला भोजको व्यवस्थापनमा पनि उहाँले कहिल्यै कमी हुन दिनुभएन । उहाँले आलुबारीमा कति मल कतिपटक हाल्ने, धनियाँ, काउली, प्याज, धान, तोरी आदि बाली कुन समयमा कस्तो माटोमा कसरी लगाउने भन्ने सबै जान्नुभएको छ । तर, मेरी आमाको सामाजिक स्थान किन तल छ ? समाजले सानोठूलो भन्ने स्थान निर्धारण के आधारमा गरेको हो ? यी प्रश्न पनि मनमा बारम्बार आइरहन्छन् ।
परिश्रमी आमा !
आमा झिसमिसेमै उठेर बढारकुँढार, धोइधाइ, पकाइतुल्याइ गरी भातभान्छाका सबै काम सकाई बासँगै खेत जानुहुन्थ्यो । बाजत्तिकै कुटोकोदालो गर्नुहुन्थ्यो । बाको काम अलि बोझिलो त हुन्थ्यो नै तर त्यो स्वाभाविकै हो । हातका औँला बराबरी नभएपनि तिनको महत्व उस्तैउस्तै त हुन्छ नि ! शारीरिक क्षमतामा पुरुषपुरुषबीच पनि त फरक हुन्छ । तर, सबै पुरुष भने बराबरी मानिन्छ । किन ? बाकोभन्दा आमाको बुद्धि र बल बढी हुँदाहुँदै पनि किन दोस्रो दर्जामा राखिएको होला ? यो प्रश्नको उत्तर खोज्न पनि हम्मेहम्मे प¥यो, धेरै वर्षसम्म ।
बा (एउटा आम बाको रूपमा लिँदा) सँग नभएको क्षमता पनि त आमासँग हुन्छ । आमासँग कोख छ, सृष्टिको सबभन्दा ठूलो क्षमता त्यही हो । पुरुषको सहभागिताबिना कसैको जन्म सम्भव छैन तर मातृत्व फरक गुण हो जो महिलासँग मात्र हुन्छ, कृत्रिमताको कुरा एकछिनलाई बिर्सिदिऊँ । लिङ्गको आधारमा पुरुष र महिला फरकफरक भएपनि एकार्काका परिपूरक हुन् । को बलियो, को निर्बलियो, कुन ठूलो र कुन सानो भन्ने नापो कसरी गर्ने ? फरकफरक क्षमता एवम् विशेषता बोकेका प्राणीबीच तुलना गर्नु बेकारको कुरा होइन ? कोही कसैको अधीनमा बस्नुपर्ने कारण के छ ? महिला आफै पनि पुरुषभन्दा निम्नकोटीको किन ठानिरहेका छन् ?
‘जसको लट्ठी उसको भैँसी’
कार्ल माक्र्सले कुनै पनि संस्कृति वा विचारको निर्माण समाजको उत्पादनका साधन र उत्पादन सम्बन्धले निर्धारण गर्छ भन्नुभयो । निजी सम्पत्ति र परिवारको व्यवस्था अस्तित्वमा आएपछि महिलामाथिको दमन तथा शोषण सुरु भएको थियो । कृषिमा आधारित सामन्तवादी समाजमा खेतीपाती नै उत्पादनको मुख्य साधन थियो । ‘जसको लट्ठी उसैको भैँसी’ भनेझैँ जग्गाजमिनलगायत सम्पत्तिमा पुरुषले एकाधिकार जमाए । धर्म र संस्कृतिको नाममा महिलालाई कमजोर पारियो । धर्मको आधारमा शासन गर्ने सामन्तहरूले त्यहीअनुरूपको सामाजिक मूल्य र मान्यता स्थापित गरे । सामन्तवादबाट नै पितृसत्ताको जन्म भयो । यसले गर्दा प्रकृतिले नै पुरुषहरू उत्तम हुन्छन् र महिला पुरुषभन्दा निम्नस्तरका हुन्छन् भन्ने धारणा बलियो बन्यो ।
भनिन्छ, ‘सानो छँदा सिक्रीले बाँधिएको हात्ती ठूलो हुँदा पनि सिक्री चुँडाल्न सक्छु’ भन्ने ठान्दैन । पितृसत्ताको सिक्रीले मानिसको मनमस्तिष्कमा बाँधिदिएको हुन्छ, त्यो सिक्री अझ पनि चुँडालिएको छैन । धार्मिक दर्शनले भाग्यवाद हुर्कायो । जमिन पुरुषको मात्र हुन गयो । राजतन्त्रमा पुरुषकै राज भयो ।
‘मर्दकी दशवटी’ भन्ने कुरा सम्पत्तिवाल वा सामन्तको निम्ति बनाएको आहान हो किनभने ‘मर्द’ भनेकै सामन्त हुने गथ्र्यो । अरस्तुले अफ्नो पुस्तक ‘पोलिटिक्स’ मा पुरुष प्राकृतिकरूपमा नै माथिल्लो र महिला निम्न स्तरका छन्, पुरुष सधैँ शासक र महिला सधैँ शासित हुन योग्य हुन्छन् भन्ने लेखेका छन् । चिनियाँ दार्शनिक कन्फ्युसियसले पनि पिता, पति र पुत्रका अधीनमा महिला बस्नुपर्छ भने । भारतीय उपमहाद्वीप ‘विवाह नहुञ्जेल बाबुको, यौवन कालमा लोग्नेको र वृद्धावस्थामा छोराको अधीनमा बस्ने भएको हुँदा नारी कहिल्यै पनि स्वतन्त्र हुन्नन्’ भन्ने दर्शनबाट आक्रान्त छ, हजारौँ वर्षदेखि । भानुभक्तले ‘वधूशिक्षा’ मा ‘हाँस्नु हुन्न कदापि नारीहरूले वेश्या हुन्या हास्तछन्’ भन्ने लेखे । यस्ता सामन्ती पितृसत्तात्मक चिन्तन नै महिला उत्पीडनको कारक हो । महिलालाई रुढीवादी तथा अन्धविश्वासी बनाएर शोषण गर्ने सामन्त वर्गको व्यूहरचना हो । दास, भूदास वा किसान महिला कमजोर भएपछि वर्गीय शोषण कायम गर्न सकिन्थ्यो । सामन्तवादी शोषणको बढी प्रभाव तल्लो वर्गका मानिसमै पर्छ । सामन्तवादी कुसंस्कारले माथिल्लो वर्गका महिलालाई भने लाभ भइरहेको हुन्छ । त्यसैले, ‘पतिपरमेश्वर’, ‘पतिदेव’ को प्रचलन बसालियो । श्रीमान्को लामो आयुको निम्ति निर्जला व्रत बस्न थालियो । रजस्वला बार्ने परम्परा थालियो । ‘सीता हरण’ को कथा पढेका महिला घरको चुलोचौकामा सीमित हुन पुगे । सामन्तवादी साहित्यको सनासोमा च्यापिए मानिस, खासगरी तल्लो वर्गका जनता ।
पुँजीवादी डण्डा
हाम्रो देशमा राजतन्त्र समाप्त भएर गणतन्त्र आएको छ । यो पनि पुँजीवादी प्रजातन्त्र नै हो । पुँजीवादी व्यवस्थाले महिलामाथिको शोषण र हिंसा रोक्न सकेको छैन । पुँजीपति वर्गीय महिला सङ्गठन वा महिलावादीहरूले कामदार वा श्रमिक वर्गीय महिलामाथिको शोषण रोक्न कुनै आन्दोलन गरेका छैनन्, गर्दैनन् पनि । पुँजी लगानी गरी नाफा कमाउने सिलसिला रोक्न तिनीहरूले कुनै आवाज उठाए ? गरिब वर्गका महिलाको शरीर वा रूपको व्यापार पुँजीवादले नै गरिरहेको छ । महिलाको मात्रै ‘फ्यासन सो’, सौन्दर्य प्रतियोगिता किन हुन्छन् ? महिलालाई मार्केटिङ्ग एजेन्टको रूपमा कसले प्रयोग गरिरहेको छ ? सौन्दर्य प्रशाधनमा अर्बौँ रुपियाँको व्यापारको व्यय कसले व्यहोर्छ ? यस्ता सारा व्यत्रर कामदार वर्गका महिलाकै टाउकोमा थोपरिन्छ ।
हाम्रो सम्पत्ति पनि बाकै स्वामित्वमा थियो (सामान्यतः सबैको यस्तै हो) । बाले हजुरबा र हजुरबाले जिजुहजुरबाबाट सम्पत्ति पाउनुभएको थियो । बाकै सम्पत्तिको अंशको हकदार आमा बन्नुभयो । जो सम्पत्तिको मालिक हो त्यो प्रभावशाली हुने नै भयो । धनसम्पत्ति नै गुजारा चलाउने, मनोरञ्जन गर्ने, घुमफिर गर्ने, पढाइलेखाइ गर्ने वा स्वास्थ्य उपचार गर्ने आधार भएको समाजमा धनसम्पत्तिले नै सामाजिकस्तर निर्माण गर्नुमा आश्चर्यको कुरा भएन । यसरी सम्पत्ति नै मुख्य प्रश्न बन्छ ।
समाजवादमा महिला मुक्ति
समाजवादी व्यवस्थामा उत्पादनका साधन सामाजिकीकरण गरिएको हुन्छ । सामन्तवादी तथा पुँजीवादी समाजमा शोषणका मुख्य साधनको रूपमा प्रयोग भएका उत्पादनका मुख्यमुख्य साधनहरू – जमिन तथा उद्योग व्यक्तिको लाभको निम्ति प्रयोगको विकल्पमा सामूहिक स्वार्थको निम्ति प्रयोग हुने व्यवस्थाले मात्र कुनै लिङ्ग विशेषलाई शक्तिशाली बनाउने परिस्थितिको अन्त हुन्छ । फ्रेडरिक एंगेल्सले पुरुष र महिला कानुनको दृष्टिमा पूर्णतः समान हुन्छ र सामाजिक उत्पादनमा उनीहरूको सहभागिता हुने व्यवस्था आवश्यक हुन्छ भन्नुभएको थियो ।
‘एन्सन्ट सोसाइटी’ का लेखक लेविस मोर्गनलाई कार्ल माक्र्सले लेख्नुभएका टिपोटहरूको आधारमा फ्रेडरिक एँगेल्सले सन् १९८४ मा प्रकाशित गर्नुभएको ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ पुस्तकको एक अंश यहाँ साभार गर्नु सान्दर्भिक होला ।
“एउटा नयाँ पिँढी जन्मनेछ– यस्तो पुरुष पिँढी जसलाई जीवनभर कहिल्यै पनि कुनै महिलाको देहलाई पैसा दिएर अथवा सामाजिक शक्तिको अन्य साधनद्वारा किन्ने मौका मिल्ने छैन र यस्तो महिला पिँढी जसलाई कहिल्यै पनि सच्चा प्रेमबाहेक अरू कुनै कारणले पुरुषको सामु आत्मसमर्पण गर्न विवश हुनुपर्ने छैन, न त आर्थिक परिणामको डरले आफूलाई आफ्नो प्रेमीसँग आत्मसमर्पण गर्न कसैले रोक्न सकोस् । जब एकपटक यस्ता महिला पुरुषले यस संसारमा जन्म लिनेछन्, तब उनीहरूले आज हामीले के गर्नुपर्दछ भन्ने कुरामा अलिकति पनि चिन्ता गर्ने छैनन् । उनीहरूले के गर्ने भन्नेबारे स्वयम् तय गर्नेछन् र तदनुरूप उनीहरू स्वयम्ले प्रत्येक व्यक्तिको आचरणबारे जनमत निर्माण गर्नेछन्, यति भएपछि समस्या समाधान हुनेछ ।” यही नै सत्य हो । समाजवाद नै सत्य हो ।
रुसी क्रान्तिका नेता लेनिनले भन्नुभएको थियो –“समाजवादी समाजको निर्माण कार्य तब सुरु हुनेछ, जब हामीले महिलाहरूको पूर्ण समानता हासिल गर्नेछौँ ।” रुसी क्रान्तिले महिला स्वतन्त्रतामा नौलो आयाम थप्यो, समाजका हरेक क्षेत्रमा महिलाले सक्रिय भूमिका निर्वाह गर्नथाले । चीन, क्युवा, कोरिया, भियतनामजस्ता देशमा महिला राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रपङ्क्तिमा उभिन थाले र तिनीहरू साँचो महिला मुक्तिको नमुना बनिरहेका छन् । समाजवादी आन्दोलन अगाडि बढाउनु नै महिला आन्दोलनको मुख्य कार्य हो । कामदार वर्गमा पनि अझ उत्पीडित महिलाको मुक्तिको बाटो वर्गीय आन्दोलनलाई अझ बेगवान बनाएर मात्र फराकिलो बन्छ । यसर्थ, समाजवादी आन्दोलन नै महिला मुक्तिको अचुक अस्त्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *