भर्खरै :

गाउँहरू सहर पसेपछि…

लुम्बिनी प्रदेशका ५–६ वटा जिल्लामा नेपाल मजदुर किसान पार्टीका प्रकाशनहरूको प्रदर्शनी गर्ने कार्यक्रम तय भएपछि हामी बुटवल झ¥यौँ । महाभारत र चुरे पर्वतमालामा डढेलोको धुवाँको कारण आकाश धुम्म थियो । आँखा पोलिरहेको थियो । हामी जहाँ गयौँ, त्यहाँको वातावरण उस्तै थियो ।
नवलपरासीको दाउन्नेनिर पुग्दा धुलो र धुवाँ निस्सासिने गरी बाक्लो भयो । अबेर साँझ चिया खान एउटा होटलअघि रोकियौँ । चितवनदेखि बुटवलसम्मको सडक फराकिलो बनाउने काम चलिरहेको थियो । सडक बनाइरहेको चिनियाँ कम्पनीलाई थकाउन अनेक चालबाजी भइरहेको कुरा सुन्यौँ । मजदुर युनियनहरू बनाएर कमिसनको खेल खेलिएकोे रहेछ । “यस्तो लेनदेनमा (शासक) दलका नेता र कार्यकर्ता हानथाप गरिरहन्छन्,” होटलमा बियर पिइरहेका एकजना कोलोनी मालिक (जग्गा दलाल) ले सुनाए । सर्पको खुट्टा सर्पले नै देख्छ भनेको यही हो ।
होली पूर्णिमाकै दिन थियो । शरीरभरि अनेक रङ्ग लत्पतिएको थियो । शरीरमा धुलैधुलो थपेर झन्डै मध्यराततिर हामी गण्डक बाँधभन्दा अलि वरको बस्तीमा पुग्यौँ । बस्ती चकमन्न थियो तर हामीलाई पर्खिरहेका परिवारजन जागै थिए ।
भोलिपल्ट गण्डक बाँधको घुमघाममा निस्कियौँ । पाल्पा, गुल्मी, बाग्लुङलगायत जिल्लाका पहाडिया तराईवासीहरूसँगै मिली बसेका यहाँका गाउँहरू सादा देखिन्थे । बाँधवारि चिनियाँ टेन्टमा नेपाली सीमाचौकी बसेको थियो । अलि अघि यस्तै टेन्टहरू देखाएर भारतीय सञ्चार माध्यमले ‘नेपाल–भारत सीमामा चिनियाँ सेना’ भनी होहल्ला गरेका थिए । वास्तवमा ती टेन्ट भूकम्पको बेला छिमेकी चीनबाट सहयोगस्वरूप प्राप्त भएका थिए ।
बाँधको दक्षिणतिर नेपालीहरू माछा मारिरहेका देखिन्थे । विष र करेन्टको प्रयोग गरी माछा मार्ने चलनले नेपाली नदीनालाहरूमा पहिलेजस्तो माछा पाइँदैन भन्ने सुनेका थियौँ । तर, त्यहाँको माछा मार्ने चलन प्राकृतिक शैलीको रहेछ । भाँडालाई कपडाले छोपेर सानो प्वाल बनाइँदो रहेछ । भित्र पिठोका डल्ला राखिँदो रहेछ । पिठो खान पसेका साना माछाहरू बल्छीमा फस्ने रहेछन् । यसरी सजिलै समात्न सकिने रहेछ । कहिलेकाहीँ पन्ध्रबीस किलोसम्मका ठूला माछा बल्छीमा पर्ने रहेछन् । खेतीपाती नहुँदाको बेला गण्डक बाँध आसपासका सर्वसाधारणले माछा मारेरै दिन कटाउँदा रहेछन् । सप्तगण्डकीका माछा घरमा खाने र बेच्ने गरिँदो रहेछ ।

बिजुवार बजार


एक रातको बुटवल बसाइपछि हामी पाल्पाको तानसेन र भैरवथान हुँदै गुल्मी लाग्यौँ । गुल्मीको रिडी क्षेत्र प्रसिद्ध तीर्थस्थल मानिन्छ । यहाँ खस–गैरखस जातिको बसोबास छ । गुरुङ, मगर, थकाली र नेवारहरू पनि उत्तिकै सङ्ख्यामा बसेका छन् । हिन्दू धार्मिक स्थल भएकैले यहाँ स्थानीय बासिन्दालाई सुँगुर पाल्न बन्देज लगाइएको रहेछ । तैपनि, रिडीलाई सफा वा व्यवस्थित बस्ती भन्न सकिन्न । बजारलाई दुई फ्याकमा चिर्ने सडक निकै साँघुरो छ । सडकका ब्रेकरहरू अचाक्ली उठेका छन् । पाल्पाबाट गुल्मी पस्ने नाका भएकोले रिडीको व्यापारिक महत्व ठूलो छ । मूलतः यो धार्मिक पर्यटक र लामो यात्राका यात्रीहरूको खर्चपानीले चल्ने बस्ती हो । नजिकै रिडी खोला र काली गण्डकीको दोभान छ । दोभानमाथि पाल्पा, स्याङजा र गुल्मी जोड्ने तीनमुखे पुल बन्दै छ । निकट भविष्यमा यो पुल नौलो पुलको रूपमा ‘भाइरल’ हुने स्थानीय युवाहरूको आशा छ ।
भोलिपल्ट बिहान गुल्मीको सदरमुकाम तम्घास पुग्दा पारिलो घाम लागेको थियो । ‘किरण पुस्तकालय’ अगाडिको लाँकुरी चोकमा पुस्तक प्रदर्शनी सुरु भयो । मानिसहरू ‘अनौठो राजनीतिक कार्यक्रम’ देखेर उत्सुक भए । पुस्तक र पार्टीको बारेमा सोधपुछ गर्न अक्षर नचिन्ने मानिसहरूदेखि शिक्षक, जनप्रतिनिधि र बुद्धिजीवीहरू पनि आए । विद्यार्थी र युवाहरूको चासो कम थिएन । दिनभरि चलेको कार्यक्रम असाध्यै उत्साहप्रद रह्यो । केही सहभागीले फेरिफेरि आउनुपर्ने सुझाव दिए ।
अर्को दिन बिहानै हामी अर्घाखाँचीतिर लाग्यौँ । गुल्मी र अर्घाखाँची छुट्याउने भञ्ज्याङको दुवैतिर सडक बन्दै थियो । बिहानी पखको समय भएकोले धेरै धुलो खानु परेन । भञ्ज्याङ उक्लिँदै गर्दा तम्घास रेसुङ्का पहाडको काखमा बसिरहेजस्तो देखियो । वातावरणमा तुवाँलोले गर्दा हिमाल देख्न सकिएन । अन्यथा तम्घासबाट हिमाल देख्न नसकिने थिएन । पहाडी कुइनेटाहरूका ससाना बस्ती छिचोल्दै, भीर पाखा चिरेर बनाइएका लहरे खेतहरू हेर्दै र वनचरी र सल्लाका सुसेली सुन्दै हामीले भञ्ज्याङ काट्यौँ । चारवटा मोटरसाइकलमा हामीले पुस्तक, साउन्ड सिस्टम र केही झोलाहरू बोकेका थियौँ । पाँचजनाको हाम्रो समूह पहाडी बाटोघाटोमा हिँड्न अभ्यस्त भयो । साना चोटपटक हाम्रा लागि सामान्य थिए ।
एउटाको डाँडा छिचोल्नुअघि हामीले एक सहृदयी दाजुकहाँ पस्नु थियो । पहाडको पुछारमा उहाँको घर थियो । बस्तीमा पाँच–सात घरधुरी थिए । ती दाजुले घरमा माछापालन गर्नुभएको थियो । पोखरीको पानी उहाँले सिँचाइको लागि पनि उपयोग गर्नुभएको थियो । पारिवारिक उपभोगको लागि बारीमा तरकारीहरू लगाइएको थियो । चिया पिउँदै हामीले त्यस गाउँको जनजीवनबारे कुराकानी ग¥यौँ । गाउँको पारिपट्टि सल्लाघारी थियो । सल्लाको रुख लच्किने खालको र कोणधारी हुनाले बाँदरको बसोबासको लागि सल्लाघारी स्वर्गसरि हुँदोरहेछ । यसकारण त्यो गाउँका किसानहरूले बाँदरबाट सास्ती खेपिरहेका रहेछन् । ती दाजुका एक भाइजस्तै गाउँका धेरै युवायुवती काम र मामको खोजीमा मुग्लानतिर लागेकोले गाउँ नै खाली देखिन्थ्यो । ती दाजुले भन्नुभयो, “गाउँ त वृद्धाश्रम भयो ।” आफूले पढाउने पल्लो डाँडाको विद्यालय देखाउँदै उहाँले हामीलाई सदरमुकाम जाने बाटो देखाइदिनुभयो ।
करिब नौ बजेतिर हामी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा थियौँ । सत्ताको मात लागेजस्ता देखिने एकजना घरधनीले बैङ्गअगाडिको स्थानमा पुस्तक प्रदर्शनी स्टल राख्न दिएनन् । त्यसपछि हामीले एक पुस्तक पसलको सामुन्ने पुस्तक प्रदर्शनीमा राख्यौँ । पसलका मालिक काठमाडाँैमा पढेका र राजनीतिक संस्कारमा हुर्केका व्यक्ति रहेछन् । कुराकानीपछि थाहा भयो । जनमोर्चाका एक कार्यकर्ताले तम्घासमा हामीलाई भनेका थिए, “तम्घासमा भन्दा सन्धिखर्कमा पढ्ने मान्छेहरू धेरै छन् ।” समय वा स्थान, के नमिलेर हो कुन्नि ? सन्धिखर्कमा ‘भिजिटरहरू’ धेरै भएनन् । केही पत्रकार, व्यवसायी, कर्मचारी र गुप्तचरमात्र पुस्तक अवलोकन गर्न आए । सर्वसाधारणले त माइकिङमा बताइएका कुराकानी सुने मात्र । बरु, यहाँ अर्घाखाँचीको कम्युनिस्ट आन्दोलनको विगतबारे अध्ययन गर्ने मौका पायौँ ।
अर्घाखाँची २०१८ सालभन्दा अगाडि गुल्मी जिल्लाकै भाग थियो । त्यस वर्ष वैशाखमा बनेको अर्घाखाँची जिल्लाको उत्तरपश्चिममा अर्घा र दक्षिणमा खाँची नामका अग्ला डाँडाहरू छन् । पहिले ती दुई अलग राज्य थिए । दुवै देशका राजाहरूबीचको मैदान वा खर्कमा आएर सन्धि गरेपछि मैदानी भाग सन्धिखर्क कहलिएको रहेछ । मैदानी भागलाई खासमा एउटा खोलाले छुट्याएको छ । पूर्वतिरको भागलाई सन्धिखर्क भनिन्छ र पश्चिमी भागलाई चुत्राबेँसी भनिन्छ । चुत्राबेँसी चुरेटा (पहाडी मुसलमान) हरूका पसलहरूले गुलजार छ । बजारको बीचमा एउटा मस्जिद पनि छ । अर्घाखाँचीको राजनीतिमा आचार्य, भुसाल, बेलबासे थरका खानदानीहरूको वर्चस्व रहेछ । काङ्ग्रेसी राजनीतिमा फुट भएपछि खुबीराम आचार्यले अर्घाखाँचीमा कम्युनिस्ट राजनीतिको जग हाल्नुभएको रहेछ । धनी परिवारमा जन्मेर पनि सुविधाभोगी जीवन त्यागी गरिबगुरुवाको पक्षमा काम गर्ने उहाँ कम्युनिस्टहरूका आदर्श हुनुहुँदोरहेछ ।
अर्घाखाँची नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा ‘मनी एक्सन’ वा ‘हर्रेबर्रे काण्ड’ ले चिनिन्छ । २०३१ सालमा कम्युनिस्ट आन्दोलनका १५–२० जना कार्यकर्ता हातहतियारको जोहो गरेर एकजना सामन्तको घरमा पसे र उनीहरूले ठूलो धनमाल लुटे । सरकारले विद्रोहीहरूलाई समात्न थालेपछि भागाभाग मच्चियो । पार्टीका नेता पुष्पलालले त्यस कारबाहीलाई गलत भन्नुभएको रहेछ । यही काण्डलाई हेर्ने अर्घाखाँचीको कम्युनिस्ट आन्दोलनमा दुई भिन्न दृष्टिकोण रहेछ । मोहनविक्रम सिंहको खेमाले त्यसलाई डकैती भन्यो भने माले समूहले त्यसलाई वर्गसङ्घर्ष भन्यो । सन्धिखर्कमा जनमोर्चाको राम्रै उपस्थिति रहेछ । प्यूठानसँग जोडिएको एउटा नगरपालिकामा जनमोर्चाका धेरै वडाअध्यक्षहरू रहेछन् । अर्घाखाँचीमा मसाल अझै पनि निर्णायक शक्ति रहेछ अर्थात् उसको भोट जसलाई जान्छ, त्यसले चुनाव जित्ने सम्भावना बढ्ने रहेछ । सन्धिखर्कमा मात्र जनमोर्चाको साप्ताहिक पत्रिकाका ६०० भन्दा बढी ग्राहकहरू रहेछन् ।
साँझपख हामी सन्धिखर्कबाट २–३ किलोमिटरको दूरीमा पर्ने एउटा डाँडो उक्लियौँ । बाटोभरि धुलोमैलो अनुहार लगाएका गाउँलेहरू देखिन्थे । एकजना सहयात्रीबाट थाहा भयो, गाउँका अधिकांश घरका सदस्यहरू भारतमा काम गर्छन् । पहाडको बीचतिर केही बालबालिका र किशोरकिशोरी धुलो बाटोमा खेलिरहेका थिए । सायद परदेशमा कष्टसाध्य काममा जानु उनीहरूको पनि भाग्यरेखामा थियो । सोची ल्याउँदा मनै खिन्न भयो । साँझ छिप्पिँदै थियो । घामलाई डाँडापारि टाढा कतै छोडेर हामी चुत्राबेँसी हुँदै सन्धिखर्क आयौँ ।

 तम्घास


भोलिपल्ट निर्माणाधीन प्युठान सडक हुँदै हामी सदरमुकाम खलङ्गातिर लाग्यौँ । धुलाम्मे भए पनि बाटो फराकिलो र सम्म परेको रहेछ । अनेक कुइनेटा र भञ्ज्याङहरू पार गर्दै हामी अर्घाखाँचीको सीमा गाउँ खिल्जी पुग्यौँ । आराम गर्न चिया पिउने बहाना निस्कियो । पहाडको एउटा मोडमा तेल पेल्ने कोल थियो । केही वर्षअघिसम्म त्यस गाउँको जीवनको अभिन्न अङ्क रहेछ त्यो कोल । त्यसमा चिउरी पेलेर तेल निकालिँदो रहेछ । मध्यदिनसम्म त्यस गाउँका मानिसहरू पानी ओसार्न पल्लो गाउँ जाँदा रहेछन् । अहिले अलि सजिलो भएको कुरा ७ दशक नाघेका बुढा बाले भन्नुभयो । “यो गाउँबाट अन्त नगई मैले उमेर कटाएँ, छोराछोरी हुर्काएँ । अहिले छोराहरू काम गर्न परदेश गएका छन् ।” बुढो बाकी बुहारीले चलाएको पसलमा बहुराष्ट्रिय कम्पनीका मसालेदार मालसामान देखिन्थे । पसलमा दुईचार दिनमा बिग्रने बेकरी आइटम पनि देखेपछि सडकले ‘कमाल’ गरेछ भन्ने लाग्यो । शासकहरू यसैलाई ‘विकास’ भन्छन् ।
खिल्जीबाट घुमाउरो ओरालो झरेपछि एउटा खोला आयो । त्यही सानो खोलादेखि पक्की सडक सुरु भयो । सडकसँगै प्युठान सुरु भयो । पुलमा फोटो खिच्दै गर्दा हामीले त्यहाँको शैक्षिक अवस्थाबारे थाहा पायौँ । त्यहाँबाट विद्यालय जान आउन विद्यार्थीहरू दैनिक ४ घण्टा हिँड्दा रहेछन् । सिसौ, साल, खस्रु, चिलाउने, खयर आदिका बोटहरूबीच सडक तेर्सिएको थियो । एउटा डाँडाको फेरो मारेपछि हामी खलङ्गा पुग्यौँँ । मध्य दिन थियो । तैपनि, खलङ्गा बसेको टाकुरो शीतल थियो । टाँकी, कोइरालो र पैयूँका फूलहरूले खलङ्गा नै बेहुलीझैँ सजिएको भान हुन्थ्यो । त्यसो त खलङ्गा मल्लरानी नाउँकी एक रानीको कहानीसित जोडिएको रहेछ । मूलतः यो एक प्रशासनिक नगर हो ।
खलङ्गादेखि हामीले मोहनविक्रम सिंह र उहाँको राजनीति महसुस गर्दै गयौँ । एकताक मसालकी महिला फाँटकी जिल्ला अध्यक्ष रहेकी भारती दिदीसँग भेट भयो । भूमिगतरूपमा पार्टीले नै दिदीको बिहे गरिदिएको रहेछ पार्टीकै एक कार्यकर्तासँग । भूमिगत कालमा पुलिसहरूको आँखाबाट जोगिन जनवादी बिहे समयको आवश्यकता रहेछ । त्यसमाथि अन्तर्जातीय बिहे समाजमा सजिलै पच्ने कुरा पनि भएन । माओवादी द्वन्द्वको समयमा गरिएका धेरैजसो अन्तर्जातीय बिहे पछि चुँडिएजस्तो भारती दिदीको विवाह बन्धन चुँडिएन । यो जोडीले लामो समय मसालको राजनीति ग¥यो । पछि जोडी ‘माओवादी’ बन्यो । माओवादीसँगै उसले नेकपाको यात्रा ग¥यो । हामीले भेट्दा यो जोडी ‘नेकपा टुक्रिनु हुँदैन’ भन्ने पक्षमा थियो । भारती दिदीको जोडीमात्र होइन, प्युठानमा नेकपा पसेका धेरैजसो मानिसले हामीलाई यसै भने । भारती दिदीको एउटा ठम्याइ गजबको थियो । उनले भनिन्, “भूमिगत गतिविधिपछि २०४७ सालमा पार्टी काममै काठमाडाँै जाँदा क्रान्तिपछि त्यहाँको एउटा घर नपाए पनि हामी सबैले एउटा–एउटा कोठा त पाइन्छ भनिएको थियो । माथिकाले सबै आफैले मात्र खाने रहेछन् भन्ने अहिले आएर थाहा भयो ।” यो कस्तो कम्युनिस्ट ‘भिजन’ हो ¤ हामी हाँस्नमात्र सक्थ्यौँ ।
मसालको अर्को पनि समस्या रहेछ । गाउँबाट सहर पसेका धेरैजसो युवा–विद्यार्थी पढेर घर फर्किँदा एमाले वा माओवादी बनेर फर्किँदा रहेछन् । किन ? लामो समय मसालको राजनीति गरेका पूर्वमाओवादी र अहिले ओली पक्षमा गएका एक कार्यकर्ताले भने, “तिनीहरूको सैद्धान्तिक स्तर उठिसकेको हुँदैन । त्यसैले उनीहरू अवसरको पछि लाग्छन् ।” उनको जवाफमा मसालको स्कुलिङ झल्किन्थ्यो, खासमा उनले मसाल छोडेजस्तै । अवसर र सुविधाभोगकै लागि सहर पसेका युवाविद्यार्थीहरू अर्को ठुलो शासक पार्टीमा लाग्छन् । पढेपछि विद्यार्थीलाई अवसर चाहिन्छ र मसालले अवसर दिन सक्दैन । अवसर दिने नाममा मसाल पनि कम्युनिस्ट नामधारी शासक पार्टीमै दर्ता भइसकेको छ । कम्युनिस्टै नामधारी अर्को ठुलो शासक पार्टीमा लाग्दा ‘जात पनि नजाने र कमाउन छुट पाइने’ दुवै हुन्छ ।
खलङ्गाबाट नागबेली बाटो ओरोलो झरेपछि उत्तरबाट दक्षिण बगिरहेको झिम्रुक खोला देखियो । खोलाको पश्चिम तीरमा बागदुला बजार बसेको छ । त्यहाँ एक होटलमा सरसामान थान्को लगाएर हामी ओखरकोटतिर लाग्यौँ । ओखरकोट एउटा ऐतिहासिक कोट भएको डाँडो हो । बाटो उक्र्लिदै गर्दा फेरि पनि रङ्गीन मुस्कान लिएका र उदास जिन्दगीको भाग्य कोरिएका चिचिला केटाकेटी देखिन थाले । प्युठाने मङ्गोलहरू सडक खनिरहेका थिए । बाटोमा भेटिएका एक शिक्षित युवकले भने, “यो बाटोले यो ठाउँका ३० प्रतिशतलाई मात्र फाइदा गर्छ ।” ती ३० प्रतिशत मान्छेहरू पक्कै पनि ओखरकोटमा पर्यटनको विकास भएपछि होटल, लज खोल्ने र बाहिरबाट सामानहरू आपूर्ति गर्ने साहुहरू हुनुपर्छ । सर्वसाधारणको जीवनस्तर उकास्न ओखरकोटको पर्यटनले कत्तिको टेवा देला, भविष्यले बताउनेछ । ऐतिहासिक स्थलहरूको संरक्षण आवश्यक छ । तर, त्यो नै ‘विकास’ होला र ? मसाल वा राष्ट्रिय जनमोर्चालाई समयले निश्चय नै यो प्रश्न सोध्नेछ ।
समयले नेटो काटिसकेको हुनाले हामी मोहनविक्रम सिंहको पुख्र्यौली घर ‘पचपन्न झ्याले दरबार’ जान सकेनौँ । मरान्ठानाबाट केही किलोमिटर पूर्वमा त्यो घर पर्दोरहेछ । जान्नेले भनेअनुसार माथिल्लो तलामा पनि घोडा लग्न मिल्ने खालको खानदानी घर छ रे । बागदुला फर्किँदा हामी धुलाम्मे भइसकेका थियौँ र रात परिसकेको थियो । झिम्रुक खोलामा जिउमा लागेको धुलो पखालेर हामी ताजा भयौँ । होटल साहु किसान सङ्घर्षमा पीडित परिवारका रहेछन् । पुजा भन्ने गाउँमा एकजना सामन्त अत्यन्त अत्याचारी रहेछ । दुःखीगरिबलाई निकै सास्ती दिने त्यस सामन्तलाई २०४८ सालतिर जनसागर उर्लेर घेर्न गए । हुकुमी सामन्तले एकजना युवकको घाँटीमा चक्कुले हान्यो । रगतपच्छे युवालाई देखेपछि भिड उत्तेजित भएछ । लखेटालखेटामा सामन्त आफै भीरबाट खसेर मरेछ । गिरिजाप्रसादको सरकार थियो । स्थानीय काङ्ग्रेसीहरूले गाउँका सबैजसो मान्छेलाई जेल चलान गरेछन् । कलिला बालबालिकादेखि वयोवृद्धहरू पनि सरकारी कोपभाजनमा परेछन् । यसलाई मसालको इतिहासमा ‘पुजा काण्ड’ भन्दोरहेछ । यसमा आधारित रक्तिमको गीतिनाटक पनि रहेछ ।

भालुवाङ


भोलिपल्ट हामीले बिजुवारको मित्रमणि चोकमा पुस्तक प्रदर्शनी ग¥यौँ । बजार सुनसान थियो । बजार बन्द हुने दिन परेछ । तैपनि, स्थानीयले केही बेर कार्यक्रमस्थल आसपास उभिएर हाम्रा विचारहरू सुने । एक प्रकारको कोणसभाजस्तो भयो । बिजुवारको कार्यक्रमपछि हामी माडी खोलाको किनारमा पर्ने चकचके पुग्यौँ । सामान चौकीमा राखेर स्वर्गद्वारी गयौँ । स्वर्गद्वारी एकदम उचाइमा थियो । देशैभरिबाट आउने त्यहाँका साधुसन्यासीहरू अलग्गै खालका थिए । विक्रमाब्द १९१६ मा जन्मेर १९९७ मा बितेका हंसानन्द नाउँका एक साधुले १९५२ मा स्थापना गरेको स्वर्गद्वारी ‘ईश्वर’ का भक्तजनको घुइँचो हुने ठाउँ रहेछ । मन्दिरको एउटा पक्ष निकै अनुकरणीय थियो । महन्तहरूको स्वीकृतिबेगर स्वर्गद्वारीबारे जानकारी लिन गाह्रो रहेछ । साधु वा बटुकहरूले फोटो खिचाउन मानेनन् । गोपनीयतालाई सबै साधुसन्यासीहरूले अहम् अनुशासन मान्दा रहेछन् । संयोगले एकजना महन्तसँग भेट भयो । मान्छेहरूले आफूले पाल्न नसकेका थारो गाईहरू स्वर्गद्वारीमा ल्याएर छोडेकोमा श्वेत वस्त्रधारी महन्तले रोष प्रकट गरे । त्यस्ता हिन्दूहरूलाई उनले पापी र अपराधी भने । स्वर्गद्वारीको पर्यटन भारतीय आगन्तुकहरूबाट धानिएको रहेछ । त्यसैगरी नेपालका चारै दिशाबाट भक्तजनहरू त्यहाँ आउने रहेछन् ।
स्वर्गद्वारीको प्रवेशद्वारबाट केही किलोमिटर उत्तर लागेपछि रोल्पा जिल्ला सुरु हुँदोरहेछ । हामी विपरीत दिशातर्फ लाग्यौँ । साँझतिर हामी राप्ती उपत्यका ओर्लिने बड्डाँडा भञ्ज्याङ पुग्यौँ । बड्डाँडामा फापर, कोदो, आटो, पीठो, दाल, घिउ, मह, मरमसला, जडिबुटीजस्ता स्थानीय उत्पादन बेच्ने बजार रहेछ । खासगरी स्वर्गद्वारीबाट फर्किने बेला पर्यटकहरूले यी उत्पादनहरू किन्दा रहेछन् । यस्तै बजार देशैभरि हुँदाका बखत नेपालको अर्थतन्त्र उकासिने थियो कि भन्ने लाग्यो । साँझ झमक्क पर्दा हामीले राप्ती उपत्यका प्रवेश ग¥यौँ । मोटरसाइकलमा तराईको गर्मीले हपक्क हान्यो । राप्ती नदीको चिसोले त्यस तापलाई सन्तुलनमा ल्याउँदो रहेछ । केही घण्टा जङ्गलैजङ्गल छिचोलेपछि भालुवाङ पुग्यौँ ।
प्युठानमा मात्र होइन, तल भालुवाङमा पनि मगर भाषाको प्रभाव रहेको ‘वाङ’ शब्दले जनाउँथ्यो । मगर भाषामा वाङको अर्थ मैदान हुन्छ । प्युठानमा जस्तै भालुवाङमा मगर जातिको बाहुल्य भएका बस्तीहरू देखिए । चोकमा पुग्नुभन्दा ठीक अगाडि पर्ने बस्तीमा लाहुरे र मुसलमानहरू बढी देखिए ।
भोलिपल्ट भालुवाङ चोकमा राप्ती नदीतिर फर्काएर हाम्रो पुस्तक प्रदर्शनी आरम्भ भयो । बस बिसौनीनिर फलफुल र प्याक गरिएका खानेकुरा राखिएका ठेलाहरूबीच हाम्रो प्रदर्शनी आकर्षणको केन्द्र बन्यो । साउन्ड सिस्टममा हाम्रा गीत र विचारहरू घन्किरहेका थिए । चासो दिनेहरूले घण्टौँ बसेर पनि हाम्रा कुरा सुनिरहे । एक शिक्षित युवकले राजनीतिक पार्टीले जनतालाई सचेत पार्ने यस्ता कार्यक्रम गर्नु उदाहरणीय भएको बताए । उनलाई हामीले ‘अनलाइन मजदुर’ पछ्याउनुहोला भनी बिदा ग¥यौँ । झ्यालको सिसामा “संसारका मजदुर एक होऔँ” लेखिएको बसमा चढेर उनी रोल्पातिर लागे ।
भालुवाङ पूर्वपश्चिम राजमार्गबाट छोडेर प्युठान – रोल्पा पस्ने नाका हो । त्यसैले यो नगर होटल र लज चलाएर बाँचेको छ । राप्ती खोलामा स्थानीय बासिन्दाले माछा मार्ने गर्छन् । गिट्टी बालुवा र वन पैदावारजस्ता प्राकृतिक स्रोतसाधनमा यो क्षेत्र धनी छ । अघिल्लो दिन हामी पुग्दाको रात त्यहाँको वनजङ्गलमा डढेलोले लागिरहेको थियो । यो प्राकृतिक थियो वा तस्करहरूको खेल थियो, सम्भावना दुवै थियो । भालुवाङमा नयाँ पहिचान थपिएको छ । बुटवल र दाङ उपत्यकामध्ये प्रदेश राजधानी कहाँ लैजाने भन्ने तानातानबीच बीचको दाङकै भालुवाङ लुम्बिनी प्रदेशको राजधानी बन्न पुगेको छ । तैपनि, एमाले नेताहरूको अकर्मण्यताले प्रदेशसभाको हिउँदे बैठक त्यहाँ बस्न सकेन ।
भालुवाङ साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को नामबाट पनि चिनिन्छ । राप्ती पुलको पूर्वी किनार पुगेर दक्षिण फर्केपछि देखिने जायजेथा कृष्ण सेनको थियो । तिनै कृष्ण सेन जसको कविता विद्यालय स्तर पाठ्यपुस्तकमा राखिएको छ । अन्याय र शोषणको विरोध गर्ने कृष्ण सेन, अत्याचार र लुटपाटको विरोध गर्ने कृष्ण सेन । भालुवाङ चोकले भने कृष्ण सेनलाई गिज्याइरहेको प्रतीत हुन्छ । चोकमा डिजिटल बोर्डमा कृष्ण सेनको तस्बिर देखिने स्मारक बनाइएको छ । ठेकदारहरूले उनको एउटा सालिक बनाउनुभन्दा डिजिटल बोर्ड बनाउनुमा फाइदा देखेको हुनुपर्छ । एउटा डिजिटल बोर्ड बिग्रेपछि अर्कोको टेन्डर आइहाल्ने भयो ¤ दुष्टहरूका दुस्मन कृष्ण सेन तिनैका आम्दानीका स्रोत बन्न पुगे ¤ कठै माओवादी ‘जनयुद्ध’ ¤
बागदुलामा जस्तै भालुवाङमा पनि भारतबाट नेपाल भित्रिनेहरूको घुइँचो थियो । कोभिड–१९ को दोस्रो लहरको कारण ८ तारिखबाट भारतभरि लकडाउन गर्ने हल्ला चलेपछि मानिसहरूको चाप बढिरहेको फलफुल पसल थापेकी एक दिदीले भनिन् । चेन्नईबाट आएका उनका ठुला बुबा दुईचार हात पर उभिएर कुराकानी गरिरहेका थिए । भारतमै काम गरेर उनले तालु खुइलाएका थिए, जुँगा फुलाएका थिए । उनको कुराकानीमा कताकता ‘लाहुरे’ हुनुको दम्भ झल्किन्थ्यो ¤ हे नेपाली पाखण्ड ¤¤ बागदुला बसपार्कमा पनि भारतको राजस्थानबाट आएको एउटा परिवार भेटिएको थियो । नेपाली भाषा नबुझ्ने बालिकाकी आमा राजस्थानी थिइन् । भारतमा नेपालीहरूको सङ्गतले गर्दा उनले सजिलै नेपाली बोलिन् ।
भालुवाङमा अनेक पात्रहरूसँग हेलिएपछि हामी बुटवलतिर लाग्यौँ । त्यो साँझ हामी पाँचजना पाँचतिर थियौँ ।
प्रदर्शनी सकिएको थियो । भालुवाङ पुगेपछि नै पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान र दाङका कुना कन्दराहरूमा देखिएका दुःखी नेपालीहरूको अनुहार र बिराना गाउँठाउँ झलझली खेल्न थालिसकेका थिए । गुल्मीमा एकजना बुद्धिजीवीलाई सोधिएको प्रश्न र उनको उत्तरले हामीलाई पिरोलिरह्यो । हामीले सोधेका थियौँ, “गाउँबाट सहरतिर मान्छेको बसाइँसराइ रोक्न के गर्नुपर्ला ?” उनले सजिलै भने, “पर्यटनको विकास गर्नुपर्छ ।” यात्राभरि हामीबीच यसै उत्तरबारे छलफल भइरह्यो । भ्युटावर र डोजरमार्के विकासको लागि यति उत्तर काफी थियो । सरकारले भनेजस्तो (ठग ठेकेदार, जग्गा दलाल र हुनेखानेहरू मोटाउने) ‘समृद्धि’ पनि हुने, जनताले ‘चाहे’ जस्तो ‘विकास’ पनि हुने ! पर्यटन आफैमा हुनेखानेहरूले नहुनेहरूका थातथालोमा गई गर्ने मोजमस्ती सावित भएको छ । वर्गीय हिसाबले हेर्ने हो भने नेपाली पर्यटन लोभको कृत्रिम ऊर्जाले चल्ने हो । यो जिन्दगीले प्राकृतिक अप्ठ्यारा झेल्ने जिन्दगीबाट नवीन ऊर्जा चुस्ने परिघटना हो । पर्यटन एक हिसाबले आकाशे खेतीजस्तो हो । कदाचित मौसमको गडबडी भएमा बालीनाली सखाप हुन बेर लाग्दैन ।
यात्राभरि हामी प्रश्नको वैकल्पिक उत्तर खोज्ने जमर्कोमा थियौँ । हामीले देख्यौँ, गाउँको सानो पसलमा धरी विश्व बजारले ब्रान्डिङ गर्ने फास्टफुडहरू झुन्डिएका थिए । चाउमिन, मःमः र प्याकेटका, डा. अरूणा उप्रेतीको भाषामा भन्ने हो भने ‘पत्रु खाना’ गाउँगाउँमा पाइयो । आयातीत केरा, स्याउ, अन्न र तरकारी पनि पहाडी पसलहरूमा भेटिए । कुनै बेला खाद्यान्नमा आत्मनिर्भर गाउँहरू कसरी यो हालतमा पुगे ? तराईका सहर, काठमाडाँै वा विदेशी सहरहरूमा बसाइँसराइले गर्दा । नेपाली बसाइँसराइको कारण के हो ? पुँजीवादी उत्पादन सम्बन्ध ¤ कसरी ? पुँजीवादमा ठुला औद्योगिक सहरहरू श्रम र नाफाका केन्द्र हुन्छन् । पुँजीको स्वभावै केन्द्रीकृत हुने खालको हुन्छ । यसका लागि सहरहरूले संसारभरबाट सस्तो श्रम सोहोर्छन्, नाफाको बेलुन फुलाउँछन् र अनावश्यक नै भए पनि आफ्ना माल वा उत्पादनलाई सफलताको मानकको रूपमा प्रचार गरेर संसारभरिको बजारमा पु¥याउँछन् । यी सबका निम्ति पुँजीवादका झिलिमिली प्रचार माध्यमले गाउँको ‘अग्र्यानिक’ जीवनलाई पाखे, पिछडिएको वा अविकसित भनी दुष्प्रचार गर्छन् । रैथाने ज्ञानलाई बेवास्ता गरिन्छ । गाउँलेहरूको शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत विषयमा सरकारले ध्यान दिएन । दिएको शिक्षाले पनि पुँजीवादी झिलिमिलीलाई नै सफलताको मानक भनी प्रचार गर्छ । (युरोपेली इतिहासको कुनै कालखण्डमा पुँजीवादीहरूले गाउँहरू जलाएर सहरमा सस्ता ज्यामीहरू जम्मा गर्थे । ब्रिटिश शासित भारतमा सस्तो ज्यामी उपलब्ध गराउन दासमोचन गरिएको इतिहास नेपालकै छ ।) देशको सन्तुलित विकासमा सरकारी नजर पर्दैन । समाजका पथप्रदर्शक बन्नुपर्ने शासक नेता कार्यकर्ताले सहरमा घर बनाउनुलाई प्रतिष्ठाको विषय बनाउँछन् ।
के पुँजीवादी उत्पादन सम्बन्धले नेपालका गाउँहरूमात्र प्रताडीत छन् ? त्यसो होइन । गाउँका मानिस सहरहरूमा बसाइँसराइ गर्छन् । सहरका मानिसहरू ठुला सहरहरूमा जान्छन् । ठुला सहरका मानिसहरू विश्वप्रसिद्ध सहरहरूमा जान्छन् । जस्तो, प्युठानका मानिस भालुवाङ जान्छन् । भालुवाङका मानिस बुटवल जान्छन् । बुटवलका मानिस काठमाडौँ जान्छन् । काठमाडौँका मानिस युरोप, अमेरिका वा अष्टे«लिया जान्छन् । (यो क्रम ठाडै नाघ्नेहरू पनि प्रशस्तै हुन्छन् । गाउँघरका गरिब गुरुवा कामको खोजीमा दिल्ली, बम्बई, भोपाल, चेन्नईजस्ता भारतका भीमकाय सहरमा जान्छन् । त्यसैगरी धनीमानीहरू सुविधाभोगी जीवनको प्यास मेट्न सीधै विदेशिने कुरा पनि नयाँ होइन ।) खेतीपाती काठमाडाँैको हिजोको मेरुदण्ड थियो । नयाँ पुस्ता विदेशिन थालेपछि आज काठमाडाँै देशविदेशका धनाढ्यहरूको कोलोनी वा केन्द्र बन्दै छ । रैथानेहरू विस्थापित हुने क्रम बढ्दो छ ।
बसाइँसराइको समस्या सल्टाउन हामी यात्राका क्रममा देखिएका ससाना थुम्काहरूमा बस्ने ४–५ घरका बस्तीहरूतिर फर्किन पनि सक्दैनौँ । त्यसले पनि साँघुरो, एकलकाँटे वा भेगीय भावनालाई मलजल गर्छ । त्यसकारण उपयुक्त स्थानमा ससाना सहरहरूको निर्माण आवश्यक देखिन्छ । स्थानीय उत्पादनमा जोड दिने आत्मनिर्भर आर्थिक क्रियाकलापको खाँचो छ । त्यसका लागि सम्भाव्य स्थानीय उत्पादन फस्टाउने खालको शिक्षा वा तालिम दिइनुपर्छ । रैथाने ज्ञानको उपयोग गरिनुपर्छ । जनतालाई यथास्थान शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउनुपर्छ । यही नै विकासको मानक हो भन्ने कुरा बिस्तारै सर्वसाधारणले बुझ्दै गएको हामीले कार्यक्रमको दौरानमा थाहा पायौँ । तर, त्यसलाई साकार रूप दिन गाउँ र सहरको भेद हटाउने क्रान्ति अपरिहार्य देखिन्छ ।
हाल देशमा दलाल पुँजीवादी बन्दोबस्त छ । विदेशी मालसामानहरू बेचेर वा तिनको दलाली गरेरै पेट पाल्ने यस्तो बन्दोबस्तबाट धेरै आशा गर्न सकिन्न । गाउँबाट सहर आएका होस् वा सहरकै रैथाने किन नहोस् मानिस ‘अग्र्यानिक’ खाद्यान्नतिर तानिँदै छन् । विडम्बना ¤ के छ भने ‘अग्र्यानिक’ आटोढिँडोसँग सिस्नो खाएर हुर्केका र गाउँबाट सहर पसेकाहरूको बजेटभित्र अहिले ‘अग्र्यानिक’ जीवन नअटाउने भएको छ । नाफाकै निम्ति उत्पादन गरिने कमसल मालसामानको उपभोगले रोगब्याधि बढ्दै छ । तिनको उपचार खर्च शिक्षितहरूको बजेटभित्र नअट्ने भइसकेको छ । त्यसैले गाउँबाट सहरतर्फको बसाइँसराइ रोकथाम गर्न व्यवस्था नै फेर्नुपर्ने देखिन्छ । क्रान्ति आवश्यकता होइन अनिवार्यमात्र बन्दै छ । आवश्यकता नै आविष्कारकी आमा हुन् भन्छन् । तर, व्यवस्था परिवर्तन सजिलो काम होला ? घर फर्किँदै गर्दा एक सिकारु लेखकले भने, “कलमले त संसारै फेरौँला जस्तो लाग्थ्यो, समाज फेर्न सजिलो रहेनछ ।” निश्चय नै विचार काममा फेरिनु अपरिहार्य छ । वनपाखा र नदीनाला छिचोल्ने, छाप्रा, कटेरा र झुपडीहरूमा (पक्की घरहरू पनि त्यसमा थपिए झन् राम्रो) राजनीतिक चेतना र अनुशासनको दियो बाल्ने कष्ट नउठाई समाज फेर्न सकिनेछैन । यात्राले सिकायो – साना दुःखले कदापि सकिनेछैन ।
– समाप्त
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *