नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
–नीरज
गोठाला गएकी रजरानी थारु
जमिन्दारको शिकारी आँखाको शिकार बन्दा
बसेको गर्भबाट झरेकी गर्भीको
न्वारन गरियो–गर्भी थारु ।
……………………….
जमिन्दारका आँखामा जब जब जाग्छ भोक
तब तब जंगलमा खेलिन्छ शिकार
अनि रजरानीहरु भारी शरीर बोकेर फर्कछन् गोठहरुमा–चुपचाप ।
र, गाउँमा थपिन्छ अर्को एउटो गर्भी वा गर्भे ।
……………………………
रित्तो आङ लिएर
गर्भीहरुको हुल जमिन्दारको बगैंचामा चोर्न जान्थ्यो आँप ।
उजाउँदै लाठ्ठी लखेट्न तम्सन्थ्यो जमिन्दार
मानौं गर्भीहरु बाबुका नाममा नागरिकता खोज्न पसेका थिए–जमिन्दारको बगैंचामा ।
माटो, गोब्बर र पातहरुले बुनेको
गर्भीहरुको सपनामा
थिएन आकाशमा उडेर पर फराकिलो भुगोल नाप्ने खण्ड ।
घोडा थाक्ने जमिन्दारको खेतमा रोप्दै गर्दा धान
आफ्नो साँध सीमाना नाप्ने गणित
थाहा थिएन गर्भीहरुलाई ।
आफ्ना पूर्खाको बेहोस औंठाछापसँगै
रित्तिएको भकारीको कथा, सुनेका थिए गर्भीहरुले
तर त्यो कथाले जन्माएको थिएन कुनै तातो स्वास ।
यो गाउँमा
गर्भीहरु फिनिक्स चरा जस्तै छन्,
जसोतसो एउटी गर्भी जीवन रित्याउँछे
अर्को गर्भीको गर्भाधान गरेर ।
गर्भीहरुको चोला फेरिएको छ लोकतन्त्रको गर्भसँगै ।
हिजो जमिन्दारको कुनै लठैतले
गर्भीहरुको नाममा भरिदिन्थ्यो–चुनावको मतपेटिका
अनि जमिन्दारको बगैंचाबाट दुई–दुई दाना बाँडिन्थ्यो आँप ।
लोकतन्त्र लागेको छ यो गाउँमा
आज जमिन्दारको कामरेडले
स्वस्तिक लगाएको मतपत्र
मतपेटिकामा दान गर्ने गर्छन्–गर्भीहरु
अनि पाउने गरेका छन् उनीहरुले
पार्टीको छाप भएको एउटा टीसर्ट,
एउटा गम्छा,
साँझ खसीको मासु र भात खाने निम्तो
र, दुई दुई दाना आँप ।
Leave a Reply