भर्खरै :

कोभिड वार्डमा बिरामी कुरुवा बस्दा

नेपालमा गत चैत महिनाबाट सुरु भएको कोभिड रोगको दोस्रो लहरले हाम्रो घर–परिवार, समाज र देशलाई कति धेरै असर गरिसकेको छ भन्ने कुरा थाहा पाउन पत्रपत्रिका, टेलिभिजन हेर्नै पर्दैन, आफ्नो टोल–छिमेकीलाई हेर्दा पनि सबैले अनुमान गर्नसक्ने स्थिति छ । पहिलो लहरभन्दा दोस्रो लहर खतरनाक र जोखिमपूर्ण भएको अनि पारिवारिक स्थिति भयावह अवस्थामा पु¥याएको वास्तविकता अस्पतालमा बेड नपाउनु, आई.सी.यू. बेड पाउने आशै गर्न नसक्नु, मर्नेहरूको लासलाई व्यवस्थापन गर्न नसकी बाग्मती किनारमा लासको थुप्रो एकैसाथ जलाइएको दिनहुँको समाचारले प्रस्ट बनाएको छ । यसले सबको मन भावविह्वल बनाएको छ । अझ तेस्रो लहर आउन सक्ने विशेषज्ञहरूको अनुमानले मानव जीवन के हुने हो, कस्तो हुने हो भन्ने अनुमान गर्न नसक्ने अवस्थामा पुगेको छ ।
हाम्रो परिवार पनि कोभिडको सङ्क्रमणबाट अलग रहेन । हामी दाजुभाइहरू अलग–अलग घरमा परिवारसहित बस्दै आइरहेका छौँ । बुबा माइलो दाइसँग बस्नुहुन्थ्यो । २०७८ वैशाख पहिलो हप्तातिर माइलो दाइ र भाउजूलाई सञ्चो नभई स्वास्थ्य परीक्षण गराउँदा कोभिड पोजिटिभ देखियो । रिपोर्ट प्राप्त हुनासाथ माइलो दाइकोमा बसिरहनुभएका बुबालाई जेठो दाइले आफ्नो घरमा बस्ने व्यवस्था मिलाउनुभयो । बुबाको उमेर धेरै भइसकेकोले कोभिडबाट सङ्क्रमण हुने जोखिम र उपचारमा कठिनाइ हुने देखेर जेठो दाइले आफूसँग बस्ने प्रबन्ध मिलाउनुभयो । विडम्बना ! त्यसको करिब ८/१० दिनपछि जेठो दाइले पनि सञ्चो नभएको जस्तो अनुभव गर्नुभयो । सामान्य असञ्चो होला भनी बस्दाबस्दै पछि गाह्रो हुनथालेपछि कोभिड परीक्षण गर्दा पोजिटिभ देखियो । त्यसको एक–दुई दिनमा अस्पताल भर्ना हुनुभयो । जेठो दाइको contact tracing को रिपोर्ट नआउँदै बुबालाई विस्तारै गाह्रो हुनथाल्यो । जेठो दाइ अस्पतालबाट डिस्चार्ज हुनुअगाडि नै बुबालाई ख्वप अस्पतालमा भर्ना गरियो । यही बीचमा जेठो दाइको contact tracing मा पूरै परिवारमा कोभिड पोजिटिभ देखियो । जेठो दाइ निको भई घर नआइपुग्दै बुबालाई ख्वप अस्पताल, भक्तपुर अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरियो । यसरी बुबालाई अस्पतालमा भर्ना गरी बिरामी कुरुवा बस्दाको अनुभव यस लेखमार्फत साट्ने कोशिश गरेको छु ।
जेठ ९ गते आइतबार बुबालाई अस्पतालमा भर्ना गर्दासम्म बुबाको अक्सिजन लेभल करिब ९० को आसपास थियो । जेठो दाइबाहेक दुई दाइको परिवारका सदस्यहरूलाई सामान्य लक्षण र त्यसको प्रभाव पनि सामान्यमात्र देखिएकोले बुबालाई पनि सामान्य नै होला भनी अपेक्षा ग¥यौँ । अस्पताल भर्ना गरेको एक दिनमै बुबाको स्वास्थ्य स्थिति झन् खराब हुँदै गयो । अक्सिजन लेभल ८० तिर झ¥यो । डाक्टरले भेन्टिलेटर भएको सघन उपचार कक्ष (आई.सी.यू.) चाहिने तर शिक्षण अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी दिनुभयो । केही उपाय नभएपछि हामीले बुबालाई ११ गते सोमबार आई.सी.यू. नपाए पनि शिक्षण अस्पताल महाराजगञ्जकै एच.डी.यू. वार्डमा भर्ना ग¥यौँ । त्यहाँ तुरुन्तै अक्सिजनलगायत श्वास फेर्न सजिलो बनाउने CAP मेसिन पनि प्रयोग गरियो । भर्ना गरिएको दिन स्वास्थ्यमा सुधार भएको देखिए पनि CAP मेसिन र अक्सिजनविना केही गर्न नसक्ने, खाना र पानी पिउने इच्छा भएर पनि बुबाले अक्सिजन र CAP मेसिन मुखबाट झिक्न सक्नुभएन । एन्टिबायोटिक र अन्य औषधि चलाउँदै गए पनि सुधार हुनुको सट्टा विस्तारै स्वास्थ्य स्थिति बिग्रिँदै गयो । मुटु र श्वासको दर बढ्न थाल्यो भने अक्सिजन लेभल १५ लिटर प्रतिमिनेट दिइराख्दा पनि बिस्तारै घट्न थाल्यो । केही समय अक्सिजन र मुटुको धड्कन ठीक देखिए पनि खराब स्थिति हुँदै गयो ।
बुबाको मात्र होइन, अरू कोभिडका बिरामीको पनि अक्सिजन लेभल, मुटुको धड्कन सामान्य देखिएको केही घण्टामा नै एक्कासि खराब भएको देखियो । राम्रै कुरा गर्ने, राम्रैसँग खाना खाएका, उठबस गर्नसक्ने अक्सिजन लेभल ९० भन्दा माथि रहेका कोभिड बिरामी पनि तीन–चार घण्टाको अन्तरालमा एक्कासि स्वास्थ्य स्थिति बिग्रिएर अक्सिजन लेभल ८०, ५०, ३० हुँदै एक रातमै मृत्युवरण गर्नेहरू पनि अस्पतालमा देखिए । तीस बेडको एच.डी.यू. कोभिड वार्डमा एउटै समयमा चार–पाँच जना बिरामीहरू गम्भीर हुन्थे । एकैचोटि सबैलाई तुरुन्तै उपचार चाहिने तर अपर्याप्त स्वास्थ्यकर्मी र निश्चित सङ्ख्याको स्वास्थ्य उपकरणका बीच कति पनि विचलित नभई स्वास्थकर्मीहरूको भरपुर कोशिश गर्दा पनि बिरामीलाई बचाउन नसकेको पीडादायी दृश्य अझै आँखाबाट विलिन भएको छैन । बुबालाई सकिने सम्पूर्ण कोशिश गर्दा पनि आखिरमा जेठ १६ गते आइतबार बिहान साढे ६ बजे निधन भयो ।
बुबाको उपचारमा खटिनुभएका सम्पूर्ण नर्स र डाक्टरहरूप्रति साधुवाद छ । कुनै पनि उमेर र स्वस्थ व्यक्तिलाई पनि सङ्क्रमण हुन नछोड्ने यो रोगबाट बच्नु नै उत्तम उपाय हो । आफ्नो परिवार वा आफन्तलाई कोभिड सङ्क्रमण भई बिरामीको उपचारको क्रममा कुरुवा बस्दा दुई वटा राम्रो गुणस्तरको मास्क लगाई बेला–बेलामा स्यानिटाइजर लगाउने र सकेसम्म मास्क दिनरात नखोलिकन बस्नुपर्छ । यति गर्दा केही हदसम्म बिरामी कुरुवा सङ्क्रमणबाट बच्न सकिन्छ ।
सामान्य कोभिडको लक्षण देखिनासाथ हेलचक्राइँ नगरी तुरुन्त उपचार गरेमा निको हुने सम्भावना धेरै हुनेरहेछ । पर्याप्त मात्रामा भेन्टिलेटर, अक्सिजन र स्वास्थ्यकर्मी भएको भए धेरै हदसम्म उपचार पाउने र धेरै निको हुने विश्वास लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *