भर्खरै :

मजदुर आन्दोलन अगाडि बढ्दै छ !

अन्तर्राष्ट्रिय श्रमिक दिवसले सदा आन्दोलनको रूप लिँदै आएकोबारे श्रमिक वर्ग अवगत छन् । संरा अमेरिकाको शिकागोको मजदुर आन्दोलनमाथिको दमनको विरोध पुँजीवादी व्यवस्थाकै विरोध थियो र त्यो विश्वव्यापी आन्दोलनकै सिलसिला थियो । रुसी अक्टोबर समाजवादी क्रान्ति, चीन, प्रजग कोरिया, क्युवा, भियतनाम र अन्य पूर्वी युरोपेली देशहरू र लावस, कम्बोडिया एवम् इन्डोनेसियाका समाजवादी सङ्घर्ष र मजदुर आन्दोलन सारमा विश्व समाजवादी आन्दोलनकै शृङ्खला हो ।
मजदुर आन्दोलनको उद्देश्य नै पुँजीवादी व्यवस्थाको शोषणबाट मुक्त भई सारा कामदार वर्गको शासन व्यवस्था स्थापना गर्नु हो । जुन व्यवस्थामा देशका हरेक प्राकृतिक स्रोत र साधनमा व्यक्तिको स्वामित्व होइन – सारा जनताको स्वामित्व हुनेछ, उद्योगधन्दा, बस सेवादेखि हवाई सेवासम्म व्यक्तिको होइन सबै कामदार वर्गको अर्थात् समाजकै हुनेछ ।
यसपालि मे १ को श्रमिक दिवस युरोपली कामदार वर्गले सम्झेको मात्र छैन । त्यो वर्ग धेरै उत्साहपूर्वक पुँजीवादी व्यवस्था र सरकारसँग भिड्न पनि तयार छ भन्ने सङ्केतको दर्शन हुन्छ । स्पेन, फ्रान्स, टर्की, जर्मनी, बेलायत आदि युरोपेली राजधानी र अन्य सहरहरूका मजदुरहरू पुँजीवादी व्यवस्था र पुँजीपति वर्गको शोषणको विरोधमा सङ्घर्ष गर्दै छन् ।
दुई वर्षदेखि पुँजीवादी देशका मजदुरहरूले कोभिड –१९ को उपचार पाइरहेका छैनन्, लकडाउन वा सारा कलकारखाना, पसल, बजार, बस र अन्य यातायातका साधन समेत बन्द हुँदा काम र ज्यालाविना कामदार वर्ग आर्थिकरूपले दुःख र पीडामा छन् । कोरोनाका कारण पीडित सबै मजदुरलाई आ–आफ्नो कारखानाबाट आर्थिक सहयोग गरिरहनुपर्ने मानवीय भावना नदेखाएको हुँदा अमेरिकाका विभिन्न सहरमा गएको साल पनि अनेक असन्तोषहरू छताछुल्ल भए ।
फासीवादी राष्ट्रपति ट्रम्पले जर्ज फ्लोयडको हत्याविरुद्धको सङ्घर्षमा भाग लिने प्रदर्शनकारीहरूलाई ‘कम्युनिस्ट’, ‘आतङ्कवादी’, ‘विद्रोही’, ‘अराजकतावादी’, ‘उपद्रवी’ आदि भनी निन्दा गरेका थिए । वास्तवमा त्यो घटना अन्याय र भेदभावको विरोधमा सल्केको आगो थियो । न्याय र समानता चाहने, अत्याचार र शोषणको विरोधमा सङ्घर्ष गर्ने अमेरिकामा कामदार जनताले ‘गोरा बडा राष्ट्रवाद’ को विरोधमा एक हुन पाए । त्यसले देखाउँथ्यो – अमेरिका शोषणबाट थिलथिलो भएको यस्तो घाँसे मैदान हो जहाँ एक झिल्को आगोले सारा घाँसे मैदानमा आगो लाग्नेछ ।
जर्ज फ्लोयडको घटनाको बेला संरा अमेरिकाको ५० राज्यका गाउँ र सहरहरूका प्रहरीसँग सङ्घर्ष भएको थियो । साथै, युरोपका सारा देशका मुख्य – मुख्य सहरहरूमा समेत ट्रम्पको फासीवादी र जातीय भेदभावको विरोधमा प्रदर्शनहरू भए । त्यस्तै अफ्रिका, ल्याटिन अमेरिका र एसियादेखि अस्ट्रेलियामा समेत विरोधका स्वरहरू सुनिए ।
ती सबै विरोधका स्वरहरूमा १ मेको आन्दोलनको भावना लुकेको थियो । १ मेको दिवस संसारमा शोषण र शोषक वर्ग भएसम्म विरोधको झन्डाको रूपमा फहरिरहनेछ, समाजवादको विजयपछि हरेक समाजवादी देशका मजदुर वर्ग र सरकारले मजदुर सङ्घर्षको इतिहासको एक पाठको रूपमा सम्झनेछन् र संसारका मजदुरहरूको आन्दोलनलाई ऐक्यबद्धताको रूपमा अङ्गाल्नेछन् । किन ?
पुँजीपति वर्गले मजदुर आन्दोलनमाथि दमन गर्दा समाजवादी आन्दोलन सम्झीसम्झी दबाउने गरेको हुन्छ । तिनीहरू एउटा सानो कारखानाको हडताललाई पनि एउटा ‘गृहयद्ध’ सम्झन्छन् र हरेक अन्तर्राष्ट्रिय श्रमिक गतिविधि र आन्दोलनलाई शोषकहरू विश्वयुद्धको रूपमा हेर्छन् । तर, सत्य के हो भने, संसारको हरेक देशमा समाजवादी व्यवस्था अनिवार्य छ र त्यसबेला शोषकहरूको निम्ति शरण माग्ने कुनै देश हुने छैन । त्यो समय धेरै टाढा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *