भर्खरै :

समान स्तरका दम्पत्ति

प्रिय भाइ–बहिनीहरू,
आजको पत्रमा म तिमीहरूलाई केटा र केटी समान स्तरका नहुँदा जीवनमा अनेक अप्ठेरा भोगेका व्यक्तिहरूबारे र स्तर मिलेका दम्पत्तिहरूबारे पनि बताउनेछु । २००७ सालपछिका सुरु–सुरुका वर्षमा समान जात र आर्थिक स्तर मिल्नेहरूको परिवारमा विवाह हुने सिलसिला चालु रह्यो । त्यसको दुई पुस्ता अर्थात् ५०–६० वर्षअगाडि सम्म अलि माथिल्ला जाति र खातापिता परिवारहरूमा पत्नी, औपचारिक र ल्याइतेजस्ता दुई–तीनजनासम्म पत्नीहरू हुन्थे । अभिभावकहरूले मिलाइदिएका पत्नी हुँदाहुँदै केटाले मनपर्ने श्रीमती ल्याउँथ्यो । सहर नजिकका गाउँघरका छोरीबुहारीहरू घाँस काट्न जाँदा वा अन्य उत्सव र जात्रामा दोहोरी गीत गाएर पनि बिहा गर्ने चलन थियो । उपत्यकाका सहरका नेवार युवाहरूको आफ्नै ढङ्गको प्रेम विवाह हुन्थ्यो ।
कन्या स्कूलहरू नहुने हुँदा केटीहरू निरक्षर हुन्थे । त्यसकारण पत्र लेख्ने चलन थिएन । तथापि प्रेम अभिव्यक्त गर्न आफ्नै भाषा वा शैलीको प्रयोग हुन्थ्यो । केटाले मनपर्ने केटीको हातमा वा कोठामा जीरा (नेवारी भाषामा जि) मरिच (मले), सुकुमेल, अलैँची (याला) आदि नेपाली कागजमा बेरिएको सानो पुरिया पु¥याउँथ्यो । केटीले त्यो पुरियाबाट एउटा वस्तु लिनुको अर्थ त्यसैलाई उत्तरको रूपमा लिइन्थ्यो । जीरा झिक्नुको अर्थ ‘हुन्छ हेरौँला’ भन्ने अर्थमा, मरिज झिक्नुको अर्थ ‘मय्’ अथवा ‘नाइँ’ या ‘अस्वीकार’ गर्नु, सुकुमेल लिनुको अर्थ ‘हेरौँला’ र अलैँची लिनुको अर्थ ‘यो’ (हुन्छ) भन्ने अर्थमा लिइन्थ्यो । सामन्ती र पुरानो समाजमा पत्नीको अर्थ घरको काम गराउने मान्छेकै रूपमा बढी लिइन्थ्यो, सम्पत्ति सबै आमाबाबुकै वा हजुरबुबाहरूकै र सगोल परिवारको हुँदा केटाहरू छुटेर एकल परिवार बसाल्ने सपना हजारको एक जनाको पनि सुनिँदैनथ्यो ।
पञ्चायती व्यवस्थामा भूमिसुधार कार्यान्वयन गर्दा भूमिपतिहरूले हदबन्दीबाट आफ्नो जग्गा जोगाउन छोरा–छोरी, नाति–नातिनासम्मको नाममा जग्गा दर्ता गराउँदा परिवार छुटिने र एकल परिवारको निम्ति सजिलो बाटो खुल्यो । शिक्षा प्रचारले छोरीहरूले पनि पढ्ने अवसर पाएपछि २० वर्षभित्र विवाह गर्नुभन्दा पहिले छोरा–छोरीको पनि राय लिने चलन सुरु भयो । क्रमशः केटाकेटी दुवै पक्ष पढे–लेखेका भए ।
स्कूल, कलेज, सरकारी कार्यालयहरू, बाटोघाटो निर्माण, बैङ्क, व्यापार र देश–विदेशबाट प्राप्त छात्रवृत्ति र प्राविधिक तालिम र भत्तासहितका तालिमले नयाँ पुस्ता आफ्नै खुट्टामा उभिन सक्ने परिस्थितिले समाजका पुराना विवाह प्रथाको ठाउँमा प्रेम विवाह र भागी विवाहले द्रुतत्तर गति लियो ।
विदेशमै विवाह गर्ने र विवाह गरेर विदेश जाने बाटो म्यानपावर कम्पनीहरूले खोले । विदेशबाट लोग्नेले पठाएको रकम लिएर जारसँग भाग्दा धेरै युवाहरूको विश्वासमा घात भएको चर्चा सुुन्नमा आउँछ । छोराछोरी भएका महिलाले लोग्नेको सल्लाहमा विदेशका एकल पुरुष वा ज्येष्ठ नागरिकसँग विवाह गरी उसको सम्पत्ति कुम्ल्याउने उद्देश्यले विदेश लाग्नेहरू पनि धेरै देखिए । काठमाडौँ उपत्यकामै जिल्ला–जिल्लाबाट आएका केटा र केटीहरू ‘लिभिङ टुगेडर’ र लोग्ने–स्वास्नी भन्दै बस्ने र पछि बच्चा भएमा केटो भाग्ने र विवाह दर्ताको निम्ति कार्यालयहरू धाउने युवा–युवतीहरू पनि कम छैनन् भनी बताउँछन् ।
यसबारे अचम्म मान्नै पर्दैन, किनभने उत्पादनका साधनहरूमा परिवर्तन आएपछि बिस्तारै उत्पादन सम्बन्धमा हेरफेर ल्याउँछ र त्यसले पुराना सबै मूल्यमान्यता र नैतिकताको ठाउँ नयाँ मूल्यमान्यता र नैतिकताले लिन थाल्छ । शिक्षा क्षेत्रमा शिक्षा दान गर्नुपर्ने र पैसा लिए सरस्वतीको श्राप लाग्ने तथा स्वास्थ्य क्षेत्रमा परोपकार र पैसा लिए उपचार नलाग्नेजस्ता नैतिकताको ठाउँ अहिले सकेसम्म बढी पैसा लिने वा ठग्ने महँगा विद्यालय, विश्वविद्यालय र खसी बजारको मोलमोलाइ गर्ने मेडिकल कलेजको आकाश छुने शुल्कले लिएको छ । शिक्षा र स्वास्थ्यमा सेवाको भावनाले नभई माथिल्ला तहका विभिन्न क्षेत्रका सबै अधिकारी नाफा र पैसामा बिकेको बताइन्छ । सम्भवतः युरोपमा तीन सय वर्षअघि नै यो दुष्ट व्यापार देखेर माक्र्स र एङ्गेल्सले १८४८ मै कम्युनिस्ट घोषणापत्रमा पुराना सबै मूल्यमान्यता र नैतिकता पैसामा बिक्ने कुरा उल्लेख गरेका हुन् । भारतमा पनि आफ्नै भान्जीको विवाहमा एकजना विद्यावारिधि गरेका नाम चलेका र सयौँ विद्यार्थीहरूलाई विद्यावारिधि गर्न निर्देशकको भूमिका खेलेका प्राध्यापकले दहेजको कुरा मिलाउन ५ लाख रूपैँया गुप्तरूपले केटा पक्षसँग मिलाएको जस्ता अनेक लज्जास्पद ‘बहादुरीहरू’ सुनिन्छन् ।
अमेरिकामा बसेका छोरा–छोरीहरू यता बाबु–आमा बिरामी हुँदा धेरै पैसा खर्च हुने र भनेको बेला भीसा नपाइने र बिदा नमिलेको भनी आउँदैनन् । आमा–बाबुको मृत्युको खबर पाएर दाजुभाइलाई आफ्नो भागको सम्पत्ति छुट्टै राख्ने र पछि नेपाल आउने पत्र लेख्छन्, मोबाइलमार्फत ‘आदेश’ दिन्छन् ।
जनताको हितको निम्ति आफ्नो देशको आन्दोलन र सङ्घर्षमा एक घण्टा समय नदिने र एक रूपैँया चन्दा दिन पढेको स्वाङ गर्ने कर्तव्यच्युत युवक नेपालमा कुनै राम्रो बन्दोबस्त छैन भनी विदेशमा भाडा माझ्छन्, १४–१५ घण्टा काम गर्छन् र पुरानो उखानअनुसार ‘पानीरोटी खाई पेडाको धाक’ लाउने गर्छन् । आफू बसेको देशको स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनमा बलिदान गर्ने एकै जना दार्शनिक, नेता, वैज्ञानिक, साहित्यकार र समाजसेवीहरूको पनि नाउँ नआउने तर व्यक्तिगत फाइदा लिन त्यत्तै भासिने शिक्षित युवकहरूलाई तिनीहरूका ‘सपनाका देशहरू’मा कुनै बेला ‘विदेशीहरू घर जाऊ’, ‘एसियालीहरू फिर्ता जाऊ’ भनी खेदो गरेपछि कुन मुखले नेपाल फर्कने हुन्, थाहा छैन ।
सिड्नी युनिभर्सिटीका सिनियर रिसर्चफेलो सुखमनी खुरानाका अनुसार, अष्ट्रेलियामा अहिले भारतीय आप्रवासीको सङ्ख्या ७ लाख २१ हजार छ । भारतीयहरू बेलायतपछि अष्ट्रेलियामा दोस्रो नम्बरमा छन् । अष्ट्रेलियाली सरकारले एसियाली मूलका मानिसहरूप्रति नकारात्मक धारणा बदलेको छैन र एसियाली मूलका मानिसहरूमाथि आक्रमणको घटना बढ्दै छ । अस्टे«लियालीहरू भारतीयहरूलाई प्रस्ट भाषामै सार्वजनिक स्थलमा समेत भन्ने गर्छन्, “जहाँबाट आएको हो, त्यहीँ फर्केर जा ।” भारतीय मूलका अष्ट्रेलियाली नागरिकहरू अष्टे«लिया प्रवेश गरेमा छयसाठी हजार अष्ट्रेलियन डलर वा ५ वर्ष जेल सजाय हुनेछ (नयाँ पत्रिका, २०७८ वैशाख २४) । आफ्नो मातृभूमिलाई हेला गर्नेले आफ्नो मालिकको सेवा गर्ला तर त्यही देशको पनि गुण र दोषबारे उनीहरू के थाहा पाऊन् ! यसको अर्थ विदेश जानु हुन्न भन्ने होइन । बरु, विदेशबाट सिकेर आफ्नै देश र जनताको सेवाको निम्ति फर्कनुपर्छ भन्ने भावना जगाउन भनिएको हो ।
भाइ–बहिनीहरू !
एकजना युवालाई स्नातक र स्नातकोत्तर गराउन आफ्ना अभिभावक र देशका स्कूल, कलेज र विश्वविद्यालयको धेरै ठूलो लगानी भएको हुन्छ । आफ्नो खुट्टामा उभिएपछि आफ्नै देशलाई हेला गर्ने वास्तवमा देशद्रोही हो । समयले देखायो–कोरोनाले नेपाली जनताको बेहाल भइरहेको बेला प्रधानमन्त्री केपी शर्माओलीका निकटतम व्यापारी र कमिसन एजेन्ट विजय दुगड (नागरिक दैनिक, २३ वैशाख २०७८) र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्यकी श्रीमती रितु सिंह वैद्यले (नेपाल समाचार पत्र, २३ वैशाख २०७८) १० प्रतिशत कमिसन पाउनको निम्ति १० लाख डोज सेरम इन्स्टिच्युटद्वारा उत्पादित अक्सफोर्ड–अस्ट्राजेनेका खोप रोक्न लगाए । तिनीहरूकै कारण कति कोरोना रोगीहरू मरेका होलान् । दुई जना व्यापारीले हजारौँ जनताको हत्या हुनु दुःखद् विषय हो । यसकारण, जनताका हत्याका घटनाहरू रोक्न नेपालमा मृत्युदण्ड आवश्यक भन्ने चर्चा व्यापक छ ।
भाइ–बहिनीहरू,
‘गुणका वैरीहरू’ अभिभावहरूले कति दुःख सहेर पालनपोषण गरेका थिए र देशको कति लगानी भएको छ भन्ने कुरालाई बेवास्ता गर्छन् । ‘यो देशको भर छैन, विदेशमै गएर पढ्ने सोच बनाऊ’ भन्नेजस्ता वाक्य बोल्ने ‘गुणका वैरीहरू’लाई जनताले सम्झाउने बुझाउने र समाल्न लगाउनैपर्छ, नत्र तिनीहरूजस्ता व्यक्तिहरूले एमसीसीजस्ता नेपाल र एसियालाई युद्धको आगोमा धकेल्ने अमेरिकाका लागि नेपाली राजदूत र नेपाली काङ्ग्रेसका अर्थमन्त्री र जलस्रोतमन्त्रीले जस्तै ठूल–ठूला अपराध गर्नेछन् ।
मेरा प्यारा भाइ बहिनीहरू !
एक जोडीमा एक जना खराब र बुद्धिहीन भएमा दुवै जना अपराधी हुनेबारे एकले अर्कोलाई सम्झाउनुपर्छ । विवाह गर्नुभन्दा पहिले नै एकले अर्काको सबै विचार र व्यवहार जाँच्नु र बुझ्नु आवश्यक छ । नत्र दुष्ट खालको व्यक्ति, चुरोट, रक्सी, गाँजा र अरू लागूपदार्थ खाने लत परेको साथीले गर्दा सज्जन र राम्रो सहयोगीको पनि जीवन बरबाद हुनेछ ।
विचार पु¥याएन भने आफू बिरामी भएको बेला केटा वा केटीले कुनै निहुँ खोजेर बाहिर जानेछन् । एकआपसको काममा सहयोगी भएन भने जीवन फेरि दुःखद हुने निश्चित छ । अहिलेका भन्दा पहिलेका चिनियाँ नेताहरूसँगै पढेका हुनाले तिनीहरूको विवाह हुँदा बिहान केटाले खाना पकाएमा बेलुकी केटीले पकाउने, लुगा धुँदा पनि पालैपालो धुने गर्थे । पुस्तक, पत्रपत्रिका र राजनैतिक पुस्तकको अध्ययन र छलफलमा पनि उनीहरू सँगै रहन्थे ।
दुवैको राजनैतिक चिन्तन र विचार गरिएन, खर्चमा भोलिको विचार गरिएन, भोलिको निम्ति दुवैले केही रकम जोगाउने विचार गरिएन भने दुवैले असजिलो स्थिति झेल्नु स्वाभाविक हो । सल्लाह नलिई निर्णय गर्ने, आफ्नोमात्रै विचार लाद्ने र घमण्डी भएमा बीचबीचमा ठाकठुक भइहाल्छ । केटीले आफ्नै माइतीको धाक लगाउने र केटाले पनि पुरुषको अहङ्कार देखाउनाले मिलेर बस्न गा¥हो हुन्छ । किताबै हेर्न मन नपर्ने लोग्ने भए लेखिकालाई र लेखकलाई त्यस्तै स्वास्नी प¥यो भने जीवन दुखद हुनेछ ।
ग्रीसेली दार्शनिक सोक्रेटसको जहानले होहल्लापछि पानीको भाँडो खन्याउँदा सोक्रेटसले हाँसेर भने, “अघि बिजुली चम्क्यो, मेघ गज्र्यो अब त पानी पनि प¥यो ।” टोलस्तायकी जहान झिलिमिली मन पराउने र उनी (टोलस्ताय) लेख्न मन पराउने । आखिर एक रातको ठाकठुकपछि उनी घर बाहिर गए । भोलि बिहान थाहा भयो– टोलस्तायको लास बरफमा थियो । गान्धीजी र पत्नीको बीचमा पनि बरोबर ठाकठुक भइरहन्थ्यो । तर, रवीन्द्रनाथ ठाकुर र नेहरूका पत्नी बितेपछि उनीहरूले विवाह गरेनन्, आ–आफ्नो क्षेत्रमा दुवै लागिरहे । यसकारण लोग्ने र स्वास्नीको पेशा, इच्छा र रुचि मिलेको खण्डमा, छिट्टै नरिसाउने र एकले अर्कोलाई सम्झाएर चित्त बुझाउने बानी बसेमा दाम्पत्य जीवन सुखी हुनेमा शङ्का छैन ।
यसकारण भाइ–बहिनीहरूले बरोबर विभिन्न देशका दार्शनिक, लेखक, कवि, कलाकार, देशका नायक र नेतृहरूको जीवनीहरूबाट पनि केही सिक्ने र प्रेरणा पाउनेछन् । मूल कुरो हामीले समाज र जनताको हितमा आ–आफ्नो क्षेत्रबाट योगदान गरौँ भन्ने भावनाबाट उत्साहपूर्वक लागेमा जीवन अवश्य सफल र सुखद हुनेछ । बिदा !
तिमीहरूको हित चाहने दाजु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *