भर्खरै :

‘भेरोसेल’ को दोस्रो मात्रा आइतबारदेखि

काठमाडौँ, २ जेठ । सरकारले कोभिड–१९ विरूद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आइतबारदेखि काठमाडौँ जिल्लामा लगाउने सुरूआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन सुरू गरिएको हो ।
कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले दोस्रो मात्राको लागि आइतबारदेखि जेठ ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गर्नुभएको छ । उहाँका अनुसार काठमाडौँ जिल्लाका ११ वटै नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन सुरू गरिएको हो ।
काठमाडौँ महानगरपालिकामा ३३ खोप केन्द्र, चन्द्रागिरि नगरपालिकामा तीन खोप केन्द्र, कीर्तिपुर, बूढानीलकण्ठ, गोकर्णेश्वर, टोखा र नागार्जुन नगरपालिकाका दुई÷दुई खोप केन्द्र, कागेश्वरीमनहरा, तारकेश्वर शङ्करापुर र दक्षिणकालीमा एक÷एक खोप केन्द्र रहेका छन् ।
कार्यालयले गत चैत २५ देखि २८ गतेसम्म लगाएकोले आइतबार, चैत २९ र ३० गते लगाएकोले जेठ ३ गते, चैत ३१ र वैशाख २ गते लगाएकोले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।
यस्तै, गत वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकोले जेठ ८ गते, वैशाख १३ गते लगाएकोले जेठ ९ गते, वैशाख १४ गते लगाएकोले जेठ १० गते र वैशाख १५ गते लगाएकोले जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । चीन सरकारबाट अनुदानमा ल्याइएको ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *