भर्खरै :

भारत र संरा अमेरिकाबीच भूराजनीतिक स्वार्थको मेल छ

हालैका वर्षमा संरा अमेरिकासँग भारतको निकटताको आधारमा भारत सरकारले असंलग्न नीति त्यागेको र चीनको विकासले तेर्साएको चुनौतीको सामना गर्न संरा अमेरिकासँगको सम्बन्ध भारतले अझ कसिलो बनाउन खोजिरहेको विचार व्यक्त भएका छन् । के भारतले वास्तवमै असंलग्न नीति त्यागेको हो ?
चीनलाई घेरा हाल्ने विषयमा संरा अमेरिका र भारतको साझा मत छ । तर, के भारत आफ्नो रणनीतिक स्वायत्तता त्यागेर हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिकाको कठपुतली बन्छ ?
ग्लोबल टाइम्सका संवाददाता सु ऐलुले भारतको अबजर्भर रिसर्च फाउन्डेसनका सम्मानित बौद्धिक मनोज जोशीसँग गरेको कुराकानी प्रस्तुत छ:
ग्लोबल टाइम्स: पछिल्ला वर्षहरूमा भारतको रणनीतिक र विदेश नीति संरा अमेरिकातिर बढी नै ढल्किरहेको छ । धेरै मानिस संरा अमेरिका र भारत अर्ध–साझेदार (क्वासी–एली) भएको बताउँछन् । उनीहरू भारत असंलग्न नीति त्याग्ने दिशातिर अघि बढिरहेकोमा विश्वास गर्छन् । यो विषयमा तपाईंको धारणा के हो ?
जोशी: मेरो विचारमा भारत र संरा अमेरिकाबीच महत्वपूर्ण सम्बन्ध छ । तर, संरा अमेरिका भारतको लागि सुरक्षा प्रदायक भने होइन । सुरक्षाको लागि भारतका आफ्नै सैनिक र आणविक हतियार छन् । त्यसकारण भारत संरा अमेरिकासँग कुनै प्रकारको सैनिक गठबन्धनमा बस्न खासै उत्सुक छैन । भारत, ब्राजिल, चीन र रुसजस्ता ठुला देश सामान्यतः कुनै पनि एउटा देशसँग स्थायी रूपमा संलग्न हुने गर्दैनन् । असंलग्नताको सिद्धान्त अहिले पनि सान्दर्भिक छ । आज ती देशहरू आ–आफ्ना विदेश नीतिका चासो सम्बोधन गर्न लचिलो प्रकारको मोर्चाबन्दीमा लागेका छन् ।
ग्लोबल टाइम्स: भारत संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिको महत्वपूर्ण आधारमध्ये एउटा हो । तथापि, केही मानिस संरा अमेरिकाले भारतलाई खासै केही हित नगरेको विश्वास गर्छन् । संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिबाट भारतको लाभ र हानिबारे तपाईंको धारणा के हो ?
जोशी: भारत पक्कै पनि हिन्द–प्रशान्त रणनीतिको एउटा महत्वपूर्ण आधार हो । तर, भारतको लागि आफ्नो सुरक्षा नै प्रधान विषय हो । भौगोलिक सीमाको सुरक्षासँगै संरा अमेरिका र भारतबीच कुनै सहकार्य नरहेको उत्तरी अरबी समुद्री क्षेत्रको सुरक्षा पनि भारतको लागि महत्वपूर्ण हो । संरा अमेरिकी हिन्द–प्रशान्त रणनीति भारतको ‘पूर्वमा काम गर्ने नीति’(एक्ट इस्ट पोलिसी) सँग मेल खान्छ र नयाँ दिल्ली सरकारले त्यसलाई बृहत् आर्थिक नीतिको रूपमा लिएको छ । बाइडेन सरकारअन्तर्गत हिन्द–प्रशान्त रणनीति अझ बढी बृहत् हुनेछ । जसमा आर्थिक नीति, व्यापार, महामारी रोकथाम, जलवायु परिवर्तन, मानवीय सहायता र पूर्वाधार विकास पनि समावेश हुनेछन् । यिनले विशेषतः भारतलाई भविष्यमा लाभ पु¥याउन सक्नेछ । विशेषतः ५ जी, एआई, क्वान्टम कम्प्युटिङजस्ता नयाँ अन्तर्राष्ट्रिय प्रविधिमा साझेदारको अवधारणा निर्माणमा मद्दत गर्न सक्छ । भारतले अस्टे«लिया–जापान–भारतको आपूर्ति सञ्जाल बनाउने प्रयासबाट पनि लाभ उठाउनुपर्छ ।
ग्लोबल टाइम्स: हालै क्वाड (भारत, संरा अमेरिका, जापान र अस्टे«लिया) गठबन्धनको पहिलो शिखर बैठक भयो । क्वाड देशहरूको एउटै लक्ष्य भएजस्तै देखिन्छ । यद्यपि, उनीहरूबीच धेरै भिन्नता छन् । क्वाड आगामी दिनमा कसरी अघि बढ्ला भन्ने तपाईँलाई लाग्छ ?
जोशी: क्वाड देशहरूबीच आपसमा धेरै अन्तरहरू छन् । उनीहरूबीच एउटै लक्ष्य नभएको हुनाले उनीहरू एउटै विषयमा सहमत हुने सम्भावना न्यून छ । अस्टे«लियालाई भारतको सुरक्षा चुनौतीबारे खासै कुनै चासो छैन । संरा अमेरिका चीनबाट डराएको छैन । तर, ऊ पश्चिम प्रशान्त क्षेत्रमा आफ्नो भूराजनीतिक प्रधानता कायम राख्न खोजिरहेको छ । भारत र जापानको चीनसँग सीमा विवाद छ । तर, जापानले संरा अमेरिकाको सुरक्षा छाता ओडेको छ । भारतले त्यो छाता ओडेको छैन । ती सबै देशहरूको एउटा लक्ष्य भने चीनलाई नियन्त्रण गर्न शक्ति सन्तुलन कायम राख्नु हो । यो काम सैनिक ढङ्गबाट सम्भव छैन । तर, विभिन्न क्षेत्रमा नीतिगत समन्वयमार्फत् यो हुन सक्छ । चीनसँग आर्थिक र प्राविधिक मोर्चामा प्रतिस्पर्धा प्राथमिकताको विषय हो ।
ग्लोबल टाइम्स: ट्रम्पको पालामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीचको व्यक्तिगत सम्बन्धले पनि संरा अमेरिका–भारतबीचको सम्बन्ध निकट भएको थियो । बाइडेनको राष्ट्रपतिकालमा पनि संरा अमेरिका–भारत सम्बन्धमा यस्तै अपेक्षा गर्नुहुन्छ ?
जोशी:चीनसँग सन्तुलनको लागि भारत र संरा अमेरिकाबीच भूराजनीतिक स्वार्थको मेल छ । तर, उनीहरूबीच पनि शक्तिको ठुलो असन्तुलन छ । संरा अमेरिकाको तुलनामा भारत गरिब र कमजोर देश हो । दुई देशमध्ये भारतको भूमिका सीमितमात्र हुन सक्छ । तर, हरेक कमजोर देशहरूले आफ्ना भूराजनीतिक र आर्थिक स्वार्थ पूरा गर्न संरा अमेरिका र चीनजस्ता शक्तिशाली देशहरूबीचको मतभेदबाट फाइदा उठाउन खोज्नु स्वाभाविक हो । ट्रम्पसँग जस्तै मोदीले बाइडेनसँग व्यक्तिगत सम्बन्ध विकास गर्न सक्छन् । यद्यपि, धार्मिक स्वतन्त्रता र मानवअधिकारजस्ता विषय पनि छन् जसले संरा अमेरिकासँग भारतको समस्या सिर्जना गर्न सक्छ ।
ग्लोबल टाइम्स: भारत अत्याधिक जनसङ्ख्या भएको देश हो । ऊसँग आर्थिक वृद्धिको अथाह सम्भावना छ । साथै ऊसँग धेरै ठुलो महत्वाकाङ्क्षा पनि रहँदै आएको छ । संरा अमेरिकाको रथमा बस्ने भारतको यो रणनीति अल्पकालीन वा दीर्घकालीन कस्तो रणनीति हो ?
जोशी: मेरो विचारमा भारतले चीनबाट सिक्नुपर्छ । सन् १९७२ देखि २००० को बीचमा चीन संरा अमेरिकाको अर्ध–साझेदार थियो । ती वर्षहरूमा चीनले संरा अमेरिकासँगको सम्बन्धबाट धेरै फाइदा उठायो । त्यसकारण संरा अमेरिकाको रथमा बसेर अघि बढ्नु नराम्रो काम होइन । अन्तर्राष्ट्रिय सम्बन्धको हकमा कोही पनि स्थायी शत्रु वा मित्र हुँदैन । आफ्नो स्थायी हित मात्र स्थायी स्वार्थ हुन्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *