भर्खरै :

के महिलाहरूमात्र पीडित छन् त ?

समाजको स्वरूप बदलिँदै छ । समाजमा घट्ने विभिन्न घटनाले कतै नैतिक मूल्यमान्यतामा त खलल पुग्ने होइन भनी शङ्का उत्पन्न हुन्छ । कतिपय कुरा एक पक्षबाट मात्र हेरेर हुँदैन । कहिलेकाहीँ अलि फरक पक्षबाट पनि हेरिनुपर्दछ । के महिलाहरूमात्र पीडित छन् । तर, यो कुरा कति साँचो हो भनेर अध्ययन गर्नु जरुरी छ । नेपालको सन्दर्भमा पितृसत्तात्मक समाज रहेको कारणले यहाँका संस्कार र मूल्य मान्यतामा पुरुषहरूको दबदबा देखिन्छ । तर, त्यसो भन्दैमा पुरुषहरूले महिलालाई सबै क्षेत्रमा पछाडि पारे भनेर आरोप लगाउन मिल्दैन । पहिलेको समाजमा पढलेख गर्ने भनेका पुरुषहरू थिए । महिलाहरूले लेखपढ गर्ने अवसर पाएका थिएनन् । यसले गर्दा महिलाहरू शैक्षिकरूपमा पछाडि परे । लेखपढ गर्न जान्ने पुरुषहरू भएकाले नीति नियम बनाउने, वेदपुराण लेख्ने, बाहिरी सभा सम्मेलनमा भाग लिनेजस्ता कुराहरूमा पुरुषहरू अगाडि रहे । महिलाहरू घरकै चुलाचौकाभित्रका काममा व्यस्त रहने हुनाले बाहिरी दुनियाँमा के भइरहेको छ भन्ने जानकारी कममात्र हुने हुनाले घरायसी निर्णय गर्दा पनि महिलाहरूलाई सामेल गराइँदैनथ्यो । तर, हाल महिला पनि शिक्षित हुँदै हरेक क्षेत्रमा पुरुषसरह अगाडि बढ्दै छन् । वि.स २०६८ को जनगणनाअनुसार महिला ५७ प्रतिशत साक्षर छन् । यो एक सकारात्मक परिवर्तन हो ।
समाजमा महिलाहरू बढी पीडित रहेको कुरा जगजाहेरै छ । आधुनिकताको लहरसँगै समाजमा नयाँ नयाँ परिर्वतन देखापर्नु स्वाभाविक हो । सामान्यतया वैदेशिक रोजगारीमा जाने पुरुषहरू आफ्ना श्रीमतीहरूबाट पीडित रहँदै आएका छन् । उनीहरूले विदेशी भूमिमा खाइनखाइ जम्मा गरेको पैसा आफ्नो परिवारको नाउँमा पठाउँछन् । तर, यता श्रीमतीहरू श्रीमान्को पसिनाको कमाइ मोजमज्जा गरेर उडाइरहेका हुन्छन् । क्षणिक सुखको लागि आफ्ना कलिला छोराछोरी र घरपरिवारको गला रेट्न पनि उनीहरू पछि पर्दैनन् । कतिपय महिलाहरू आफ्नो भर्खर जन्मेका सन्तानलाई सिस्नोको घारीमा फाल्न पछि पर्दैनन् । आफ्नो कालो कर्तुत लुकाउन उनीहरूले एकपछि अर्को अपराध गर्ने गरेका छन् । केही समयअघि वैदेशिक रोजगारीबाट फर्केका एक पुरुषले आफू श्रीमतीबाट पीडित भएको खबर प्रकाशमा आयो । वैदेशिक रोजगारीमा रहँदा महिनैपिछे श्रीमतीको नाउँमा पठाएबाट पैसाबाट श्रीमतीले जग्गा किनेर घर बनाएको भनी फोटो पठाएकी थिइन् । तर, नेपाल फर्कँदा घरजग्गा त परै जाओस् लाखौँ रूपैयाँ लिएर श्रीमती फरार भए भनी जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेका छन् । पुरुषहरू आफ्नो घर परिवारलाई सुख दिन, घरबार जोड्न, छोराछोरीलाई उच्च शिक्षा दिन, श्रीमती सुखसँग राख्न सुनौलो सपना बोकेर विदेश गएका हुन्छन् तर फर्केर आउँदा न श्रीमती हुन्छ न त घरबार नै जोडिएको हुन्छ । विदेशमा हुँदा घर जग्गा किन्न भनेर पठाएको पैसा श्रीमतीले आफ्ना विलासितामा उडाइसकेकी हुन्छ । यसो हुनुमा महिलाको मात्र दोष मान्नु हुन्न । किनकि, विदेश पुगेका व्यक्तिहरूले सयाँै तलाका भवन वरपर बसेर सुन्दर फोटो खिचेर फेसबुकलगायतका मिडियामा राख्ने गरेका हुन्छन् । यसले नेपालमा रहेका श्रीमतीहरू आफ्ना श्रीमान्हरू मोजले बसेको कल्पना गरी आफूमात्र दुखी भएको महसुस गरी रमाउने विकल्पहरू खोज्न थाल्छन् । आजकल त विवाहपछिका प्रेम कथाका कुरा धेरै सुन्न र देख्न पाइन्छ । यस्ता कुराले कैयौँको जीवन तहसनहस पारेको छ, बालबच्चाहरूको विचल्ली भएको छ । ज्येष्ठ नागरिकहरू पनि पारिवारिक कलहका कारण घर न घाटका भएका छन् । त्यसैले यस्ता सामाजिक दुर्घटनाबाट बच्नको लागि आफ्नो वास्तविकता आफ्ना मान्छेहरूलाई बुझाउन जरुरी छ । यदि आफ्नो वास्तविक अवस्थाबारे श्रीमतीलाई जानकारी गराउने हो भने उनले पनि श्रीमान्को दुःख बुझेर राम्रो गरी घरबार समालेर बस्नेछिन् । यी तथ्यहरूबाट समाजमा पुरुषहरू महिलाबाट पीडित रहेको कुरा जाहेर हुन्छ । सामाजिक मूल्यमान्यताले महिलाहरूलाई मात्र बाँधेको छ, पुरुषहरू स्वतन्त्र छन् भन्छन् । तर, यस्ता मूल्य मान्यताले पुरुषहरूलाई पनि बाँधेको छ । महिलाहरू त दुःख प¥यो भन्दै डाँको छोडेर रुन्छन् । तर, पुरुषहरूलाई अरूको अगाडि आँसु देखाउने अनुमति छैन । यदि कोही पुरुषहरू रोइहालेमा केटा मान्छे भएर रुन्छ भनी कुरा काटिन्छ । महिलाहरू दुःख प¥यो भने दिल खोलेर रुन्छन् । मेडिकल साइन्सले रुनुलाई पनि सकारात्मकरूपमा विश्लेषण गरेको छ । जोे व्यक्ति दिल खोलेर रुन्छ उसमा मानसिक तनाव कम हुन्छ । पुरुषको तुलनामा महिलाहरू बढी रुने हुनाले महिलाहरूमा तनाव कम हुने गरेको अध्ययनले देखाएको छ । तनाव कम हुँदा मुटु र मस्तिष्कसम्बन्धी रोग कम लाग्ने विज्ञहरू बताउँछन् । मनोविशेषज्ञ बासु आचार्यका अनुसार रोएपछि लगभग ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुन्छ ।
विस्तारै नेपाली समाजको स्वरूपमा पनि परिवर्तन आउँदै छ । विवाह एक सामाजिक संस्था हो । धेरै महिला र पुरुषहरू विभिन्न प्रकारका हिंसामा पर्ने गरेका छन् । सामान्यतः महिलाहरू पीडित देखिने गरिए पनि विवाहकै कारणले कतिपय पुरुष साथीहरू पीडित हुने गरेका छन् । आफूभन्दा धेरै नै कम उमेरको केटीसँग विवाह गर्दा विचार नमिलेर पनि धेरैको सम्बन्ध विच्छेद भएका घटनाहरू प्रशस्तै सुनिन्छ । अनावश्यक कुरालाई लिएर महिलाहरूले जिद्दी गर्ने, रिस देखाउने, उसले भनेको जस्तो नलाएको, नखाएको भनी धम्की दिने अनेक प्रकारले पुरुषहरूलाई मानसिक तनाव दिने गरेका हुन्छन् । आफूलाई सारै आधुनिक ठानी हरेक कुरामा आफ्नो श्रीमानलाई होच्याउने जस्ता कार्यहरू गर्न पनि पछि नपरेको देखिन्छ । यस्ता कुराबाट पुरुषहरू धेरै नै पीडित हुने गरेको पुरुष साथीहरूको गुनासो छ । कतिपय अवस्थामा त श्रीमान्को भन्दा बढी कमाइ हुने महिलाहरूको फूर्ति चर्कै हुन्छ । नारी र पुरुष भनेका एकै रथका दुई पाङ्ग्रा हुन् । यो सत्यलाई महिला र पुरुष दुवैले मनन गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *