जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
चितवन जिल्लास्थित राप्ती नगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्जुन चेपाङले ठुलो पार्टीको हैसियत, पहुँच र शक्ति भएको आफ्नो व्यवहार देखाए । केही महिनाअघि नारायणगढ बजारमा वडाध्यक्षको आफ्नो साइँलो भाइ लागूपदार्थ दुव्र्यसनी ओसारपसारअन्तर्गत गाँजासहित पक्राउमा परेको थियो । राजनैतिक भनसुन र पहुँच देखाई पक्राउ परेको केही दिनमै उनी छुटेका थिए ।
वडा अध्यक्ष अर्जुन चेपाङ नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् । गाँजा तस्करीमा पक्राउ परेका आफ्नो भाइलाई केही दिनमै छुटाउन सफल भएको भन्दै उनले नेमकिपाप्रति आस्थावान साथीलाई काङ्ग्रेसमा आउन भन्न भ्याएछन् । भोलि केही अप्ठेरो परेमा काङ्ग्रेसको शक्ति र बलमा काम बन्न सक्नेजस्ता प्रलोभन उनले देखाए । तर, इमानदार, परिश्रमी र वर्गीय भावनाले ओतप्रोत भएका हाम्रा साथीले त्यस्ता असभ्य काङ्ग्रेसी चरित्रलाई मन पराउने कुरै भएन । हाम्रा साथीलाई राजनैतिक शक्ति र दुरुपयोगको प्रलोभन दिँदै आएका वडाध्यक्षका यस्ता व्यवहार र अभिव्यक्तिले काङ्ग्रेसलगायत शासक दलहरूको तल्लो तहका नेता कार्यकर्ताहरूदेखि नै आपराधिक गतिविधि, भ्रष्टाचार र अनियमिततामा संलग्न रहेको बुझ्न सकिन्छ ।
एमाले, माओवादी, काङ्ग्रेसलगायतका भ्रष्ट राजनीतिक दलका जिल्ला तहका नेताहरूबाट पनि सानोतिनो अपराधमा मुछिएका आफ्ना समर्थक कार्यकर्ताहरूलाई प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने असुहाउँदा कुरा प्रहरीको सरुवा, बढुवा हुँदा, भेटघाट र चिनापरिचय कार्यक्रममा हुने गर्दछ । समाजमा घट्ने सानोतिनोदेखि ठुलठुला आपराधिक क्रियाकलापहरू राजनैतिक आडमा र यिनीहरूकै मिलेमतोमा हुने कुरा जनता बुझ्दै छन् । समाजमा भ्रष्टाचार र बेथिति बढ्दै गइरहेको बेला शासन राजनैतिक शक्तिको हातमा नरही अपराधीको हातमा गएको कुरा शासक दलका नेताहरूले बोल्न थालेका छन् ।
सोझा सीधा मानिसहरू नराम्रो काममा फस्छन् । उनीहरूलाई नराम्रो काम गर्नबाट जोगाउन र नफस्नको निम्ति राजनैतिक सामाजिक अगुवाहरूले सचेत गर्नुपर्दछ । इमानदार, नैतिकवान बन्न सिकाउनुपर्ने बेलामा नेता तथा जनप्रतिनिधि नै आपराधिक क्रियाकलापमा मुछिनु, त्यस्तो कार्यलाई स्थान दिनेखालको व्यवहार गर्नु समाजको हितविपरीतको कार्य हो । आज एक वडा अध्यक्षले आपराधिक क्रियाकलापलाई प्रसय दिइरहँदा सोझा, दीन दुःखीले कस्तो शासक पाइरहेको छ भन्ने कुरा छर्लङ्ग छ ।
Leave a Reply