भर्खरै :

संशोधनवादविरुद्धको सङ्घर्ष जरुरी

नेपोलियनले एकपटक चीनलाई सुतेको राक्षससँग तुलना गर्दै भनेका थिए– “उसलाई सुत्न देऊ किनभने ऊ जाग्यो भने संसार हल्लाइदिनेछ ।” आज चीन जागेको छ । चीन जागृत रहेको अवस्थामा साम्राज्यवादीहरूको मुटु थरथर कामिरहेको छ ।
सन् १७८१ मा ब्रिटिस साम्राज्यवादले चीनमा अफिमको पहिलो खेप पानीजहाजमार्फत पठायो । चीनका युवाहरूमाझ अफिमको व्यापार गरेर अङ्ग्रेजले ठूलै लाभ लियो । त्यतिबेला चीनमा आयातको ५७ प्रतिशत अफिम नै हुन्थ्यो । अफिम आयातको कारण चीनबाट चाँदीका मुद्राहरू बाहिरिन थाल्यो । यो देखेर तत्कालीन चीन सरकारले बेलायती व्यापारीहरूलाई अफिमका भण्डारहरू समर्पण गर्न दबाब दियो । तर, उनीहरूले मानेनन् । चिनियाँ जनताले अफिम जफत गरेर समुद्री किनारमा नष्ट गरे । तत्पश्चात्, बेलायतलाई युद्ध घोषणा गर्ने बहाना मिल्यो । सन् १८४० मा ब्रिटिसले चीनको बन्द ढोका खोल्न सैन्य परिचालन ग¥यो । प्रथम अफिम युद्धमा चिनियाँ जनताले वीरतापूर्वक लडे तर चीनका आत्मसमर्पणवादी सम्राट र भ्रष्ट कर्मचारीको कारण चिनियाँ जनताले हार व्यहोर्नुप¥यो ।
सन् १८५६ मा दोस्रो अफिम युद्ध भयो । बेलायतलगायत पश्चिमा शक्तिहरू पहिलो अफिम युद्धबाट प्राप्त उपलब्धिबाट सन्तुष्ट भएनन् । उनीहरूले अनेक बहाना बनाएर दोस्रो अफिम युद्ध छेडे । छिङ् सरकारले आत्मसमर्पण ग¥यो । यो हारपछि चीनमा पश्चिमा धर्मप्रचारकहरूको जगजगी बढ्यो । फ्रान्सका ‘क्याथोलिक’ धर्मप्रचारक सङ्घलाई चीनभित्र जग्गा किन्ने र चर्च बनाउने अधिकार प्राप्त भयो ।
अफिम युद्धपछि चीन क्रमशः विदेशीहरूको अर्धउपनिवेश बन्दै गयो । चीनले ठूलो अपमानको सामना गर्नुप¥यो । चिनियाँ सभ्यता अँध्यारोतर्फ धकेलियो । अधिकांश किसान भएको चीनमा किसानको दुर्दशा नै सुरु भयो । किसान आर्थिक भारको मारमा परे । अफिमको आयात पहिलेभन्दा तीव्र गतिमा बढ्यो । छिङ्् सरकारले बेलायतीहरूलाई विशाल क्षतिपूर्ति भुक्तान गर्नुपर्ने भयो । चीनले बेलायत र फ्रान्सलाई ८० लाख ‘चाँदीका टायल’ युद्धको क्षतिपूर्तिको रूपमा दिनुप¥यो । चीन पश्चिमाहरूको अधिनस्थ बन्न पुग्यो । युद्धमा भएको खर्चको भार किसानमाथि थोपरियो । यसकारण, चीनका थुप्रै भागहरूमा किसानले विद्रोह गरे ।
चीनमा सन् १८५१–१८६४ को बीच किसानले ठूलो आन्दोलन सुरु गरे । सो आन्दोलन ‘ताइपिङ किसान क्रान्ति’ को नामले चर्चित छ । दक्षिण भियतनामको सीमा नजिक गुआङ्सीबाट सुरु भएर पूर्वमा साङ्घाई र उत्तरमा बेइजिङ्सम्म पुगेको सो आन्दोलन १९ औँ शताब्दीको ठूलो आन्दोलन थियो । ताइपिङ किसान आन्दोलनलाई विदेशी सेनाको सहयोगमा निर्ममतापूर्वक दबाइयो । बेलायती र फ्रान्सेली सेनाले धेरै चिनियाँको हत्या गरे । पश्चिमाहरूद्वारा भाडामा ल्याइएका डाँकुहरूले चीनका असङ्ख्य पुरुष, महिला, बच्चाबच्चीहरूको हत्या गरे । २ करोडदेखि ३ करोड चिनियाँ जनताको नरसंहार यस कालमा भएको अनुमान गरिएको छ । यसलाई विश्वका युद्धहरूमा अत्यन्त विनाशकारी गृहयुद्ध मानिन्छ ।
इतिहासमा चीनले बेलायत, फ्रान्स, जापान, अमेरिकालगायत साम्राज्यवादीहरूको बर्बर दमन तथा आतङ्क झेलेको छ । चीनका देशभक्तहरूले विभिन्न कालखण्डमा आन्दोलन र क्रान्तिका ज्वारभाटा सृजना गरेका छन् । यसै क्रममा सन् १९१७ को रुसी अक्टोबर क्रान्तिले आमूल परिवर्तनको सम्भावनाको झलक संसारलाई देखायो । चीनमा पनि यसको प्रभाव प¥यो । सन् १९२१ जुलाईमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । चिनियाँ कम्युनिस्ट पार्टी स्थापना हुनु एउटा युगान्तकारी घटना प्रमाणित भयो । यसले चिनियाँ भूमिमा माक्र्सवाद र लेनिनवादको विजारोपण गर्दै चीनको इतिहासको दिशा नै परिवर्तन ग¥यो ।
सन् १९४९ अक्टोबर १ मा माओ त्सेतुङको नेतृत्वमा जनगणतन्त्र चीनको जन्म भयो । चिनियाँ भूमिमा चिनियाँ जनताले चाहेको व्यवस्था आयो । जनगणतन्त्र चीनले चिनियाँ जनतालाई आफ्नो देशको मालिक बनायो । दासत्वको सम्पूर्ण सिक्री चुँडालेर न्याय र समानताको भावना जागृत गरायो । सोही जगमा उभिएको चीन अहिले समृद्धिको शिखर चढ्दै छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि १०० वर्षको यो अन्तरालमा कठिन यात्रा ग¥यो । यो अन्तरालमा उसले विज्ञान र प्रविधिको क्षेत्रमा अभूतपूर्व विकास गरेको छ । आफ्नो देशका ८० करोड जनतालाई गरिबीबाट मुक्त गराई भव्य समारोह सम्पन्न गरेर विश्वका शोषित पीडित जनतमाझ आशाको किरण फैलायो । यो समारोह चीनप्रति गिद्धेदृष्टि राख्नेहरूलाई गतिलो झापड हो ।
चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको दोस्रो शताब्दीमा आधुनिक महान् समाजवादी देश बनाउने लक्ष्य प्राप्त गर्ने सङ्कल्प गरेको छ । समाजवादले मात्र चीनको विकास र रक्षा हुनेमा चिनियाँ जनता विश्वस्त छन् । संसारलाई चिनियाँ जनता उठिसकेको र चीनलाई अपमान गर्ने तथा दुरुपयोग गर्ने समय सदाको लागि अन्त्य भएको उद्घोष चिनियाँ कम्युनिस्ट पार्टीले गर्दै छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले चीनको अभिन्न अङ्ग ‘थाइवान’ लाई पुनः एकीकरण गर्ने दायित्व रहेको उल्लेख गर्दै छ । संरा अमेरिकाले चीनविरुद्ध हमला गरे चीनको शक्तिशाली प्रतिरोधको सामना गर्नुपर्ने र पराजय भोग्नुपर्ने अवस्था आउने चिनियाँ देशभक्तहरू बताउँदै छन् । चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीहरूले उच्च अनुशासनको प्रदर्शन गर्दै चीनलाई मध्यमस्तरको समृद्ध देश बनाउन उल्लेखनीय भूमिका खेले ।
नेपालमा कम्युनिस्ट नामधारीहरूको सरकार पटक – पटक आयो तर उपलब्धि शून्य ¤ कम्युनिस्ट नामधारीहरूले शासन सञ्चालन गर्दा साम्राज्यवादी अमेरिकाको हिन्द–प्रशान्तीय सैन्य गठबन्धनअन्तर्गतको ‘एमसीसी’ परियोजना अगाडि बढ्दै छ । भारतीय विस्तारवादको स्वार्थअनुकूल ‘नागरिकता अध्यादेश’ पनि कम्युनिस्ट नामधारी सरकारले ल्यायो । नेपालको प्राकृतिक स्रोत साधन भारतीय विस्तारवादको पोल्टामा पुग्यो । शिक्षा, स्वास्थ्य गरिब जनताको पहुँचमा रहेन । उद्योगधन्दा, कलकारखाना ध्वस्त भए । नेपाली युवाहरू बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न बाध्य छन् । भारतीय एकाधिकार पुँजीको कब्जामा नेपालको अर्थतन्त्र पुग्दै छ । नेपालको राजनीतिमा अपराधीकरण बढ्यो । कम्युनिस्ट नामधारीहरूले ‘डनवाद’ लाई बढावा दिए । देश र जनताप्रति समर्पित तथा अनुशासित चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू र नेपालका शासक कम्युनिस्ट नामधारीहरूबीच तुलना गर्ने कुनै ठाउँ छैन ।
जर्मनीको बर्लिन सहरमा सन् १८५० मा जन्मिएका ‘एडवर्ड बर्नस्टिन’ ले माक्र्सवादका विरुद्ध संशोधनवादको तरवार चलाए । उनले ‘वर्गीय समाजका सामाजिक सम्बन्ध वर्गसङ्घर्षमा आधारित हुन्छन्’ भन्ने माक्र्सवादी विचारविरुद्ध वर्ग समन्वयलाई जोड दिए । माक्र्सको सर्वहारा वर्गको अधिनायकत्वविरुद्ध बर्नस्टिनले लोकतन्त्र र सबै जनताको हितको व्यवस्थाको परिकल्पना गरे । सशस्त्र क्रान्तिको माध्यमबाट मात्रै मजदुर वर्गले सत्ता कब्जा गर्न सक्दछ भन्ने कार्ल माक्र्सको विचारविरुद्ध वयस्क र बालिग मताधिकारको माध्यमबाट सत्ता परिवर्तन गर्न सकिने विचार ‘बर्नस्टिन’ ले प्रकट गरेका थिए । झट्ट सुन्दा कर्णप्रिय लागेपनि ‘बर्नस्टिन’ को विचार कम्युनिस्टहरूमा हुने सङ्घर्षशील भावनालाई निस्तेज पारेर शोषणलाई कायमै राख्ने हतियार थियो । तत्पश्चात् ‘क्रान्ति होइन शान्तिपूर्ण तवरले मताधिकारको प्रयोग गरेर समाजवादी व्यवस्था स्थापना गर्न सकिन्छ’ भन्ने रटान संशोधनवादीहरूले बारम्बार लगाइरहे । यो विचारले मानिसमा रहेको क्रान्तिकारी भावनालाई भुत्ते पार्ने कोसिस गरि नै रह्यो ।
नेपालमा ‘जनताको बहुदलीय जनवाद’ को नाउँमा संशोधनवादलाई विधिवत्रूपमा एमालेका तत्कालीन अध्यक्ष मदन भण्डारीले भित्र्याए । सशस्त्र क्रान्तिको बाटो छोडेर बहुदलीय प्रतिस्पर्धाको आधारमा शान्तिपूर्ण राजनीतिको परिकल्पना ‘जबज’ मा गरिएको छ । नेपालमा बर्नस्टिनको यो अर्को संस्करण हो । नेपालमा अहिले ‘बर्नस्टिन’ का चेलाहरूले शासन चलाइरहेका छन् । संशोधनवादीको हालीमुहाली छ । संशोधनवादीहरू पुँजीवादी पार्टीहरूभन्दा खतरनाक हुन्छन् । समाजवादीको आवरणमा कम्युनिस्टकै जरा काट्न यिनीहरू खप्पिस हुन्छन् । यसर्थ, कम्युनिस्ट आन्दोलनलाई सही ढङ्गले अगाडि बढाउन संशोधनवादविरुद्धको सङ्घर्षलाई अझ पेचिलो बनाउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *