भर्खरै :

दस वर्ष सिरियामा विध्वंस, दोष कसको ?

अहिले सिरिया पश्चिमा साम्राज्यवाद प्रायोजित हतियारधारी समूहहरूको हिंसा र विध्वंसको सिकार बनेको छ । त्यसको लागि संरा अमेरिका र युरोपेली शासकहरूले ठूलो रकम खर्च गरी भित्रभित्रै तयारी गरेका थिए । त्यसका लागि उनीहरूले सिरियाका अवसरवादी र मुस्लिम कट्टरपन्थीहरूलाई आवश्यक रकमदेखि हातहतियारसम्म सबैखाले सहयोग गरेका थिए । त्यति गर्दा पनि बहुमत सिरियाली जनताको एकताका कारण सिरिया अडिग छ, कुनै धार्मिक कट्टरपन्थी शक्तिसामु वा पृथकतावादीहरूसामु झुकेको छैन । सिरियाको अधिकांश भूभाग सरकारी सेना – सिरियाली अरब सेनाको नियन्त्रणमा आइसकेको छ । सिरियाका विभिन्न सहरमा विस्थापित नागरिकहरू फर्काउने र पुनः निर्माण गर्ने कार्य चालु छ ।
दस वर्ष लामो हिंसा वा युद्धका क्रममा पश्चिमा देशहरूले सहयोग गरेका समूहहरू ठीक होइनन्, तिनीहरू प्रजातन्त्रमात्र होइन सामान्य मानवताको पनि ख्याल नराख्ने कट्टरपन्थी मुस्लिम भएको पुष्टि भइसकेको छ । तरै पनि पश्चिमाहरू त्यसलाई स्वीकार गर्न तयार भएका छैनन् । पश्चिमा शासकहरूले आफ्ना सञ्चारमाध्यममार्फत झूटा प्रचार चालु नै राखेका छन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन – बीबीसी त्यसमा अग्रस्थानमा आउँछ । बीबीसीले लेखिरहेको छ ः द्वन्द्व सुरु हुनु पहिला नै धेरै सिरियालीहरू राष्ट्रपति बशर अल अस्सदको शासनमा बढ्दो बेरोजगारी, भ्रष्टाचार र राजनीतिक स्वतन्त्रताको कमी भएको गुनासो गर्थे । सन् २००० मा आफ्ना पिता हाफेजको निधनपछि बशर अल अस्सद राष्ट्रपति बनेका थिए । सन् २०११ को मार्च महिनामा प्रजातन्त्र समर्थकहरूको प्रदर्शनहरू दक्षिणी सहर डेरामा सुरु भयो । ती प्रदर्शन दमनकारी शासकविरुद्ध छिमेकी देशमा भएका विद्रोहबाट प्रभावित थिए । जब सिरियाली सरकारले असन्तुष्ट आवाजहरूलाई बल प्रयोग गरेर दबाउन खोज्यो राष्ट्रपतिको राजीनामाको माग गर्दै देशव्यापी प्रदर्शन भए । अशान्ति फैलियो र दमनकारी कारबाही तीव्र बन्यो । विपक्षी समर्थकहरूले आफ्नो बचाउ गर्न हतियार उठाए । अस्सदले ‘विदेश समर्थित आतङ्कवाद’ भन्दै त्यसलाई दबाउने नीति लिए । हिंसा तीव्र गतिमा बढ्यो र देश गृहयुद्धमा गयो । सयौँ विद्रोही समूहहरू गठन भए । विदेशी शक्तिहरूले एउटा पक्ष लिन थाले, पैसा, हतियार र लडाइँका लागि फौज पठाउन थाले र यो अवस्था खराब हुँदै जाँदा इस्लामिक स्टेट समूह र अलकायदाजस्ता अतिवादी जिहादीहरू पनि यसमा संलग्न हुन थाले । उनीहरूलाई एउटा प्रमुख खतराका रूपमा लिने अन्तर्राष्ट्रिय समुदायमा चासोहरू थप गहिरो बन्दै गयो ।
सिरियाको सम्बन्धमा पश्चिमा साम्राज्यवादी शक्तिहरूले इतिहासलाई बङ्ग्याउन कुनै कोसिस बाँकी राखेका छैनन् । आफ्ना सञ्चारमाध्यमहरू, आफ्ना देशका तथाकथित बौद्धिकहरू र बिक्ने जति सबै संस्था र व्यक्तिहरूलाई त्यसको निम्ति लगाइरहेका छन् । सोही सिलसिलामा हालै संरा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटली गरी पाँच देशका विदेशमन्त्रीहरूको एउटा संयुक्त वक्तव्य दुई हप्ता अगाडि आएको थियो । सिरियाको द्वन्द्व दस वर्ष पार गरेको अवसरमा आएको उक्त वक्तव्यमा पनि सिरियाको द्वन्द्वका लागि राष्ट्रपति बशर अल अस्सद र उनका सहयोगीहरू जिम्मेवार रहेको निष्कर्ष दोहो¥याइएको थियो । साथै, वक्तव्यमा ती पाँच पश्चिमा राष्ट्रहरूले सिरियाली जनताको साथ कहिल्यै नछोड्ने र मृत्युले मात्र अलग्ग पार्नेमा जोड दिएका थिए ।
पश्चिम एसियामा अवस्थित राष्ट्र सिरियाको औपचारिक नाम सिरियाली अरब गणतन्त्र हो । यस देशको दक्षिण पश्चिममा इजरायल र लेबनान, पश्चिममा भूमध्य सागर, उत्तरमा टर्की, पूर्वमा इराक र दक्षिणमा जोर्डन पर्दछ । उच्च पहाडहरू, उब्जाउ नदी उपत्यकाहरू र मरुभूमि भएको यस देशमा विभिन्न जातीय र धार्मिक समुदायको बसोबास रहेको छ । त्यहाँ जातीय हिसाबले सिरियाली अरब, कुर्द, तुर्कमेन, असारियन, आमीनियाली, ककेसियाली, मान्डियाली तथा ग्रीकहरू रहेका छन् भने धार्मिक हिसाबले सुन्नि मुस्लिम, क्रिश्चियन, अलावाइटस, ड्रुज, इसमाइलिज, मान्डियन्स, सिया, सलाफी र याजिदीहरू रहेका छन् । सुन्नि, सिया, अलावाइटस, इसमाइलिज, सलाफीहरू मुस्लिम धार्मिक समुदाय नै हुन् तर सिरियामा धार्मिक कट्टरपन्थी एवम् आतङ्कवादीका रूपमा सुन्नि र सलाफीहरू बदनाम छन् ।
पश्चिम एसियामा सिरिया कुनै बेला शान्ति र विकासको पर्याय थियो । त्यो देश पूर्वी र पश्चिमी सभ्यताको सङ्गमस्थल जस्तै थियो । सिरियाका विश्वविद्यालयहरू अरब देशका विद्यार्थीका लागि मात्र नभई युरोपेली विद्यार्थीहरूको पनि आकर्षण थियो । कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रिकरणसँगै प्रशस्त उत्पादन बढेर अरब देशहरूको खाद्यान्नको स्रोत सिरिया बनेकोे थियो । अरू सबै ठीक हुँदाहुँदै सिरियाको शासन भने पश्चिमा शासकहरूको आँखामा बिझिरहेको थियो । कारण हो, सिरियाली शासकहरू संरा अमेरिकी वा युरोपेली शासकहरूको निर्देशन र इसारामा चल्दैनथे र चल्दैनन् । पश्चिमा शक्ति राष्ट्रले आफ्नो सन्तानजस्तै जन्माए हुर्काएको यहुदी राष्ट्र इजरायलसित सिरियाको शत्रुतापूर्ण सम्बन्ध थियो । सिरिया अरब देशहरूको एकता र शान्तिको पक्षमा रहेको थियो । त्यसैले पश्चिमा साम्राज्यवादीहरूले सधैँ लगाइरहने आरोप थियो – सिरियामा प्रजातन्त्र छैन, त्यहाँ स्वतन्त्रता छैन । त्यस क्षेत्रको परिवेशअनुसार सिरियामा पहिले राष्ट्रपति हाफेज अल अस्सद र पछि बशर अल अस्सदले प्रत्येक ५–७ वर्षमा जनमत सङ्ग्रहमार्फत जनअनुमोदन प्राप्त गर्थे भने त्यहाँ संसद् र स्थानीय निकायहरूको निर्वाचन हुन्थ्यो, देशभक्त पार्टीहरू क्रियाशील थिए, सांसदहरूबाटै मन्त्रिपरिषद् गठन हुन्थ्यो । सिरियामा लोककल्याणकारी प्रजातन्त्रको अभ्यास चलिरहेको थियो ।

सिरियामा मावन सभ्यता र राज्यको विकासको इतिहास निकै पुरानो छ तर आधुनिक सिरियाको इतिहास बीसौँ शताब्दीको मध्यमा इस्तानबुल केन्द्रमा रहेको अटोमन साम्राज्यको पतन र फ्रान्सको म्यान्डेट (अभिभावकत्व) मा गएपश्चात् सुरु हुन्छ । अटोमन साम्राज्यमा यो अल शाम प्रान्तको नामले चिनिन्थ्यो । लामो स्वाधीनता सङ्ग्रामपछि २४ अक्टोबर १९४५ मा एक संसदीय गणतन्त्रको रूपमा गणतन्त्र सिरयाको स्थापना भएको थियो । गणतन्त्र सिरिया संयुक्त राष्ट्र सङ्घ र असंलग्न राष्ट्र आन्दोलनको पनि संस्थापक देशमध्ये एक हो । सन् १९५८ देखि १९६१ सम्म छोटो अवधिका लागि संयुक्त अरब गणतन्त्रको नाममा सिरिया र इजिप्टको स्वेच्छिक एकीकरण पनि भएको थियो तर सिरियामा सन् १९६१ मा सैनिक विद्रोह भई सत्ता सेनाको हातमा गएपछि एकीकरण खारेज भएको थियो । सन् १९६३ मा अरब समाजवादी पार्टी –बाथ पार्टीको नेतृत्वमा सत्ता परिवर्तन भएदेखि त्यहाँ बाथ पार्टी र सहयोगी पार्टीहरूको मिलीजुली सरकारहरू चलिरहेका छन् ।
सिरियाको स्वतन्त्रतादेखि नै त्यस देशमाथि संरा अमेरिकाको गिद्देदृष्टि रहेको थियो । सन् १९४७ मा अमेरिकी गुप्तचर निकाय – सीआईए स्थापनादेखि नै संरा अमेरिकाले सिरिया मामिला सीआईएको हातमा सुम्पेको थियो । त्यसैले संरा अमेरिका–सिरिया सम्बन्धको पूरै इतिहास सीआईए प्रायोजित हत्याहरू, अर्धसैनिक हतियारधारीहरूको आक्रमण, सैनिक विद्रोह र शासन परिवर्तनका असफल प्रयासहरूले भरिएको पाइन्छ । सिरियामा शासन परिवर्तनका लागि संरा अमेरिकाले सिरयाका सरकारविरोधी तत्वहरूमाथि खुला र गोप्यरूपमा पैसा खन्याउने, सैनिक तालिम दिने र हतियार उपलब्ध गराउने दुष्कार्य गर्दैआएको छ ।
गणतन्त्र सिरयामा संरा अमेरिकाको पहिलो सफल हस्तक्षेप सन् १९४९ मा भएको थियो । सीआईएले योजना र प्रायोजन गरेअनुसार नै तत्कालीन सिरियाली राष्ट्रपति शुक्री अल कुवेटलीको सरकारविरुद्ध सैनिक विद्रोह गराइएको थियो । राष्ट्रपति शुक्री अल कुवेटली अरब समाजवाद र सोभियत सङ्घसित घनिष्ठ सम्बन्ध विकासको पक्षमा थिए । त्यसबारेमा धेरैपछि दमास्कसस्थित सीआईए स्टेसनका तत्कालीन प्रमुख माइल्स कोपल्यान्ड जुनियरले साहित्यिक गुणसहितको आफ्नो संस्मरण पुस्तकमा राम्ररी चर्चा गरेका छन् । कोपल्यान्डका अनुसार उक्त सैनिक विद्रोह सिरियालाई कम्युनिस्ट पार्टी र अरू क्रान्तिकारीहरूबाट बचाउने उद्देश्यले गरिएको थियो ।
कोपल्यान्ड अगाडि लेख्छन् ः सिरियामा सीआईले कोलोनेल (कर्णेल) अदिब शाइसकिलीलाई सत्तामा स्थापित गरेपनि उनी ‘खराब छनौट’ थिए । तर, उनी उपलब्धहरूमध्ये सबैभन्दा उपयुक्त थिए । उनले अमेरिकी समर्थन पाउनकै लागि आफ्नै देशविरुद्ध षड्यन्त्र, धोका, हत्या, ब्यभिचार र चोरी गरेका थिए । उनी झन्डै चार वर्ष सत्तामा रहे, बाथ पार्टी र सैनिक अधिकारीहरूले गरेको सत्ताविप्लवबाट उनी फ्याँकिए । सन् १९५५ मा सीआईएले सिरियामा अर्को सैनिक विद्रोहका लागि समय परिपक्व भइसकेको अनुमान ग¥यो । पछिल्लो सैनिक विद्रोह सीआईए र बेलायती गुप्तचर संस्था –एसआईएसको संयुक्त योजना थियो र यसका लागि केही दक्षिणपन्थी सिरियाली सैनिक अधिकारीहरूलाई तयार पारिसकिएको थियो तर यो योजना कार्यान्वयन गर्नुअगावै स्वीज नहर राष्ट्रियकरणको घटनाले यसमा बाधा पा¥यो ।
सीआईएले तुहिएको सैनिक विद्रोहको योजनालाई ‘अपरेसन वापन अगेन’ नाममा सन् १९५७ मा कार्यान्वयन ग¥यो । सिरियालाई समाजवाद र साम्यवादबाट जोगाउनका लागि सिरियाली सैनिक अधिकारीहरूलाई घूस खुवाउनमात्र ३० लाख अमेरिकी डलर खर्च गरिएको थियो । यसबारेमा अझ स्पष्ट पार्दै अमेरिकी लेखक टीम वेइनरले २००८ मा प्रकाशित आफ्नो पुस्तक – लेगेसी अफ असेस ः द हिस्ट्री अफ द सीआईए (खरानीको विरासतः सीआईएको इतिहास) मा लेखेका छन् ः राष्ट्रपति (डवाइट आइसेनहावर) ले आफूले ईश्वर नमान्ने साम्यवादविरुद्ध इस्लामिक जिहादको विचारलाई बढावा दिन चाहेको बताए । सन् १९५७ को ह्वाइट हाउसको एक बैठकमा आइसेनहावरले भने, – यो पवित्र धार्मिक युद्धको विचारलाई जोड दिन हामीले सम्भव भएसम्मको सबथोक गर्नुपर्छ । अर्को बैठकमा तत्कालीन विदेशमन्त्री फोस्टर डलेसले ‘गुप्त कार्य टोली’ गर्ने योजना पेश गरे । उक्त ‘गुप्त कार्य टोली’ को माग र निर्देशनबमोजिम सीआई एले अमेरिकी हतियारहरू, पैसा र गुप्तचरी सूचना साउदी अरेबियाका राजा साउद, जोर्डनका राजा हुस्सैन, लेबनानका राष्ट्रपति क्यामिले चामोन र इराकका राष्ट्रपति नुरी सैयदलाई उपलब्ध गराइएको थियो ।
यी चारजना शासकहरू नै मध्यपूर्वमा साम्यवाद र अरब राष्ट्रवादविरुद्ध लड्नका लागि मोहडा थिए ।……… यदि हतियारले मध्यपूर्वमा बफादारी किन्न नसकिएमा अन्तिममा सीआईएको गुप्त हतियार नै थियो । राजनीतिक युद्धकला र सत्ता सङ्घर्षका लागि त्यहाँ पैसाको स्वागत सधैँ हुन्थ्यो । त्यसले नै अमेरिकी साम्राज्यका हर्ताकर्ताहरूलाई अरब र एसियाली भूमिमा आफ्नो योजनाका लागि मद्दत मिलिरहेको थियो ।
सीआईएको डलरको त्यो खेल सधैँ सफल भएन । घूसको पैसा पचाउन नसकेका दक्षिणपन्थी सिरियाली सैनिक अधिकारीहरूले सीआईएको षड्यन्त्र सिरियाली गुप्तचर निकायसमक्ष प्रकट गरिदिए । त्यस काण्डमा ३ जना सीआईए अधिकारीहरू दमास्कसस्थित अमेरिकी राजदूतावासबाट निकालिए र दमास्कसबाट आफ्नो राजदूत फिर्ता लिन वासिङ्टन बाध्य भयो । आफ्नो अनुहारमा कालो दाग लागेको वासिङ्टनले तुरुन्तै सिरियामाथि ‘सोभियत सङ्घको उपग्रह’ भएको आरोप उछाल्यो । त्यतिले मात्र नपुगेर आफ्नो नौसैनिक बेडाहरू भूमध्यसागरमा उता¥यो र युद्धको उद्देश्यले आफ्नो पिछलग्गू देश टर्कीलाई सिरियासितको सीमासँगै सेना तैनाथ गर्न लगायो । तत्कालीन अमेरिकी विदेशमन्त्री डलेसले ‘सिरियाको युद्धउत्तेजना’ को प्रतिकारमा ‘आइसेनहावर सिद्धान्त’ अनुसार कारबाही गर्न लागेको बयान पटक–पटक दिए । त्यतिबेला सिरियालाई अस्थिर पार्ने योजनामा सीआईएसँगै बेलायती सैनिक गुप्तचर संस्था – एमआई सिक्स पनि सक्रिय थियो । त्यस तथ्यबारे तत्कालीन बेलायती रक्षामन्त्री डनकन सान्डिजको मृत्युको धेरै वर्षपछि सन् २००३ मा प्रकाशित उनको संस्मरणमा राम्ररी चर्चा गरिएको छ ।
त्यस्तै सन् २०१२ मा ह्विसलब्लोअर विकिलिक्सले उदाङ्गो पारेका दस्तावेजहरूका अनुसार सिरियामा द्वन्द्व चर्काउन २००६ देखि लन्डनमा रहिरहेका सिरियाली भगौडाहरूलाई सीआईएले पैसा – हतियार उपलब्ध गराइरहेको थियो । त्यस्तै पछि सिरियामा परिचालित विद्रोही हतियारधारी समूहहरू परिचालनका लागि पनि सीआईएका युनिटहरू जिम्मेवार थिए । सीआईएका युनिटहरू सम्भावित सबै आपूर्ति मार्गमा रहेका थिए । २०१२ सम्ममा सीआईएले वार्षिक १ अर्ब डलर खर्च गरी १० हजार विद्रोही लडाकुलाई तालिम दिएको थियो । सीआईएले तालिम दिएका ती लडाकुहरूलाई सिरियामा परिचालन गर्ने खर्चका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पटकपटक अमेरिकी सिनेटरहरूसँग गुप्त वार्ताहरू गरेका थिए ।
चर्चित अमेरिकी खोज पत्रकार तथा राजनीतिक विश्लेषक सैमोर हर्शले अमेरिकी गुप्तचर अधिकारीहरूले दिएका जानकारीहरूकै आधारमा लेखेका छन् ः २०१२ भन्दा अगाडि नै सिरियामा पठाउनका लागि सीआईएले लिबियाको बेन्गाजीमा हतियारको गोदाम खडा गरिसकेको थियो । कुनै गल्ती होइन, सिरियाको सत्ताबाट अस्सदलाई हटाउनुपर्छ भनी २०११ को अगस्टमा सार्वजनिक आह्वान गर्ने पहिलो नेता ओबामा नै थिए । त्यतिबेला सीआईएका तत्कालीन प्रमुख डेविड पेट्राउसले दुई पटक मार्च र सेप्टेम्बरमा टर्कीको गुप्त भ्रमण गरेका थिए र टर्कीका राष्ट्रपति एर्डोगनलाई सिरियाको सत्ता परिवर्तनको योजनामा कुनै पनि बहानामा साथ दिन मनाएका थिए । त्यतिमात्र होइन पर्सियाली खाडी क्षेत्रका अमेरिकी पिछलग्गूहरू साउदी अरेबिया, कतार र यूनाइटेड अरब इमिरेटस–यूएईले पनि अमेरिकी विश्वास कायम गर्नका लागि हजारौँ जिहादी लडाकुहरू भर्ना गरी उनीहरूलाई पैसा र हतियार दिई सिरियामा पठाएका थिए । साथै, मुख्य–मुख्य पश्चिमा देशका गुप्तचर निकायहरूले तथाकथित सिरियाली विपक्षी समूहलाई राजनीतिक, सैनिक र सामग्री सहयोग गरेका थिए । पश्चिमा शासक र सञ्चारमाध्यमहरूले दाबी गरेजस्तो सिरियामा शान्तिपूर्ण आन्दोलनमा दमन भएपछि मात्र स्वयम्स्फूर्तरूपमा हतियार उठाइएको र द्वन्द्व सुरु भएको होइन । जिहादी लडाकुहरूलाई परिचालन गर्नका लागि सयौँ अमेरिकी र नाटोका रणविद्हरू टर्की, जोर्डन, इजरायललगायत सिरिया वरिपरिका देशहरूमा खटिएका थिए ।
कसैले नसोचेझैँ सेप्टेम्बर २०१५ देखि रसियाले सिरियाली सरकारी सेनाको पक्षमा हस्तक्षेप ग¥यो । सिरिया र रसियाबीचको पुरानो रक्षा सन्धिअनुसार सिरियाली सेनालाई अमेरिकी सहयोग प्राप्त कट्टरपन्थी मुस्लिम जिहादीहरूको सामना गर्न कठिन भएपछि रसियाली सेनाले हवाइ हमला थालेको थियो । त्यसले संरा अमेरिकाले सहयोग गरेका जिहादी लडाकुहरूपछि हट्न बाध्य भएका थिए । रसियाको हस्तक्षेपपछि जब युद्धको लहर सिरियाली सरकारी सेनाको पक्षमा देखिन थाल्यो, साउदी अरेबिया, कतार र यूएईले जिहादीहरूमाथिको सहयोग औपचारिकरूपमा बन्द गरे ।

सिरियामा सीआईए र पश्चिमा देशहरूको योजना पूर्णतः असफल भइसकेको छ तर पनि उनीहरू हार मान्ने वा गल्ती स्वीकार्ने पक्षमा छैनन् । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको निम्ति खटाएका सेना फर्काउने र युद्ध अन्त्य गर्ने बताएका थिए । उनले दुईपटक त्यसको प्रयास गरे तर अमेरिकी रक्षा मन्त्रालय –पेन्टागनमा रहेका युद्धपिपासु कमान्डरहरूले त्यसलाई तुहाइदिए । अहिलेका राष्ट्रपति जो बाइडेनले के गर्नेछन् कसैले अनुमान पनि गर्न सक्दैन । उनको मध्यपूर्व नीतिमा कुनै परिवर्तन नदेखिएकोले उनले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्न हतार गर्ने देखिँदैन ।

सिरियाको द्वन्द्व सिरिया सरकार र त्यहाँको जनताबीचको गृहयुद्ध थिएन । विपक्षी जिहादीहरूको पक्षमा लडेका र लडिरहेका लडाकुहरू सिरियाका भन्दा अरू खाडी देशहरू, युरोपेली देशहरू, अफ्रिकी देशहरू, पाकिस्तान, भारत, बङ्गलादेश, मलेसिया, इन्डोनेसियालगायत एसियाली देशका समेत थिए । कट्टरपन्थी मुस्लिम धर्मगुरुहरूले धर्मका नाममा बहकाएर तिनीहरूलाई सिरियाको धर्मनिरपेक्ष सरकारविरुद्ध तथा सिरिया र इराकमा जिहादी राज्य स्थापनाको लागि लड्न पठाएका थिए । त्यही आधारमा अगाडि बढेको आईएसआईएल वा आईएसआईएस पछि इराक र संरा अमेरिकाको समेत टाउको दुखाइ बन्यो । पछिबाट आईएसआईएलका लडाकुहरूलाई सिध्याउने नाममा बमबारी गरेर संरा अमेरिकी र नाटो सेनाले इराक र सिरियामा विध्वंस मच्चायो, लडाकु र सिरियाली सेनासँगै हजारौँ हजार निहत्था नागरिक पनि मारिए । सिरियाली जनताको रगतले टर्कीलगायत सबै नाटो देशहरू र खाडी क्षेत्रका अमेरिकी पिछलग्गूहरूको हात रङ्गिएको छ ।
सिरियामा द्वन्द्वका नाममा भएको विध्वंस र जनधनको क्षति अपुरणीय छ । सिरिया सरकार र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले राखेको तथ्याङ्कमा केही घटबढ भए पनि लाखौँको ज्यान गएकोमा कुनै शङ्का छैन । बेलायतमा रहेको अनुगमनकारी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सन् २०२० को डिसेम्बर महिनासम्म ३ लाख ८७ हजार ११८ मानिसको ज्यान गएको र तीमध्ये १ लाख १६ हजार ९११ जना सर्वसाधारण रहेको जनाएको छ । त्यसयता पनि द्वन्द्व छिटफुटरूपमा बाँकी रहेकोले मृतकको सङ्ख्या बढेकै हुनुपर्छ । त्यस्तै दसौँ लाख मानिस घरवारविहीन भएर शरणार्थीको रूपमा भौतारिनुप¥यो । दसौँलाख मानिस रोग र भोकले पीडित भए । विश्व बैङ्कको एक अध्ययनअनुसार सन् २०११ देखि २०१६ सम्मको द्वन्द्वको क्रममा सिरियाको कुल गार्हस्थ उत्पादनमा २२६ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी भयो । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद् (यूएनएचसीआर) का अनुसार सिरियाको आधा जनसङ्ख्या आफ्नो घरबार छोडेर भाग्नुप¥यो । देशको ७० प्रतिशत जनता अहिले गरिबीमा बाँच्नुपरेको छ । द्वन्द्वको पहिलो ६७ लाख मानिस विस्थापित भएकोमा अहिले एक करोड ३० लाख मानिसका लागि मानवीय सहायता जरुरी परेको छ । एक करोड २४ लाख मानिस अहिले पनि खाद्यवस्तुको अभावमा छन् । अहिले रसिया र चीन सरकारको सहयोगमा सिरियाली सरकारले अगाडि बढाइरहेको पुनःस्थापना र पुनः निर्माण कार्यक्रमले विस्थापितहरूलाई क्रमशः पुनःस्थापित गर्दै लगेको छ र शरणार्थीहरू स्वदेश फर्कने क्रम चालु छ ।
सिरियामा सीआईए र पश्चिमा देशहरूको योजना पूर्णतः असफल भइसकेको छ तर पनि उनीहरू हार मान्ने वा गल्ती स्वीकार्ने पक्षमा छैनन् । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको निम्ति खटाएका सेना फर्काउने र युद्ध अन्त्य गर्ने बताएका थिए । उनले दुईपटक त्यसको प्रयास गरे तर अमेरिकी रक्षा मन्त्रालय –पेन्टागनमा रहेका युद्धपिपासु कमान्डरहरूले त्यसलाई तुहाइदिए । अहिलेका राष्ट्रपति जो बाइडेनले के गर्नेछन् कसैले अनुमान पनि गर्न सक्दैन । उनको मध्यपूर्व नीतिमा कुनै परिवर्तन नदेखिएकोले उनले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्न हतार गर्ने देखिँदैन ।
अमेरिकी विदेश नीतिका अध्येता र सीआईएका गतिविधिमाथिका निगरानीकर्ताहरूका अनुसार संरा अमेरिका अहिले सिरियाका कुर्दलगायत विभिन्न जातीय समूहलाई उक्साएर सिरियाको बाल्कनाइजेसन (बाल्कन राज्य युगोस्लाभियालाई जातीय आधारमा विखण्डन गरेझैँ) गरी विखण्डन गर्ने दीर्घकालीन योजना कार्यान्वयनमा अगाडि बढेको छ । त्यसका लागि कुर्दबहुल सिरियाको उत्तरी क्षेत्रका अरब मुस्लिम जनतामाथि अत्याचार गर्न लगाई त्यहाँबाट भगाउने र फेरि तिनीहरूलाई पनि आफ्नो छुट्टै राज्य माग गर्न लगाइरहेको छ । कुर्दहरूको त्यस क्रियाकलापबाट आईएसजस्ता कट्टरपन्थी आतङ्कवादी सङ्गठनलाई लडाकु भर्नाको नयाँ स्रोत मिलिरहेको छ । संरा अमेरिकाको अहिलेको सिरिया नीति पनि आपसमा बाझिएको र समस्या सिर्जना गर्ने खालको छ । संरा अमेरिका र उसका युरोपेली पिछलग्गूहरू एकातिर सिरियाको अस्तित्व नै मेट्न चाहन्छन्, अर्कोतिर आईएसको पुनरागमन पनि रोक्न चाहन्छन् । सिरियामा छुट्टै कुर्द राज्य बनाउन सहयोग गरिरहेको छ भने आफ्ना मित्रदेश टर्कीको मागअनुसार कुर्दहरूलाई दमन गर्न पनि कटिबद्ध छ । रसिया र चीनको मानवीय सहायता रोक्न चाहन्छ भने इरानसित लड्नका लागि आफ्नो सेना भने राख्न खोजेको छ । इजरायलको रक्षा गर्न खोजिरहेको छ भने धर्मनिरपेक्ष सिरियालाई विखण्डन गरी मुस्लिम कट्टरपन्थीहरूको हातमा पु¥याउन खोजिरहेको छ । यसरी आपसमा बाझिएको संरा अमेरिकाको उद्देश्य र योजना सिरियामा सफल हुने सम्भावना कमै देखिन्छ । कदाचित सफल भएमा त्यसको परिणाम मानव जातिको हितमा कत्ति पनि हुने छैन ।
(विभिन्न सञ्चारमाध्यमको जानकारीका आधारमा तयार गरिएको आलेख)

Leave a Reply

Your email address will not be published. Required fields are marked *