भर्खरै :

एक गैर–कम्युनिस्ट षड्यन्त्रभित्रका एक कम्युनिस्ट

(सन् १९६७ मा एक अमेरिकी विश्वविद्यालयको निम्ति लेखिएको यो अध्ययनपत्र संसारका प्रथम कम्युनिस्ट क्रान्तिकारी मानिने बाबेफको विषयमा लेखिएको सरस र सारपूर्ण रचना हो । बाबेफसम्बन्धी सैद्धान्तिक बुझाइमा लेखकसँग मतभेद हुँदाहुँदै पनि फ्रान्सेली क्रान्ति र एक क्रान्तिकारीका उतारचढावबारे थाहा पाउन पठनयोग्य हुनाले अध्ययनपत्रको अनौपचारिक अनुवाद गरिएको छ । अर्थात्, यसका सन्दर्भ सामग्रीहरू यहाँ उल्लेख गरिने छैन तर थप ऐतिहासिक सन्दर्भसहित टिप्पणीहरूलाई यथास्थान राखिनेछ । अक्टोबर क्रान्तिसँग दाँजेर हेर्दा यहाँ वर्णित फ्रान्सेली क्रान्तिका घटनाक्रमले जीवन्त र मूल्यवान अर्थ राख्नेछन् ।– अनुवादक)

परिचय
१७९६ मे, ४ । डाइरेक्टरीको एउटा सैन्य दल तिसो नामक दर्जीको घरमा पस्यो । घरमा फ्रान्सेली सरकार अपदस्थ गर्न बुनिएको षड्यन्त्रमा भाग लिएका व्यक्तिहरू लुकेका थिए । सैन्य दलले तिनीहरूलाई गिरफ्तार ग¥यो । तीमध्ये एक थिए फिलिप बोनारोट्टी । जन्मले एक खानदानी इटालीवासी भए पनि उनी एक जुझारु क्रान्तिकारी थिए । समानहरूको षड्यन्त्र र ग्राकस बाबेफको शहादतको बारेमा लेख्ने उनी एकमात्र साक्षी थिए । बाबेफको क्रान्तिकारी जीवन र उनको नामसँग जोडिने बाबेफपन्थको सिद्धान्त पुस्तौँपुस्तासम्म क्रान्तिकारीहरूको लागि प्रेरणा र आदर्श बन्यो । तर, एक व्यक्ति र आदर्शको रूपमा बाबेफका दुवै पक्षहरूको मसिनो अध्ययन गर्दा तथ्य र किंवदन्तीबीच केही बेमेलहरू भेटिन्छन् । बोनारोट्टी नै यस बेमेलका स्रोत हुन् ।
अध्याय १ ः समानहरूको षड्यन्त्र
बोनारोट्टी र बाबेफ
बोनारोट्टी फ्लोरेन्स सहरमा बस्ने एक कुलीन परिवारका छोरा थिए । उनले पिसा विश्वविद्यालयमा कानुनको अध्ययन गरेका थिए । टुसकान अदालतको जागिर छोडेर उनी एक विचारप्रधान पत्रिकाको सम्पादक बने । साङ्गठनिक गतिविधिहरूका कारण उनी निर्वासित हुनुप¥यो । तर, फ्रान्सेली सरकारले उनलाई कोर्सिकामा दूतको काम दियो । त्यहाँ उनले माब्ली र मोरेलीजस्ता काल्पनिक समाजवादीहरूका सिद्धान्तहरू लागू गर्ने प्रयास गरे जुन विफल भयो । (सैद्धान्तिकरूपमा बाबेफ पनि १८ औँ शताब्दीका यी कम्युनिस्टहरूबाट प्रभावित थिए ।) बोनारोट्टी फ्रान्सेली क्रान्तिका नायक रोबेस्पियरका दृढ हिमायती थिए । उनले विभिन्न सरकारी पदमा बसेर जनसुरक्षा समितिको सेवा गरे । उनी खोटरहित विश्वको प्रबोधनकालीन दृष्टिकोणले ओतप्रोत थिए । उनी आफूलाई पवित्र भावनाले प्रेरित ठान्थे । (राजनीतिक र सामाजिक यथार्थबाट टाढा बस्नाले बोनारोट्टीमा आफैबारे यस्तो विचार बनेको थियो ।)
बाबेफ एक अवकाश प्राप्त सैनिकका छोरा थिए । उनले आफ्नै बुबाबाट शिक्षा लिएका थिए । १५ वर्षको उमेरमा परिवारलाई सघाउन उनी काम गर्न घरबाट निस्किए । उनले अनेक कुलीन परिवारहरूको सेवा गरे । क्रान्तिको आरम्भसम्म उनी कुलीनहरूका जमिनहरूको जाँचबुझ गरेर उनीहरूलाई दाबी गरेबमोजिम जमिन दिलाउने सफल कर्मचारी थिए । उनी आफूमुनि धेरै कारिन्दाहरूलाई काम गराउन सफल भए । यसले गर्दा उनलाई बौद्धिक गतिविधि गर्ने फुर्सद मिल्यो । फोजेक्ससँगको पत्राचारमा यस्तै गतिविधिको झल्को थियो । (यही पत्राचारबाट बाबेफको बौद्धिकता तिखारिएको देखिन्छ ।) तैपनि भित्री मनमा उनी असन्तुष्ट थिए । क्रान्तिताका उनी परिवर्तनकारी पत्रकार थिए र सानो तहको कर्मचारी थिए । बाबेफ फ्रान्सको पुरानो किसिमका शासन व्यवस्था रुचाउन्नथे । आफ्नै अनुभवले उनलाई त्यहाँ पु¥याएको थियो । उनले आफूलाई धोका दिइएको, कैदी बनाइएको र समाजमा आफ्नो ‘भाग्य’ बनाउने अवसर नदिइएको महसुस गर्थे । (बाबेफको विचारविरोधी लेखकले उनको भग्न महत्वाकाङ्क्षामा जोड दिएका छन् । कसैले त ‘इमानदार व्यक्तिलाई दुःख दिएपछि ऊ दोब्बर महत्वाकांक्षी बन्छ’ भनी लेखेका छन् । कसैले भने समाजबाट मन मरेपछि बाबेफ ‘प्रकृति सुहाउँदो जीवनका लागि समाजका सम्पूर्ण सीमाहरू नाघ्न र भत्काउन’ समाजविरुद्ध हिंस्रक बनेको लेखेका छन् ।) बोनारोट्टीको आदर्शवादी छविभन्दा विपरीत बाबेफले लडाकू र भयङ्कर आक्रामक चरित्र देखाए ।
समानहरूको षड्यन्त्र
(समानताको निम्ति) समानहरूको षड्यन्त्र विभिन्न असन्तुष्ट तत्वहरूको मिलिभगत थियो । डाइरेक्टरी र तेस्रो वर्ष (१७९८) को संविधानको जरो उखेल्नु र १७९३ कै संविधानमा फर्किनु त्यस षड्यन्त्रको उद्देश्य थियो । धेरैजसो षड्यन्त्रकारीहरू थर्मिडोर प्रतिक्रियावादको अवधिमा जेलमा कोचिए । जेलमुक्त भएपछि उनीहरू प्यान्थियाली क्लवमा आबद्ध भए । त्यस क्लवलाई डाइरेक्टरीले बन्द गरेपछि त्यसका केही सदस्यहरूले ‘गुप्त डाइरेक्टरी’ बनाए । त्यसमा संवैधानिक र प्रशासनिक विषय हेर्ने विद्रोही समिति, सेनालाई सघाउने र सहकार्य गर्ने सैन्य समिति थियो । यी समितिबाहेक षड्यन्त्रका सदस्यहरूमध्ये क्रान्तिकारी गुप्तचरहरू पनि थिए । यी गुप्तचरहरूलाई आफूभन्दा ठीक माथिल्ला र तल्ला गुप्तचरको नाममात्र थाहा हुन्थ्यो । प्रचार सामग्री वितरण गर्नु र विद्रोहका निम्ति जनसमूह सङ्गठित गर्नु उनीहरूको जिम्मेवारी थियो । उनीहरू आफूलाई ‘समानहरू’ भन्थे किनभने उनीहरूले पूर्ण समानतासहितको गणतन्त्रको उद्देश्य प्राप्त गर्ने शपथ खाएका हुन्थे । बाबेफ र बोनारोट्टीले पनि यस्तै शपथ खाएका थिए । यो षड्यन्त्र सुरुदेखि नै विफल हुने निश्चित थियो । किनभने, समानहरूका विभिन्न पदमा सरकारी गुप्तचरहरूले घुसपैठ गरेका थिए । मे १७९६ मा षड्यन्त्रकारीहरू समातिए । लगत्तै उनीहरूलाई एक वर्षको लागि मन्दिरमा कैद गरियो । त्यसपछि उनीहरूमाथि विशेष अदालतमा १७९७ को फेब्रुअरी २० देखि मे २७ सम्म मुद्दा चलाइयो । उनीहरूलाई मृत्युदण्ड दिने फैसला सुनाइयो । बाबेफ र गुप्त डाइरेक्टरीका अर्का सदस्य अगस्टिन अलेक्सान्द्र डार्थीले तत्काल आफैलाई छुरा हाने । तर, उनीहरू मरेनन् । अर्कोदिन उनीहरूलाई फाँसीमा झुन्ड्याइयो । बहादुरीपूर्वक मृत्यु स्वीकारेर बाबेफले आफूलाई सहीद बनाए ।
षड्यन्त्र, त्यसका नेताहरू र त्यसको सिद्धान्तबारे थोरैमात्र भरपर्दा अनुसन्धान भएका छन् । सामान्यतया त्यसलाई निष्क्रिय अधिवेशनको रुष्ट गुट र अपरिपक्व कम्युनिस्टहरूको समूह सहभागी भएको सानो षड्यन्त्रको रूपमा हेरिन्छ । षड्यन्त्रमा सहभागीहरूलाई मसिनो गरी केलाउने हो भने परम्परागत व्याख्याले षड्यन्त्रकारी वा बाबेफको यथार्थ चित्र पस्किन नसक्ने पुष्टि हुन्छ ।

अध्याय २ ः कम्युनिस्ट र गैर–कम्युनिस्ट
समानहरू र अधिवेशनपन्थीहरू
बोनारोट्टी र धेरै लेखकहरूले षड्यन्त्रकारीहरूलाई एउटै उद्देश्यमा कटिबद्ध भई काम गर्ने सङ्गठित एकाइको रूपमा प्रस्तुत गरेका छन् । यथार्थ यस्तो थिएन । विभिन्न सहभागीहरूलाई बाँड्ने निश्चित विषय भेटिँदैन । तर, दुइटा समूह बनाउन सकिन्छ ‘समानहरू’ र ‘अधिवेशनवादी समिति’ । दोस्रो समूहमा अधिवेशनका पूर्व सदस्यहरूलाई राख्न सकिन्छ । तिनमा सक्रिय आतङ्ककारीहरू पर्नैपर्छ भन्ने छैन । यस्ता आतङ्ककारीहरूलाई थर्मिडोर प्रतिक्रियावादले सत्ताबाट हटाएको थियो । धेरै अधिवेशनपन्थीहरूलाई नयाँ संविधानसभामा जानबाट रोकेको थियो । उनीहरू समानहरूभन्दा नरम थिए र उनीहरूले आफ्नै विद्रोही समिति बनाएका थिए । उनीहरूले अधिवेशनको पुनः बहालीमा जोड दिन्थे । उनीहरूले त्यसलाई नियन्त्रण गर्ने र षड्यन्त्रका सामाजिक र आर्थिक क्रान्तिका उद्देश्यहरूलाई बिस्तारै अघि बढाउने उद्देश्य राखेका थिए । दुवै समूह आफ्ना प्रयासहरू गाभ्ने विषयमा सहमत थिए तर नीति र नेतृत्वको निम्ति उनीहरूमा निरन्तर छलफल हुन्थ्यो ।
बोनारोट्टीको ‘समानहरू’
षड्यन्त्रका घटनाहरूको सबैभन्दा प्रसिद्ध विवरण फिलिप बोनारोट्टीले लेखेको ‘बाबेफको समानताको निम्ति षड्यन्त्र’ हो । बोनारोट्टीको पुस्तकका नायक म्याक्सिमिलियन रोबेस्पीयर थिए । पुस्तकको मूल कथ्य ९ थर्मिडोरको अन्याय र त्रासदी थियो । उनले क्रान्तिमा सहभागी दलहरू पर्गेल्दै पुस्तक सुरु गरेका थिए । तिनलाई उनले ‘अहम्वादी धार वा कुलीन समाज’ र ‘रुसोले भनेझैँ समानताको धार’ भनी छुट्याएका थिए । समानताको धारमा उनले देशभक्तिपूर्ण गतिविधिहरूलाई राखे जुन रोबेस्पीयरका गतिविधिसँग मेल खान्छन् । उनले संविधानसभाको क्रममा सक्रिय र निष्क्रिय नागरिकहरू, शाही लालमोहरधारी र राजावादीहरूबीच भेद गरेकोमा विरोध गर्ने ‘समानहरू’ को तारिफ गरे । उनले युद्धको घोषणा गरेको विरोधमा भएको सङ्घर्ष, दरबार र उसका मन्त्रीहरू तथा राष्ट्रिय सभामा संलग्न नरमपन्थी जिरोन्डिसहरूबारे सविस्तार लेखे । १७९३ मे ३१ का घटनाहरूलाई ‘घमन्ड र लोभको खोक्रो शक्तिविरुद्ध मानवताका स्वाभाविक अधिकारहरूको षड्यन्त्र’ भनी बयान गरे । उनले १७९३ को संविधानको प्रशंसा गरे र क्रान्तिकारी सरकार (जनसुरक्षा समितिको हुकुम) बनाउनमा भएको ढिलासुस्तीको प्रतिरक्षा गरे । ‘फ्रान्सेली जनता आफ्ना हक अधिकारको खोजी र प्राप्तिमा भएको ठूलो प्रगतिका निम्ति जसप्रति ऋणी छन्’ तिनै प्रतिनिधिहरूको हत्याले गर्दा ९ थर्मिडोरका घटनाहरूबारे बोनारोट्टीले उद्घोष गरे, ‘त्यस घडीपछि सबथोक गुम्यो’ ।
थर्मिडोरहरूको हैकम अवधिमा बोनारोट्टीको भनाइअनुसार, यी समानहरू ‘भूमिगत’ हुन बाध्य भए । तैपनि उनीहरूले सरकारमाथि प्रहार गर्न कहिल्यै छोडेनन् । उनीहरूका गतिविधिहरू प्रायः सरकारी जेलभित्रैबाट चलिरहन्थे । जेलखानामा हुने बैठकहरूबाटै उनीहरूले बिस्तारै सङ्गठनकै स्वरूपसँग मिल्दोजुल्दो संस्था बनाए । बोनारोट्टीले १७८९ देखि १७९६ को बाबेफपन्थी षड्यन्त्रसम्म समानहरूको मानसिकतामा आएको परिवर्तन पहिल्याएनन् वा त्यसमा उनले भेद गरेनन् । यसरी षड्यन्त्रलाई उनले रोबेस्पीयरकै कामको विस्तार भनी दाबी गरे । पेज ५५ सम्म बाबेफको नाम पनि लिइएको छैन र उनको भूमिकालाई सधैँ एकजना समान वा ९ थर्मिडोरका गलत कार्यलाई सच्याउने समूहको रूपमा प्रस्तुत गरिएको छ । बाबेफले कहिल्यै निर्णय लिएका छैनन् बरु विद्रोही समितिले सामूहिक निर्णय लिएको छ । सधैँ ‘जनताका माग राख्ने कार्य विद्रोही समितिले..’ गथ्र्यो । भविष्यको खाका ‘विद्रोही समितिको विचारमा समाज हुनुपर्ने यस्तो…’ भनेर तय गथ्र्यो । तर, ‘बाबेफले निधो गरे’ भन्ने शब्दावली कहीँ देखिन्न । बाबेफको नाम लिँदा समूहको एक सदस्य, साझा उद्देश्यको निम्ति एकजना सहीद भनी लेखिएको छ । उनको महत्व झल्काउनुपर्दा उनको पत्रिकाको प्रभावसँग जोडेर मात्र दर्शाइएको छ ।
बाबेफको साम्यवाद
बाबेफकै लेखरचनाहरूको जाँचबुझ गर्ने हो भने बोनारोट्टीले बयान गरेजस्तो उनले षड्यन्त्रलाई सघाएका थिए भनी मान्ने आधार भेटिन्न । षड्यन्त्रकारीहरूको उद्देश्य र भावनाबारे बोनारोट्टीले जे लेखेका छन् त्यो बाबेफका उद्देश्य र भावनासँग मिल्दैनन् । बाबेफलाई कम्युनिस्ट भनी किटेर भन्न सकिन्छ । १७८९ भन्दा अगाडिदेखि नै उनले कम्युनिस्ट भन्न मिल्ने विचारहरू अङ्गालेका थिए । क्रान्तिअघिको यो साम्यवाद एरास (बौद्धिक) समाजका सचिव दुबोइ दि फोजेक्ससँगको बाबेफको पत्राचारमा झल्किन्छ । (१७८५ मा बाबेफले प्रतिस्पर्धाको निम्ति सो समाजमा निबन्ध पठाएका थिए । म्याद नाघेपछि हात परेको हुँदा निर्णायक मण्डलले त्यसलाई स्वीकार गरेनन् । निबन्ध निकै रोचक थियो । त्यसैले समाजका सचिवले बाबेफलाई पत्र लेखे । उनीहरूबीच (१७८५–१७८८) ३ वर्षसम्म पत्राचार भइरह्यो । यी पत्राचार क्रान्तिपूर्व विचार निर्माणमा बाबेफका निम्ति बहुमूल्य सावित भयो ।) यस अवधिमा पनि १७८७ मार्चको बाबेफका पत्रहरूबाट उनको विचार प्रस्ट हुन्छ । त्यस पत्रमा उनले फोजेक्सलाई पठाएको एउटा पर्चाबारे चर्चा गरिएको थियो । उनले फोजेक्सलाई त्यसअघि नै सो पर्चा छापेर सघाउन अनुरोध गरेका थिए । त्यो पर्चा आफ्नो चिनजानको व्यक्तिले लेखेको भनी लेखेका थिए । तर, त्यो पर्चा उनले नै लेखेको हुनुपर्छ । उक्त पर्चामा विचारको मौलिकता थिएन, तैपनि त्यो क्रान्तिकारी थियो । त्यसले फ्रान्सेली सेनामा हुने कुलीन जातिप्रथाको कडा शब्दमा आलोचना गरेको थियो । जनताको भेला गराएर राजाले त्यसको लागि स्पष्टीकरण दिनुपर्ने र त्यो नै अन्तिम अदालत हुने पर्चाको सार थियो । फोजेक्सले लेखकको तारिफ गर्दै पर्चा फिर्ता पठाए तर प्रकाशन गर्न अस्वीकार गरे किनभने ‘त्यो सरकारमाथिको तीव्र आक्रमणमात्र थियो ।
त्यसपछि फोजेक्सले बाबेफलाई समाजको दोस्रो निबन्ध प्रतियोगिताको निम्ति सम्भावित विषय पठाउन भने । बाबेफले यस्तो प्रतिक्रिया दिए :
“हाल विद्यमान सम्पूर्ण ज्ञानलाई हेर्दा त्यो जनताको राज्य के होला जहाँ सामाजिक संस्थानहरू कस्ता छन् भने त्यसका सदस्यहरूबीच कुनै भेदभाव छैन, एकदम पूर्ण समानता, उनीहरू बसोबास गर्ने जमिन कुनै एकजनाको हुँदैन बरु सबैको हुन्छ, सबथोक साझा हुन्छ, हर किसिमका उद्योगका उत्पादनहरूसमेत ? के त्यस्ता संस्थानहरूलाई प्राकृतिक कानुनले मान्यता देला ? के त्यस्तो समाज बाँच्न सक्ला वा त्यसले समान वितरण लागु गर्न व्यवहारिक माध्यम फेला पार्ला ?”
क्रान्तिभरि बाबेफको अडान सधैँ सरकारको विपक्ष वा बायाँतिर देखिन्छ । आतङ्कको अवधिमा उनको अडानलाई रोबेस्पीयरपन्थीभन्दा पनि हेबर्टपन्थी (रोबेस्पीयरका वामपन्थी विपक्षी) भन्न सकिन्छ । यो कुरा १७९४ मे ७ को उनको पत्रबाट स्पष्ट हुन्छ । त्यस पत्रमा निजी सम्पत्तिको प्रतिरक्षा गरेकोमा रोबेस्पीयरको कडा निन्दा गरिएको छ र रोबेस्पीयरका आज्ञाकारी अनुचर बनेकोमा ज्याकोबिनहरूलाई हप्काइएको छ । अझ परिवर्तनकारी सरकारको आशामा बाबेफले ९ थर्मिडोर (जुलाई २७, १७९४) मा रोबेस्पीयरको सत्तापलटलाई सघाए र एउटा पत्रिका सुरु गरे । त्यसमा उनले रोबेस्पीयरको निन्दा गरे । १७९४ को अन्त्यतिर, उनले एउटा पर्चा प्रकाशित गरे । त्यसमा उनले सजिलै आपूर्तिको बन्दोबस्त मिलाउने मनसायले फ्रान्सेली जनसङ्ख्या घटाउन रोबेस्पीयरले गिलोटिनको प्रयोग गर्न चाहेको लेखे ।
बाबेफको ‘उल्ट्याई’
रोबेस्पीयरको विरोधमा पर्चा छापेपछि थर्मिडोरका साथीहरूसँग उनको सम्बन्ध चुँड्यो । उनीहरूले रुढीवादीहरूसामु हात उठाइसकेका थिए । (थर्मिडोर प्रतिक्रियावादको बिगबिगी चलिरहेको बेला अधिवेशनका केही सदस्यहरूसँग बाबेफको हेलमेल उनको जीवनकै सबैभन्दा अमिल्दो पक्ष हो । धेरै लेखकले उनको इमानदारीमाथि प्रश्न उठाएका छन् । कतिले प्रतिक्रियावादको नेतृत्व गर्नेहरूबाट आर्थिक सहयोग पाउनका लागि बाबेफले सिद्धान्तसँग सम्झौता गरेको निचोड निकालेका छन् । तर सबैभन्दा चित्तबुझ्दो व्याख्या के हुन सक्छ भने उनले थर्मिडोरपछिको शासन व्यवस्था पहिलेको भन्दा बढी बुद्धिसङ्गत हुन्छ भनी अपेक्षा गरेको हुन सक्छ । रोबेस्पीयरविरोधी कारबाही थाल्नेहरूले पनि यस्तै सोचेका थिए । उल्टो भएको र प्रतिक्रियावाद हावी भएको चाल पाएपछि बाबेफले आफूले पहिले सघाएका फ्रोरोँजस्ता नेताहरूको निन्दा गरे । यसकारण उनलाई जेल चलान गरियो ।) बाबेफको जीवनको यो अवधिमा आएर बोनारोट्टीले भनेको समानहरूका गतिविधि र ग्राक्स बाबेफका गतिविधि एकआपसमा मिल्दैनन् । अचानक बाबेफले रोबेस्पीयरको प्रशंसा गर्न थाले र १७९३ को संविधानमा फर्किने जनताको आह्वानमा स्वर मिलाए । यो देखिने परिवर्तनको प्रेरणा नै षड्यन्त्रभित्रको बोनारोट्टीको रोबेस्पीयरपन्थी समूह र बाबेफको हेबर्टपन्थी समूहको सम्बन्ध बुझ्ने सूत्र हो ।
यो परिवर्तनको व्याख्या गर्ने सबैभन्दा स्वीकार्य सिद्धान्तलाई ‘उल्ट्याइएको अवधारणा’ भन्न सकिन्छ । यसका पक्षपोषकहरूले सजिलै बाबेफले आफ्नो अडानमा खोट देखे र रोबेस्पीयरको बारेमा आफू पूर्णतः गलत भएको महसुस गरे भन्छन् । बोनारोट्टीले पनि यस्तै दृष्टिकोण दिएका छन् र यही मोडमा उनका लागि बाबेफ समान (कार्यकर्ता) थिए । समकालीन लेखकहरूले उनको अडानबाट अझ सूक्ष्म विचार दिएका छन् । जेलको बसाई, श्वेत आतङ्क र प्रतिक्रान्तिको उदय र थर्मिडोरपछिको अवधिमा नैतिकताको स्खलनबाट बाबेफ अत्तालिएका थिए भनी एक लेखकले देखाएका छन् । प्यान्थियालीहरूबाट मारातको अस्ति हटाउनु र जिरोन्दीसहरूलाई अधिवेशनमा ल्याउन अन्तिम झट्का थिए । ती लेखकले आफ्नो अडान उल्ट्याउने साहस देखाएकोमा बाबेफको तारिफ गरेका छन् ।
यो बयानले विषयलाई बढी सरलीकृत गर्छ । रोबेस्पीयरको बारेमा विचार बदल्दैमा बाबेफले रोबेस्पीयरका राजनीतिक र सामाजिक सिद्धान्तहरू स्वीकारेको अर्थ लाग्दैन । रोबेस्पीयरको बारेमा उनको निष्कर्ष ‘राक्षसी’ बाट ‘बहकिएका’ बन्न पुगेको थियो । तैपनि हेबर्टजस्ता गणतन्त्रवादीहरूलाई मार्नु ठूलो अपराध भनी निन्दा गर्दै गर्दा उनले थर्मिडोरहरूका अपराधहरू झन् ठुला भएको महसुस गरे । उनले रोबेस्पीयरका कर्तुतहरूबारे विचार फेरेका थिएनन् बरु उनको मनसायबारे विचार फेरेका थिए ः “यी रोबेस्पीयरमा हामीले दुई व्यक्तित्व छुट्याउनुपर्छ । स्वतन्त्रताका दूत रोबेस्पीयर र अत्याचारीहरूमध्ये सबैभन्दा कुख्यात रोबेस्पीयर ।”
अझै व्यवहारिक लक्ष्य हेबर्टपन्थी जोसेफ बोदसनलाई लेखेको बाबेफको पत्रमा उजागर भएको छ । त्यस पत्रमा बाबेफले रोबेस्पीयरपन्थ गणतन्त्रभरि फैलेको भावना हुनाले रोबेस्पीयरसँगको सम्बन्धमा जोड दिनुपर्ने प्रस्ताव गरेका छन् । यसको विपरीत हेबर्टपन्थ पेरिसमा मात्र फैलिएको थियो । बाबेफ प्रचारकर्मी थिए र उनले रोबेस्पीयरको नामसँग जोडिनुको महत्ता महसुस गरेका थिए किनभने रोबेस्पियर जनताको आकाङ्क्षाका सबैभन्दा परिचित प्रतीक थिए । यस्तो परिचयले उनलाई नेताविहीन भएका विपुल पूर्वक्रान्तिकारीहरू र अधिवेशनपन्थीहरूमा रहेको बफादारीको रहलपहलबाट फाइदा उठाउन योग्य बनाउँथ्यो ।
अनुवाद ः राजीव

Leave a Reply

Your email address will not be published. Required fields are marked *