भर्खरै :

हाँसो विभिन्न रोगको औषधि

आज विश्व मुस्कान दिवस । जीवन परिर्वतनशील छ । कहिले उकाली त कहिले ओराली भइरहन्छ । समय परिस्थितिअनुसार मानवीय स्वभाव फरकफरक हुने गर्दछ । हाँसो र आँसु जीवनका महत्वपूर्ण पक्षहरू हुन् । खुसी मानिसको चाहना हुन्छ । तर, त्यो खुसी र हाँसो मानिसले पैसाले किन्न सक्दैन । त्यही कारणले त मानिस अरबपति भए तापनि रोगका कारण वा व्यापार, व्यवहारका कुराहरूले गर्दा परिवारलाई समय दिन नसक्दा उसको जीवनमा हाँसो वा खुसी छाउन सकेको हुँदैन । तर, कतिपय मानिसहरूको बिहान र बेलुकाको छाक टार्न निकै कठिन भए तापनि परिवारमा हाँसो र खुसी छाएको हुन्छ । उनीहरूको जीवन आर्थिकरूपमा विपन्न भए पनि खुसी र हाँसोमा सम्पन्न रहेका हुन्छन् ।
विश्व हाँसो वा मुस्कान दिवसको चर्चा गर्दा Harvey Ball को विशेष योगदान रहेको छ । उनी एक Graphic artist (Business Craftsman) थिए । सन् १९६३ मा उनले पहिलो पटक smily face बनाएका थिए । Harvey ले हाँसो वा मुस्कानको बारेमा विशेष चाख लिएका थिए । पछि सन् १९९९ मा पहिलो पटक विश्व मुस्कान दिवस मनाइएको थियो । त्यसपछि सन् २००१ मा Harvey Ball World Smile Foundation को स्थापना गरियो ।
यसै दिन विश्वका धेरै देशमा यो दिवस विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । यो दिवसको मुख्य उद्देश्य विश्वभर मुस्कान फैलाउनु, माया, सदभाव र उदारताको सञ्चार गर्नु रहेको छ । Phyllis Diiller का अनुसार, “A smile is a curve that sets every things stratights.” यसरी मुस्कुराउनाले हरेक समस्या समाधान गर्न सकिन्छ । तर, मानिसहरू जति बढी आधुनिक बन्दै छन् त्यति नै धेरै मानसिक समस्याको शिकार बन्ने गरेका छन् । यसले गर्दा मानिसलाई लाग्छ कि मुस्कुराउँदा पनि त्यसको मूल्य चुकाउनुपर्छ ।
मानव विकासको प्रारम्भिक चरणलाई खोत्लने हो भने त्यतिबेलाको जीवनशैली सामान्य थियो । मानिसहरू घुमन्तेफिरन्ते जीवन बिताउँथे । प्रकृतिमा रहेका कन्दमुल, फलफुल खान्थे । पुरुषहरू शिकार गर्ने, महिलाहरू कन्दमुल जम्मा गर्ने र शिकार गरेर ल्याएको कुरा सबैलाई बाँडेर खान दिने गर्दथे । त्यो समाजमा तेरो मेरो भन्ने थिएन । त्यस समाजमा सामाजिक विभेदहरू थिएन । तर, जब मानिसहरू आधुनिकतातर्फ अगाडि बढे त्यसपछि समाजमा विभिन्न सामाजिक समस्या देखापर्न थाल्यो । महिला र पुरुषबिचको भेदभाव पनि बढ्दै गयो ।
पहिलेका मानिसहरूलाई खुसी हुनको लागि ठुला–ठुला कुरा आवश्यक पर्दैनथ्यो । आफ्ना सामान्य आवश्यकता पूरा भए पुग्थ्यो । तर, आजका मानिसको कुरा गर्ने हो भने हामी प्रायः आफूभन्दा माथिल्लो आर्थिक स्तरका मानिसहरूसँग आफूलाई दाज्ने गर्दछौँ । यो पूरा हुन नसक्दा मानिसमा मानसिक समस्याहरू देखा पर्न थाल्छन् । मानिस चाहेर पनि मुस्काउन सक्दैन । सादा जीवनशैलीले मानिसमा शान्तिको लहर छाउने गर्दछ । त्यसैले मानिसहरू शान्तिको लागि र स्वस्थ हुन योग र ध्यान गर्ने गर्दछन् ।
आधुनिकताको लहरसँगै पछिल्लो समयमा मानिसहरू बढी मात्रामा प्राकृतिक स्थलहरूमा घुम्ने गरेको पाइएको छ । चाहे त्यो परिवारसँग सामान्य भेटघाट होस् वा बिहान बेलुकीको हिँडाइ । प्राकृतिक सौन्दर्यले मानिसमा भएका सारा तनावहरूलाई कम गर्न सहयोग गरिरहेको हुन्छ । त्यसैले त आजकल मानिसहरू प्रकृतितिर नजिक हुँदै छन् ।
हाँस्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ । हाँस्दा मानिसको मानसिक समस्या कम हुन्छ । शरीरका अङ्गहरूले पनि स्फुर्ति, जोश, जाँगर महसुस गर्दछ । मानिस रुदा शरीरका अङ्गहरूमा पनि नकारात्मक असर पर्न जाने कुरा विभिन्न अध्ययनले देखाएको छ । बढी तनावमा रहने र धेरै रुने मानिसमा विभिन्न किसिमका मानसिक तथा तौल घटने समस्या देखिन्छ । त्यस्ता मानिसहरू अरू सामुन्ने आफ्ना कुरा राख्न र भन्न डराउने, अरूको अगाडि आफूलाई प्रस्तुत गर्न अप्ठ्यारो मान्ने तथा लजाउने स्वभावका हुन्छन् । यसले गर्दा उसको व्यक्तित्व विकासमा विभिन्न बाधा अवरोध आउने गर्दछ ।
हँसिलो मानिसले आफ्ना वरपरका मानिसहरूलाई पनि खुसी राख्ने गर्छन् । खुलेर हाँस्ने मानिसको मुहारमा बेग्लै किसिमको चमक हुने गर्दछ । कठिन समयमा पनि यस्ता स्वभाव भएकाहरू सहजै सफल हुने गर्दछन् ।
हाँसो वा मुस्कानका विभिन्न फाइदाहरू छन् । मुस्कुराउनाले हाम्रो शरीरमा रक्तसञ्चार सहजरूपमा हुने गर्दछ । रक्तप्रणालीहरूमा तीव्ररूपमा सुधार हुने गर्दछ । सधँै मुस्कुराउने मानिसहरू विभिन्न मुटुसम्बन्धी रोगका साथै रक्तनलीसम्बन्धी रोगहरूबाट बच्न सक्छन् । मुस्कुराउनाले मानिसलाई मानसिक समस्याबाट टाढै राख्दछ । यसको सकारात्मक प्रभाव मानिसको दैनिक जीवनलाई सहज बनाउन मद्दत गर्दछ । हामीले नमुस्कुराई दिन बिताएमा हाम्रो त्यो दिन खेर गएको मानिन्छ । आजकल त मुस्कुराउनु वा हाँस्नु पनि योगाको रूपमा मानिन्छ । विश्वका १०५ भन्दा बढी देशहरूमा हजारौँ Laughter Clubs हरू खुलेका छन् । यस्ता क्लवमा दिनानुदिन मानिसहरूको सङ्ख्या बढदै गइरहेको छ ।
मानिसले मुस्कुराउन छोड्नु हुँदैन । मुस्कुराउने मानिस मानसिक र शारीरिकरूपमा स्वस्थ हुने हुनाले उसले परिवार, समाज र देशकै लागि विभिन्न सकारात्मक कार्य गर्न सक्छ । मानव मन सारै चञ्चल हुने गर्दछ । फेसबुकमा साथीहरूको स्टाटस देखेर इस्माइलको लोगो लगाउँदा नै मन फुरुङ्ग हुने गर्दछ । हँसिलो मानिस देखे त दुःखी मानिसको मन पनि केही समयको लागि खुसी हुन्छ । मुस्कुराउनु हाम्रो स्वास्थ्यको लागि उत्तम मानिन्छ । मुस्कुराउँदा मानसिक तनाव कम हुने हुनाले विभिन्न रोगहरूबाट बच्न सकिन्छ ।
हाल विश्वमा कोरोनाको कहर छ । कोरोना लाग्दैमा कसैको ज्यान जाँदैन । सुरक्षित भएर आफ्नो हेरविचार गरे यो महामारीबाट बच्न सकिन्छ । यो महामारीमा सामाजिक दूरी कायम गर्नुपर्दछ । कोरोनाको लक्षण देखिएका प्रति सकारात्मक सोच राख्नुपर्दछ । उनीहरूको हौसला बढाउनु पर्दछ । उनीहरूसँग भावनात्मकरूपमा नजिक हुनुपर्दछ । यो समयमा विभिन्न सञ्चारमाध्यमले कोरोनाबाट बच्ने उपायहरू बताइरहँदा सरसल्लाह र मुस्कानसहित कोरोनाका बिरामी र स्वास्थ्यकर्मीहरूको मद्दत गर्नुपर्ने कुराहरू आइरहेको छ । हामी कुरीति र कुसंस्कारको पछि लाग्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *