भर्खरै :

आचरण नसुध्रिएका शासकहरू

कुनै पनि काम राम्रोसित गर्ने सीपलाई कला भनिन्छ । भाषण गर्न जान्नु पनि एउटा विशेष कला नै हो । यस्तो कला २०४६ साल चैत २६ गते बहुदलीय व्यवस्था घोषणा भएपछि उदाएका कम्युनिस्ट नेताहरूमध्ये मदन भण्डारीमा बढ्तै थियो । उनको आकर्षक व्यक्तित्वसँगै मीठो बोली र हाउभाउसहितको जोशिलो भाषणले त्यतिखेर धेरै नेपालीलाई आकर्षित ग¥यो । खासगरी सोही कलाकै कारण २०४८ साल वैशाख २९ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा उनले तात्कालिक अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएका थिए । ‘कम्युनिस्टहरू दलीय मान्यतामा विश्वास गर्दैनन्’ भन्ने कुरालाई चिर्दै उनले उठाएको जनताको बहुदलीय जनवाद (जबज)ले धेरै लोकप्रियता पायो । रहस्यमय तरिकाले २०५० साल जेठ ३ गते ‘दासढुङ्गा दुर्घटना’ मा उनको दुःखद निधन हुनुलाई कतिपयले नेपाली राजनीतिमा अपूरणीय भएको मान्छन् ।
विशेषगरी मदन भण्डारीले चिनाएको एमालेलाई, मनमोहन अधिकारीको आदर्शमय जनमुखी अनुहारले लोकप्रियताको चुलीमै पु¥याएको हो । गिरिजाप्रसाद कोइरालामा देखिएको हठले गर्दा नेपाली काङ्ग्रेसमा अहमत्याइँ चुलिएपछि ,२०५१ कार्तिक २९ गते सम्पन्न भएको प्रतिनिधिसभाको मध्यावधि चुनावबाट नेकपा एमाले ठूलो पार्टीका रूपमा स्थापित भयो । योसँगै २०५१ मंसिर १३ गते अल्ममतको सरकारको नेतृत्व गर्दै मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि जनतालाई प्रत्यक्ष राहत दिने गरी सुरु भएको वृद्धभत्ताको चर्चा अझै पनि छ , खासगरी प्रतिपक्षलाई गाली गर्दा र चुनावताका भोट लिने कामका लागि । अशक्त वृद्धवृद्धा मतदाताहरू अझै पनि ‘वृद्धभत्ता जसले दिएको हो उसैलाई मत दिने’ भन्दै छन् । देश विकासको वास्तविक सुरुवात आफ्नै पालामा भएको हो भनेर नेपाली कम्युनिस्टद्वारा उदाहरण दिइने अर्को कार्यक्रम ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ पनि हो । ‘सस्तो लोकप्रियताका लागि’ भनिए पनि, त्यो बेलामा जनतालाई प्रत्यक्ष राहत दिलाउने त्यो शुरुआती कार्यक्रम नै थियो ।
तर, मनमोहनको सरकारको यस्तो लोकप्रिय कार्यक्रमले कम्युनिस्टलाई नै चित्त बुझेनछ ! २०५२ साल माघ २१ गते प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा कम्युनिस्टकै एक घटक तत्कालीन संयुक्त जनमोर्चा नेपालले सरकारसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित ४० सूत्रीय मागहरू राखेर ज्ञापनपत्र बुझायो । तोकिएको समयमा माग पूरा नभएपछि माओवादी भनिने उक्त समूह २०५२ साल फागुन १ देखि जङ्गल पसे र दश वर्षसम्म ‘जनयुद्ध’ मच्चाए । गणतन्त्र प्राप्तिपछि अहिलेसम्म सातवटा कम्युनिस्ट सरकार बनिसक्दा पनि सुरुमा आफैँले राखेका ती असल तथा जनमुखी मागहरू आफैँले पूरा गर्न सकेका छैनन् । यसबाट के प्रस्ट हुन्छ भने नेपालका ‘कम्युनिस्ट नेता’ हरू सिद्धान्त, भाषण र नारामा मात्र जनमुखी, जनजीविका, जनताको नाम जोडी आकाशपातालका कुरा गर्छन् । तर तिनीहरूको मुख्य ध्येय सत्ता र स्वार्थमात्र हो । परिणामतः माथिदेखि तलसम्मका सर्वहारा कम्युनिस्ट नेताको जीवनशैली र दिनचर्या बडो ऐयासी र विलासी बन्न थालेको छ । अझ यो सरकारको पालामा आएर त भ्रष्टाचारको ग्राफले ‘ऐतिहासिक फड्को’ नै मा¥यो । यति होल्डिङ काण्ड, पीसीआर भ्रष्टाचार काण्ड, वाइड बडी भ्रष्टाचार काण्ड, बालुवाटार जग्गा काण्ड, ओम्नीको भ्रष्टाचार काण्ड, नक्कली कीट काण्ड, आयोजनामा कमिसन काण्ड, ट्रस्टको भ्रष्टाचार काण्ड, बाँस्कोटाको ७० करोड काण्ड, सिन्डिकेटको संरक्षण काण्ड, सांसद अपहरण काण्ड, दल फुटाउने काण्ड, एमाले दर्ता काण्ड, ज्यान मार्ने धम्की काण्ड, राष्ट्रघाती एमसीसी काण्ड, असंवैधानिक नियुक्ति काण्ड, भण्डारी फाउन्डेसन काण्ड, मिडिया विधेयक काण्ड, गुटको संरक्षण काण्ड, अपराधीलाई उन्मुक्ति काण्ड, सांसद अधिवेशन बन्द काण्ड, न्यायाधीशमाथि धम्की काण्ड, विकल्पहीन लकडाउन काण्ड, विद्युत् प्राधिकरणमा सालो नियुक्ति काण्ड, पर्सामा चौरसिया हत्या काण्ड, रअ प्रमुख भेट काण्ड, चुच्चे नक्सा हटाउने काण्ड, पुस्तक छाप्न रोक्ने काण्ड, गालीगलौज काण्ड, कोभिडमा भ्रष्टाचार काण्ड, डा. खतिवडा नियुक्ति काण्ड, असक्षमहरूको भर्ती काण्ड, नागरिकता विधेयक काण्ड, दुईदुई पटक प्रतिनिधिसभा विघटन काण्ड, चुरेका ढुङ्गा गिटी बालुवा निकासी गराउने काण्ड आदि चर्चामा आएका काण्ड हुन् । अनेक भ्रष्टाचार, काण्ड, अपचलन र बार्गेनिङमा सक्रिय रहेका दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा काखी च्याप्ने र टाउकोमा बोक्ने काम भयो । दुईतिहाइ नजिकको जनमत पाएर पनि एकीकृत भएको भनिएको कम्युनिस्ट पार्टीले आफ्नो जिम्मेवारी र जनमतको सानो अंश पनि ख्याल गरेन । स्वार्थका कारण मन नमिल्दा, आरोप–प्रत्यारोप लगाई पोल खोलाखोल गर्ने अनि स्वार्थ मिल्नासाथ अनेक देशघाती कुकर्महरूलाई भुसुक्क भुल्दै ‘महान् एकता’ भनेर तस्बिर राखिहाल्ने बानीले गर्दा यी ‘कम्युनिस्ट नेताहरू’ प्रतिको नेपाली विश्वास हराएको छ ।
आर्थिक समृद्धि र विकासका लागि आधारभूत काम गर्ने कुरो त छँदै थियो । कोरोना महामारीको बेलामा मन लाएर काम गर्नुपर्ने बेलामा पनि एमाले–माओवादीहरूको झगडा टुङ्गिएको छैन । अनेक निहँु, सर्त, बहाना, धम्की, सान्त्वनाका स्वार्थरूपी पुरानै प्रवृत्तिजन्य कुराहरू घुमिरहेका छन् । न्यायपालिकासमेत कार्यपालिकाको छायामा प्रभावित भएको यो बेलामा, जसपाको एउटा समूहलाई सत्ताको भागिदार बनाउँदै र आफ्ना साथीहरूलाई गृहकार्यमा अल्मल्याउँदै यता प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाइराख्न सफल भएका छन् । उनको अहंता, स्वेच्छाचारिता, हावादारी बोली र देश सिध्याउने कुचेष्टालाई उनका अन्धसमर्थकहरूले ‘असल नेताको महान् कला’ का रूपमा गुणगान गरिरहेका छन् । चुरेको ढुङ्गा, गिट्टी, बालुवा बेचेर व्यापार घाटा कम गर्ने अध्यादेश बजेट ल्याउनु र मधेसीसँग दलको एउटा समूहलाई सत्तामा विराजमान गराउनुलाई संयोगमात्र मान्न सकिँदैन ।
नेताहरूको सङ्ख्या र सुविधा थेग्नै नसक्ने गरी बढाइएको छ । प्रदेशमा समेत मन्त्रालय बढाउने काम भएको छ । एकजना नेपालीको थाप्लामा ५२ हजारभन्दा बढीको ऋणभार पर्ने गरी विदेशी ऋणभार बढ्दा स्वदेशी भ्रष्टाचार चुलिएको छ । सन् २०२० मा ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई एसियाकै १ नम्बरको भ्रष्टाचार मुलुक भनेकै हो । बेरोजगारी समस्या बढेको छ । स्वरोजगारी र उत्पादन नबढ्दा, विप्रेषण र आयातको भरमा जनजीवन चलेको छ । बाहिरी हस्तक्षेप पनि नजादिँदो गरी बढिरहेको छ । विधिको शासन हराएको त देखिहालियो । राज्यका निकायहरूले आफ्नो भूमिका पूरा गर्न सकेकै छैनन् । जनताका जायज आवाज कहिल्यै सुनिंदैनन् । यसरी यो देशमा ‘असफल राष्ट्र’ का सूचकहरू देखिएका छन् । एकातिर अवस्था यस्तो छ भने अर्कोतिर यस्तो कोरोना महामारीले आर्थिक क्षेत्र तहसनहस भएको बेलामा पनि स्विजरल्यान्डको स्विस नेसनल बैङ्कमा सन् २०१९ को तुलनामा सन् २०२० मा नेपालीको बचत दोब्बर भएको तथ्य सार्वजनिक भएको छ । यस कुराले हामी सबैको ध्यान, कुर्सीमा बसी मनपरी गर्ने यिनै गफाडी र स्वार्थी नेतातिर खिचिएको छ । भनिन्छ, जति नै पढे पनि, संसार घुमे पनि, ठूलो पदमा पुगे पनि हाम्रो बानी र व्यवहार नसुध्रेसम्म केही पनि हुँदैन । जति नै बलिदान भए पनि, जति नै राम्रो व्यवस्था ल्याए पनि, जति नै राम्राराम्रा कानुन बनाए पनि हाम्रा नेताको आचरण सुध्रन सकेन । परिणामतः यो देशका जनताले शान्तिको सास फेर्न पाएनन् । दलीय व्यवस्थाप्रति नै विश्वास हटेर खाली भएको यो अवस्थामा कसले र कसरी त्यो ठाउँ पूरा गर्ने हो ! पर्खेर हेर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *