भर्खरै :

बढ्दो सङ्क्रमणका कारण औपचारिकतामा सीमित गरिँदै जात्रा–पर्व

काठमाडौँ, ५ भदौ । काठमाडौँ उपत्यकामा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै उपत्यकाका अधिकांश स्थानीय पालिकाले आ–आफ्नो क्षेत्रमा हुने जात्रा पर्वलाई औपचारिकतामा मात्र सीमित राख्ने निर्णय गरेका छन् । आइतबार मनाइने जनै पूर्णिमा पनि औपचारिकतामा मात्र सीमित गर्न र स्वास्थ्य नियमको पालना गर्न आग्रह गरिएको छ ।
सोमबार काठमाडौँ उपत्यकामा मनाइने सापारू पर्वलाई पनि औपचारिकतामा मात्र सीमित गरिने भएको छ । भक्तपुरमा सापारूको दिन निकालिने घिन्ताङघिसीलाई यो वर्ष पनि ननिकाल्न भक्तपुर नगरपालिकाले नगरवासीलाई आह्वान गरेको छ । अघिल्लो वर्ष पनि बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी सापारूलाई सामान्य औपचारिकतामा सीमित गरिएको थियो । वर्षभरि निधन भएका व्यक्तिको स्मृतिमा भक्तपुर नगरमा घिन्ताङघिसी, माक प्याखँ आदि नाचसहित ताहासाँ परिक्रमा गराइने परम्परा छ । तर, भीडभाडबाट सङ्क्रमण बढ्ने भएकोले सीमित मानिसमात्रको सहभागितामा सामान्य औपचारिकतामा जात्रा सीमित राख्न नपाले अनुरोध गरेको हो ।
त्यस्तै मध्यपुरथिमि नगरपालिका– ८ र ९ बाडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याखँ अर्थात् नीलबाराही नाच यस वर्ष रातिमात्रै सञ्चालन हुने भएको छ ।
भदौ ८ देखि ११ गतेसम्म मनाउने तयारी गरिए पनि कोरोना सङ्क्रमणको जोखिम बढेपछि गत वर्षजस्तै यस वर्ष पनि रातिमात्रै सञ्चालन गर्ने निर्णय भएको हो  ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकोले वडा नं ८ र ९ का वडाध्यक्षसहित स्थानीयवासीको बैठकले नाचलाई यस वर्ष रातिमात्रै सञ्चालन गर्ने निर्णय गरेको छ  ।
विगतका वर्षमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्ने, टोलटोलमा राति नाच देखाए पनि स्थानीयवासीले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय भएको छ  ।
धेरै भीडभाड हुने जात्रा पर्व, मेला र जनसभाहरूको कारण सङ्क्रमण बढ्दा महामारी अनियन्त्रित हुने गरेको छ । छिमेकी देश भारतमा दोस्रो लहरको कोरोना थप भयावह र व्यापक हुनुको कारण धार्मिक कुम्भमेला र चुनावी सभा र जुलुस भएको अध्ययनहरूले देखाएको छ । स्वास्थ्यकर्मीहरूले त्यस्ता ‘महासङ्क्रामक’ गतिविधि रोक्न सर्वसाधारणलाई आग्रह गरेको छ । दोस्रो मात्रा खोप लगाएका व्यक्तिहरूमा कोरोनाको प्रभाव गम्भीर भए पनि सङ्क्रमण दर भने बढेको तथ्याङ्कले देखाएको छ । त्यसकारण, पूूर्णरूपमा महामारी नियन्त्रित नहुँदासम्म सावधानीका उपाय पालनामा भने कडाइ गर्नुपर्ने अवस्था छ ।
निःसन्देह मौलिक संस्कृति,जात्रा पर्वप्रति आकर्षण नहुने को होला ? पुस्तौँ पुस्तादेखिको परम्परा निर्वाह गर्नु सबैको कर्तव्य हो । यिनै संस्कृतिले संसारमा हाम्रो विशिष्ट पहिचान बनेको छ । तर, मानिसको जीवनमाथि नै जोखिम बढेको आजको विशेष परिस्थितिमा जीवन पनि जोगिने र संस्कृति पनि जगेर्ना हुने बाटो रोज्न आवश्यक छ । कसैले यो विषयलाई भावुकता र आवेशको विषय बनाउनु उचित होइन । संस्कृति मनाउने क्रममा भविष्यमा आउन सक्ने जोखिमलाई पनि विचार गर्नुपर्छ । संस्कृति राम्रो भविष्यको लागि हो, सबैको खुसीको लागि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *