भर्खरै :

शनिबार साहित्य–मंगलेचाहरु

–रमेश प्रजापति
रोपाईँको महिना । दहिच्युरे दिन कटिसक्दा पनि आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने किसानहरुको आधा खेत बाँझै थियो । घाम चर्कँदो थियो । खाना खाइसके पछि खासै काम गर्ने जाँगर चलेको थिएन । पत्रिका पल्टाएँ, सुडान घोटाला काण्डमा प्रहरीदेखि मन्त्रीसम्मको हात रहेको समाचार देखेँ । एक–दुई हजार हो र, अर्बौंको घोटाला भएको रहेछ । दिक्क लाग्यो समाचारहरु पढेर, त्यसैले सधैंझै खाना खाइसके पछिको एक निन्द्रा पूरा गर्न खाटमा पल्टिएँ । पल्टिएको केही क्षणमै साथी रोशनको फोन आयो । भूमिसूधार कार्यालयसम्म खै के हो मोहीसोही, लगतकट्टासम्बन्धी काम छ, संगै जाऊँ भन्ने अनुरोध आयोे । त्यसो त यो घरजग्गाको मामिलामा मलाई केही थाहा पनि छैन, थाहा पाउने जाँगर पनि छैन । सानै बेलादेखि मोही, तल्सिन, रैकर, विर्ता, लगतकट्टा, मालपोत, नापीजस्ता अनौठा–अनौठा शब्दहरु सुन्न चाहिँ सुनेको थिएँ । तर स्नातक पास गरियो, केही बुझेको भने थिइनँ । घरजग्गाबारे कसैले कुरा गर्दा मलाई चिनियाँ भाषा बोले जस्तो लाग्छ । एकपटक मालपोत कार्यालयमा एकदम गोप्य र जरुरी कुरा छ भन्दै दुईजना मान्छेहरु शौचालयमा गएर कुराकानी गर्दै थिए । संयोगले म भित्रै थिएँ र तिनीहरुको सारा गोप्य कुरा सुनेँ, तर अहँ केही पनि बुझिनँ । उनीहरु खै कुन्नी कहाँको गुठी जग्गा खै के–के गरेर के–के गर्ने कुरा गर्दै थिए ।

 ‘मंगलेचाहरु मरिसके भन्थानेको त अझ जिउँदै पो रहेछन् ।’ 

अब आफ्नै एकज्यानको साथीले भूमिसुधारसम्म संगै जाऊँ भनिसकेपछि आउँदिन भन्न पनि नमिल्ने । बाइक लिएर घरसम्मै लिन आएको थियो, गएँ ।
दत्तात्रय पुग्दा बाइक रोकियो । अगाडि एक हुल मानिसहरु जम्मा भएका थिए । सायद कोणसभा थियो । अगाडि जाने बाटो नभएपछि एकै छिन बाइक रोकेर हामी पनि छेउमा उभियौं । किसान संगठनको कार्यक्रम रहेछ । असार १९ र साउन २ गते भएको भ्रष्टाचारविरोधी आन्दोलनको अवसरमा किसानहरु भेला भएर भ्रष्टाचार र भ्रष्टाचारीहरुको विरुद्धमा भएको आन्दोलनको स्मरण गर्दै रहेछन् । अगाडि अलि उँचो भागमा एक जना किसान नेता माइकमा बोल्दै थिए । उनले २०२५ सालमा नवदुर्गा सहकारी संस्था नामको सञ्चालक समितिका अध्यक्ष मंगलेचा भनिने कृष्णभक्त चगुठीलगायतले जग्गाधनी र मोहीसंग प्रतिरोपनी ६ माना र ३ मानाबाली संकलन गरी सो जम्मा भएको पैसाले किसानहरुलाई आवश्यक पर्ने मलबीउ, किटनाशक औषधी किन्नुपर्नेमा त्यो नकिनी हेटौडा, चितवनबाट काठ, मकै, तोरी आदि किनेर व्यक्तिगत नाफा कमाउन लागेको प्रसंग उल्लेख गर्दै तत्कालीन समयमा भएको भ्रष्टाचारको विरुद्ध भक्तपुरका किसानहरुले तिनै मंगलेचा चगुठीलाई कालोमोसो दली नगर परिक्रमा गराएको सुनाए । मंगलेचाले संस्थामा आफ्ना मान्छे नियुक्ति गर्ने, आफ्ना मान्छेलाई विनाकागज हजारौं रुपैया ऋण दिने, आर्थिक हिनामिना गर्ने गरेको स्मरण गरे । यी कुराहरु बताइरहँदा उनी समय–समयमा मुठ्ठी कसेर जोसिन्थे । सहभागी किसानहरु पनि उनको मन्तव्यको बीच–बीचमा ताली बजाउँथे, भ्रष्टाचारीहरुलाई कारबाही गर भनेर नारा लगाउँथे । उनीहरुको त्यो जोश देख्दा म मनमनै सोचिरहेको थिएँ – ५० वर्ष हुन लागि सक्यो त्यो आन्दोलन भएको, यो समयमा त उनीहरुमा यति जोश र जाँगर छ, त्यतिबेला कति झन् कति जोश हुँदो हो ।
म मन–मनै गम्दै थिएँ, यता रोशन भने दिक्क मान्दै कराउँदै थियो – ‘पचास वर्ष पुरानो कुरा गरेर पनि कहीँ हुन्छ । समय कहाँबाट कहाँ पुगिसक्यो । मंगलेचा बाँकी भए पो त्यसलाई सुनाउन–कराउन । हामीलाई सुनाएर के अर्थ ?जाऊँ छिटो ढिला भइसक्यो, हाकिम भेट भएन भने फेरि काम हुन्न ।’
हामी भूमिसुधार पुग्यौं । कार्यालयभित्र पुगेदेखि सरकारी अफिसको छनक देखियो । खिया लागेका, टुटेफुटेका दराज, मेच, टेबल, भित्ताभरि फोहोर पारिएका पान गुट्खा थुकीएका दाग, हावाभन्दा बढी आवाज निकाल्ने पंखा अनि कोही हाई काढ्दै, कोही सुस्ताउँदै र कोही घुर्दै गरेका कर्मचारीहरु ।
घरी यो कोठा घरी त्यो कोठा, यति नम्बरको टेबल, उति नम्बरको टेबल…सरकारी कार्यालयको प्रक्रिया नै पूरा ग¥यौं ।
‘आज भाइको काम हुँदैन । भाइको त कागजै पुगेको रहेनछ ।’ एक जना कर्मचारीले हाइ काढ्दै भने । वरपरका कर्मचारी र ननकर्मचारीहरु सबै गलल हाँसे । निवेदन, नागरिकताको फोटोकपी, श्रेस्ता, लालपूर्जाको फोटोकपी सबै त छन्, अनि कुन कागज पुगेन ? हामी अलमलमा प¥यौं । एकजनाले रोशनको कानमा खुसुक्क केही कुरा बतायो ।
‘नत्र काम बन्दैन है हजुर । तपाईलाई हतार छैन भने आउनोस् क्यार अर्को हप्ता ।’ उसले यो कुरा चाहिँ सुनिने गरी नै बतायो । रोशनको अनुहार रातो पिरो भयो । अप्ठेरो मान्दै म नजिक आएर उसले भन्यो – ‘१०० रुपैया छ? दे न । आज मैले पर्स नै ल्याउन बिर्सेछु ।’
मसँग १०० रुपैयाँ सापटी लिएर उसले फाइलभित्र घुसायो । काम बन्यो । फाइल फिर्ता दिँदै मेचमा बसेको त्यो कर्मचारीले भन्यो – ‘अब यहाँ मात्र कागज पु¥याएर भएन हेर भाइ । अर्को ठाउँमा पनि कागज माग्लान । कागज पु¥याएर जाऊ ।’ मेरो पर्समा पनि २०–३० रुपैयाँ मात्र बाँकी थियो । त्यसैले अर्को दिन आउने योजना बनाई हामी फक्र्यौं । फर्किँदै गर्दा रोशन रिसले मुर्मुरिँदै थियो – ‘मंगलेचाहरु मरिसके भन्थानेको त अझ जिउँदै पो रहेछन् ।’
म मन–मनै सोच्दै थिएँ–ऊ कुन मंगलेचाको कुरा गर्दैछ ? भर्खर भेटिएको १०० वाला मंगलेचा वा बिहान पत्रिकामा पढेको अर्बौं रुपैयावाला मंगलेचा??
फर्केर हामी फेरि दत्तात्रयमै पुग्यौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *