भर्खरै :

ग्रामीण क्षेत्रमा बढ्दो सङ्क्रमणमा ध्यान देऊ सरकार !

भारतमा मोदी सरकार ‘खोप कूटनीति’ मा द· पर्दै गर्दा कुन दुलोबाट कतिबेला कोभिड–१९ को दोस्रो लहरको आगो पस्यो, पत्तै लगाउन सकिएन । मोदी ब्युँझिँदासम्म दोस्रो लहर भारतमा समालिन सक्ने अवस्था बाहिर पुगिसकेको थियो । महामारी नियन्त्रणमा ‘सफल’ दाबी गर्दै आत्मतुष्टिले गमक्क फुलेको मोदी सरकारलाई अन्ततः विदेशीसमक्ष स्वास्थ्य पूर्वाधारमात्र होइन, ‘आत्मनिर्भर’ दाबी गरिएको खोपसमेत माग्ने अवस्थामा पु¥याइदियो । मोदीलाई अरू केहीले बिगारेको थिएन, आत्मसन्तुष्टिले बिगारेको थियो । फलतः भारतमा लाखौँ लाख मानिसले अकल्पनीय दुःखको सामना गर्नुप¥यो । नेपाललगायत भारतका छिमेकी देशहरू पनि त्यही कारण दोस्रो लहरको कोपभाजन भोग्न बाध्य भए ।
आत्मसन्तुष्टिको नापोमा तौलिने हो भने नेपालका प्रधानमन्त्री केपी ओली पनि मोदीभन्दा कम छैनन् । आफ्ना कमी कमजोरीलाई स्वीकार्दै तदारुकताका साथ सच्याउनतिर भन्दा पनि दम्भले फुलेर हुँदै नभएको उपलब्धिमा घमण्ड नछोड्दा प्रधानमन्त्रीले नेपाली जनतालाई पनि बारम्बार फसादमा पारेका छन् । वर्ष दिनअघिको पहिलो लहरपछि विज्ञहरूले दोस्रो लहरको सम्भावना औँल्याउँदा पनि सरकारले स्वास्थ्य पूर्वाधार बनाउनमा ध्यान नदिएको वास्तविकता हो । कोभिड–१९ भाइरस महामारीकै रूपमा फैलिँदा काठमाडौँ उपत्यकाभित्रकै स्वास्थ्य पूर्वाधार अपर्याप्त छ भने उपत्यकाबाहिर स्वास्थ्य पूर्वाधारको चर्को अभाव हुने त विज्ञहरूले पटक–पटक चेतावनी दिएका थिए । तर, सरकारको प्राथमिकता कहिल्यै पनि त्यसतर्फ गएन । अन्ततः दोस्रो लहरमा राजधानीमै अस्पतालमा शय्या अभाव र अक्सिजन पाउन नसक्दा बिरामीले जोगाउन सकिने ज्यान पनि गुमाउनुप¥यो । तथापि, प्रधानमन्त्री भने छोटो अवधिमै महामारी नियन्त्रणमा ल्याउन सकेको भन्दै गौरवभावले अन्तर्वार्ता दिइरहेका छन् ।
जेठ महिनाको पहिलो साता अस्पताल भरिभराउ भएकोमा अहिले शय्याहरू खाली हुन थालेको समाचारले सरकार फेरि पनि अन्यत्र बहकिन थालेको छ । विज्ञहरू अझै पनि नेपालमा सङ्क्रमण दर ३० प्रतिशत रहेको तथ्याड्ढ देखाउँदै विपद्को समय नसकिएको चेतावनी दिइरहेका छन् । फरक यति हो, अहिले सङ्क्रमितको सङ्ख्या सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा बढिरहेको छ । कोभिड–१९ पुष्टि होला भनी त्यहाँका जनता पीसीआर परीक्षण गराउन मानिरहेका छैनन् । बरु धामी र झाँक्रीको व्यस्तता बढेको समाचार आइरहेका छन् । कदाचित महामारी ग्रामीण क्षेत्रमा सघनरूपमा फैलिए सहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका जनताको जीवन थप जोखिममा हुनेछ किनभने सहरी क्षेत्रमा कम्तीमा बिरामीले अस्पतालको दैलो टेक्न पाउँछन्, चिकित्सकको अनुहार हेर्न पाउँछन् । तर, भौगोलिकरूपमा विकट, सांस्कृतिकरूपमा असचेत, स्रोतसाधनको उपलब्धताको आधारमा दुर्गम नेपालका ग्रामीण भेगमा रोगले भयानक रूप लिए देशले अझ ठुलो क्षति भोग्नुपर्नेछ ।
सहरका अस्पतालहरूमा कोभिड वार्ड खाली भएको देखाएर आत्मसन्तुष्टिमा रमाएर सरकारले ग्रामीण क्षेत्रमा भित्रभित्र फैलिरहेको सङ्क्रमणलाई बेवास्ता गर्न मिल्दैन । सरकारले तत्काल जोखिममा रहेका ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी पठाएर र स्वास्थ्य पूर्वाधार बढाएर जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न जरुरी छ । सरकारले प्रभावित क्षेत्रमा घुम्ती चिकित्सक र स्वास्थ्य टोलीहरू परिचालन गर्नुपर्छ । दुर्गम क्षेत्रमा स्वास्थ्य चौकी र अस्पतालहरूमा स्वास्थ्य पूर्वाधार बिस्तार गर्न सरकारले तत्कालै जोड दिन जरुरी छ । कोभिड–१९ को रोकथामको निम्ति आवश्यक सावधानीका उपायबारे जनचेतना बढाउन जरुरी छ ।
ढिलो तदारुकताले क्षति बढ्ने कुरा हामीलाई दोस्रो लहरले सिकाएको पाठ हो । सरकारलाई आत्मसन्तुष्टिमा रमाएर निदाउने कुनै छुट छैन । प्रधानमन्त्रीले महामारीविरुद्ध सघन लडाइँ लड्नुपर्ने बेलामा स्वास्थ्य मन्त्री फेरेका छन् । यसले महामारीविरुद्धको लडाइँमा कस्तो प्रभाव पर्ला, छलफलकै विषय होला । तर, व्यक्ति मुख्य कुरा होइन, सरकारको प्राथमिकता प्रमुख कुरा हो । सरकारले तत्कालै ग्रामीण क्षेत्रमा फैलिरहेको घातक सङ्क्रमण रोक्न तत्कालै तदारुकता देखाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *