भर्खरै :

सरकार, कुर्सी जोगाउने कि जनताको जिउ ?

सङ्कटमा हात उठाउनु अक्षम्य !
देशभर कोरोना महामारीको दोस्रो लहर चल्दै छ । दैनिक सङ्क्रमित हुनेको सङ्ख्या सात हजार नाघ्यो । दैनिक ३० भन्दा बढीको ज्यान गइरहेको छ । अस्पतालहरूका शय्या कोभिड सङ्क्रमितबाट खचाखच भरिएका छन् । आईसीयू, भेन्टिलेटर, अक्सिजन नपाएर बिरामीको ज्यान जान थालिसकेको छ । औषधिजन्य वस्तुकोे चरम अभाव देखिएको छ । स्वास्थ्य जनशक्तिको यथोचित परिचालनमा गम्भीर समस्या देखिन्छ । सरकारले घरै बसेर उपचार गर्न आह्वान गरेको छ । भेरी अस्पतालले देशभरिकै भयावह अवस्था उजागर गर्दै छ । स्वास्थ्यकर्मी अभावका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आइतबार बाइस जना भेरी अस्पताल पठाइयो । सरकारले प्रभावकारी स्वास्थ्य सेवा प्रदान नगरेको, सामग्री उपलब्ध नगराएको र व्यवस्थापनमा असफल भएको भनी विरोध हुँदै छ । यो सङ्कटमा सरकार जनतालाई भर दिन, सान्त्वना दिन तथा सेवा उपलब्ध गराउन असफल हुँदै छ । सङ्कटमा हात उठाउनु अक्षम्य हुनेछ । इतिहासकै कलङ्क साबित हुनेछ ।
सरकारको गम्भीरताको अभाव
भारतमा महामारी फैलिसक्दा समेत सम्भव भएका सावधानी, उपाय तथा तयारीतर्फ सरकारद्वारा यथोचित ध्यान नदिइनाले यो भयावह स्थिति आएकोमा कुनै शङ्का छैन । स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने, दक्षिणी सीमामा उच्च सतर्कता अपनाउनुपर्ने, अक्सिजन प्लान्ट मर्मत या स्थापना गर्नुपर्ने, भेन्टिलेटरहरूको बन्दोवस्त, होल्डिङ सेन्टर तथा आइसोलेसन वार्डहरू आदि दु्रत गतिमा बनाउनुपर्ने बेला सरकार हल्काफुल्का कार्य, सतही तथा प्रचारात्मक गतिविधि, तयारी नभएपनि शिलान्यास र काम सम्पन्न नहुँदै उद्घाटनजस्ता बालरहरमै अलमलिँदा यो दूर्भाग्य व्यहोर्नुपरेको जगजाहेर भइसकेको छ । अत्यन्त संवेदनशील घडीमा सरकार कुर्सीको घृणित खेलमा फस्यो । सङ्कटमा शासक दल गृहकलहमै अल्झेपछि यति खराब परिस्थिति आउनु कुन आश्चर्यको कुरो भयो र ? सस्तो लोकप्रियतामा रम्ने शासकका कारण जनताले ठूला–ठूला मूल्य चुकाउनुपर्ने यथार्थ आज सबैसामु छर्लङ्ग छ । दम्भी शासक दुर्घटनाको कारण बन्ने नेपाली जनता अनुभव गर्दै छन् ।
दोस्रो लहर जेठ–असारसम्म कायम रहने या उच्च विन्दुमा पुग्ने विज्ञहरूको पूर्वानुमान छ । देशवासीको जीवन रक्षाका लागि सरकार दलगत खुद्रा–मसिना झन्झटमा नफसी मूर्त कार्यमा केन्द्रित हुन नसके परिणाम योभन्दा पनि भयावह हुने निश्चित छ । परिस्थितिको गम्भीरतालाई बेवास्ता गर्दै आजसम्म पनि स्वास्थ्य सामग्रीमा भारतकै भर परेर जुन गल्ती गर्दै छ त्यो तुरुन्त सच्याउनुपर्छ । भारत स्वयम् कोरोनाको सुनामी व्यहोर्दै छ । भारत आपैm विदेशीसमक्ष हात पैmलाउँदै छ । यस स्थितिमा नेपालले भारतलाई बोझ थप्नु बुद्धिमानी हुने छैन । कसैको विपत्तिमा साथ या सहयोग दिन नसके आपत थपि नदिनु उचित हुनेछ । तसर्थ, चीन, पाकिस्तान, रुस, क्युवा लगायतका मुलुकसँग स्वास्थ्य सामग्री, उपकरण, खोप, स्वास्थ्य जनशक्ति तथा अन्य आवश्यक सहयोगका लागि तयारीतिर जुट्न विलम्ब नगर्नु आजका निम्ति उत्तम उपाय हो ।
चिनियाँ स्वास्थ्य सहयोग नै उत्तम विकल्प
चीनको सहयोगमा यो आपतकालीन समयमा द्रुत गतिमा कोभिड अस्पताल निर्माण र चिनियाँ विज्ञ तथा स्वास्थ्य टोली ल्याई कोरोनाको दोस्रो लहर रोक्ने या क्षति न्यूनीकरण गर्नेतर्फ सरकार हिच्किचाउनु बुद्धिमानी हुने छैन । युरोप, अफ्रिका, ल्याटिन अमेरिका पुगेको चीन र चिनियाँ विशिष्ट स्वास्थ्य टोलीलाई सीमा जोडिएकै देश नेपाल भित्र्याउन नसक्नु कूटनीतिक असफलता या कमजोरी पुष्टि हुनेछ । सरकारले त्यतातर्पm धेरै ढिलो नहुँदै केही पहल गरोस् ! नेपाली जनता छिमेकी चीनको महामारीविरुद्धको लडाइँ र त्यसमा प्राप्त विजयबाट प्रभावित छन् र अत्यन्त विश्वास गर्दछन् । चीनबाट खोप, स्वास्थ्य उपकरणको आपूर्ति विषयमा पनि हरसम्भव शिघ्र प्रयास गर्नु अन्यथा हुने छैन । देशवासीको हितका लागि मित्र गुहार्नु लाजको विषय हुने गर्दैन ।
कोरोनाको पहिलोभन्दा दोस्रो लहर घातक तथा खतरनाक भएजस्तै भयङ्कर पीडादायी तेस्रो लहर नआउला भन्न सकिन्न र योभन्दा विषम् परिस्थितिका निम्ति समेत तयारी गर्नु दूरदर्शीताको चिनो हुनेछ । राजनेता भनी सडकमा नाराबाजी गर्नु–गराउनु र राजनेताको सोच, व्यवहार तथा कार्य गरी देखाउनुमा धेरै फरक छ । डाँडाकाँडामा भ्यूटावर, देवीदेवताका मूर्ति, सडकमा झोलुङ्गे पुल बनाउने बुद्धि त्यागेर अक्सिजन प्लान्ट शीघ्र मर्मत तथा निर्माण, भेन्टिलेटरको बन्दोवस्त, आईसीयू सञ्चालन, स्वास्थ्यकर्मीलाई प्रोत्साहन आदि कार्यतर्फ लाग्नु विवेकसम्मत हुनेछ ।
स्वास्थ्य क्षेत्रमा नीतिगत हेरफेर गर्ने अवसर
स्वास्थ्य क्षेत्रमा नीतिगत हेरफेर गर्ने बेला पनि अहिले नै हो । विशेषगरी ४६ सालपछि नेपालमा खुब निजीकरणको होहल्ला गरियो । आज प्रस्ट देखियो कि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा निजी भरपर्दा होइनन् र हुनै सक्दैनन् । ती नाफामुखी नै हुन्छन् । सरकार स्वयम् पूर्ण जिम्मेवार हुनुपर्छ । त्यति मात्र होइन, सरकार सदा तम्तयार हुनुपर्छ र आवश्यक मानवीय संसाधन तथा स्रोतसाधनले सम्पन्न हुनुपर्छ । बहुमत जनता आफने स्वास्थ्योपचारका लागि निजीतिर होइन, सरकारी तथा सामुदायिकतर्फ फर्केका छन् । निजी अस्पतालहरूले उल्टै असहयोग गरेको, बढी पैसा असुलेको, सामान लुकाएको र भेदभाव गरेको व्यापक जनगुनासो छ । जनताको स्वास्थ्य सेवा र जीवन रक्षाबाट सरकार भागेको खण्डमा संरा अमेरिका, भारत, इटाली, स्पेन, ब्राजिल आदि देशमा झैँ लाखौँ मानिसको संहार हुने विश्वले बुझिसकेको छ । ती देशका शासक घृणाका पात्र बने । त्यसको ठिक विपरीत चीनले जनस्वास्थ्यलाई राज्यको गहन जिम्मेवारीभित्र राख्नाले ठूलै दुर्घटनाबाट जोगियो । तसर्थ, यो महामारीले भन्दै छ – स्वास्थ्यको दायित्वबाट राज्य भाग्नु प्राणघातक हुन्छ । त्यसले भयानक दुर्घटना निम्त्याउँछ । मानव समाजको निरन्तरता, मानव जीवनको रक्षा र सुन्दर संसारको निर्माणका लागि स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकताको विषय बनाउनु अनिवार्य छ । राज्यले पूर्णरूपमा दायित्व वहन गर्नुपर्छ । स्वास्थ्य र शिक्षालाई मौलिक हक बनाई निःशुल्क तथा सर्वसुलभ बनाउनुपर्छ । यो महामारीले यति चेत दिएको खण्डमा भोलिको संसार फरकमात्र होइन उज्यालो एवम् सुन्दर हुनेछ । संसारले तत्काल हिँड्नैपर्ने त्यही नै बाटो हो ।
महामारीको बखत प्रदेशतिर भाँडभैलो
महामारीविरुद्ध जनतालाई एकताबद्ध बनाई परिचालित हुनुपर्ने प्रदेश सरकार अर्को राजनीतिक महामारी फैलाउँदै छन् । कर्णाली प्रदेशबाट सुरु भएको भाँडभैलो गण्डकी, लुम्बिनी हुँदै बागमतीसम्म पुगिसकेको छ । वि.सं २०५५–५६ तिरको सांसद खरीद–बिक्री तथा अपहरणलाई बिर्साउने खालका घृणित पुँजीवादी खेल खेल्दै छन् । गण्डकी प्रदेश सरकार जोगाउन गण्डकीमा जनमोर्चाको सांसदलाई ‘अपहरण’ गरियो । ठूलै रकमको खेल चलेको चर्चा छ । सरकार जोगाउनकै निम्ति देशमै कुख्यात डन दिपक मनाङेलाई मन्त्रालय फुटाएर युवा तथा खेलकुदमन्त्री बनाइयो । शासक दलद्वारा राजनीतिलाई अपराधीकरण गरिएको र नैतिकहीन राजनीतिको पराकाष्टा भनी व्यापक विरोध हुँदै छ । लुम्बिनीमा पनि सरकार जोगाउनकै निम्ति राजनीतिक मूल्य–मान्यता लत्याएर गाईजात्रा प्रदर्शन भयो । मुख्यमन्त्री शङ्कर पोखरेलले नाटकीयरूपमा पदबाट राजीनामा दिए र पुनः नियुक्ति लिए । आफ्नै निवासमा शपथ खाए । सांसदहरूमाथि प्रहरी दमन चल्यो । बागमती प्रदेशमा सरकार जोगाउने हेतुले मन्त्रीमण्डल पुनःगठन गरियो । मन्त्रीमण्डल जनजातिविहीन भएको, जातीय अहङ्कार देखाएको भनी शासक दलभित्रैबाट चर्को विरोध भयो । असन्तोष सडकमै पोखियो ।
यसप्रकार शासक दलहरूले सङ्कटको बेला जनताको भावनामाथि खेलबाड गर्दै छन् । जनतालाई निराश पार्दै छन् । स्वास्थ्य क्षेत्रमा खर्चनुपर्ने ठूलो धनराशी सरकार फेरबदल तथा सत्ताको जोड–घटाउमा खर्च गर्दै छन् । जनताको विश्वासमाथि यो ठूलो घात हो । के प्रदेशहरू यस्तै अशोभनीय कार्यका निम्ति बनाइएका हुन् ? के प्रदेश सरकारहरू यसरी नै सधैँ भाँडभैलोका अखडा बनिरहने भए ?
राजनीतिक महामारीविरुद्ध लडाइँ लड्न तयार होऔँ !
यी सम्पूर्ण गतिविधिले पुँजीवादी शासक दलहरूको प्रवृत्ति र प्राथमिकता उदाङ्गो पार्दै छ । जनता ज्यान जोगाउन यताउता भौँतारिरहेका छन् । एक गाँसको आशमा याचना गर्दै छन् । सास फेर्न समेत नसकेर छट्पटाइरहेका छन् । घर, सडक, अस्पतालतिर रुवाबासी चल्दै छ । जनता नेतृत्वविहीन, अभिभावकविहीन महसुस गर्दै छन् । उता शासक दलहरू मोलमोलाइमा व्यस्त छन् । कुर्सीको छिनाझपटीमा छन् । अर्को चुनाव जित्ने दाउमा छन् । लछार्ने–पछार्ने खेलमा छन् । नाङ्गो नाच देखाउँदै छन् । यो नैतिकहीन तथा सिद्धान्तहीन राजनीति, दल र नेताविरुद्ध हिम्मतका साथ उभिने अठोटको विकास नभएसम्म नेपाली जनताले सुखका दिन देख्न नपाउने निश्चित छ । शासकहरूद्वारा फैलाइएको राजनीतिक महामारीविरुद्ध पनि लडाइँ लड्ने सचेत नेपाली जनताले आँट देखाउनुपर्ने बेला आएको छ । यो लडाइँ भने नेपाली जनता स्वयम्ले लड्नुपर्नेछ, आफ्नै खुट्टामा उभिएर । राजनीतिक महामारीमाथि विजय पाएपश्चात् अन्य जुन कुनै महामारीविरुद्ध लड्न समेत तुलनात्मकरूपमा गा¥हो हुने छैन । सचेत जनता तयार होऔँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *