भर्खरै :

अन्धविश्वासको युद्धमा विज्ञानको विजय !

केही दिनअगाडि मेरा एकजना मित्र कोभिड–१९ निको भइसकेपछि अस्पतालबाट डिस्चार्ज भए । डिस्चार्ज हुन लागेको दिन बिरामी घरबाट निस्किएको नवौँ दिन परेको रहेछ ! एक दिन थप गरे, अस्पतालमै बसे, मेरा मित्र पठित नै हुन् । अर्को उदाहरण छ – एउटा बालक आफ्नो मामाघरमा केही दिन बस्न गएको थियो । एकदिन बालकले आफ्नो घर फर्किन खोज्यो तर फर्कन दिइएन । त्यो दिन ऊ मामाघर पुगेको नवौँ दिन भएको रहेछ । नवदुर्गा मान्ने, नौ ग्रहको पूजा गर्ने, नवरातको पुजा गर्ने, नौ दिनसम्म गाईजात्रा मनाउने, नौ दिन बिस्का जात्रा मनाउने समाजमा हुर्किएका मानिसमा यस्ता पुरातन विचार कसरी बाँकी रहिरहेका होलान्, विचारणीय छ ।
पहिलेदेखि नै चलिआएको रीतिरिवाज एवम् परम्परा भनेर कुनै विचार नगरी त्यसप्रति गरिने सभक्ति समर्पण नै अन्धविश्वास हो । आँखा चिम्लेर विश्वास गर्नु नै अन्धविश्वास हो । अर्काको हाहामा लाग्नु पनि अन्धविश्वास हो । प्रश्नै नगर्ने संस्कृतिबाट अन्धविश्वास फैलिन्छ । स्थापित मूल्य र मान्यताप्रति आलोचनात्मक दृष्टिकोण नराख्दा अन्धविश्वासले नै मलजल पाइरहन्छ ।
नेपाली समाज अन्धविश्वासमा कति जकडिएको छ भन्ने कुराको पुष्टि गर्न हजारौँ उदाहरण दिन सकिन्छ । जब कोही महाविद्यालय वा विश्वविद्यालयको प्रमाणपत्रधारी व्यक्ति नै अन्धविश्वासमा रुमलिएको हुन्छ र उसले कसैको ज्यानसमेत जोखिममा पार्दछ भने त्योभन्दा दुःखद, टिठलाग्दो, विवेकशून्य कुरा अरू के होला !
कोभिड–१९ को महामारीसँग लड्न आधुनिक चिकित्सा विज्ञानमात्र सफल छ भन्ने कुरा पुनः प्रमाणित भएको छ । विज्ञानको दुरुपयोग गर्नेका कुरा छोड्ने हो भने विज्ञानकै कारण मानव सभ्यताले समृद्धिको बाटो समातेको हो । साथै, अन्धविश्वासका काँडा निकाल्दै फाल्दै विज्ञानले आफ्नो यात्रा जारी राखेको छ ।
अन्धविश्वासको कालो बादल नफाटी उज्यालो घाम लाग्दैन । कुहिएको आलु निकालेर फाल्छौँ, दूधमा परेको झिँगा निकाल्छौँ र फाल्छौँ, पिलो निचोरेर फाल्छौँ । तर, अन्धविश्वास सेतो र कालो बीचको खैरो (ग्रे) क्षेत्रमा रमाउन खोज्छ । विज्ञान र नक्कली विज्ञान, झूट र सत्यको धमिलो क्षेत्रमा अन्धविश्वासका किरा बढ्ता रमाउँदा रहेछन् । झूट र अर्धसत्यबीच अन्धविश्वास रमाउन खोज्छ । भ्रमको पर्दाले छोपिएपछि कस्ताकस्ता मानिस अलमलिँदा रहेछन् ।
अन्धविश्वासको समाजविज्ञान के हो ? अन्धविश्वासको जग के हो ? अन्धविश्वासमा आधारित संस्कार र संस्कृति के हुन् ? सुसंस्कार र कुसंस्कार कसरी छुट्याउने ? के अन्धविश्वास र देशको राजनीतिक प्रणाली अन्तरसम्बन्धित छन् ? शासकहरू कसरी जनतालाई अन्धभक्त बनाउँछन् र जनतामाथि शासन चलाउँदा रहेछन् ? अन्धविश्वासको रूपरङ्ग कसरी छुट्याउने र त्यसलाई कसरी पन्छाउने ? विज्ञानले अन्धविश्वास कसरी चिरिरहेको छ ? यी प्रश्नहरू पर्गेल्न सरल छैन । यसको निम्ति विहङ्गम दृष्टि र बहसको आवश्यकता छ ।
अन्धविश्वासको सिकार ग्यालिलिओ
‘बाइबल परम सत्य हो । बाइबलले भनेकै सत्य हो, बाइबलले जे झूट भन्यो त्यही नै झूट हो ।’ इसाई धर्मान्धको सार हो यो । त्यस्तै हिन्दु धर्ममा भनिन्छ ‘ईश्वरमात्र सत्य हो, अरू सबै झूट हो ।’ मुस्लिम धर्ममा ‘अल्लाहले जे भने त्यही कुरा अकाट्य’ हुन्छ । संसार परिवर्तनशील छ, विचार पनि परिवर्तन हुन्छ भन्ने साश्वत कुरालाई अस्वीकार गरी धर्मग्रन्थहरूलाई सर्वश्रेष्ठ, अपरिवर्तनीय र परम सत्य मान्नु नै अन्धविश्वासको जग हो ।
सूर्यले पृथ्वीको परिक्रमा गर्छ भन्ने चर्चको तर्कलाई पूर्णतः असत्य प्रमाणित ग¥यो विज्ञानले । ईशापूर्व पाँचौँ शताब्दीका ग्रीक दार्शनिक प्लेटो प्रतिपादित र पछि प्लेटोका शिष्य अरिस्टोटलले पुनःपरिभाषित गरेको पृथ्वीकेन्द्रित सिद्धान्तलाई चर्चले सत्य मान्दै आएको थियो । चर्चको मान्यताविपरीत बोलेकोमा रोमको धार्मिक अदालतले ग्यालिलिओलाई सजाय दिएको थियो ।
ग्यालिलिओका एक शिष्यले फ्लोरेन्सका अधिकारीसमक्ष पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने ग्यालिलिओको निष्कर्ष इसाई धर्मग्रन्थविपरीत भएको भन्दै उजुरी गरे । एउटा सार्वजनिक चिठी लेखेर ग्यालिलिओले पनि तत्कालै बाइबलको व्याख्या विज्ञानको विकाससँग मेल खाने हुनुपर्छ भन्दै प्रतिवाद गरे । तर, ग्यालिलिओलाई धर्मविरोधीको आरोप लगाई रोमको धार्मिक अदालतमा उभ्याइयो ।

रोमको धार्मिक परिषद्ले निकोलस कपर्निकसको किताब अध्यापनमा प्रतिबन्ध लगायो । धार्मिक गुरुहरूले ग्यालिलिओलाई पृथ्वी घुम्छ भन्ने विचार त्याग्न चेतावनी दिए । धर्मगुरुहरूले कुनै विचार सही र गलत छुट्याउन बाइबलसँग दाँजेर हेरिनुपर्छ भन्ने तर्क गरे । कपर्निकसको सूर्यकेन्द्रित सिद्धान्तलाई प्रमाणित गरी देखाएपछि ७० वर्षका ग्यालिलिओ लाई जबरजस्ती माफी माग्न लगाइयो । उनका पुस्तक पढ्न र पढाउन पनि प्रतिबन्ध लगाइयो । उनलाई घरबाट धेरै टाढा अनिश्चित कालसम्म नजरबन्दमा राखियो । उनलाई कुनै वैज्ञानिक खोज–अनुसन्धान गर्न र पुस्तक लेख्न पूर्णतः प्रतिबन्ध लगाइयो । तर, उनको अनुसन्धान कार्य रोकिएन । आफ्नो वैज्ञानिक अनुसन्धानको सारसहित ‘डिस्कोर्सेस् कन्सर्निङ टु न्यु साइन्सेस्’ पुस्तक लेखे ग्यालिलिओले ।
धर्मले बाइबल, कुरान, त्रिपिटक, पुराणजस्ता ग्रन्थमा जे लेखिएको छ त्यसलाई ज्ञानको स्रोत मान्छन् । यिनै ज्ञानबाट दीक्षितहरूले अन्धविश्वासको प्रचारप्रसार वा पुनःउत्पादन गरिरहेका छन् । निरन्तर अभ्यास गर्दै समाज अन्धविश्वासमा आधारित कुसंस्कारलाई पनि स्वाभाविक र आधारभूत संस्कृतिको रूपमा स्वीकार गर्छ । अन्धविश्वास पनि जीवनपद्धतिमा रूपान्तरण हुन्छ । यसरी जकडिएको अन्धविश्वासको जरा सजिलै भने उखेलिँदैन ।
तर, रोकिएन आइन्स्टाइनको यात्रा
यहाँनिर बीसौँ शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन कसरी नाजी जर्मनीबाट प्रताडित भए भन्ने कुरा गरौँ ! हिटलर नेतृत्वको नाजी जर्मनीमा सन् १९३३ मे १० मा २५ हजार पुस्तक जलाइयो । अराष्ट्रिय, जर्मनविरोधी, माक्र्सवादी, उदारवादी भएको आरोपमा जर्मनीका अमूल्य हजारौँ पुस्तक जलाइएको थियो । नाजी पार्टीले जर्मन उत्कृष्ट जाति, शुद्ध रगत भएको र अन्य मानिस तल्लास्तरका (सब ह्युमन) हुन् भनेर प्रमाणित भएको भन्दै विज्ञानका नक्कली प्रमाण पेस गर्दै प्रचार ग¥यो । कतिसम्म भने सेतो चन्द्रमा देखाएर चन्द्रमा हिउँले बनेको र विश्व नै हिउँले बनेको भन्दै ‘संसार हिउँ सिद्धान्त’ प्रतिपादन गर्ने एकजना तथाकथित वैज्ञानिकलाई सम्मान गरियो नाजी जर्मनीमा । नाजीवाद (फासीवाद) पढाउन थालियो विद्यालय तथा विश्वविद्यालयमा ।
तर, अल्बर्ट आइन्स्टाइनले हिटलरको फासीवादको आलोचना गरे । त्यसपछि आइन्स्टाइनका अनुसन्धानपत्रहरू जलाइए । कम्युनिस्टसँग मिलेर देशविरुद्ध षड्यन्त्र गरेको आरोप लागाइयो । उनलाई देशद्रोही भनेर प्रचार गरियो ।
आइन्स्टाइनले बाध्य भएर जर्मनीको प्रतिष्ठित प्रसिअन एकेडेमी अफ साइन्स, बर्लिनबाट राजीनामा गरे । उनीमाथि हत्याको आशङ्का बढ्यो । जियोर्दानो ब्रुनोको हत्यापछि आइन्टाइन त्रस्त हुनु स्वाभाविक थियो । आइन्स्टाइनले देश छोड्ने निर्णय गरे, उनले नागरिकता पनि त्यागे । उनी बेल्जियम निर्वासनमा गए । उनले बेल्जियममा कडा भूमिगत जीवन बाँच्नु प¥यो ।

आइन्स्टाइनका मित्र दार्शनिक थियोडोर लेसिङको सन् १९३३ अगस्त ३० मा हत्या गरियो । तर, हत्यारालाई नाजी पार्टीले स्वागत ग¥यो । नाजी जर्मनी आइन्स्टाइनको पनि हत्या गर्न चाहन्थ्यो । आइन्स्टाइनको हत्या गर्ने जो कसैलाई पनि पुरस्कार दिने घोषणा गरियो । प्रचारमन्त्री गोयबल्सले आइन्स्टाइनको तस्बिरमा ‘नट एट ह्याङ्ग्ड’ शीर्षक दिएर अखबारमा सूचना छपाए ।
बेल्जियमबाट भागेर बेलायत पुगे आइन्स्टाइन । बेलायतको सुदूर गाउँमा बसेर उनले ‘युनिफाइड फिल्ड सिद्धान्त’ को प्रतिपादन गरे । आइन्स्टाइनले प्रसिद्ध सापेक्षतावादको सिद्धान्त तथा पारमाणविक ऊर्जाको सिद्धान्त निर्वासनमै पत्ता लगाए । फासीवादविरुद्ध यो एक वैज्ञानिकको सङ्घर्ष थियो । आज पनि यस्ता सङ्घर्षको महत्व महसुस गरिएको छ, रूप फरक हुनसक्छ ।
नेपाली समाजमा अन्धविश्वास
नेपालमा ८१.३ प्रतिशत नेपाली हिन्दु धर्मावलम्बी छन् (जनगणना, २०६८) । बाँकी बौद्ध, इस्लाम, किराँतलगायत छन् । लगभग शतप्रतिशत नागरिकले कुनै न कुनै धर्म अवलम्बन गरेका रहेछन् । धर्मले बाँधिएको समाजमा कुनै न कुनै रूपका अन्धविश्वास हुने नै भए । विभिन्न धर्म मानवलाई शिष्ट र असल बनाउने उद्देश्यले पनि स्थापित गरिए । चोरी गर्नु पाप हो, अरूलाई बिनाकाम दुःख नदिनू, नढाँट्नू, छलकपट नगर्नू भन्ने उपदेश ठिकै हो ।
‘भाग्यवाद र विकास’ पुस्तकमा डोरबहादुर विष्टले लेखेका छन् – “धर्म भन्नाले कर्तव्य, सदाचार, नैतिकता, नियम, गुण र पवित्र कार्यहरू पनि बुझिन्छ ।” विष्टले सो पुस्तकमा भाग्यवादको पनि चर्चा गरेका छन् । हरेक व्यक्तिको भाग्य जन्मनुपूर्व निर्धारित हुन्छ, यदि कुनै व्यक्ति सुखी र सफल छ भने त्यो उसको पूर्वजन्मको कमाइ हो, यसलाई कर्म भनिन्छ । नेपाली ‘लेखेको मात्र पाइन्छ, देखेको पाइँदैन’ भन्नेमा विश्वास गर्छन् । संसारको रचयिता कुनै अदृश्य शक्ति छ, पालनकर्ता र संहारकर्ता पनि त्यही शक्ति हो भन्ने नेपालीजनको विश्वास पनि अन्धविश्वास नै हो ।

कोभिड महामारीमा पनि अन्धविश्वासको खेती रोकिएन । कोरोना भगाउने नाममा शङ्ख फुक्ने, घण्टी बजाउने, दीप प्रज्ज्वलन गर्ने, थाली बजाउने, गाईको गोबर र मूत्रले नुहाउने, कोरोनामाईको पूजा गर्ने, इनारमा पानी फाल्ने, घरअगाडिको कालो माटोको टीका लगाउने हल्ला चलाइयो । राज्यका महत्वपूर्ण पदधारीले समेत यस्ता दुष्प्रचार गर्दा सर्वसाधारण नागरिक रनभूल्लमा परे । कतिपयले कागतीको रस नाकमा राखे र ज्यान गुमाए, बेसारपानीले निको हुन्छ भनेर बस्दा कतिपयको ज्यान गयो ।

श्रीमान्को दीर्घायुको निम्ति गरिने कुनै पूजापाठ वा ब्रत होस् वा कन्यादान परम्परा होस्, पुरुषले जति प्रताडना दिएपनि उसैलाई रिझाएर बस्नुपर्ने मान्यता, छाउपडि मान्ने प्रचलन होस् वा दाइजो प्रथा, पुरुषलाई मन नपरे ‘तलाक’ दिने प्रचलन, महिलाले बुर्का वा घुम्टो लगाउने चलन पितृसत्ताका अभिव्यक्ति हुन् । पितृसत्ताको जग पनि धर्ममै अडिएको छ । जन्मिँदै कोही छुत वा अछुत कसरी हुनसक्छ ? तल्लो र माथिल्लो जातको मापदण्ड रगतमात्र हो र ? यी प्रश्नको उत्तर पनि धर्मशास्त्रले निर्धारण गरेका रहेछन् ।
नेपालको जनसङ्ख्याको करिब २२ प्रतिशत १८ वर्षमुनिका बालिका छन् । करिब ९० प्रतिशत किशोरीले महिनावारी बार्ने संस्कार धानिरहेका छन् । यसैक्रममा विभेदको सिकार हुन्छन् किशोरीहरू । विभिन्न यौन हिंसाको सिकार हुन्छन् किशोरीहरू । तिनीहरू विद्यालय पनि जान पाउँदैनन्, पढाइ छुट्छ । आर्थिकरूपमा कमजोर किशोरीको निम्ति उचित स्वास्थ्य सामग्रीको बन्दोवस्त छैन । केही शिक्षित वा प्रगतिशील महिलाले यस्तो कुसंस्कारलाई चुनौती दिएपनि यसले व्यापकता पाउन सकेको छैन । गाउँहरू त अगम्य नै छन् ।
एक्काइसौँ शताब्दीसम्म आइपुग्दासम्म रोगका कारण वा कारक तत्वबारे विज्ञानले सप्रमाण धेरै छर्लङ्ग पारिसकेको छ । तर, भूतप्रेतको धारणा आज पनि बलवान् छ । बोक्सीको आरोपमा निर्दोष गरिब महिलाले कुटाइ खाइरहेका छन् । धामी र झाँक्रीप्रतिको विश्वास टुटेको छैन अथवा तिनको तथाकथित उपचारको विकल्प राज्यले दिन सकेको छैन । ‘भूत मन्साउन’ रातो भाले काटिन रोकिएको छैन ।

संस्कारमा गरुडपुराण वाचन भइरहेकै छ वा मनोकांक्षा पूरा गर्न सत्यनारायणको पूजा पनि चलिरहेकै छ । कुल रक्षाको लागि ढुङ्गाको देउतामा हजारौँ बोकाको बलि चढिरहेको छ । नयाँ सवारीसाधनमा बलि चढाउने परम्परामा रोकिएको छैन ।
कतिपय राजनीतिक नेताहरूसमेत तथाकथित बाबाहरूको बुटी लगाउन लाइन लागेको समाचार आइरहन्छ । कुनै ज्योतिषको भविष्यवाणीको आधारमा प्रमकोे सपना देख्ने नेता पनि नेपालमै जिवित छन् ¤ कालो बोका काटेर प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने ‘कम्युनिस्ट’ नेता मनमोहन अधिकारीदेखि भैँसी पूजा गर्ने प्रचण्डसम्मले अन्धविश्वासलाई मलजल गरिरहेका छन् ।
अन्तमा,
कोभिड महामारीमा पनि अन्धविश्वासको खेती रोकिएन । कोरोना भगाउने नाममा शङ्ख फुक्ने, घण्टी बजाउने, दीप प्रज्ज्वलन गर्ने, थाली बजाउने, गाईको गोबर र मूत्रले नुहाउने, कोरोनामाईको पूजा गर्ने, इनारमा पानी फाल्ने, घरअगाडिको कालो माटोको टीका लगाउने हल्ला चलाइयो । राज्यका महत्वपूर्ण पदधारीले समेत यस्ता दुष्प्रचार गर्दा सर्वसाधारण नागरिक रनभूल्लमा परे । कतिपयले कागतीको रस नाकमा राखे र ज्यान गुमाए, बेसारपानीले निको हुन्छ भनेर बस्दा कतिपयको ज्यान गयो । कोभिड रोगसँग डराउनु पर्दैन, यो रोग सामान्य रुघाखोकीमात्र हो भन्ने नेपालका प्रम ओलीले पनि आफूलाई सच्याउनुपर्ने परिस्थिति आयो । नेपालीले दादुरा, भ्यागुते रोग, धुनष्टङ्कार आदिको खोप लगाएका कारण कोभिड रोग लाग्दैन, नेपाली धुलो र धुवाँमा अभ्यस्त भएकाले यो रोगले छुँदैन, रुघाखोकीलाई पचाउने नेपालीले कोभिडलाई पचाउँछन् आदि प्रचार गरियो । त्यस्तै, औषधी र खोपको व्यापार गर्ने गिरोहले महामारीको सन्त्रास फैलाएको भन्ने आरोप पनि सुनियो । यसैलाई विश्व स्वास्थ्य सङ्गठनले इन्फोडेमिक वा गलत सूचनाको महामारी भनेको छ । यस्ता प्रचारको सिकार कोही नहोस् भन्ने कुरामा नागरिकहरू, स्थानीय तह र सरकार अति सचेत हुनु जरुरी छ ।
कोभिड–१९ बाट धामीझाँक्री, पुजारी, पुरोहित, फादर, मुल्लाह पनि मरेका छन् । यस महामारीमा अन्धश्विास एक हदसम्म मरेको छ, यसले विज्ञानलाई मान्नुपर्ने जग केही बलियो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *