भर्खरै :

के महानिर्देशकले स्थानीय प्रशासनको निषेधाज्ञा तोडेका हुन् ?

निषेधाज्ञाको अवधिमा भक्तपुर औद्योगिक क्षेत्रभित्र मजदुरलाई आउजाउ गराई अत्यावश्यक वस्तु र सेवाबाहेकका उद्योगहरू सञ्चालित छन् । पहिले जनस्वास्थ्य त्यसपछि अन्य गतिविधि हुनुपर्छ । सरकारी घोषणाविपरीत गर्नेहरूलाई कारबाही किन हुँदैन ?
भक्तपुर औद्योगिक क्षेत्रभित्र मजदुर आउजाउ गराई टेक्सटायल, प्लास्टिकलगायत उद्योगहरू सञ्चालित छन् । यी उद्योगहरूबाट मजदुरहरूलाई न्यूनतम पारिश्रामिक र सुविधा दिइएको छैन भने स्वास्थ्य अनुशासन पनि पालना भइरहेको छैन । यहाँको सरकारी जग्गामा एकतले जस्ताको टहराभित्र पवन र रोहित साङ्घाइको नेपो इन्डस्ट्रिजमा ठुलठुलो आवाजसहित टेक्सटाइल मेसिनहरू सञ्चालित छन् । यो उद्योग सञ्चालनको लागि मजदुरहरूलाई दैनिक आउजाउ गराइने र गाडीमा धागोको बेलुन र तयारी कपडा ओसार्ने काम भइरहेका छन् ।
ध्वनि प्रदूषणले मजदुरहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको छ । कोभिड–१९ सङ्क्रमणको निषेधाज्ञाको बेला सो उद्योगको वरिपरि व्यासी, खौमा, कालीदह, सहिद स्मृति उद्यानका हजारौँ बासिन्दाहरू घरभित्र बस्न नहुने गरी ध्वनि प्रदूषणको शिकारमा परेका छन् । भक्तपुर नगरपालिकाले नेपो इन्डस्ट्रिजलाई ध्वनि प्रदूषण रोकथाम गरेरमात्र चलाउन निर्देशन दियो । तर, उद्योग विभागका महानिर्देशक जीवलाल भुसालको प्रत्यक्ष समर्थनमा निषेधाज्ञाको बेलासमेत जनताको स्वास्थ्यमा प्रतिकूल हुने गरी नेपो इन्डस्ट्रिज सञ्चालन भइरहेको छ । यसकारण निज भुसाललाई निलम्बन गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमार्फत आवश्यक सजाय हुनुपर्ने जनगुनासो छ । निषेधाज्ञामा सरकारी आदेशअनुसार घरभित्र बसेका जनतालाई नेपो उद्योगको ध्वनि प्रदूषणबाट मुश्किल भएको स्थानीय जनताले महानिर्देशक भुसाललाई जानकारी गराउँदा निजले नेपो इन्डस्ट्रिज सञ्चालन जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा भइरहेको भनी पन्छिएको जनगुनासो छ । निज भुसालकै समर्थनमा सार्वजनिक बाटोको छेउमै रहेका उद्योगहरू यसरी नै सञ्चालन भइरहे यस क्षेत्रमा कोभिड–१९ सङ्क्रमण भयावहरूपमा फैलिनेछ । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *