भर्खरै :

समसामयिक विषयमा दाजुको चिठी

काठमाडौँ उपत्यका
२० वैशाख २०७८
प्रिय भाइ–बहिनीहरू,
तिमीहरूका पत्र बरोबर पाउने गरेको छु र देशको परिस्थितिबारे अवगत हुने अवसर पाइरहेकै छु । नेपाली, भारतीय र अन्य विदेशी समाचार पत्रहरू एवम् अन्य प्रचार माध्यमहरूबाट कोभिड–१९ अर्थात् कोरोना भाइरस रोगबाट आक्रान्त रोगी र मृत्यु सङ्ख्या बढ्दै गएको सूचनाहरूले सबैलाई आतङ्कित पार्दै छ ।
सहरहरूमा नगरपालिकाका प्रचारयन्त्रहरूद्वारा आ–आफ्ना नगरहरूका सङ्क्रमित सङ्ख्या र मृतक सङ्ख्याको जानकारी दिनुका साथै अति आवश्यक काम नभई घरबाहिर नजान सरकारी सूचना पनि प्रवाह हुँदै छ । बाहिर जानुपर्दा पनि नाक र मुख छोप्ने गरी मास्क लगाउने, साबुनपानीले बरोबर मिचिमिचि हात धुने र बाहिर निस्कँदा र घर आउँदा हातमा स्यानिटाइजर लगाउनुपर्ने बारे सतर्क पार्दै छन् । भीड–भाड नगर्नू, सामाजिक दूरी कायम गर्नू, भजन, गुठी, भोजभतेरमा नजानू र ठूल्ठूला बैठक नगर्नू, मन्दिरमा नजानू र मन्दिरको भजनमा भाग नलिनू भन्ने सूचना हुँदाहुँदै ‘रथ’ तान्ने र ‘रथ’ बोक्ने आदि जात्राहरूले पनि कोरोना सङ्क्रमणमा सहयोग पु¥याएको ठहर सम्बन्धित विभाग र संस्थाहरूको छ । संस्कृति जोगाउने नाममा महन्त र अन्य गुठी जग्गाबाट फाइदा उठाउनेहरूको ‘स्वयम्स्फूर्त’ भन्दै भीड जम्मा गर्ने र जात्राको नाममा रोग फैलाउने काम उचित थिएन । केही प्रशासकहरू ठाउँ र परिस्थिति नबुझी तत्काल कोरोनाजस्ता महामारीलाई ध्यान नदिई ‘जात्रा चलाउनू’ भन्ने सरकारी आदेशको नाममा जात्रासँग सम्बन्धित पक्षलाई उत्साहित गर्नु गलत भन्ने कुरा परिणामले साबित गरेकोमा सबैको ध्यान जानैपर्छ ।
हुन त नेपाल–भारत खुला सीमा तत्कालै बन्द गर्न, आफ्नो देश फर्कने नेपालीलाई पहिले स्वास्थ्य परीक्षण गराउन, कोरोना सङ्क्रमित भए तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पठाउन र अरूलाई १५ दिनसम्म एक्ला–एक्लै राख्न वा क्वारेन्टिनमा राख्न तत्काल युद्धस्तरमा बन्दोवस्त गर्न असल नागरिक, जिम्मेवार संस्था र नेपाल मजदुर किसान पार्टीजस्ता राजनैतिक दलहरूले सरकार र शासक दलहरूलाई आह्वान गरेका थिए र सरकारले बोलाएका बैठकहरूमा तिनले त्यस्तै सुझाव दिएका थिए ।
आ–आफ्ना दलका युवा र विद्यार्थी सङ्गठन एवम् स्वास्थ्य कार्यकर्ताहरूलाई नेपाल–भारत सीमाका सबै नाकाहरूमा स्वास्थ्य परीक्षण केन्द्र, क्वारेन्टिन र अस्पताल वा नयाँ स्वास्थ्य केन्द्र तथा उपचार केन्द्रहरूको निर्माण र सेवामा सहयोग गर्न मित्र राष्ट्र चीन एवम् अन्य मित्र देशहरूले प्रदान गरेका स्वास्थ्य सुरक्षाका उपकरणहरू वितरण गरी स्वय्मसेवकहरू परिचालन गर्नुपर्ने धेरैले जोड दिएकोमा नेकपाका नेताहरू प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल आदिले प्रधानमन्त्री ओलीको राजीनामा मागी आफूहरू प्रधानमन्त्री बन्नेमा लगातार तीन महिनासम्म गरेको भित्री पार्टी झगडा, सडकमा धर्ना र अदालतको ढोका घच्घच्याएर सरकारलाई काम गर्न नदिएपछि नेपाल–भारत सीमा र जिल्ला–जिल्लामा कोरोना नियन्त्रणको बन्दोवस्त गर्न नसकेको नेकपा अध्यक्ष तथा प्रम ओलीको भनाइ छ ।
भारतमा पनि भारतीय जनता पार्टीका प्रधानमन्त्री मोदीले प्रान्तीय निर्वाचन र अन्य उप–निर्वाचनहरूमा बढी समय दिई ठूल्ठूला जनसभा, प्रदर्शन र धार्मिक गतिविधि गरिरहँदा थप कोरोना फैलिएर सङ्क्रमित सङ्ख्या बढिरहेको देशहरूमध्ये भारतमा ३७ प्रतिशत सङ्क्रमित सङख्या अर्थात् सबभन्दा बढी हुँदै गयो । नत्र पूर्व राष्ट्रपति ट्रम्पको संरा अमेरिका पहिलो र विश्वयुद्धका एक फासीवादी अपराधीका छोरा राष्ट्रपति बोल्सोनारोको ब्राजिल दोस्रो स्थानको कोरोना सङ्क्रमित देश थियो । भारतमा नयाँ किसिमको भाइरस फैलिनासाथ नेपाल–भारत सीमा बन्द गरी समयमै माथि उल्लिखित बन्दोवस्त भएको खण्डमा देशको दुर्गम, पहाड, पर्वत, गाउँ र सहरमा सङ्क्रमण यसरी विकरालरूपले फैलिने थिएन । यसकारण, भाइ–बहिनीहरूले आ–आफ्नो वर्गीय सङ्गठन, अन्य सङ्घ–संस्था र राजनैतिक दलहरूमा सैद्धान्तिक एवम् राजनैतिक सङ्घर्ष कहिले गर्ने हो भन्नेबारे पनि सचेत हुनु आवश्यक छ ।
नेपालका आजका शासक दलहरू देशमा आमूल परिवर्तन गरी देश र जनताको सेवा गर्न राजनीतिमा प्रवेश नगरी प्रधानमन्त्री वा अन्य माथिल्ला पदमा बसी नियमित वा अनियमित ढङ्गले पैसा कुम्ल्याउने, आफ्ना छोरा–छोरी र नातागोतालाई माथिल्ला पदहरूमा राख्ने, आफ्नै ठेकेदाहरूलाई ठूल्ठूला अरबौँ रकमको योजना ठेक्कामा दिने, समयमा काम नसिध्याए पनि ऐन–कानुन नै बदलेर ठेकेदारलाई जोगाउने, हरेक वर्ष बढ्दै जाने मूल्यवृद्धिअनुसारको रकम दिई देश र जनताको करबाट उठेको रकमलाई अपराधी ठेकेदारहरूको थैलीमा पु¥याउने काम गरे ।
भाइ–बहिनीहरू,
राजनीति गर्नुको अर्थ देश र जनताको निःस्वार्थरूपले सेवा गर्नु हो, देशलाई प्रगति पथमा अगाडि बढाउन, देशको प्राकृतिक स्रोत र साधनलाई सुरक्षित गर्न, जनताको शान्ति–सुरक्षाको बन्दोवस्त गर्न, शिक्षा र स्वास्थ्य सेवालाई निःशुल्क गर्न, व्यक्तित्व विकासमा हरेक व्यक्तिलाई समान अवसर दिन र दिन लगाउन, नेपालको सन्तुलित विकास गर्न हरेक प्रदेश, जिल्ला, नगर र गाउँमा सकेसम्म बजेटले भ्याएसम्म राजधानीमा प्राप्त शिक्षा, स्वास्थ्य, रोजगारी र विकास निर्माणमा प्राथमिकता दिन लगाउन र विकेन्द्रीकरणको सिद्धान्तलाई लागु गर्नु हो ।
तर, वर्तमान पुँजीवादी शासक दल र नेताहरूले प्रदेश र जिल्लाहरूलाई उपयुक्त दुत्ततर विकास नगरी बजेटको ठूलो भाग काठमाडौँ उपत्यकामै खन्याउने उद्देश्यले ठेकेदारहरूका प्राविधिकहरूको सल्लाहमा फास्ट ट्र्याक र हरेक नगरको चारैतिर स्मार्ट सिटी बनाउने, हरेक गाउँ र वडामा रङ्गशाला बनाउने जस्ता अल्लारे ‘डोजर आतङ्क’ मच्चाउने, गिटी–बालुवाको व्यापारको नाममा पहाड–पर्वत र खोलानाला तथा नदीको बालुवा झिकी थप बाढी र पहिरो निम्त्याउने जस्ता अपराधहरू गर्दै छन् ।
यस अपराधमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले समयमै खबरदारीको भूमिका नखेलेकै कारण देशमा अन्योल बढ्यो भन्ने व्यापक चर्चा चल्यो । नेकाभित्रै पनि शेरबहादुर देउवाको विरोधमा रामचन्द्र पौडेलको ‘विद्रोह’ का कारण पनि त्यस दलले राम्रो भूमिका खेल्न पाएन भनिन्छ । केटाकेटीले के–के न पाएजस्तै चीनमा कोभिड–१९ को हल्ला हुनासाथै अमेरिका र भारतेली प्रतिक्रियावादीहरूको ‘हो’ मा ‘हो’ मिलाई चीनमा पढ्दै गरेका विद्यार्थीलाई नेपाल फर्काउनुप¥यो भनी बालुवाटारमा गई नेकाले धर्ना र जुलुस ग¥यो । विद्यार्थीका अभिभावकहरूलाई थाहा नभएको भनी कसरी भन्ने ? सबै सम्पन्न र पढेलेखेकै थिए, राजनैतिकरूपले बुझ्न नसकेको भनौँ भने जुलुसमा फोहरा खाने युवाहरू सबै शिक्षितै थिए । तर, भयो के त भन्ने जिज्ञासा भाइ–बहिनीहरूलाई होला, होइन ?
‘के निहुँ पाऊँ र कनिका बुकाऊँ’ भन्ने उखानअनुसार चीनको विरोध गर्ने मौका खोज्दै थिए– नेपाली काङ्ग्रेसका दक्षिणपन्थी नेताहरू । ट्रम्पको शासनमा संरा अमेरिका भने चीनको विरोधमा व्यापारयुद्धपछि कोभिड–१९ फैलाएको झूटो आरोप लगाएर चीनलाई संसारको सामुन्ने बदनाम गर्ने उद्देश्यले निन्दा गर्र्दै थियो, भारतीय विस्तारवादले चीनको तिब्बतको एक भाग ‘गलवान’ लाई भारतीय इलाका भनी ठूलो युद्धको गतिविधि गर्दै थियो । त्यस्तै, नेपालको प्रशासनमा घुसेका देशविरोधी केही कर्मचारीहरूले आफ्नो सीमा र कर्तव्य बिर्सेर चीनले नेपाली सीमा मिच्यो भनेर होहल्ला गरी चीनलाई बदनाम गर्ने असफल षड्यन्त्र गर्दै थिए ।
ती चालहरू असफल भएपछि नेकपाभित्र अर्को किचलो चक्र्यो र देशलाई अकर्मण्य बनाउँदै थिए– कम्युनिस्टको नाममा प्रचण्ड, माधव र झलनाथ खनालजस्ता नेताहरू ¤ होला – अन्य देशका सबै जसो पुँजीवादी राजनैतिक दलहरूका नेताहरूले जस्तै नेतृत्वमा गई सरकार हत्याउन आन्तरिक झगडा गर्छन्– त्यसमा आश्चर्य छैन । तर, अस्तिको अन्तर–कलह र विवादमा वैचारिक झगडाभन्दा गाली बेइज्जतीका शब्दहरू बढी सुनिएको थियो । साथै, पार्टीभित्रै गर्नुपर्ने छलफल र विवाद, बाहिर झन् चर्को र फोहर ढङ्गले व्यापक हुँदा अन्य प्रतिस्पर्धी दलहरू र कतिपयले नाक खुम्च्याई ‘कम्युनिस्ट’ भन्दै गिज्याउन र जिस्क्याउन लागेको जनताले बुझे । तर, प्रचण्ड, माधव नेपाल र झलनाथ खनालजस्ता नेताहरू मच्चीमच्ची गाली बर्साउँदै थिए ! नेतृत्वलाई कानुनी ढङ्गले फाल्न नसकेपछि आफ्नै पार्टी र ‘कम्युनिस्ट’ नामलाई बदनाम गर्न सकिन्छ भन्ने बाटोमा उनीहरू लागेको जनताले बुझे । आखिर अदालतले नेकपालाई कुस्तीको निम्ति ‘एमाओवादी’ र ‘एमाले’ भन्ने अर्को गाली–बेइज्जतीको अखडा तयार गरिदियो । सबैले अदालतलाई धन्यवाद दिए, केहीले अदालतको निर्णयमा आश्चर्य प्रकट गरे !
                                                                                तिमीहरूको हित चाहने एक दाजु

Leave a Reply

Your email address will not be published. Required fields are marked *