भर्खरै :

चीनमा ३ वर्षसम्मका बालबालिकालाई पनि कोभिडको खोप

पेइचिङ, ८ जुन । चीनले तीनदेखि १७ वर्ष उमेरका व्यक्तिहरूलाई कोभिड–१९ को खोप दिन थालेको छ । यो उमेर समूहमा खोप दिने चीन पहिलो देश बनेको छ । चीनले सुरक्षा जोखिम र उत्पादन क्षमताको आधारमा पाइला–पाइलामा खोप दिने उमेर विस्तार गरिने बताएको छ ।
चीनको मन्त्रीमण्डलले नेतृत्व गरेको खोप अनुसन्धान र विकास कार्यदलका एक अधिकारीको भनाइ उधृत गर्दै आइतबार चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) लाई दिएको अन्तर्वार्तामा तीनदेखि सत्र वर्ष उमेर समूहलाई पनि खोप दिइने जानकारी दिएका थिए । कार्यदलको सदस्यको नाम भने खुलाइएको छैन ।
उनले उक्त उमेर समूहमा कोभिड–१९ को खोपको प्रभावकारिता र सुरक्षा विज्ञहरूले निश्चय गरिसकेको बताए । चीनमा अहिले पाको उमेर समूहदेखि युवा उमेर समूहमा खोप दिने क्रम चालु छ ।
राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक चेङ यिसिनले यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा चीनको कम्तीमा ७० प्रतिशत जनतालाई कोभिडको खोप लगाइने लक्ष्य रहेको बताए ।
चीनका खोप विज्ञहरूका अनुसार तीन वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई खोप लगाउने चीनको योजनाको मूल लक्ष्य सामूहिक प्रतिरोध क्षमता (हर्ड इम्युनिटी) बनाउनु हो । तर, यो उमेर समूहमा सावधानीका साथ खोप लगाइने बताइएको छ । यो उमेर समूहभित्र पनि विभिन्न उपसमूहलाई अलग अलग बनाएर वा क्वाङचाओ जस्तो यतिबेला भाइरसको जोखिम बढेको स्थानबाट खोप लगाउने कामको थालनी गरिने बताइएको छ ।
बालबालिकालाई ठुलो सङ्ख्यामा खोप लगाउन तत्काल नसकिने कारण भने चीनको खोपको सीमित आपूर्ति हो । चीनभित्र र बाहिर पनि खोपको अत्याधिक माग छ । त्यसबाहेक कति मानिसहरूले दुई मात्रा लगाइसके पनि अभिवृद्धि मात्रा (बुस्टर सट) लगाउनाले पनि खोपको माग बढ्दो छ ।
संसारभर अहिले खोप पाको उमेरबाट क्रमशः तल किशोर उमेरसम्मलाई लगाउने क्रम चालु छ । तीन वर्ष उमेरको बालबालिकालाई पनि खोप दिने संसारकै पहिलो देश चीन भएको छ ।
चीनले चिनियाँ कम्पनी साइनोभाकले उत्पादन गरेको कोभिड–१९ खोप कोरोनाभाक खोप नै ३ देखि १७ वर्ष उमेर समूहको लागि उपयुक्त ठहर गरेको हो । अर्को चिनियाँ कम्पनी साइनोफार्मको खोप पनि सो उमेर समूहको लागि अनुमोदन हुने क्रममा रहेको चीनको खोप उद्योग स·ठनका सभापति फेङ ताओचियाले भने ।
चीनसँगै थाइल्यान्डले पनि तीन वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने विषयमा तयारी गरिरहेको छ । त्यहाँ सोमबारदेखि खोप अभियान सुरु भएको छ ।
गत मे ५ मा क्यानाडाले १२ वर्ष उमेरसम्मका बालबालिकालाई पनि खोप दिने निर्णय गरेको थियो । त्यसयता संरा अमेरिका, बेलायत र सि·ापुरले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाको लागि पनि पीफाइजर÷बायोएनटेक खोप दिने निर्णय गरेका छन् ।
अमेरिकी कम्पनीहरू पीफाइजर÷बायोएनटेक र मोर्डनाले पनि बालबालिकामा प्रयोग हुन सक्ने खोपबारे अनुसन्धान गरिरहेको छ ।
संरा अमेरिकाका सरुवा रोग विज्ञ एन्टोनी फाउसीले यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा स–साना नानीहरूको लागि पनि कोभिड–१९ को खोप बन्न सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *