भर्खरै :

निषेधाज्ञा जारी गर्न बाँकी चार जिल्ला

मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । देशमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ ।
यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महिनाका अवधिमा करीब करीब मुलुक नै ठप्प हुन पुगेको छ ।
स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रूप गत वर्षभन्दा बढी सङ्क्रामक रहेकोले अझै केही हप्ता घरमै बसेर सङ्क्रमणको जालो तोड्नुपर्ने सुझाव दिनुभएको छ । विवरणानुसार मनाङ, मुस्ताङ, ते¥हथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् । यद्यपि, सङ्क्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मनाङले भने वैशाख १३ गतेको निर्णयानुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै आएकोमा आजको निर्णयले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, जात्रा मेलालगायत भीडभाड हुने काम नगर्न र विवाहमा १५ भन्दा बढी सहभागी नहुन निर्देशन जारी गरेको छ ।
मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेक सेवा रोकिसकेको छ । खोटाङले आदेश जारी नगरे पनि भीडभाड हुने गतिविधिमा रोक लगाइसकेको छ ।
रूकुम (पूर्व) ले पनि बुधबार रातिदेखि लागू हुने गरी आंशिक आदेश जारी गरिसकेको छ । उसले गाडीको हकमा जिल्लाभर नै सञ्चालनमा रोक लगाएको तथा अन्य विषयमा स्थान तोकेर आदेश जारी गरेको छ । कम सङ्क्रमित रहेको ते¥हथुमले भने अहिलेसम्म कुनै सूचना जारी गरेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउनुहुन्छ ।
मुलुकमा पछिल्ला केही दिनदेखि नौ हजारमाथि दैनिक सङ्क्रमित फेला पर्दै आएका छन् तथा मृतक तीन अङ्क देखिँदै आएको छ । मुलुकमा अक्सिजन र सिलिन्डर तथा सघन उपचार कक्ष, भेन्टिलेटर र शय्यासमेत अभाव हुँदा बिरामीको मृत्यु हुन थालेको छ ।
नेपालमा पछिल्लो साताको विश्लेषण गर्दा सङ्क्रमितको सङ्ख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ । कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएको जनाइएको छ । भारतभन्दा नेपालमा सङ्क्रमण र मृत्यु दर निकै बढी रहेको मन्त्रालयका सरूवा रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालमा प्रति १० लाख ३०४ र भारतमा २४० मात्रै सङ्क्रमण दर रहेको छ । नेपालमा प्रति १० लाखमा ३.३ जनाको मृत्यु भइरहेको छ । यो भारतको भन्दा बढी हो । भारतमा २.५ जनाको मृत्यु भएको तथ्याङ्क छ । पोजिटिभिटी दर भारतभन्दा नेपालमा दोब्बर छ । प्राप्त विवरणानुसार भारतमा २२.६ प्रतिशत पोजिटिभिटी दर रहेकोमा नेपालमा ४५.१ प्रतिशत छ । नेपालमा आजदेखि सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघिसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *