भर्खरै :

अर्को एड्गर स्नोको प्रतिक्षा

चीनको सिन्चियाङ उइगुर स्वशासित क्षेत्रमा कपास उत्पादनलाई लिएर चीनमाथि पश्चिमाहरूले खेदो खन्दा संसारको ध्यान तानिएको छ । यतिबेला मैले मध्य चीनको हुनान प्रान्त र पूर्वी चीनको सान्सी प्रान्तको सीमामा रहेका दस वटा काउन्टी र नगरबारे अनुसन्धान गरिरहेको छु । त्यो ठाउँमा माओ त्सेतुङको नेतृत्वमा शरदको बाली काट्ने आन्दोलन भएको थियो । त्यस्तै सन् १९२७ को अक्टोबरमा त्यही ठाउँमा चिङकाङसान क्रान्तिकारी आधार पनि स्थापना भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीका प्रारम्भिक दिनका कठिनाइलाई ध्यानमा राख्दा केही पश्चिमा राजनीतिज्ञ र पत्रकारहरूका पक्षपातपूर्ण, आक्रामक र अज्ञानताप्रति दुःख लाग्यो ।
सिन्चियाङमा तथाकथित ‘आमनरसंहार’ को विरोध र चीनको मानवअधिकार मामिलाको भत्र्सनाले पश्चिमाहरूलाई कुनै लाभ हुने छैन । बरु त्यसले पश्चिमा देशहरूको पाखण्ड र घातक चरित्र सबै चिनियाँ जनतासामु उजागर गरेको छ । दुःखको कुरा, सिन्चियाङ र चीनको वर्तमान विकासबारे पश्चिमा मूलधारका सञ्चारमाध्यममा निकै कम मात्र गहिराइमा वस्तुगत जानकारी छ ।
‘चिनियाँ क्रान्तिको कोक्रो’ मानिने चिङकाङसानको एउटा ‘प्रयोग भइसकेका पुस्तक बेच्ने पसल’ मा मैले अमेरिकी पत्रकार एड्गर स्नोले लेख्नुभएको ‘चीनको आकाशमा रातो तारा’ को एक प्रति पुस्तक फेला पारेँ । सन् १९३६ मा चिनियाँ लाल सेनासँग केही महिना बिताएपछि स्नोले त्यो पुस्तक सन् १९३७ मा प्रकाशित गरेका थिए । मैले भेटाएको त्यो प्रति सन् १९७९ मा प्रकाशित भएको रहेछ र त्यसको मूल्य १.३ युआन अर्थात ०.२ अमेरिकी डलर थियो । दसकौंँपछि मैले चीनमा ती विख्यात अमेरिकी पत्रकारको त्यो विलक्षण पुस्तक किन्न १८० युआन अर्थात् २७.५ अमेरिकी डलर खर्च गरेँ ।
चीनविरुद्ध पश्चिमा सञ्चारमाध्यमहरूले गरिरहेको झण्डै एकपक्षीय आलोचनाबीच केही पश्चिमा पत्रकारहरूले ‘किन एक सय वर्षअघि स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टी लगातार ७० वर्षसम्म चीनको सत्तामा रह्यो र अझै पनि उत्तिकै प्रभावकारी छ’ भन्ने कुराको कारणबारे अनुसन्धान गरी पुस्तक लेखे त्यो पुस्तकको मूल्य आगामी चालिस वर्षमा १५० गुणाभन्दा बढीले बढ्ने म अनुमान गर्छु ।
यदि म एक जना पश्चिमा पत्रकार हुँदो हुँ त म चिनियाँ कम्युनिस्ट पार्टीको विकासका प्रारम्भिक चरणको स्रोतबारे अध्ययन गर्ने थिएँ । त्यसको सुरुवात शरदको बाली काट्ने आन्दोलनबाट गर्नु उपयुक्त होला । सन् १९२७ को सेप्टेम्बर ९ मा माओले त्यो आन्दोलनको नेतृत्व गर्नुभएको थियो । दस दिनमै त्यो आन्दोलन विफल भएको थियो । माओले सहरमा हमला गर्ने योजना स्थगित गरी चिङकाङसानमा आफ्नो सेना लानु भएको थियो । त्यहीं उहाँले पहिलो क्रान्तिकारी आधार स्थापना गर्नुभएको थियो । यो नै गाउँले सहरलाई घेर्ने चिनियाँ क्रान्तिकारी बाटोको पहिलो प्रयोग थियो । यो कोशेढुङ्गाले ‘चिनियाँ कम्युनिस्ट पार्टीलाई इतिहासले छान्नु’ को गोप्य सुत्र उचित ढङ्गले खोल्न सक्छ ।

अमेरिकी पत्रकार एड्गर स्नो र माओ त्से तुङ (दायाँ)


म पश्चिमा पत्रकार भएको भए म माओबारे कमै मात्र थाहा भएका कुराहरू लेख्ने थिएँ । अनयुआन कोइला खानीमा १८० सेन्टिमिटर अग्लो माओ २ सय मिटरभन्दा गहिरो र एक मिटरमात्र उचाई भएको खानीको सुरुङ चढ्नुभएको थियो । सुरूङको सबभन्दा तल रहेका मजदुरहरूसँग उहाँले कुराकानी गर्नुभएको थियो । ताचिङ गाउँको ‘पढ्ने ढुङ्गो’ मा बसेर माओ पढ्नुहुन्थ्यो । त्यहीं उहाँले गुरिल्ला युद्धको आधारभूत रणनीतिबारे टुङ्गो लगाउनुभएको थियो । ‘शत्रु अघि बढ्दा हामी पछि हट्ने, शत्रु बास बस्दा हामीले हैरान पार्ने, शत्रु थाक्दा हामीले हमला गर्ने, शत्रु भाग्दा हामीले लखेट्ने हो’–माओको गुरिल्ला युद्ध नीति यस्तो थियो । महान नेतालाई सही ढङ्गले बुझ्न यी सबै कुरा बुझ्न अत्यन्त जरुरी छ ।
यदि म पश्चिमा पत्रकार भएको भए म संसारलाई चीनका सहिदहरूका आँसु झर्ने कथाहरू सुनाउने थिएँ । चिनियाँ क्रान्तिमा चाङ्सी प्रान्तको तोङ्कु काउन्टीका मात्र ६० हजार मानिस मारिएका थिए । त्यत्तिबेला त्यो काउन्टीको कुल जनसङ्ख्याको आधा मानिस मारिएका थिए । शरद बाली काट्ने आन्दोलनका प्रमुख कमान्डर लु तेमिङले २२ वर्षको उमेरमा आफ्नो जीवन बलिदान गरेका थिए । ती कथाहरूले चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताबीचको सम्बन्ध बुझ्न अन्तर्राष्ट्रिय समुदायलाई मद्दत पुग्नेछ ।
मेरा पछिल्ला भ्रमणमा मध्य चीनको हुपेई प्रान्तको चिकुई काउन्टीको माओपिङ काउन्टीस्थित माओको पहिलेको आवासमा आउने सयौं विद्यार्थीहरू देखेँ । उनीहरूलाई हेरेर म चीनको भविष्यबारे कल्पन थालेको थिएँ ।
अहिले पश्चिमा सञ्चारमाध्यमले चीनको उदयप्रति भय र सन्देहमात्र जन्माइरहेको छ । उनीहरूले चीनले सामना गरेका कठिनाइ र प्रतिकूलता बुझाउन सकेका छैनन् । न त उनीहरूले बीसौं शताब्दीको पहिलो आधा भागमा क्रान्तिकारी आदर्शको बाटोमा हिँड्ने क्रममा करोडौं चिनियाँ जनताको बलिदानलाई नै बुझाउन सकेका छन् । यी सबै कुरा अमित क्रान्तिकारी भावनामा थिग्रिएको छ जसले सदैव चीनको भावी पुस्तालाई उत्साहित बनाइरहन्छ । चिनियाँहरू संरा अमेरिकालाई उछिन्न होइन, आफैलाई उछिन्न मिहिनेत गरिरहेका छन् ।
केही पश्चिमाहरू चिनियाँ जनताका भावनालाई न्यूनाङ्कन गर्छन् । उनीहरू चिनियाँ जनताको जायज सङ्घर्षलाई उपेक्षा गर्छन् । चीनका जनतालाई जति दबाइन्छ, त्यत्ति नै बलियो प्रतिरोध हुनेछ । चिनियाँ जनताको बलिदानकै कारण चीनको उदय सम्भव भएको हो । जसले चीनलाई हेप्न खोज्छन्, उनीहरूले त्यसको मूल्य अवश्य तिर्नुपर्ने हुन्छ । यही लेखमा म संरा अमेरिकाका केही मानिसलाई विनम्रतापूर्वक स्मरण गराउन चाहन्छुः संरा अमेरिकाले भियतनाम वा अफगानिस्तान वा इराकमा केही उपलब्धि हासिल गरेन भने उनीहरूभन्दा बलियो र दृढ चीनबाट उसले के उपलब्धि पाउन सक्छ ?
सन् २०२१ चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पुगेको वर्ष हो । शतवार्षिक मनाउन चीन सरकारले धेरै कार्यक्रम घोषणा गरिसकेको छ । यी कार्यक्रमहरू चिनियाँ कम्युनिस्ट पार्टीका क्रान्तिकारी कार्यकर्ताहरू बनाउने अवसर हो । साथै चीन र बाँकी विश्वले आपसमा बुझ्ने ऐतिहासिक अवसर पनि हो ।
एड्गर स्नोको सम्झना यतिबेला गर्नु भनेको अर्को महान् अन्तर्राष्ट्रियवादी पत्रकारको प्रतिक्षा गर्नु मात्र होइन । बरु अन्तर्राष्ट्रिय कोणबाट चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाका आधारलाई बुझ्ने मौका पनि हो । यसले चीन र संसारमै नयाँ युगमा वैचारिक परिवर्तन बुझ्न टेवा पुग्न सक्छ ।

(लेखक चीनको रेनमिन विश्वविद्यालयको चोङयाङ वित्तीय अध्ययन प्रतिष्ठानका प्राध्यापक र कार्यकारी डिन हुनुहुन्छ ।)
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *