भर्खरै :

चीन – संरा अमेरिका सम्बन्धबारे एक चिनियाँ प्राध्यापकको दृष्टिकोण– १

सन् १९६२ मा चीनको उहान सहरमा जन्मनुभएका प्राध्यापक चिन छानरोङ्ग पेइचिङस्थित चिनियाँ रेनमीन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सहनिर्देशक हुनुहुन्छ । अमेरिकी राजनैतिक व्यवस्था र राजनैतिक संस्कृति, अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्ध, चीनको अन्तर्राष्ट्रिय सम्बन्ध, चीन अमेरिका सम्बन्ध, ठूला देशहरूबीचको सम्बन्ध लगायतका विषयहरूमा दख्खल राख्नुहुने प्राध्यापक चिन छानरोङ्ग चीनका विभिन्न मन्त्रालय र केन्द्रीय नियोगहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार पनि हुनुहुन्छ ।
विश्व राजनीतिका जटिल विषयहरूलाई सरल भाषामा रोचक तरिकाले व्याख्या गर्नसक्ने खुबीका कारण उहाँ नयाँ पुस्ताका चिनियाँ विद्यार्थी र बुद्धिजीवीहरूमाझ लोकप्रिय हुनुहुन्छ । चिनियाँ भच्र्युयल सञ्चारमाध्यममा उहाँलाई अनौपचारिकरूपमा ‘चीनको राजनैतिक कमिसार’ उपनामले पनि सम्बोधन गरिन्छ । सन् २०२० को अन्त्यतिर चिनियाँ कम्युनिस्ट युवा लीगको केन्द्रीय समितिले सञ्चालन गरेको एउटा राजनैतिक प्रशिक्षण कक्षामा चीन–संरा अमेरिका सम्बन्धबारे उहाँले व्यक्त गर्नुभएको विचार पाठकहरूको जानकारीको लागि यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक
चीन र संरा अमेरिकाको फरक दृष्टिकोण
हामी सबैलाई थाहा छ केही वर्षयता चीनको बाहिरी वातावरण त्यति राम्रो छैन । एक त चीन–संरा अमेरिका सम्बन्ध राम्रो छैन, सबै पक्षमा राम्रो छैन । अमेरिकाले एउटा नीति ल्याएको थियो जसलाई ‘सम्पूर्ण सरकारी अङ्गहरू मिलेर चीनसँग लड्ने योजना’ भन्न सकिन्छ । त्यसको अर्थ हो कुनै पनि सरकारी अङ्गले चीनबारे फरक धारणा राख्न पाइने छैन, सबै अमेरिकी अङ्ग चीनको विषयमा एकमत हुनुपर्छ । एकमतले चीनमाथि दबाब श्रृजना गरेको छ । त्यसकारण, चीन अमेरिका सम्बन्ध स्वाभाविकरूपमा राम्रो छैन ।
त्यसैगरी चीनको पश्चिममा सिमाना विवाद रहेको कुरा सबैलाई थाहा छ, विशेषत भारतसँग । चीन र अमेरिकाको सम्बन्ध बिग्रेको मौका पारेर भारत केही लाभ लिन सकिन्छ कि भनेर समस्याहरू श्रृजना गर्दै छ । (सन् २०२० मे महिनामा भारतीय सेना र चिनियाँ जनसेनाबीच चीनको गलवान क्षेत्रमा गम्भीर प्रकारको हतियारविहीन भिडन्त भएको थियो । – अनु) भारतको स्वभाव त्यस्तै हो । अहिले चीनको बाहिरी वातावरण राम्रो छैन । भारत पक्कै पनि सहयोग गर्ने खालको देश होइन बरु मान्छे इनारमा खस्दा इनारमा ढुङ्गा फाल्ने खालको देश हो ।
तेश्रो, अमेरिकी उक्साहटमा परेर केही देशहरूले हामी प्रति फरक व्यवहार देखाउँदै आएका छन् । उदाहरणको लागि क्यानाडा, अस्ट्रेलिया । (क्यानाडाले सन् २०१८ को डिसेम्बरमा चीनको बहुराष्ट्रिय कम्पनी ह्वावेईका प्रमुख वित्तीय अधिकृत मङ्ग वानचउलाई ईरानी पक्षसँग प्रतिबन्धित कारोबार गर्ने एक संस्थालाई आर्थिक सुविधा प्रदान गरिएको झूटा आरोप लगाई अमेरिकाको दबाबमा गिरफ्तार गरिएको थियो भने अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले २०२० को मे महिनामा चीनले कोरोना महामारी फैलाएको गलत आरोप लगाएका थिए । – अनु) संसारमा एउटा ‘पाँच नेत्र गठबन्धन’ (Five Eyes) भन्ने छ, पाँचवटा अङ्ग्रेजी भाषी देशहरूको गठबन्धन । (यो संरा अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्डबीच गुप्तचरी सूचना आदान प्रदान गर्ने सम्झौता हो । – अनु) अहिले जापान पनि त्यसको छैटौँ आँखा बन्न तम्सिरहेको छ, गठबन्धनमा छिर्न प्रयास गरिरहेको छ । यी देशहरूले हामीप्रति उदेकलाग्दो किसिमले फरक धारणा राख्दै आएका छन् । त्यसैगरी अमेरिकी प्रभावका कारण केही नयाँ युरोपेली अथवा पुर्वी युरोपेली देशहरू, चीनको थाइवान, तिब्बत, सिनन्चियाङ आदि विषयमा चीनसँग निहुँ खोज्दै छन् ।
यी तीनवटा अहिले चीनको बाहिरी वातावरण जटिल बन्दै गएका क्षेत्रहरू हुन् । पहिलो अमेरिकी दबाब, दोस्रो भारतीय अवरोध, र तेस्रो अमेरिकी उक्साहटका कारण केही देशहरूद्वारा सिर्जित समस्या । यी सबैको जरा चीन – अमेरिका सम्बन्ध नै हो । अमेरिका एउटा शक्तिशाली देश हो । सबै पक्षबाट चीनलाई दबाब दिने अमेरिकाको नीतिका कारण यी सबै समस्याहरू उब्जिएका हुन् ।
त्यसकारण, आज म चीन अमेरिका सम्बन्धलाई कसरी हेर्ने र कसरी सामना गर्ने वा जवाफ दिने भन्ने विषयमा केही कुरा गर्छु ।
चीन अमेरिका सम्बन्धको विगत
चिनियाँ दृष्टिकोणबाट हेर्ने हो भने चीन–संरा अमेरिका सम्बन्धलाई चीनले सधँै महत्व दिँदै आएको छ । मेरो व्यक्तिगत अध्ययनको आधारमा भन्ने हो भने सन् १८४४ मा चीन र अमेरिकाबीच एउटा सन्धि भएको थियो जसलाई ‘वाङसिया सन्धि’ भनिन्छ । (पहिलो अफिम युद्धमा बेलायतसँग चीन हारेपछि अमेरिकाले पनि चीनमा बेलायतलाई जस्तै आर्थिक र कानुनी सुविधाको माग ग¥यो र मकाउको वाङ्सिया गाउँमा भएको असमान सन्धिमार्फत अमेरिकी नागरिकहरूलाई चिनियाँ भूमिमा आर्थिक र कानुनी सुविधा दिन चीनलाई बाध्य पारियो । – अनु) त्यो सालदेखि चीन र अमेरिकाबीच औपचारिक सम्बन्ध स्थापना भएको हो । योभन्दा अगाडि हाम्रो औपचारिक सम्बन्ध थिएन । त्यसपछिका हरेक सरकारहरूले अमेरिकासँगको सम्बन्धलाई महत्व दिँदै आएका छन् । छिङ वंशको अन्तिम समयमा होस् या गणतन्त्रकालमा वा नयाँ चीनको अवधिमा हरेक सरकारले अमेरिकासँगको सम्बन्धलाई विशेष महत्व दिँदै आएको छ ।
त्यसैगरी नयाँ चीनको हरेक पुस्ताका नेतृत्वले पनि अमेरिकासँगको सम्बन्धलाई जोड दिँदै आएको छ । नयाँ चीनका संस्थापक माओ त्सेतुङ आफैले सन् १९७२ मा अमेरिकी राष्ट्रपति निक्सनलाई चीन बोलाउने निर्णय गर्नुभएको थियो । सन् १७७२ मा निक्सनको भ्रमण नभएको भए, अमेरिकासँगको सम्बन्ध सामान्यीकरण हुने थिएन र सन् १९७९ मा जनवादी गणतन्त्र चीन र संरा अमेरिकाबीच दौत्य सम्बन्ध स्थापित हुने थिएन । त्यसकारण, चीन – अमेरिका सम्बन्धको सामान्यीकरण माओ त्सेतुङले नयाँ पुस्तालाई छोडेको एउटा महत्वपूर्ण सम्पत्ति हो । त्यसपछि तङ सियाओफीङ, चियाङ चमीन र हु चीनथाओ लगायत सबै पुस्ताका चिनियाँ नेतृत्वले अमेरिकासँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेका थिए । त्यसैगरी वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि चीन अमेरिका सम्बन्धलाई विशेष महत्व दिनुभएको छ । ट्रम्पसँगको एक भेटघाटमा राष्ट्रपति सीले भन्नुभएको थियो– “चीन अमेरिका सम्बन्ध राम्रो हुनुपर्ने हजारवटा कारणहरू म दिन सक्छु तर बिग्रनुपर्ने एउटा पनि कारण छैन ।” धेरैले उहाँको यो धारणालाई दोह¥याएका छन् । चीनले अमेरिकासँगको सम्बन्धलाई धेरै महत्व दिन्छ भन्ने यो एउटा बलियो प्रमाण हो । चीन अमेरिका सम्बन्ध चीनका निम्ति द्विपक्षीय सम्बन्धहरूमध्ये सबभन्दा महत्वपूर्ण सम्बन्ध हो ।
अमेरिकाको चीन प्रतिको दृष्टिकोण भने समयअनुसार परिवर्तन हुँदै आएको छ । छिङ वंशको अन्त्य र गणतन्त्रकालमा अमेरिकाले चीनलाई तल्लो स्तरको देशको रूपमा लिएको थियो, दया वा दानको आँखाले चीनलाई अमेरिकाले हेथ्र्याे । नयाँ चीनको सुरुका केही दशकहरूमा अमेरिकाले चीनलाई शत्रुतापूर्ण दृष्टिकोणले हेरेको थियो– सन् १९४९ देखि सन् १९७२ सम्म । सन् १९७२ पछि अमेरिकाले चीनसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने कोसिस ग¥यो । तर, त्यस समयमा अमेरिकाले चीनलाई उपयोग गर्ने नीति लियो । चीनलाई उपयोग गरेर सोभियत सङ्घसँग टक्कर लिने नीति उसले लियो । मेरो व्यक्तिगत विचारमा अमेरिकाले चीनलाई स्वाभाविकरूपमा हेर्न थालेको सोभियत सङ्घको विघटन पछि हो । शीतयुद्धको अन्त्यपछि अमेरिकाले कुनै तेस्रो पक्षबाट प्रभावित नभई स्वाभाविक आँखाले चीनलाई हेर्न थाल्यो । समग्रमा अमेरिकाले पनि चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राख्न थाल्यो । सन् २०१७ को डिसेम्बरदेखि अमेरिकाले चीनलाई आफ्नो प्रमुख प्रतिद्वन्द्वी मानेको छ । यसलाई पनि चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको भन्न सकिन्छ ।
अहिले इतिहासमै एक खालको सन्तुलनमा चीन – अमेरिका सम्बन्ध पुगेको छ र दुवै देशले अर्को देशसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेका छन् । तर, सम्बन्धलाई हेर्ने दृष्टिकोण भने फरक – फरक छन् ।
फरक दृष्टिकोण
चीनको प्राथमिकता अमेरिकासँग राम्रो सम्बन्ध बनाउनेमा छ भने अमेरिकाको प्राथमिकता चीनलाई कसरी पछार्ने भन्नेमा छ ।
अहिले चीन–अमेरिका सम्बन्ध कस्तो छ त्यो अर्को पाटो हो तर हामीले के कुरा स्वीकार्नुपर्छ भने, सन् १९७९ जनवरी १ मा चीन अमेरिका दौत्य सम्बन्ध स्थापित भएपछिका यी ४०–४१ वर्षहरूमा उतारचढावहरू आइरहे तर समग्रमा यो सफल सम्बन्धको इतिहास हो ।
पहिलो त चीन – अमेरिकाबीच द्विपक्षीय सहकार्य एकदम राम्रो भयो । दोस्रो, दुवै पक्षले रणनीतिक फाइदा हासिल गरेका छन् । चिनियाँ कोणबाट व्याख्या गर्दा अमेरिकासँगको सम्बन्धले हाम्रा औद्योगिक उत्पादन अन्तर्राष्ट्रिय बजारमा सजिलै पुगेको छ । यसले हाम्रो सुधार र खुलापनको नीतिलाई राम्रो बाहिरी वातावरण प्रदान ग¥यो । चीन अमेरिकाको दौत्य सम्बन्ध नभएको भए चीनको सुधार र खुलापनको नीतिले यो तहको सफलता प्राप्त गर्न सक्ने थिएन । त्यसैगरी अमेरिकासँगको सम्बन्धले चीनलाई विभिन्न क्षेत्रमा धेरै कुरा सिक्ने मौका प्राप्त भयो । हामीले स्वीकार्नुपर्छ कि धेरै लामो समयसम्म अमेरिका हामीभन्दा विकसित थियो र हामीले अमेरिकाबाट प्रविधि सिक्यौं, व्यवस्थापनको अनुभव सिक्यौँ, ब्रान्डको जागरूकता प्राप्त ग¥यौँ, बजार प्राप्त ग¥र्यौँ ।
अमेरिकासँग सम्बन्ध विस्तारका कारण रणनीतिकरूपमा हाम्रो सुधार र खुलापन सफल भयो, कार्यनैतिकरूपमा हामीले धेरै कुरा सिक्यौँ । यसप्रति हामी कृतज्ञ पनि छौँ । कुनै पनि चिनियाँले यी कुराहरू नकार्न सक्दैनन् ।
अमेरिकाले पनि चीनसँगको समबन्धबाट धेरै फाइदा लिएको छ । ठोकेर भन्न सकिन्छ कि यदि चीनसँग दौत्य सम्बन्ध स्थापित नगरेको भए अमेरिकाले शीतयुद्धमा जीत हासिल गर्नसक्ने थिएन । यो एउटा आधारभूत यथार्थ हो । अमेरिकीहरूलाई दो¥याई तेह¥याई यो कुरा भनिरहनुपर्छ । त्यसैगरी चीनको सुधार र खुलापनको क्रममा अमेरिकी पुँजीले चीनमा धेरै नाफा कमाएको छ ।
तर अमेरिकी बुद्धिजीवीवर्ग विगत चालीस वर्षको हाम्रो सम्बन्धबारे भर्खरै मैले गरेको विश्लेषणमा सहमत छैनन् । सामान्यतः उनीहरू विगत चालीस वर्षको सम्बन्धमा चीन एक्लैले मात्र लाभ लिएको निष्कर्ष निकाल्छन् । चीनले पनि अमेरिकालाई सहयोग गरेको छ भन्ने कुरा स्वीकार्न उनीहरू तयार छैनन् । शीतयुद्धको जीतमा चीनसँगको सहकार्यको भूमिका र अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूले अकूत नाफा लगेको उनीहरू स्वीकार्दैनन् । उनीहरू खाली अमेरिकाले चीनलाई सुधार र खुलापन सफल बनाउन सहयोग गरेको मात्र देख्छन् । त्यसकारण अमेरिकाको ‘मुड’ अहिले शान्त छैन ।
यो दृष्टिकोण पक्कैपनि गलत हो । चीनको सुधार र खुलापनको सफलताको कारण मुख्यतः चिनियाँ जनताको मिहिनेत हो । त्यस्तै हाम्रो सरकारको नीति सही भएकोले हो । यो अवधिमा चिनियाँ सरकारबाट नीतिगतरूपमा ठूलो गल्ती भएको छैन । चीनको दिशा आधारभूतरूपमा सही थियो र चिनियाँ जनताको मिहिनेतले आज हामीले यो सफलता प्राप्त गर्न सकेका हौँ ।
चीनलाई विकास गर्ने वातावरण अमेरिकाले बनाइदिएको तर्क अमेरिकीहरू गर्छन् । तर, यथार्थ भने फरक छ । विगत चालीस वर्षमा अधिकांश देशप्रति अमेरिकी नीति उस्तै थियो, चीनप्रति कुनै विशेष थिएन । खासमा भन्ने हो भने चीनप्रति अझ कडा थियो । अन्तर्राष्ट्रिय सम्बन्ध पढ्ने साथीहरूलाई थाहा छ शीतयुद्धको क्रममा अमेरिकाले ‘पेरिस समन्वय समिति’ बनाएर समाजवादी देशहरूमा गरिने निर्यातमा अङ्कुस लगाएको थियो, विशेषतः चीनप्रति यो नीति लागु गरिएको थियो । शीतयुद्धपछि ‘पेरिस समन्वय समिति’ त विघटन भयो तर फेरि ‘वासेनार सम्झौता’को नाममा चीन लगायत केही देशहरूमा नाकाबन्दी लगाएको थियो । त्यसकारण, चीनलाई अमेरिकाले कुनै पनि विशेष छुट दिएको छैन बरु चीनप्रति अमेरिकी नीति सामान्य देशहरूप्रति भन्दा कडा नै थियो ।
अतः आधुनिकीकरणमा चीनको आजको सफलताको मूल कारण अमेरिकी सहयोग नभई हाम्रो आफ्नै मिहिनेत हो ।
मेरो निष्कर्षमा विगत ४०–४१ वर्षको चीन – अमेरिका सम्बन्ध एकदम सफल रह्यो, दुवै देशले यसबाट लाभ लिएका छन् । तर, दुःखको कुरा यो सत्यलाई अमेरिकी बुद्धिजीवी घेरा स्वीकार गर्दैनन् । चीनले अमेरिकाको सम्बन्धबाट फाइदा मात्रै लियो भन्ने उनीहरू सोच्छन् । तर, यो गलत दृष्टिकोण हो, तथ्यसँग नमिल्ने कुरा हो ।
इतिहास जस्तो भए पनि चीन अमेरिका सम्बन्ध अहिले नयाँ चरणमा प्रवेश गरेको छ । नयाँ समस्याहरू श्रृजना भएका छन् । पहिलेको स्थितिमा फर्किन सक्ने अवस्था अहिले छैन । सन् २०१८ मा चिनियाँ उपमन्त्रीसँगको भेटमा अमेरिकी पूर्व विदेशमन्त्री हेनरी किसिन्जरले भनेका थिए– “चीन – अमेरिका सम्बन्ध अब पहिलेको अवस्थामा फर्किन सम्भव छैन ।” त्यसबेला धेरैले उहाँको कुरामा बिमति जनाएका थिए । अहिले उहाँको भनाइ सत्य साबित भएको छ । पहिलाको जस्तो राम्रो सम्बन्धको आशा गर्नु अहिले दिउँसै सपना देख्नुजस्तो हो ।
अनुवाद: समीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *