उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
काठमाडौँ लैनचोरस्थित अमृत साइन्स कलेजबाट आइएस्सी (इन्टरमेडियट साइन्स) पास गरेर सन् १९६९ को अगस्त महिनामा म सोभियत सङ्घको छात्रवृत्तिमा उच्च शिक्षा हासिल गर्न सोभियत सङ्घ गएको थिएँ । सन् १९७६ मा सिभिल इन्जिनियरिङ्ग पढ्न गएको म केमिकल इन्जिनियरिङ्ग पढेर फर्केँ ।
छात्रवृत्तिको प्रावधानअनुसार मेरो लागि एउटामात्र टिकट दिइयो । नेपाल फर्कन बाँकी ३ वटा टिकट मैले आफैले किन्नु परेको थियो । टिकट र थुप्रै सामानहरू किन्न अर्थात् आफूलाई चाहिने घरायसी सामानहरू रेफ्रिजिरेटर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर, म्युजिकल रेकर्ड प्लेयर, रेडियो–टेप रेकर्ड आदिका साथै आफन्त र साथीहरूको लागि केही उपहारहरू किन्न समस्या केही परेन । मसँग पैसा थियो ।
नेपाल फर्कनुअघि रुसबाट लण्डनसम्म पुगेर एक ट्रीप सानो व्यापार गरेको थिएँ । अन्यथा मलाई नेपाल फर्कन सम्भव थिएन र त्यही बस्नुपर्ने हुन्थ्यो । फेरि सोभियत सङ्घमा बस्न त्यति सजिलो थिएन र उचित पनि थिएन । एक त पढ्न गएको विद्यार्थीलाई नेपाल सरकार र सोभियत सरकारबीचको सम्झौताअनुसार त्यहाँ बस्न दिइँदैनथ्यो । त्यहाँ बस्नु मैले उचित ठानिनँ । यद्यपि, अध्ययन गर्न गएका केही मेरा परिचित साथीहरू स–परिवार आजसम्म त्यहाँ बसिरहेका छन् ।
सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि रुसमा विदेशीहरूलाई बस्न र काम गर्न ढोका खोलेको छ । नेपालीसहित थुप्रै भारतीय र अन्य विदेशीहरू रुसका ठुल–ठुला गाउँसहरमा व्यापार व्यवसाय गरेर धनाढ्य भइरहेका छन् । तर, सन् १९७० को दशकमा सोभियत सङ्घ एक शक्तिशाली देश रहेको बेला त्यहाँ कुनै निजी–व्यापार व्यवसाय गर्न छुट थिएन । स्वयम् सोभियत नागरिकहरूले कुनै निजी उद्योग व्यवसाय गर्न पाउँदैनथे र सडकमा बसेर जुत्ता पालिस गर्ने व्यक्ति पनि सरकारी कर्मचारी हुन्थे ।
सन् १९६९ देखि १९७६ सम्म म अध्ययन गर्दै बस्दा विदेशी विद्यार्थीको नाताले मैले प्रतिमहिना खानबस्नको लागि ९० रुबल पाउने गर्थेँ भने श्रीमती भालेन्टिनाले प्रतिमहिना ३५ रुबलमात्र पाउँथिन् । सोभियत सङ्घमा त्यसबेला स्वास्थ्य सेवा र शिक्षा पूर्णरूपमा निःशुल्क थियो । सबै सोभियत नागरिकले आफ्नो इच्छानुसार कुनै पनि विषयमा सोभियत भूमिको कुनै पनि ठाउँमा गएर निःशुल्क पढ्न र लेख्न पाउँथे ।
स्कूल पढ्दासम्म प्रायः सबै विद्यार्थी आफ्नै गाउँघरमा आफ्नै परिवारमा आमा–बुबासँग बसेर पढ्थे । तर, स्कूलको पढाइ सकेपछि प्रायः सबै विद्यार्थी आ–आफ्नो रुचिअनुसार आफूले चाहेको विषयमा उच्च शिक्षा हासिल गर्न ठुल–ठुला सहरका ठुल–ठुला नाम चलेका विश्वविद्यालय प्राविधिक इन्स्टिच्युटहरूमा भर्ना हुन जान्थे ।
आफ्नो स्कूलको पढाइ राम्रो गरेका विद्यार्थी प्रायः सोभियत राजधानी मस्को नै आउने गर्दथे । त्यसपछि लेनिनग्राड (हाल सेन्टपिटर्स वर्ग) कीभजस्ता सहरहरूमा पढ्न जान्थे ।
मस्कोमा विश्व विख्यात ‘मस्को स्टेट युनिभर्सिटी’ सबै प्रतिभाशाली विद्यार्थीको निम्ति अध्ययन गर्न सबभन्दा पहिलो रुचि हुन्थ्यो । तर, त्यहाँ प्रवेश पाउन त्यत्ति सजिलो थिएन ।
केही दिनअघि निधन भएका नेपालका विद्वान÷साहित्यकार र पत्रकार कृष्णप्रकाश श्रेष्ठले मस्को स्टेट युनिभर्सिटीमा पढ्नुभएको थियो । हाम्रा पूर्वकानुनमन्त्री हाल भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले पनि मस्को विश्वविद्यालयबाट पत्रकारिता तथा सञ्चारसम्बन्धी विषय अध्ययन गर्नुभएको थियो ।
स्टेट युनिभर्सिटीबाहेक सोभियत रुसी राजधानी मस्कोमा अन्य थुप्रै विश्वविद्यालयहरू अद्यापि छन् र थुप्रै प्राविधिक कृषि, मेडिकल इन्स्टिच्युटहरू छन् ।
शिक्षा र साहित्य क्षेत्रमा अध्ययन र अनुसन्धानको लागि सोभियत रुस विश्व प्रसिद्ध थियो । सोभियत सङ्घले लाखौँलाख विदेशी विद्यार्थीलाई उच्च शिक्षा प्रदान गरेको थियो । हाल रुसमा शिक्षा हासिल गर्ने विदेशीले मात्र नभई रुसी नागरिकले पनि पैसा तिर्नुपर्छ ।
नेपालबाट मात्र दसौँ हजार विद्यार्थीहरू निःशुल्क छात्रवृत्ति पाएर सोभियत सङ्घ पढ्न गएका थिए । तत्कालीन सोभियत सङ्घ र अहिले नेपालका कुनै पनि सरकारी निकायहरूमा हेर्न गयो भने सोभियत सङ्घबाट अध्ययन गरी फर्केका इन्जिनियर, प्राविधिक, मेडिकल डाक्टर र वकिलहरू जहाँतहीँ भेटिन्छन् ।
हामी अध्ययन गरिरहँदा आफ्नो अध्ययनकालभरि प्रतिमहिना ९० रुबल छात्रवृत्ति दिइन्थ्यो भने रुसी विद्यार्थीलाई ३५ रुबल दिइन्थ्यो । अनि पूर्वी युरोपका समाजवादी देशहरू जस्तो पूर्वी जर्मनी, हङ्गेरी, पोल्यान्ड, बुल्गेरियाबाट पढ्न आउने विद्यार्थीलाई ६० रुबल दिइन्थ्यो ।
त्यस्तै भियतनाम, चीन, कम्बोडिया लाओसबाट आएका विद्यार्थीले पनि ६० रुबल पाउँथे । मैले बुझेअनुसार यी समाजवादी देशहरूबाट आउने विद्यार्थीको नाममा पनि सोभियत सरकारले ९० रुबल नै छुट्याएको हुन्थ्यो । तर, त्यसमध्ये ३० रुबल उक्त देशको सरकार र पार्टीको लागि छुट्याइएको हुन्थ्यो ।
सोभियत विद्यार्थी र अन्य समाजवादी देशहरूबाहेक नेपाल र इन्डियाजस्तो तेस्रो मुलुकका विद्यार्थी र अरब तथा अफ्रिकी देशहरूबाट आउने विद्यार्थीले पनि ९० रुबल नै पाउँथे । ९० रुबल भनेको त्यसबेलाको सरकारी विनिमयदरअनुसार झन्डै १०० अमेरिकी (यू.एस.) जति हुन्थ्यो । ९० रुबलमा खानबस्न विद्यार्थीको लागि मज्जाले पुग्थ्यो । तर, ३५ रुबलले सोभियत विद्यार्थीको लागि खान लाउन अलि गा¥हो हुन्थ्यो । त्यसकारण, उनीहरू कुनै छुट्टीमा अथवा बिदाका दिन आ–आफ्ना गाउँघर गएर यथासम्भव केही खाद्य पदार्थ र केही रकम लिएर आउँथे । धेरैजसो विद्यार्थी समर भ्याकेसन (गर्मीको छुट्टी) मा २०–२५ जनाको विद्यार्थी बिग्रेड बनाएर विकट गाउँ ठाउँमा गएर निर्माण कार्यमा संलग्न हुन जान्थे र कठोर परिश्रम गरेर वर्षभरिलाई पुग्ने गरी पैसा कमाएर ल्याउँथे ।

सोभियत सङ्घमा पढ्दै गर्दा गर्मीको छुट्टीमा निर्माण ब्रिगेडमा काम गर्दै लेखक सोभियत काजाकस्थानमा
विकट गाउँहरूमा निर्माण परियोजनाहरूमा गर्मीको दुई महिनाको छुट्टीमा गएर काम गर्ने एक सुअवसर थियो । त्यसबेला सोभियत विद्यार्थीको लागि भर्न तत्कालीन सोभियत सङ्घमा देश निर्माण गर्ने यो एउटा राष्ट्रिय अभियान नै थियो । यसले गर्दा सोभियत सङ्घ एक शक्तिशाली राष्ट्र बन्नुमा देशका युवाहरूको ठुलो योगदान र भूमिका पनि थियो ।
सन् १९७४ को समर भ्याकेसनमा ममा पनि निर्माण ब्रिगेडमा सोभियत विद्यार्थीसँग काम गर्न जाने एक विचार सुझ्यो । साधारण विदेशी विद्यार्थीहरूलाई त्यस्ता ब्रिगेडहरूमा लिइँदैनथ्यो । तर, कक्षाका विद्यार्थी साथीहरूसँग मलाई पनि उनीहरूको ब्रिगेडमा सामेल गर्न मैले अनुरोध गरँे ।
ब्रिगेड बनाउनको लागि एक साँझ बैठक बस्यो । हाम्रो होस्टेलमा (छात्रावासमा) २०–२५ जना विद्यार्थी थिए । काम गर्न जाने ठाउँ काजाकस्थानको अर्ध मरुभूिममा एउटा सानो बस्ती निर्माण गरियो । त्यसमध्ये एक म पनि परेँ ।
सोभियत सङ्घमा बसेर अध्ययन गरी ५–६ वर्ष बस्दा त्यो दिन त्यो साँझ मेरो लागि सबै भन्दा खुसी र सुखको दिन भयो । यदि मलाई उक्त ब्रिगेडमा नलिइएको भए म नेपाल फर्कन सक्थेँ या सक्दिनथेँ थाहा थिएन ।
Leave a Reply