भर्खरै :

युग पाठकको ‘माङ्गेना’ सार्वजनिक

लेखक युग पाठकको नयाँ पुस्तक माङ्गेना शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रमबीच विमोचन भयो ।
राजनीतिक विश्लेषक प्रदिप गिरी, प्राध्यापक बालकृष्ण माबुहाङ, कवयत्री निभा शाह र लेखक पाठकले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभयो ।
माङ्गेना नेपाल मन्थन नाम दिइएको पुस्तक नेपालको इतिहासका विभिन्न आयाममा स्थापित अवधारणामाथि प्रश्न उठाइएको बताइएको छ ।
नेपाल के हो र के होइन ?, देश भनेको नक्सा हो कि जनता ?, राष्ट्रियता के हो ?, के राष्ट्रिय हो, के अराष्ट्रिय ? पृथ्वीनारायण शाहले स–साना राज्यहरुलाई एकीकरण गरेका हुन् वा साम्राज्य विस्तार गरेका हुन् आदि विविध प्रश्नको विषयमा २ सय ६० पृष्ठको पुस्तकमा मन्थन गरिएको छ । लिम्बु शब्द माङ्गेनाको अर्थ छोरी चेली र शीर उठाउने एक साँस्कृतिक अनुष्ठान बताइएको छ ।
चर्चित उपन्यास उर्गेनको घोडाका उपन्यासकार पाठकको यो दोस्रो प्रकाशित कृति हो । उनको नाटक युमाको काठमाण्डौको मण्डला थियटरमा २०७३ साल चैत्रमा मञ्चन भएको थियो ।
पुस्तकमा बोल्दै राजनीतिक विश्लेषक प्रदिप गिरीले गोर्खा राज्यको विस्तारको क्रममा तराईको विद्यापति सभ्यता र काठमाण्डौ उपत्यकाको नेवारी सभ्यतालाई पददलित गरेको चर्चा गर्नुभयो ।
उहाँले नेपालको राष्ट्रियता प्रजातन्त्र र राजासँग जोडिएको इतिहासको विविध पक्षमाथि चर्चा गर्नुभयो ।
प्राध्यापक बालकृष्ण माबुहाङले नेपालका अरु भाषालाई उपेक्षा गर्दै सत्ताले मुलधारमा ल्याएको खस भाषा स्वंय आज अंग्रेजी भाषाले विस्थापनको मारमा परेको बताउनुभयो ।
उहाँले नेपालको बौद्धिक क्षेत्र सत्ताधारी दलको पछि लागेका कारण बौद्धिक वर्गको औचित्यमाथि प्रश्न उठाउनुपर्ने विचार राख्नुभयो ।
कवयत्री निभा शाहले पुस्तकमा व्यक्त धारणामा वर्ग संघर्षको पक्षलाई गौण बनाइएको तर सीमान्तकृत समुदायको आवाज अभिव्यक्त गर्न पुस्तक सफल रहेको बताउनुभयो ।
कार्यक्रममा लेखक पाठक र प्रकाशक फाइन प्रिन्टका अजीत बरालले पनि पुस्तकमाथि चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुको बाक्लो उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *