भर्खरै :

के सहकारी संस्था व्यक्तिको व्यवसाय हो ?

व्यापार, उद्योग, खेती, वकालत, शिक्षण पेशा, मजदुरी आदि व्यक्ति र समूहको पेशा र व्यवसाय हो । अस्पताल, विद्यालय, जिल्ला प्रमुख कार्यालय, खानेपानी संस्थान, विद्युत् प्राधिकरण आदि नामका कार्यालय जसरी कुनै व्यक्तिको पेशा र व्यवसाय होइन त्यस्तै कृषि सहकारी संस्था वा बचत तथा ऋण सहकारी संस्था त्यहाँ काम गर्ने सञ्चालक र कर्मचारीहरूको व्यवसाय होइन ।
नेपाल राष्ट्र बैङ्क र नेपाल बैङ्कका मेनेजर वा कर्मचारीहरू आफै व्यवसायी नभई सेवा प्रदान गर्ने व्यक्तिमात्र हुन् । त्यस्तै, सहकारी संस्थाका सदस्यहरूबाट सङ्कलित रकम परिचालनबारे निर्णय गर्ने र नियमअनुसार सदुपयोग गर्ने सञ्चालक तथा कर्मचारीले कामवापत भत्ता वा तलबमात्रै पाउने हुन्, तिनीहरू मालिक होइनन् ।
तर, अहिले खुलेका वा स्थापना भएका निजी बैङ्कहरू हिजोका विराटनगरको जुटमिल कारखाना, सिकर्मीहरूको ज्यासल वा कारखाना, सूचिकारहरूको पसल, टकवा (कालो) टोपी बनाउने, अन्य टोपी वा कपडा बुन्ने र बनाउने ज्यासल तथा पसलमा काम गर्ने र गराउनेहरू, मिल वा ज्यासलका मालिक वा कामदारहरूजस्तै विभाजित छन् । ती सबैमा काम गर्नेहरू मजदुर वा ज्यामी हुन् भने कामदारहरूलाई काम दिने मालिक वा व्यवसायी हुन् ।
यस अर्थमा सेवा र व्यवसायबीच फरक छ । शिक्षा, चिकित्सा, वकालत, ब्युटी पार्लर र कपाल काट्ने पसल (सैलुन) आदि सेवाको पेशा भएजस्तै सहकारी संस्था पनि एक सेवा प्रदायक संस्था हो । त्यसका सञ्चालक वा कर्मचारीहरू व्यवसायी वा मालिक होइनन् । नियमअनुसार नियुक्त भएका कर्मचारीहरू अन्य सेवाका जस्तै कर्मचारी हुन् । तर, सहकारी संस्थाका निर्वाचित सञ्चालकहरू स्थायी कर्मचारी होइनन् न त आफ्नै लगानीबाट स्थापना भएका निजी बैङ्कका मालिकहरूजस्तै ‘बैङ्कर्स’ नै हुन् । यसकारण, सहकारी संस्थामा काम गर्ने सञ्चालक र कर्मचारीहरूलाई ‘सहकारी व्यवसायी’ भन्न मिल्दैन । किनभने, सहकारी कुनै व्यवसाय होइन बरु सेवा प्रदायक संस्था हो ।
केही उदाहरणहरू प्रस्तुत गर्दा प्रस्ट हुन्छ । पशुपति शमशेर राप्रपाका नेता, पूर्वसांसद र मन्त्री थिए । तर, ती पद उनको व्यवसाय होइन । उनी आफ्नै खेतका मालिक, बैङ्क वा अन्य सम्पत्तिका मालिक हुन् ।
व्यक्तिको मुख्य आम्दानीको स्रोतबाटै उसको पेशा र व्यवसाय निर्धारित हुन्छ । सहकारी संस्थाका सञ्चालकहरू सहकारी संस्थाकै ऋण लिएर घरजग्गाको व्यापार, होटल र अन्य कलकारखाना सञ्चालन तथा ठेक्कापट्टा (निर्माण–व्यवसाय) मा संलग्न छन् भने तिनीहरू सहकारी संस्थाका सञ्चालक वा कर्मचारी हुन योग्य छैनन् ।
हास्य कलाकार र सिनेमाका कलाकारहरूको आयस्रोत नै आ–आफ्नो कला हुन्छ । कला नै तिनीहरूको पेशा वा व्यवसाय हो । तिनीहरू पेशेवर कलाकार हुन् ।
कोही चित्र कोर्ने, साहित्यका विविध विधामा रचना लेख्ने गर्छन् तर आफ्नो आयको स्रोत छैन भने तिनीहरू सोखिन लेखक, कवि, कलाकार हुन्छन् । केही नाउँ चलेका गीत लेख्ने र गाउने कलाकारहरूको आयको स्रोत नै गीत लेख्ने र गाउने भएपछि तिनीहरूको पेशा र व्यवसाय नै गीत र सङ्गीत हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *