भर्खरै :

अध्यक्ष बिजुक्छेँद्वारा जनताको सहयोगबाट निर्मित ख्वप अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन

भक्तपुर, १ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नपाले सञ्चालन गरेको ख्वप अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन मङ्गलबार एक समारोहबीच गर्नुभयो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले कोभिड महामारीविरुद्धको लडाइँमा संसारका धनी र विकसित देशहरूलाई समेत कठिन भएको बताउँदै भक्तपुर नपाका जनप्रतिनिधिहरूले समयमै सक्रियतापूर्वक जनताको हितको निम्ति जनताकै सहयोगमा अक्सिजन प्लान्ट जडान गरिनु प्रशंसनीय भएको बताउनुभयो ।
नेमकिपाले नेपालको सातवटै प्रदेशहरूमा सुविधासम्पन्न अस्पतालहरू बनाउनुपर्ने पक्षमा आवाज उठाउँदै आइरहेको बताउँदै उहाँले जनताबाट प्राप्त भएको आर्थिक र भौतिक सहयोगबाट निर्मित अक्सिजन प्लान्टले व्यापक जनताकै हित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नेपाल भारतबीचको सीमा नाकामा समयमै आवश्यक निगरानी, चेकजाँच र कडाइ गर्न नसक्दा नेपालमा कोभिड १९ को सङ्क्रमण महामारीको रूपमा फैलिएको बताउँदै उहाँले यसमा सरकार नै दोषी भएको बताउनुभयो ।
समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भिन्नताबारे प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले महामारीको समयमा समाजवादी देशहरूले जनताको जीवनरक्षामा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।
जनताको जीवनरक्षामा सरकार चुकेको बताउँदै अध्यक्ष बिजुक्छेँले जनतालाई सामुदायिक र निजी संस्थाहरूबीचको भिन्नता र महत्वबारे सचेत पार्नुपर्ने र समाजमा आमूल परिवर्तनको निम्ति जनतालाई नै राजनैतिकरूपले सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र अन्य स्वास्थ्य उपकरणहरू व्यवस्था गर्नको निम्ति जनता आफै अग्रसर हुनु जनप्रतिनिधि र जनताबीच एकताको प्रमाण भएको बताउनुभयो ।
सङ्कटको बेला जनताले नगरपालिकाबाट बढी सहयोगको आशा गर्नु स्वाभाविक भएको बताउँदै प्रमुख प्रजापतिले कोभिडको दोस्रो लहरको सङ्केत भक्तपुर नगरपालिकामा देखा पर्नेबित्तिकै गत वैशाख १७ गतेदेखि नै ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्याइएको बताउनुभयो ।
ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्न रु. १ करोड ४१ लाख २५ हजार ल.ई. स्वीकृत भएकोमा हालसम्म रु. १ करोड २३ लाख ३६ हजार रूपैयाँ खर्च भएको तथ्य प्रस्तुत गर्दै उहाँले ख्वप अस्पतालले दिने सेवा सुविधा सरल र सहज बनाउने प्रयत्नरत रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले जनताको सहयोगबाट जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन व्यापक जनताकै हितको निम्ति प्रयोग हुने बताउनुभयो ।
उहाँले ख्वप अस्पताललाई जनताको अस्पतालको रूपमा सञ्चालन गर्ने उद्देश्यअनुरूप नगरपालिका लागिपरेको बताउँदै मानव जीवन रक्षा गर्ने अक्सिजन प्लान्ट नगरपालिकाको लागि गौरवको कार्य भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले अक्सिजन प्लान्ट खरिद प्रक्रियाबारे अवगत गराउँदै महामारीको मौका छोपी कृत्रिम अक्सिजन अभावको स्थिति सृजना गरी कालोबजार गर्नेहरूलाई अपराधीको संज्ञा दिनुभयो । उहाँले भक्तपुरवासी जनताको अपार माया र सहयोगकै कारण अक्सिजन प्लान्ट स्थापना निर्धारित समयमै बन्न सम्भव भएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले अक्सिजन प्लान्टको खरिद प्रक्रिया र जडानको प्राविधिक पक्षमाथि प्रस्ट पार्नुभयो । उहाँले सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको १०० देखि १२० सिलिन्डर अक्सिजन उत्पादन हुने बताउनुभयो ।
जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले ख्वप अस्पताल कोभिड युनिट र जनस्वास्थ्य केन्द्रका कोभिड सङ्क्रमित बिरामीको अवस्था र अस्पतालबाट बिरामीहरूको सेवासम्बन्धी भइरहेको गतिविधिबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
‍‍‍‍‍‍‍‍‍‍‍‍‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *