भर्खरै :

संरा अमेरिकी राष्ट्रपति बाइडेनलाई क्युवाली चिकित्सक र वैज्ञानिकहरूको चिट्ठी प्रिय राष्ट्रपति

 जो बाइडेन,
हालै अमेरिकी राष्ट्रपति कार्यालयमा आयोजित पत्रकार भेटघाटमा तपाईंले क्युवा र त्यहाँको कोभिड–१९ खोप अभियानबारे भन्नुभयो, “यदि एउटा अन्तर्राष्ट्रिय सङ्गठनले क्युवाका सर्वसाधारण जनताको पहुँचमा खोप वितरण गर्ने जिम्मा लिने हो भने क्युवालाई पुग्दो मात्रामा खोप दिन म तयार छु ।” साथै तपाईंले क्युवालाई ‘असफल राज्य’ को पनि सङ्ज्ञा दिनुभयो ।
तपाईंका यी अभिव्यक्तिले धेरैलाई आश्चर्यमा पा¥यो । क्युवाको स्वास्थ्य प्रणालीबारे प्रत्यक्ष जानकारी हुने संरा अमेरिकाकै नागरिकसमेत तपाईंका कुरा सुनेर अनौठो माने । तपार्इंका शब्दले आफ्नो देशमा कोभिड–१९ महामारी रोकथाम र नियन्त्रण गर्न आफ्नो जीवन खतरामा राखेर काम गरिरहेका अग्रमोर्चाका क्युवाली स्वास्थ्यकर्मीहरूलाई समेत आक्रोशित बनाएको छ ।
तपार्इंका अभिव्यक्तिले क्युवाको वास्तविकता प्रतिविम्बित गर्दैन । हामी तपाईंको नीतिगत निर्णयमा प्रभाव पार्ने गरी बदनियत राख्नेहरूले प्रवाह गरेको गलत सूचनाप्रति खेद प्रकट गर्दछौँ । हामी वैज्ञानिक, चिकित्सक र सम्बद्ध नागरिकहरू तपाईंका अभिव्यक्तिनिहीत तीन पूर्वानुमानमाथि सत्यको परीक्षण गर्नुपर्ने ठान्छौँ ।
पहिलो पूर्वानुमान, सबै क्युवालीलाई खोप सुनिश्चित गर्न अन्तर्राष्ट्रिय हस्तक्षेप आवश्यक छ ।
दोस्रो पूर्वानुमान, महामारी प्रतिरोधमा क्युवाको प्रतिक्रिया ज्यादै न्यून छ । त्यो एउटा ‘असफल राज्य’ को लक्षण हो ।
तेस्रो पूर्वानुमान, क्युवाका १ करोड १० लाख मानिसलाई कोभिड–१९ खोप सुनिश्चित गर्ने एउटा बाटो भनेको संरा अमेरिकाले दिएको खोपमात्र हो ।
आउनुस्, यी तीन पूर्वानुमानमाथि एक एक गरी परीक्षण गरौँ । पहिलो पूर्वानुमान, सबै क्युवालीहरूसम्म खोपको पहुँच सुनिश्चित गर्न हस्तक्षेपको आवश्यकता छ । त्यसको अर्थ क्युवामा अहिले लगाइएको खोप अप्रभावकारी र विभेदकारी छ । तर, तथ्य–तथ्याङ्कले यस्तो भन्दैन ।
वास्तवमा युनिसेफ र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दुवैले क्युवामा बालबालिकाले लगाउने दर ९९ प्रतिशत भएको स्वीकारेका छन् । खोप लगाउनु क्युवाको अनिवार्य जनस्वास्थ्य प्रणालीको हिस्सा हो । सबै सामाजिक–आर्थिक हैसियत, राजनीतिक आस्था, धर्म र लिङ्ग आदिका क्युवाली जनतालाई खोप निःशुल्क हुँदै आएको छ ।
सन् १९६२ मा सुरू भएको राष्ट्रिय खोप कार्यक्रम सिङ्गो देशभर लागु छ । सन् १९९९ देखि सबै क्युवालीहरूलाई ते¥ह थरी सम्भावित घातक रोग जस्तै– भ्यागुते रोग, टिटानस र श्वास प्रश्वाससम्बन्धी पर्टुसिस आदिबाट सुरक्षित छन् । ते¥ह रोगमध्ये आठ रोगको खोप क्युवामा उत्पादन हुँदै आएको छ ।
उच्च खोप दरको कारण क्युवामा एक जना पनि दादुराका रोगी छैनन् । बरू, संरा अमेरिकामा सन् २०१९ मा १ हजार २८२ जना दादुराका रोगी फेला परेको रोग नियन्त्रण केन्द्रले जनाएको छ । संरा अमेरिकामा खोप नलगाएका बालबालिकाको सङ्ख्या बढेको हुनाले भविष्यमा यस्तो रोगका बिरामी बढ्न सक्ने बताइएको छ ।
सन् १९८९ मा हवानाको द फिन्ले खोप प्रतिष्ठानले मेनेन्जाइटिस बी रोगविरूद्ध संसारकै सबभन्दा प्रभावकारी खोप विकास गरेको थियो । परिणामतः मेनेन्जाइटिस बी रोग लाग्ने बिरामीको सङ्ख्या क्युवामा प्रति एक लाख १४.४ जनाबाट घटेर प्रति एक लाख मानिसमा ०.१ भन्दा कम भएको थियो । जसकारण त्यो रोग क्युवाको सार्वजनिक स्वास्थ्य समस्या बन्न छोडेको थियो ।
राष्ट्रिय खोप कार्यक्रममा क्युवा सफल हुनुका विविध कारण छन् ः क्युवाली जनता सहजरूपमा आफ्नै छिमेकमा बस्ने सामुदायिक स्वास्थ्य चौकीमा भेटिने पारिवारिक चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमाथि विश्वास गर्छन् । त्यसले खोप लगाउन अनकनाउने समस्या निकै कम छ । बरू क्युवाको स्वास्थ्य प्रणालीको साङ्गठनिक क्षमताले खोप कार्यक्रमलाई निकै तीव्र र भरपर्दो बनाएको छ । क्युवाको जैविक प्राविधिक अनुसन्धान तथा उत्पादन केन्द्रहरू जनस्वास्थ्य प्रणालीको आवश्यकताअनुसार संयोजित छन् ।
खोपको विषयमा डब्ल्यूएचओ र युनिसेफसँग क्युवाली संस्थाहरूले सहकार्य गरेका छन् । तर, तीमध्ये कुनै पनि संस्थाले क्युवामा खोप वितरणमा पहल गर्नुपर्ने सुझाव दिएनन् । बरू, क्युवाली खोप विज्ञहरूले पोलियो उन्मुलन गर्न विश्वव्यापी पहलको निम्ति आह्वान गरेका छन् । क्युवाको उत्पादन क्षमतालाई विश्व स्वास्थ्य सङ्गठनले सब–सहारा क्षेत्रको ‘मेनेन्जाइटिस क्षेत्र’ को लागि आवश्यक खोप तत्काल आपूर्ति गर्न प्रयोग गरेको छ ।

क्युवालि सामुदायिक स्वास्थ्य चौकी


दोस्रो पूर्वानुमानः महामारी रोकथाम र नियन्त्रण गर्न क्युवा ‘असफल’ भएको छ । पश्चिमी गोलाद्र्धमा यति व्यापकरूपमा कोभिड–१९ को सङ्कट भए पनि क्युवा एक्लैलाईमात्र ‘असफल राज्य’ को बिल्ला लगाउनु अनौठो छ । खासमा क्युवामा हालै फैलिएको सङ्क्रमणले त्यहाँका केही भागको स्वास्थ्य प्रणालीलाई विफल बनाउने खतरा थियो । तथापि, संसारका अन्य कुनै पनि देशको तुलनामा क्युवाले निकै प्रभावकारी ढङ्गले महामारी नियन्त्रण ग¥यो । महामारी नियन्त्रणमा क्युवाको दाँजोमा निकै कमजोर बनेका अन्य देशहरूलाई भने संरा अमेरिकाले विरोध गर्न आवश्यक ठानेन ।
संसारका सबै देशहरूको निम्ति आज कोभिड–१९ का नयाँ प्रजाति चुनौती बनेको छ । नयाँ प्रजातिको कारण सङ्क्रमण बढिरहेको छ । क्युवा त्यसको अपवाद बनेन ।
तथापि, क्युवाले विगत ६ दसकदेखि संरा अमेरिकाले थोपरेको कठिन वित्तीय, व्यापार र आर्थिक नाकाबन्दीबीच महामारीको सामना गरिरहेको हुनाले क्युवालाई अन्य देशभन्दा फरक बनाएको छ ।
ट्रम्प सरकारले क्युवाविरूद्ध २४३ वटा थप प्रतिबन्धहरू थोप¥यो । तपाईंको सरकारले पनि यसलाई निरन्तरता दिएको छ । ती प्रतिबन्धहरू नाकाबन्दीमा रहेका केही छिद्रहरू समेत टाल्ने मनसायले थोपरिएका हुन् । ती प्रतिबन्धका कारण क्युवाको राजस्व घटेको छ । जसले अत्यावश्यक चिकित्सकीय सामग्री, खाद्यान्न आदि खरिद गर्न सरकारसँग पैसा भएन । क्युवामा त्यस्ता अत्यावश्यक सामग्री आइपुग्न विलम्ब भयो ।
तेस्रो पूर्वानुमानः क्युवामा कोभिड–१९ को खोप पु¥याउने एउटै बाटो भनेको संरा अमेरिकी आपूर्ति प्रणाली मात्र हो । यो तर्कले क्युवाबारे यो कुरा नकारेको छ– क्युवामा २ करोडभन्दा बढी जनसङ्ख्या छ । त्यसमध्ये झन्डै ३०.२ प्रतिशत क्युवालीहरूले क्युवामा विकास भएको खोप नै दुवै मात्रा लगाइसकेका छन् ।
जुलाई ९ मा क्युवाको औषधि व्यवस्था विभागले अब्दाला नामको खोपलाई आकस्मिक प्रयोगको निम्ति अनुमति प्रदान ग¥यो । तेस्रो चरणको क्लिनिकल परीक्षणमा सो खोपको प्रभावकारिता ९२ प्रतिशत थियो । त्यस्तै अर्को खोप सोबेरानाले ९१ प्रतिशत प्रभावकारिता प्रमाणित ग¥यो । त्यो खोप पनि प्रयोग अनुमति पाउने अवस्थामा पुगिसकेको छ । आजकै गतिमा खोप अभियान अघि बढाउने हो भने आगामी अक्टोबर वा नोभेम्बर महिनाभित्र क्युवाका सबै जनताले खोप लगाइसक्नेछन् । खोप उत्पादनको निम्ति आवश्यक कच्चा पदार्थ निर्यातलगायत कठिनाइ छन् र त्यस्ता कठिनाइ मुख्यतः संरा अमेरिकी नाकाबन्दीले निम्त्याएको वित्तीय सङ्कुचनको कारण भइरहेको छ ।
संरा अमेरिकाले वास्तवमै क्युवाली जनतालाई मद्दत गर्न चाहेको हो भने उसले ट्रम्प सरकारले थोपरेका २४३ वटा निषेधलाई तत्कालै कलमको एक धर्सोले खारेज गर्नुपर्छ । अमेरिकी काङ्ग्रेसले हरेक वर्ष संयुक्त राष्ट्र सङ्घीय निर्णयले माग गरेअनुसार सम्पूर्णतः नाकाबन्दी हटाउन सक्छ । संयुक्त राष्ट्र सङ्घीय महासभामा हरेक वर्ष अधिकांश देशले क्युवामाथिको नाकाबन्दीको विपक्षमा मतदान गर्दै आएका छन् ।
महामारीको क्रममा विज्ञानले हामी सबैलाई एकै ठाउँमा उभिन बाटो देखाएको थियो । हामी सबै जना रोगको कारणले मात्र डराएका थिएनौँ बरू जलवायु परिवर्तनले निम्त्याएका अभूतपूर्व चुनौती पनि ठूलो चुनौती बनेको थियो ।
यस्तो परिस्थितिमा सबै देशको स्वास्थ्य प्रणालीलाई सहायताको खाँचो छ । कसैलाई पनि न्यूनाङ्कन गरिनुहुन्न । बरू मध्यम तथा न्यून आयका देशहरूमा विश्वव्यापी रूपमै खोपको सघन आवश्यकता बल्झिरहेको कुरालाई ध्यानमा राखेर समयको मागअनुसार सहकार्यलाई अघि बढाइनुपर्छ ।
केही देशहरूले क्युवाली खोप प्रयोग गर्न माग गरिसकेका छन् । खोप समताको निम्ति क्युवाको यो योगदानलाई बाइडेन सरकारले लत्याउने छैन, बरू कदर गर्नेछ भन्ने हाम्रो विश्वास छ । (संरा अमेरिकी कानुन) क्युवाली प्रजातन्त्र ऐन १९९२ ले ‘कुनै पनि जैविक प्राविधिक वस्तु उत्पादनको निम्ति प्रयोग गरिने पदार्थ संरा अमेरिकाबाट क्युवामा निर्यात गर्न’ प्रस्टतः रोक लगाएको छ । जैविक प्राविधिक वस्तुअन्तर्गत खोप पनि समावेश छ ।
क्युवा–संरा अमेरिका सहकार्यले के गर्न सक्छ भन्ने कुराको झलक त हामीले पश्चिम अफ्रिकामा इबोला भाइरस महामारी (सन् २०१३–२०१६) सम्म फैलिँदा देखेका थियौँ । त्यत्तिबेला दुवै देशले रोग फैलिन रोक्न र मानिसको जीवन रक्षा गर्न मिलेर काम गरेका थिए । निःसन्देह संरा अमेरिका र क्युवा सरकार विभिन्न प्रमुख विषयहरूमा फरक मत राख्छन् । तर, प्रमुख प्रश्न क्युवा र संरा अमेरिकाको लागि मात्र होइन, सम्पूर्णतः मानवजातिको लागि देशहरूले एकआपसमा सम्मान गर्दै आपसी अस्तित्व स्वीकार्दै सहकार्य गर्नसक्छ वा सक्दैन भन्ने हो ।
राष्ट्रपति बाइडेन, तपार्इं यदि सही दिशामा हिँड्ने हो भने र क्युवामा रहेका अधिकांश क्युवाली जनताको चाहनालाई तपार्इंले ध्यान दिने हो भने तपाईंले धेरै काम गर्न सक्नुहुन्छ । त्यसको निम्ति तपाईंले क्युवाको सार्वजनिक स्वास्थ्य प्रणालीलाई बेवास्ता गर्ने वा कमजोर बनाउने मात्र होइन, बरू क्युवाका उपलब्धिको पनि सम्मान गर्न सक्नुपर्छ । कोभिड–१९ महामारीले निम्त्याएका चुनौतीको सामना गर्न द्वन्द्वको होइन, थप सहकार्यको खाँचो छ । इतिहासले यसको मूल्याङ्कन गर्नेछ ।
पत्रमा हस्ताक्षर गर्नेहरू
मेदा मौरी पेरेज, बायोक्युवाफर्माका उपसभापति
लुई हेरेरा मार्टिनेज, बायोक्युवाफर्माका सभापतिका सल्लाहकार तथा जेनेटिक इन्जिनियरिङ एन्ड बायोटेक्नोलोजी सेन्टरका पूर्व निर्देशक
अगस्टिन लागे, बायोक्युवाफार्मका सभापतिका सल्लाहकार र मलेक्युलर इम्युनोलोजी सेन्टर (सीआईएम) का पूर्व निर्देशक
भिसेन्टे भेरेज बेनकोमो, फिनले खोप प्रतिष्ठानका निर्देशक
मिट्चेल भाल्देस सोसा, क्युवाली न्युरोविज्ञान केन्द्रका निर्देशक
तानिया क्रोमबेट, सीआईएम क्लिनिकल अध्ययनका निर्देशक
लगायत ९ हजारभन्दा बढी क्युवाली वैज्ञानिक, चिकित्सक र सर्वसाधारण नागरिक
स्रोतः अल जजिरा
नेपाली अनुवादः मनिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *