भर्खरै :

९/११ हमलापछिका बीस वर्ष : अफगान युद्ध सकियो, आतङ्कवादविरोधी युद्ध चालु छ

संयुक्त राज्य अमेरिकामा ९/११ को हमला भएको यो वर्ष बीस वर्ष पुगेको छ । हमला भएको एक दिनपछि सन् २००१ को सेप्टेम्बर १२ मा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले प्रस्ताव नं १३६८ पारित ग¥यो । ‘आतङ्कवादी गतिविधिका कारण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा सबै खालका चुनौतीको सामना गर्ने’ सो प्रस्तावमा प्रतिबद्धता व्यक्त गरिएको छ । साथै ‘संयुक्त राष्ट्र सङ्घको बडापत्रअनुसार व्यक्तिगत वा सामूहिक आत्मरक्षालाई अन्तरनिहीत अधिकार’ मान्ने पनि त्यसमा उल्लेख छ । तत्कालीन अमेरिकी सरकारले आतङ्कवादविरूद्ध युद्धको घोषणा गर्दै अल–कायदा र तालिवानविरूद्ध युद्ध गर्न विभिन्न देशहरूको सैन्य बल गठन ग¥यो ।
बीस वर्षपछि बाइडेन सरकारले त्यो युद्ध समाप्त भएको घोषणा ग¥यो । अफगानिस्तानबाट हठात् फर्केपछि संरा अमेरिकामाथि घातक प्रभाव पारेको छ । अफगानिस्तानको असफलताले अमेरिकाको छवि धमिल्यायो भने अमेरिकी नरम शक्ति (सफ्ट पावर) पनि क्षीण बन्यो । अफगानिस्तानमा संरा अमेरिकी युद्ध त्यो देश ‘साम्राज्यको चिहान’ भएको अर्को दृष्टान्त बन्यो । यसो हुनुका कारण के होला ?
प्रथमतः, बुश सरकारले इराक युद्धको थालनी गरेर रणनीतिक गल्ती ग¥यो । संरा अमेरिकाले अफगान जनतालाई असल र स्वच्छ सरकार बनाउन मद्दत गरेको भए अफगानिस्तानको आजको अवस्था फरक हुने थियो । प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित अफगान सरकारले अफगानिस्तानलाई शासनको सही बाटोमा डो¥याउन सकिन्थ्यो, अफगानिस्तानमा राष्ट्रिय स्थायित्व कायम गर्न अफगान सेनालाई तालिम दिन वा राष्ट्रिय मेलमिलाप कायम गर्न सकिन्थ्यो ।
तर, बुश सरकारका पुराना र नयाँ अनुदार शक्तिहरू जस्तै तत्कालीन उपराष्ट्रपति डिक चेनी, रक्षा मन्त्री डोनाल्ड रम्सफिल्ड र उप रक्षा मन्त्री पल उल्फविट्जहरू इराकबाट सद्दाम हुस्सेनलाई सत्ताच्युत गर्नेमा अर्जुनदृष्टि लगाएका थिए । खाडी युद्ध सुरू भएपछि उनीहरू त्यही लक्ष्य प्राप्त गर्न दिलोज्यान दिएर लागे । जर्ज डब्ल्यु बुश राष्ट्रपति भएपछि सद्दाम हुस्सेनलाई पनि ‘दुष्टहरूको मण्डली’मा उने ।
सन् २००३ मार्चमा बुश सरकारले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को स्वीकृतिबिना नै इराकविरूद्ध एकपक्षीय हठात् आक्रमण गरेको थियो । त्यसपछि इराक ‘प्रतिआतङ्कवाद’ को प्रमुख युद्धभूमि बन्यो । त्यसले सबैको ध्यान अफगान युद्धबाट अन्यत्र मोडियो । सन् २००३ को अन्त्यसम्ममा अफगानिस्तानमा ६ हजार सरकारी सिपाहींलाई मात्र तालिम दिइएको थियो ।
इराक युद्धको विरोध गरेका राष्ट्रपति बाराक ओबामाले आफ्नो चुनावी अभियानमा गरेका वाचा पूरा गर्नेमा गम्भीर गल्ती गरे र सन् २०११ मा मात्र इराकबाट सबै संरा अमेरिकी सेना फिर्ता गरे । त्यसले इराकको सत्तामा ठुलो रिक्तता देखियो । परिणामतः ‘इस्लामिक राज्य’ आईएसको उदय भयो ।
ओबामाले अफगान युद्धको विषयमा केही गर्न खोजे । उनले सन् २००९ को मार्च महिनामा अफगानिस्तान र पाकिस्तानको लागि नयाँ रणनीति अघि सारे ।
सन् २०११ को मे २ मा संरा अमेरिकी जलसैनिक टुकडी सिलले ओसामा बिन लादेनको हत्या ग¥यो । त्यसपछि ओबामाले अफगानिस्तानबाट फिर्ता हुने आफ्नो योजना सार्वजनिक गरे । सन् २०११ को जुलाइदेखि अमेरिकी सेनाले अफगानी राष्ट्रिय सुरक्षा फौजलाई आफ्नो जिम्मेवारी क्रमशः हस्तान्तरण गर्दै गयो । सन् २०१४ को अन्त्यसम्ममा सबै अमेरिकी सेना फिर्ता गर्ने उनले घोषणा गरेका थिए ।
सन् २०१२ को मे महिनामा सिकागोमा भएको नाटो शिखर सम्मेलनमा ओबामाले अफगानिस्तान नाटो बाहिरको आफ्नो मुख्य साझेदार देश भएको बताए र स्थायित्व तथा पुनःराष्ट्र निर्माणमा अफगानिस्तानलाई मद्दत गर्नेमा सबैले जिम्मेवारी बाँडेर लिन साझेदार देशहरूलाई आग्रह गरे । ओबामा सरकारले आफ्नो सबै ध्यान अल–कायदामा केन्द्रित ग¥यो तथा तालिवानलाई विभाजित र निरूत्साहित बनाउन प्रयास गरिरह्यो । उनले बारम्बार गरिबीविरूद्ध लडिरहेका तालिवान र आफ्नो राजनीतिक आस्थानको निम्ति लडिरहेका तालिवानबीच भेद गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय मेलमिलापमा तालिवानको मध्यस्थतामा पुग्ने प्रयासस्वरूप पनि उनले यो कुरालाई जोड दिने गरेका थिए ।

अफगानिस्तानमा नाटो सेना


राष्ट्रिय मेलमिलापको लागि शान्ति वार्तामा सहभागी बन्न तालिवानले कहिल्यै पनि अस्वीकार गरेन । तर, उनीहरूले अफगान भूमिबाट सबै विदेशी सेना फिर्ता हुनुपर्ने माग राख्दै आएका थिए । संरा अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय सेनाले अफगानिस्तानमा कब्जा जमाएको उनीहरू भोगिरहेका थिए । त्यसकारण ओबामाको कारण रोकियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्ध समाप्त गर्ने निर्णय गरे र तालिवानको सम्पर्कमा गए । ट्रम्प सरकारले तालिवानसँग सन् २०२० को फेब्रुअरी २९ मा दोहामा शान्ति सम्झौता गरे । सम्झौतामा संरा अमेरिकाले सहमतिको घोषणा भएको चौध महिनाभित्र पूर्णरूपमा अमेरिकी सेना अफगान भूमिबाट फिर्ता गर्ने प्रतिबद्धता व्यक्त ग¥यो । सम्झौताअन्तर्गत तालिवानले पनि अफगान भूमिमा रहेका संरा अमेरिका वा उसका साझेदार देशका सेनालाई कुनै पनि आतङ्कवादी समूहलाई हमला गर्न नलगाउने वाचा ग¥यो । यो सम्झौताको सबभन्दा घातक पक्ष भनेको अफगान सरकारको अनुपस्थितिमै यसको मस्यौदा हुनुका साथै सहमति पनि गरियो । संरा अमेरिका र अन्तर्राष्ट्रिय समुदायबाट समेत मान्यता प्राप्त यो सम्झौतामा अफगान सरकारको कुनै उपस्थिति थिएन ।
अफगान सरकार दोहा सम्झौताको कुनै पक्ष थिएन । सहमतिमा अफगान सरकारको नाम पनि उल्लेख थिएन । तालिवानसँगको सहमतिमा संरा अमेरिकी आड प्राप्त अफगान सरकारको उपस्थिति नहुनु अविश्वसनीय कुरा थियो । यसप्रकारको अमेरिकी व्यवहारले अफगान सरकारको विद्यमान वैधतालाई अस्वीकार गरेको थियो ।
बाइडेन सरकारले आफ्ना पूर्ववर्ती सरकारका असफल योजनाको पदचाप पछ्याउँदै अफगान युद्ध समाप्त भएको घोषणा गरे । अफगानिस्तानबाट फिर्ता प्रक्रिया र उद्धार कार्य ज्यादै भयावह र भद्रगोल अवस्थामा गरियो । अफगानिस्तानमा अमेरिकीहरूको जम्मा सङ्ख्या कति र फिर्ता वा उद्धार गर्नुपर्नेको सङ्ख्या कति भन्ने कुरा नै निश्चय नभएपछि त्यहाँबाट अमेरिकी सेनाको उद्धार कार्य ज्यादै भद्रगोल बन्यो । अफगानिस्तानको बगराम विमानस्थलबाट भएको उद्धार कार्य कुनै अपहरणभन्दा कम थिएन । साथै अफगानिस्तानमा लडेका विभिन्न देशका साझेदार सेनासँग पनि संवाद अपुग थियो । बाइडेन सरकारले विस्तृतरूपमा योजना अघि सारेको भए यी सबै समस्या समाधान हुने थियो ।
दोस्रो, यसले अमेरिकीहरू आफ्ना मूल्य मान्यता अफगानिस्तानमा थोपर्ने प्रयासमा असफल भएको देखाएको छ । शीतयुद्धको समाप्तिपछि संरा अमेरिकी सरकारहरूले अमेरिकी शैलीको प्रजातन्त्रलाई प्रवद्र्धन गर्दैै आएको छ । उसले आफ्नो वैदेशिक नीतिका तीन खम्बामध्ये एउटा खम्बामा अमेरिकी शैलीको प्रजातन्त्र र मूल्य मान्यतालाई उल्लेख गरेको छ । बुश सरकार प्रजातन्त्र प्रवद्र्धनको विषयमा विशेषरूपमा उत्साहित थियो । ‘हाम्रो विश्वबाट तानाशाहीको अन्त्य गर्ने’ अन्तिम लक्ष्यका साथ बुश सरकारले स्वतन्त्रताको मुद्दालाई अघि सारेको थियो र अफगानिस्तानमाथिको युद्धलाई ‘दिगो स्वतन्त्रताको अभियान’ भनी नामाकरण गरेको थियो ।
आफ्नो कार्यकालमा वुशले मध्यपूर्वमा पश्चिमा शैलीको प्रजातन्त्र प्रवद्र्धन गर्ने महत्वाकाङ्क्षी योजना बनाएका थिए । उसले २२ वटा अरब र इस्लामिक देशका साथै अफगानिस्तानमा त्यस्तै ढाँचाको प्रजातन्त्र स्थापना गर्न चाहेको थियो । तीस वर्षको अवधिमा उसले विस्तृत राजनीतिक, आर्थिक, कूटनीतिक र सांस्कृतिक सुधार लागु गर्ने लक्ष्य बनाएको थियो । त्यसलाई उसले ‘बृहत् मध्यपूर्व अभियान’ नामाकरण गरेको थियो । त्यही भएर तालिवानले अफगान युद्धलाई ‘इस्लामिक सभ्यताविरूद्धको युद्ध’ भनेको हो । संरा अमेरिकाले यो अभियानमार्फत् अफगानिस्तान र इराकमा अमेरिकी मूल्यमान्यता थोपर्न आफूलाई शक्तिशाली बनाउन सकिने अपेक्षा गरेको थियो ।
तर, प्रजातन्त्र भनेको कोकाकोला होइन, जसको स्वाद संसारको जहाँ पनि एउटै हुन्छ । प्रजातन्त्र भनेको ऐतिहासिक विकासक्रमको उत्पादन हो । फरक फरक सभ्यतामा प्रजातन्त्रको रूप र आन्तर्य फरक फरक हुन्छ । संरा अमेरिकाले इराक र अफगानिस्तानमा जबरजस्ती आफ्नो अमेरिकी शैलीको प्रजातन्त्र थोपर्न खोज्यो । फलतः ऊ ‘सभ्यताको द्वन्द्व’मा फस्यो ।
अगस्ट ३१ को आफ्नो भाषणमा बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ताको रक्षा गर्दै भने,“अफगानिस्तानबारे यो निर्णय अफगानिस्ताानबारे मात्र होइन । बरू अरू देशलाई पुनः बनाउने प्रमुख सैनिक कारबाहीको युगको अन्त्यसँग पनि यो सम्बन्धित छ ।”
यो पाठ सिक्न संरा अमेरिकालाई बीस वर्ष लाग्यो र निकै चर्को मूल्यमा उसले यो पाठ सिक्यो । प्रगति पक्कै भएको छ । तर, जति चाहिने हो, त्यति प्रगति भने भएको छैन । आजको संसारमा राजनीतिक, आर्थिक, वैचारिक र अन्य गैरसैनिक माध्यमबाट पनि कुनै अर्को देशमा परिवर्तनको लागि काम गर्न हुँदैन ।
तेस्रो, भ्रष्टाचारको गहिरो जरा अफगान राष्ट्रिय सेनामा विभाजनको अर्को महत्वपूर्ण कारण हो । अफगानिस्तानमा वित्तीय जटिलताको कारण अन्तर्राष्ट्रिय सहायताको अत्यन्त जरूरी छ । त्यसकारण अफगानी कर्मचारीहरूलाई तलब दिन अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआईएले बोराका बोरा अमेरिकी डलर अफगानिस्तान पठाएको थियो । त्यो पैसाले भने अफगानिस्तानमा भ्रष्टाचार संस्थागत गर्न टेवा पु¥यायो । व्यापक अफगान जनता होइन, भ्रष्ट अफगानी अधिकारी र उच्च वर्गले अमेरिका र युरोपले अफगानिस्तानको पुनःनिर्माणको निम्ति दिएको ठूलो परिमाणको वित्तीय सहायताबाट लाभ उठायो ।
आफूले पाउनुपर्ने तलब पनि नपाएका अफगान सिपाहीहरूले तालिवानलाई आफ्ना हातहतियार र अन्य बन्दोबस्तीका सामग्री बेचे । माथिदेखि तलसम्मको भ्रष्टाचारले अफगानिस्तानको सेनालाई ध्वस्त बनायो । संरा अमेरिकी सेना फिर्ता भएपछि अफगान सेना केही साता पनि लड्न सकेनन् । हातहतियारबाट सुसज्जित ३ लाख अफगान सेनाको तालिवानसँग तुलना पनि हुनसक्दैनथ्यो । तर, तालिवानले वायुवेगमा अफगानिस्तानका अधिकांश भूभाग सजिलै कब्जा जमायो । भ्रष्ट सेनाले कुनै पनि युद्ध जित्न सक्दैन । मनोवैज्ञानिक रूपमा पराजित अफगान सेनाले धेरै अघि नै लड्ने हौसला गुमाइसकेको थियो ।
अफगानिस्तानमा अमेरिकी असफलताका अरू पनि धेरै कारण छन् ।
अफगानिस्तान खासै भन्दा कुनै आधुनिक राज्य होइन । बरू सामन्ती शेख र क्षेत्रीय शासकहरूको नियन्त्रणमा रहेका विभिन्न क्षेत्रहरूको सङ्घ जस्तो राज्य हो । संरा अमेरिकी सेनाको समर्थनमा पनि अफगान सरकारले राजधानी काबुल र अन्य केही प्रमुख सहरमा मात्र प्रभाव पार्न सकेको थियो । विशाल ग्रामीण क्षेत्रमा अफगान सरकारले केही प्रभाव पार्न सकेको थिएन । संरा अमेरिकी सेनाको अनुशासनहीनताको कारण अफगानिस्तानका धेरै क्षेत्रमा मनपर्दो ‘हत्या’ र ‘बम हमला’ भएका थिए ।
अफगान जनता र संरा अमेरिकी सेनाबीच द्वन्द्वले अमेरिकी सेनाबीच इस्लामिक परम्पराप्रति असम्मान बढ्यो । अमेरिकी सेनालाई स्थानीय अफगान जनताले ‘हमलाकारी सेना’ को रूपमा लिए । उनीहरू जति लामो अवधि बसे, उनीहरूले हेर्ने दृष्टिकोण त्यस्तै हुन थाल्यो ।
सन् २००१ मा तालिवान सत्ता फालेर तत्कालीन बुश सरकारले अफगानिस्तानको ‘मुक्ति’ घोषणा गरिसकेको बीस वर्षपछि तालिवानले संरा अमेरिका फिर्ता हुने बित्तिक्कै विदेशी कब्जाबाट अफगानिस्तानको ‘मुक्ति’ को लागि भएको लडाईमा विजय हासिल गरेको दाबी गरेको छ ।
अफगानिस्तानमा अझै धेरै अनिश्चिय कुरा बाँकी छन् । अहिले पनि त्यहाँ एक दर्जनभन्दा बढी आतङ्कवादी सङ्गठन छन् । अफगानिस्तानलाई आतङ्कवादीहरूको केन्द्र नबनाउने घोषणा गरे पनि तालिवानले यो वाचा कसरी पूरा गर्ला भन्ने प्रश्न भने अझै पनि अन्तर्राष्ट्रिय समुदायको मूल चासोको विषय बनेको छ । तालिवानले सबै आतङ्कवादी सङ्गठनबाट सम्बन्ध विच्छेद गर्छ वा गर्दैन भन्ने कुरामा त्यहाँको नयाँ सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिन्छ वा दिँदैन भन्ने कुरा निर्भर रहनेछ । संरा अमेरिकी सेनाको फिर्ताले पूर्णता नपाउँदै आईएसआईएस–केको हमला पूर्वचेतावनी बनेको छ ।
संरा अमेरिकी इतिहासको सबभन्दा लामो लडाईँ सकियो । तर, आतङ्कवादविरोधी लडाईँ अझै चालु नै छ । अफगानिस्तानलाई अल–कायदा, आईएसआईएस र पूर्वी तुर्कस्थान आतङ्कवादीहरूलाई अन्य देशमाथि हमलाको लागि प्रयोग गर्न दिनुहुन्न । बीस वर्षअघि भएको ९/११ हमलाको पीडादायी सम्झनापछि अझै पनि संसारका जनता सजगतापूर्वक बस्नुपर्छ ।
(लेखक चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत अमेरिकी अध्ययन केन्द्रका वरिष्ठ अध्येता हुनुहुन्छ ।)
स्रोत :सीजीटीएन
नेपाली अनुवाद :सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *