भर्खरै :

दाहोरिन नदिऊँ ०४५ भदौ ९

मलाई लाग्छ वादहरूमा सबैभन्दा खराब वाद नै फासीवाद हो । त्यस्तो सर्वाधिक खराब वाद नै जब राज्यले प्रयोग गर्छ परिणाम के–कस्तो होला अनुमान असहज छैन । २०४५ भदौ ९ गते राज्यले भक्तपुरमा फासीवादको नराम्रो प्रयोग ग¥यो । यो एउटा प्रयोग थियो । फासीवाद त्यसै पनि निर्मम थियो । त्यो निर्ममलाई पनि अरू निर्मम एवं बर्बररूपमा प्रयोग ग¥यो नेपाल मजदुर किसान सङ्गठनविरूद्ध । सरकार किंवा सरकारहरू तथाकथित प्रजातान्त्रिक पञ्चायत व्यवस्थालाई काम गरी खाने जनताको विरूद्ध संस्थामार्फत गर्न आकाश पाताल जोड्न खोज्थ्यो । तर, नहुने कुरो हुने हुँदै हुँदैन । सरकार जति परिश्रमपूर्वक त्यो नक्कली कुरालाई सक्कली बनाउन खोज्थ्यो त्यति नै विफल हुँदै जाँदैथ्यो । तर पनि हार वा पराजय सकार्ने पक्षमा थिएन । त्यो भयावह कालरात्रिमा पनि काम गरी खाने आम कामदार जनताको पक्षमा नेपाल मजदुर किसान सङ्गठन क्रियाशील नै थियो । जहाँ जहाँ प्रवेश निषेध गरे पनि नेमकिस आँखीझ्यालको सूक्ष्म प्वालबाट भए पनि प्रवेश गथ्र्यो र कामदार जनताको कुरा राख्थ्यो । निरङ्कुश पञ्चायतले जतिसुकै निषेधित गरे पनि जनताका कुरा नेमकिसले प्रस्तुत गथ्र्यो । यो प्रक्रिया त्यतिबेलाका सरकारहरूलाई पाच्य थिएन । तर, त्यो सङ्गठनले ठाउँ–ठाउँमा सरकारकै कानमा अटाउने वा नअटाउने गरी बडो कुशलतापूर्वक प्रस्तुत गथ्र्यो । जस्तोसुकै खराब सङ्गठनमा परे पनि जनताका कुरा राख्ने लेनिनको नीतिअन्तर्गत राखिन्थ्यो ।
भक्तपुर काण्ड उनीहरूलाई घाँडो
जनता भक्तपुरको त्यो फासीवादी दमनलाई भक्तपुर काण्ड भन्दथे ताकि जनताले छ्याङै बुझून् । नभन्दै आम सर्वसाधारण जनताले त्यो काण्डबारे जरैदेखि बुझ्यो र साथ पनि दियो । यसैकारण त्यो काण्डको विरूद्ध किसान मजदुरमात्र होइन शिक्षक, विद्यार्थी, बुद्धिजीवीहरू सबै तातेर विजयपताका फहराए । समष्ठिमा त्यो निरङ्कुश, अहँकारी पञ्चायत शासन २०४६ चैत २६ गते भक्तपुरमा मात्र गल्र्यामगुर्लुम ढलेन नेपाल राज्यबाटै उखेलियो । पञ्चायती फासीवाद वस्तुतः नेमकिसको विरूद्ध मात्र होइन नयाँ विचार, वर्ग, जाति, भाषाको समेत विरोधमा उभिएको फासीवाद नै थियो । दमन शब्द नै वस्तुतः खराब शब्द हो । यस्ता दमन नेपालमा मात्र भएको पनि होइन । विश्व इतिहासका ठेली पल्टायो भने इटालीमा मुसोलिनीले कुलीन वर्गको शासन स्थापना गर्न र कायम गर्न एक देश, एक पार्टी, एक भाषा स्थापना गर्न अरू सम्पूर्णमाथि निर्मम, कठोर दमन ग¥यो । अर्को घटना जर्मनीमा विशुद्ध आर्य रगत र जर्मन भाषाबाहेक अरू सबैमाथि एडोल्फ हिटलर एवं नाजीहरूले नृशंस दमन गरे । ०४५ भदौ ९ गतेको पञ्चायती शासकहरूले कठोर दमनको प्रारम्भ पनि त्यही एक भाषा, एक पञ्चायत, एक भेष र एक राजा पनि त्यही सर्वसत्तावाद स्थापनाको अभिष्ट थियो । समष्ठिमा भन्ने हो भने त्यो २०४५ सालको भक्तपुर काण्ड पनि पञ्चायती शासकहरूको एक राजा, एक देश, एक राष्ट्रियताको नाममा गरिएको निर्मम दमनको एउटा लामो श्रृङ्खलाको एउटा परिच्छेद थियो जुन कदम पछि पञ्चायतलाई नै घाँडो भयो ।
नपर्दै सचेत हुनेतर्फ
पञ्चायती शासनविरूद्धको नेपाल मजदुर किसान सङ्गठन वा पार्टीको अनवरत सङ्घर्ष एवं ती संस्थाविरूद्धको पञ्चायती षड्यन्त्र वस्तुतः राजनीतिक एवम् वर्गीय सङ्घर्ष थिए । यो क्रियाकलाप जति जति पछि हुँदै गयो उति उति खुल्दै पनि गयो । भक्तपुर काण्डका सिलसिलामा प्रहरी प्रशासनले नेमकिसका कार्यकर्ता तथा नेतृत्व वर्गको घरघरबाट उठाएर लगेका पुस्तकलगायत कृति र सम्पत्ति फिर्ता गर्न लगातार कराइरहँदा पनि तत्कालीन पञ्चायती सरकार एवम् त्यसपछिका कुनै पनि सरकारले कानमा तेल हालेर बसे । ती अपहरित सम्पत्ति एवम् लिखत र पुस्तकहरू आजसम्म पनि फिर्ता गरिएको छैन । किन ती वस्तु फिर्ता नगरेको हो भन्नेतर्फ विचार गर्दा पञ्चायत औपचारिकरूपमा त अन्त भयो । तिनै पञ्चहरू पञ्चायतको अन्तिम संस्कार पनि गरी कति नेता अन्य पार्टी प्रवेश गरे भने कति नेताले अलग अलग पार्टी खोली नेता भए । त्यसपछि गठन भएका सरकारहरूले सेना, प्रहरी दुवै थरी, गुप्तचर लगायतलाई प्रजातान्त्रिक, गणतान्त्रिक पद्धतिको प्रशिक्षण दिनेतर्फ जति गम्भीर ध्यान दिनुपथ्र्यो त्यतापति पटक्कै वास्ता गरिएन । तपाईंलाई टोक्ने कुकुरले भोलि मलाई पनि टोक्न सक्छ । अहिले मलाई टोक्ने कुकुरले भोलि तपाईंलाई पनि टोक्न सक्छ । तसर्थ, यस्ता असाधारण भैपरी आउने सम्भावित विपत्तिबाट जोगिने उपायतर्फ दृष्टि प्रक्षेपण हुनुपर्छ । कुशल मान्छेहरू दुःख पाउनुपूर्व नै सम्भावित विपत्ति वा जेतर्फ समयमै सचेत हुनेतिर ध्यान दिऊँ ।
समय छँदै होस गरौँ
२०४५ भदौ ९ गतेको भक्तपुर काण्ड अन्तिम नहुनसक्छ । तसर्थ, सरकारमा जाने कुनै पनि शक्तिले जहिले पनि जनताको सङ्घर्ष एवं अग्रगमनको प्रयास समाप्त गर्न जहिले पनि जे पनि गर्नसक्छ । तसर्थ, खासगरी कामगरी खाने जनताका पक्षमा काम गर्नेहरूले जहिल्यै पनि सतर्क हुन भुल्नुहुँदैन । आफ्ना काम कुराका सामग्री एकै ठाउँमा मात्र नथुपारी ठाउँ–ठाउँमा राख्नेतर्फ ध्यान दिनु राम्रो होला । पुँजीवादी मानसिकता र मनोविज्ञानबाट निर्देशित मान्छे वा शक्ति जहिल्यै पनि बिग्रन सक्छ । मान्छे कहिले कुबाटो लाग्छ भन्न सकिँदैन । मोजमज्जा गर्ने उमेरभरि जनताको हक, अधिकार तथा हितका निम्ति सबै थोक छोड्न, त्याग्न सक्ने वा त्यागेका नेता वा विशिष्ट व्यक्तित्वहरू उमेर ढल्केपछि बिग्रिएका दृष्टान्त अनेक छन् । उदाहरणमा दुई–चार जनाको नाम याद आयो । केशरजङ्ग रायमाझी, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी, कमलराज रेग्मीहरू सम्झेँ अहिले । तसर्थ, मान्छे हो कहिले कुन बाटो समात्छ पक्कापक्की भन्न सकिँदैन । सारै कष्टकर जीवन भोगका केही व्यक्ति पछिल्लो उमेरमा आएर पनि गन्तव्य परिवर्तन गर्दोरहेछ भन्ने स्पष्ट पार्न मैले यी केही नाम उल्लेख गरेको हुँ । यसको अन्यथा अर्थ नलाग्दा राम्रो । यसैले होला, संसारमा आत्मआलोचनाको सिद्धान्त एवम् व्यवहारको स्थापना भएको । तसर्थ, हामी कुनै पनि विकृतिको झम्टाइमा पर्न सक्छौँ, होश गरौँ ।
२०७८ भदौ १४

Leave a Reply

Your email address will not be published. Required fields are marked *