भर्खरै :

‘शारदा’ मासिक नयाँ परिवेशमा

राणाकालको साहित्यिक पत्रिका ‘शारदा’ मासिक नयाँ कलेवरमा असार २०७८ पूर्णाङ्क–८७, वर्ष–८, अङ्क–३, ‘विश्वमा नेपाली कथा’ अङ्कको रूपमा हात लाग्यो– एक पाठकको । खुसी लाग्यो, पुरानो संस्मरणमा नयाँ परिवेशमा नेपाली भाषाको साहित्यिक मासिक पढ्न पाउँदा । साधुवाद छ, सम्पादक विमल भौकाजीलाई ।
आविष्कार कलाको ‘देशको चित्र’ कथामा शासक दलका विद्यार्थी नेताहरू– चाहे छात्रा होऊन् वा छात्र, तिनीहरू आफ्नो पढाइ र काममा भन्दा सरकारी जागीर र शासक दलका मन्त्रीहरूको छेउछाउमा बसेर पैसा कमाउने धन्धामा व्यस्त छन् देश र जनताको सेवामा होइन भन्ने यथार्थ वर्णन छ । यसरी शासक दलका नेताहरूले नयाँ पुस्तालाई काम चोर, भ्रष्ट र कर्तव्यच्यूत बनाउँदै छन् भन्ने देशको वास्तविक स्थितिको चित्र कथाले देखाउँछ ।
कृष्णदेव रिमालको ‘अस्वीकृत जीवन’ कथामा दक्षिण अफ्रिकी एक प्रौढ व्यक्ति डोनोभन बेलायतमा बस्दामात्र नभई आफ्नै देशमा समेत पुँजीवादी व्यवस्थाको पुरानो मूल्यमान्यता र नैतिकताको प्रभावले माया–ममता, प्रेम र पारिवारिक भावना नभई पैसाकै छन्छन्मा लागेको देखाइएको छ । उपनिवेशमा समेत साम्राज्यवादी (पुँजीवादी) शुभलाभकै संस्कृतिले प्रभाव पारेको हुँदा घर, कार, पैसा, मोजमज्जा नै परिवारको आधार हुन्छ र आम्दानीको तलमाथि हुनासाथै पारपाचुके हुन्छ– लोग्नेस्वास्नी वा परिवारमा ।
दार्जिलिङ, भारतका उदय सुब्बा गोर्खाको ‘केटी साथी’ कथामा छोरीहरूको विवाहको अर्थ आमाबाबु वा माइतीले झन्झट्बाट पार पाउने अर्थमा लिने गरेको र बदलिँदो परिस्थितिमा पनि पढेलेखेका छोरीहरूलाई समेत मायाको नाममा ‘पिण्ड बगाउने’ धर्म निभाएको अर्थमा पुरानो समाजको चरित्रलाई उदाङ्ग्याइएको छ ।
‘कहाँ छु, कोसित छु, के गर्दै छु, केही त भन्नु पर्दैन ?’, ‘त्योहरूका आँखा फुटेका’, ‘त्यसबेला म कति रुएँ…’, ‘झारपुछ गर्नु, च्यादर पर्दा फेर्नु’, ‘योहरू’ जस्ता शब्द र वाक्यांशहरूले प्रवासी नेपाली भाषाको जानकारी दिन्छ ।
सुरज धड्कनको कथा ‘अनुदिदी’ मा बालसुलभ भावना झल्किन्छ भने ‘कुटाइ खाने बेउरा किन देखाउँछन् तँ ?’ जस्ता शब्द र भाषाले दार्जिलिङसँग पाठकलाई परिचय गराउँछ ।
म्यान्मार वा बर्माली कथाकार कुसुम गौतमका ‘वार्षिक उत्सव’ मा सम्पन्न निरज र कल्पनाको विवाहको वार्षिक भेटघाटमा महँगा होटलमा लाखौँ खर्च गर्नुभन्दा कोरोनाकालमा पीडित जनता र गरिब जनतालाई क्वारेन्टिन सेन्टरमा उपचारमा सहयोग गर्ने संस्थाहरूलाई आर्थिक सहयोग गर्नु कल्पनाकी सखी रेखाले दिएको सुझाव र सल्लाहको कथा सा¥है समसामयिक र प्रगतिशील कथा मान्नुपर्छ ।
म्यान्मारकै रामानुज न्यौपानेको ‘एउटा तन्नेरी साँझ’ मा वर्गीय भेद भएको समाजमा धनीहरूको व्यक्तिवादी र फोहरी सोच तथा गरिबहरू बाँच्नको निम्ति आफूलाई बेच्नुपर्ने स्थितिको स्पष्ट तर पुँजीवादी समाजको खराब पक्षलाई छर्लङ्ग्याइएको छ ।
हङकङको दाजु गुरुङको ‘कान्छी’ कथामा विभिन्न देशका जात–जाति र भाषाभाषीहरूको जीवन र अनिश्चित जीवनको चित्रण गरिएको छ । सामानको नाम, आ–आफ्नो मातृभाषाको लय र छनक आउने कुराकानीले कथामा रमाइलो थप्ने काम गरेको छ । हङकङमा बेलायती उपनिवेशवादको छापको कारण समाजवादी चीनको ऐनकानुनविरोधी भावना अझ कायम रहेको कारण पश्चिमेली संस्कृतिका नराम्रा पक्षहरू बाँकी छन् भन्ने यथार्थ यस कथाले देखाउँछ । नेपाली गुलुङ केटो भागेपछि ‘कान्छी’ नाउँ मनपर्ने सुन्दर युवती लेङ लोईले उसलाई ‘कुहिएको आलु अर्थात् लाप्साय’ भन्छिन् ।
बेलायतका कृष्ण बजगाईँको ‘वादी’ लघु कथाले त्यहाँको राजनीतिक परिवेशलाई प्रतिनिधित्व गर्छ भने लक्जेम्वर्गकी रेनुका भट्टको ‘रुम नम्बर ३०४’ ले डिना र डेभिडको सुखद जीवन कोरोनाको कारण धुजाधुजा भएको देखाउँछ । कोभिड–१९ ले समाजवादी समाज अर्थात् प्रजग कोरिया, क्युवा र चीनजस्ता देश तथा पुँजीवादी देशको मानवीय भावना र लोक कल्याणमा ठुलो अन्तर भएको प्रस्ट पारेको छ ।
बेलायतका डा. रुपक श्रेष्ठले आफ्नो ‘ह्यारी पोर्टर स्लिप्वाकर ‘दि न्यासनालिस्ट’ ’ कथामा फरक देश र फरक सांस्कृतिक स्तरलाई देखाउँछन् भने अमेरिकाको नर्थक्यारोलाइना बस्ने नीलम कार्की निहारिकाको ‘घर भत्किँदै छ’ भन्ने कथामा नेपाली भाइ–बहिनीहरू विदेश बसे पनि नेपालीको मनको कला, संस्कृति, वास्तुकलाको छाप र झझल्को आइरहने स्वाभाविकता पाइन्छ । चयन भएका गाउँका शब्दहरू र ठाउँहरूले विदेशको होइन नेपालकै कथा पढेको अनुभूति हुन्छ । कथा सा¥है संवेदनशील छ ।
‘शारदा’ को ‘विश्वमा नेपाली कथा’ अङ्कमार्फत भारत, म्यान्मार, हङकङका नेपाली भाषा र परिवेश बुझेर पाठकहरू एक क्षण आफूलाई बिर्सनेछन्– बदलिँदो समय बुझेर । पश्चिमी देशमा बसेका कथाकारहरूले नेपाली पाठकहरूलाई विदेशी शैली र सोचसँग परिचय गराउँछन् । सारमा कथाहरूले पाठकहरूलाई गम्भीर बनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *