भर्खरै :

पत्रकार र बुद्धिजीवी किन्दै एमसीसी

अमेरिकी सहस्राब्दी चुनौती परियोजना (एमसीसी) मा नेपाल सामेल हुने वा नहुने विषयमा कुनै टुङ्गो नलाग्दै नेपालको एउटा टेलिभिजनमा सो परियोजनाको पक्षमा विज्ञापन प्रसारण हुँदा देशभक्त नेपाली जनता आक्रोशित बनेका छन् । परियोजनाप्रति नेपाली जनताको व्यापक विरोधको कारण शासक दलहरू यो परियोजना पारित गर्ने प्रक्रिया चाहेर पनि अघि बढाउन सकिरहेका छैनन् । समयसँगै एमसीसी परियोजनामा अन्तरनिहीत देश हितविपरीतका अनेकन वास्तविकता बाहिरिए पनि त्यसको विरोधमा जनमत अझ फराकिलो बन्दै गएको छ ।
एसियामा आफ्नो साम्राज्यवादी प्रभाव अझ बलियो बनाउने रणनीतिक लक्ष्यसहित संरा अमेरिकाले अघि सारेको हिन्द–प्रशान्त रणनीति (आईपीएस) अन्तर्गत सफ्ट पावर विस्तारको लागि ल्याइएको एमसीसीले नेपाललाई शक्ति देशहरूको खिचातानीमा पु¥याउने वास्तविकता कसैबाट लुकेको छैन । एमसीसीमार्फत नेपालमा आफ्नो प्रभाव विस्तार गरी चीनलाई घेराबन्दी गर्ने आफ्नो दीर्घकालीन योजना पूरा गर्न नेपाली भूमि प्रयोग गर्नु नै यो परियोजनाको भित्री लक्ष्य हो । यो वास्तविकता क्रमशः खुल्दै गएपछि परियोजनाको प्रक्रिया अघि बढ्न सकेको छैन । अफसोच, नेपालकै एपी वन टेलिभिजनले भने एमसीसी परियोजनाको पक्षमा विज्ञापन सम्प्रेषण गरिरहेको छ ।
एमसीसी परियोजना पारित गर्न जनमत बनाउन यसअघि पनि नेपालका केही कथित मूलधारका सञ्चारमाध्यमलाई आर्थिक प्रलोभन देखाएर हातमा लिएको चर्चा चलेको थियो । साथै नेपालका केही बुद्धिजीवी, लेखक र स्तम्भकारहरूलाई समेत यो परियोजनाको पक्षमा लेख्न र बोल्न त्यसरी नै भित्री गतिविधि भएको बताइएको थियो । त्यसकारण सुरूमा आफूलाई जानेबुझेका र विद्वान् कहलिएका, अङ्ग्रेजी बोल्न र लेख्न जान्ने केही मानिसहरूले परियोजना देशको हितमा रहेको भनी चर्कै हल्ला भएको थियो । उनीहरूले केही सञ्चारमाध्यमको दबु प्रयोग गरेर एमसीसीको वास्तविकता छोपेर सतही कुरामात्र प्रचारमा ल्याइएको थियो । कतिसम्म भने अमेरिकी अधिकारीहरूले समेत एमसीसी आइपीएसको हिस्सा भएको प्रस्ट पारिसकेपछि पनि केही नेपाली स्वघोषित विद्वान्हरू एमसीसी आइपीएसको हिस्सा नभएको र आइपीएस स्थापना हुनुअघि नै एमसीसी भएकोले ती दुईबीच कुनै सम्बन्ध नभएको भन्दै दिउँसै झूट बोलेका थिए । तर, जसै एमसीसीका वास्तविकता जनतासमक्ष उजागर हुँदै गयो, ती कथित विद्वान्हरूको दम घट्यो ।
एपी वनमा प्रसारित विज्ञापन पनि एमसीसीको नाममा नेपाली समाजलाई भ्रष्ट बनाउने शिलशिला हो । हाम्रो आफ्नो आँखैअघि अहिले अफगानिस्तान छ । अफगानिस्तानमा सन् २००१ पछि संरा अमेरिकाले खर्बौँ अमेरिकी डलर खर्च गरेर पनि आफ्नो लक्ष्य पूरा गर्न सकेन । बरू अमेरिकी डलरको कारण सिङ्गो अफगानी समाज भ्रष्ट बन्यो । एमसीसीले पनि नेपाली समाजलाई डलर देखाएर भ्रष्ट बनाउने काम भइरहेको छ । साम्राज्यवादी देशहरूले आफ्नो मुद्दा लागु गर्न सबभन्दा पहिला हातमा लिने तप्कामध्ये पत्रकार र सञ्चार उद्यमी पनि हुन् । सञ्चारमाध्यमले जनमत सिर्जना गर्न र जनमतलाई कता लाने भन्ने कुराको निक्र्योल गर्न निर्णायक भूमिका खेल्ने गरेको छ । अहिले एमसीसी परियोजनामार्फत नेपाली भूमिमा आफ्नो बुट बजार्न आतुर संरा अमेरिकी साम्राज्यवाद नेपालमा नाफाको निम्ति चलेका सञ्चारमाध्यम, पैसामा आफ्नो बौद्धिकता बेच्ने बुद्धिजीवी र मीठो मसिनोमा बेचिने कलमजीवीहरूलाई किन्ने काम गरिरहेको छ । त्यस्ता सञ्चारमाध्यम र बुद्धिजीवीको लहैलहैमा लागेर नेपाली जनताले कदापि देशको सार्वभौमिकता र स्वाधीन अस्तित्व बेच्न सक्दैन । समृद्धिको नाममा देश बेच्ने देशघाती चिन्तनमा नेपाली जनता कदापि पछि लाग्नु ठीक होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *