भर्खरै :

४० लाख ४३ हजारले लिए प्यान नम्बर

काठमाडौँ, ६ असार । पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४० लाख ४३ हजार ७९४ ले प्यान लिएका छन् । प्यान लिनेको सङ्ख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानुनअनुसार लाग्ने कर तिर्ने सङ्ख्यामा बढोत्तरी भएको देखिन्छ ।
मन्त्रालयका अनुसार सो अवधिमा दर्ता भएका कूल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५८६ रहेका छन् । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर नौ हजार १३४ पुगेको छ । मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाताको सङ्ख्या दुई लाख ८८ हजार ७०८ पुगेको छ । उता, अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या एक लाख ११ हजार ४९१ पुगेको छ ।
सात खर्ब ६१ अर्ब बराबरको राजस्व उठ्यो
कोरोनाको नियन्त्रणको लागि देशव्यापीरूपमा निषेधाज्ञा जारी गरिएको भए पनि वैशाखसम्म कुल रू. सात खर्ब ६१ अर्ब बराबरको राजस्व उठेको छ । मन्त्रालयका अनुसार कुल राजस्व परिचालन गन आवको सोही अवधिको तुलनामा २५.४ प्रतिशलते वृद्धि भएको हो । कुल राजस्वमा कर राजस्व रू. सात खर्ब नौ अर्ब ६२ करोड रहेको छ । यस्तै, गैरकर राजस्व रू. ५१ अर्ब ३८ करोड रहेको छ । सो अवधिमा अन्य प्राप्तिसहित कुल राजस्व र प्राप्ति रू. सात खर्ब ९७ अर्ब ३३ करोड रहेको छ ।
गत वैशाख मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा सम्पूर्ण शीर्षकको कर राजस्वमा वृद्धि भएको छ भने गैर कर राजस्व सङ्कलनमा कमी आएको छ । कोभिड १९ को महामारीको समयमा समेत वस्तुको पैठारी निरन्तर भइरहेकोले भन्सार बिन्दुमा सङ्कलन हुने कर राजस्वमा वृद्धि भएको हो ।
शीर्षकगत लक्ष्यमा आन्तरिकतर्फको मूल्य अभिवृद्धिकर, भन्सार महसुल र अन्य कर शीर्षकको राजस्व लक्ष्त्न्दा बढी सङ्कलन भएको मन्त्रालयले जनाएको छ । समग्रमा राजस्व सङ्कलन ९४.६ प्रतिशत रहेको छ । यस अवधिमा भन्सार बिन्दुमा सङ्कलन भएको कर राजस्व ३८.३ प्रतिशतले बढेर रू. तीन खर्ब ४८ अर्ब ३० करोड पुगेको छ । यस्तै, आन्तरिकतर्फको कर राजस्व २०.५ प्रतिशतले बढेर रू. तीन खर्ब ६१ अर्ब ३२ करोड पुगेको छ ।
दुई खर्ब बढी बढी वैदेशिक सहायता प्रतिबद्धता
मन्त्रालयका अनुसार वैशाख मसान्तसम्म रू. दुई खर्ब दुई अर्ब २८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ । गत आवको सोही अवधिमा तुलनामा रू. एक खर्ब ४९ अर्ब ५० करोड बराबरको प्रतिबद्धता प्राप्त भएको थियो ।
उक्त प्रतिबद्धतामध्ये अनुदान सहायता १०.९ प्रतिशत र ऋण सहायता ८९.१ प्रतिशत रहेको छ । वैदेशिक सहायता प्रतिबद्धतामा द्विपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः ४.७ प्रतिशत र ९३.३ प्रतिशत रहेको छ । कुल वैदेशिक सहायता प्रतिबद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७ प्रतिशत, ऊर्जा क्षेत्रमा २२.९ प्रतिशत र बजेटरी सहायतामा ११.७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *