भर्खरै :

बीस वर्ष अर्थात् सेप्टेम्बर ११ पछि

बीस वर्षअघि सन् २००१ को सेप्टेम्बर ११ मा संरा अमेरिकाको वाशिङ्टन सहर र न्यु योर्क सहरमा भएको हमलाले विश्व इतिहासको दिशा परिवर्तन गरिदियो । ‘संसारकै सर्वशक्तिमान्’ र ‘सबभन्दा सुरक्षित’ ठानिएको संरा अमेरिकाको नाभीमै भएको अभूतपूर्व हमला कति मानिसलाई पत्याउन पनि गा¥हो भयो । त्यो हमला आतङ्कवादी हमला भएकोमा कुनै विवाद छैन किनभने हजारौँको सङ्ख्यामा निहत्था र निर्दोष मानिसको मृत्यु र घाइते हुने गरी भएको त्यो हमलाले अमेरिकी समाजमा मात्र होइन, संसारभर नै गहिरो चोट पु¥यायो । तर, संरा अमेरिकामा भएको त्यो हमलालाई अवश्यम्भावी र स्वाभाविक मान्ने मत पनि कमजोर भने थिएन किनभने इतिहासमा संरा अमेरिकाले विभिन्न देशमा आफ्नो साम्राज्य विस्तारको लागि गरेको अपराधलाई जोख्दा सेप्टेम्बर ११ को घटनासमेत हलुङ्गो हुने अवस्थालाई संसारले भुलेको थिएन ।
चिलीका जनताले सन् १९७३ को सेप्टेम्बर ११ कै दिन संरा अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआईएको आडमा साल्भाडोर एयेन्डेको प्रजातान्त्रिक सरकार अपदस्थ गरी सैनिक तानाशाही शासन लादेको घटनालाई सम्झे । भियतनाम, कम्बोडिया र कोरियाका जनताले संरा अमेरिकी हमलाको कारण अझै पनि नसुकेको आलो रगत र ध्वस्त संरचनाहरू सम्झे । अफ्रिका र ल्याटिन अमेरिकामा त्यस्तो कुनै देश बाँकी थिएन, जसको भूमिमा संरा अमेरिकी हस्तक्षेपको घाउ नलागेको होस् । प्यालेस्टाइनीहरू संरा अमेरिकी शासक वर्गको आडमा इजरायलीहरूले आफ्नो भूमिमाथि कब्जाविरूद्ध अझै पनि गुलेली लिएर लडिरहेका थिए ।
सेप्टेम्बर ११ को हमलापछि संरा अमेरिका घाइते बाघजस्तै संसारभर अझ बढी आक्रामक भएर अर्को आतङ्क फैलाउँदै हिँड्यो । अल कायदाका नेता ओसामा बिन लादेनलाई लुकाएको निहुँ बनाएर अफगानिस्तानमाथि हमला ग¥यो । जबकि बिन लादेन त्यत्तिबेला अफगानिस्तानमा भएको कुरा अझै पनि पुष्टि हुनसकेको छैन । सेप्टेम्बर ११ को हमलालाई बहाना बनाएर संरा अमेरिकाले आफूसँगै राजनीतिक, व्यापारिक र वैचारिक मतभिन्नता राख्ने संसारका कुनै पनि देशमाथि हमलाको लागि पूर्वावस्था बनायो । संरा अमेरिकाले संसारभर या त आफ्नो तखतमा बस्न अथवा हमलाको निम्ति तयार रहन चेतावनी दियो । सिरिया, प्रजग कोरिया, क्युवाजस्ता देशहरूलाई ‘दुष्टहरूको मण्डली’ को उपमा दिएर अर्को अफगानिस्तान बनाउने धम्की दिन थाल्यो । ‘आतङ्कवादविरोधी युद्ध’ को नाममा संरा अमेरिकाले संसारभर अर्को आतङ्क फैलाउने अपराध ग¥यो । तर, हतियारले संसारभर आफ्नो शासन लाद्न खोजेको संरा अमेरिका कहीं पनि सफल भएन । अफगानिस्तानमा बीस वर्ष लामो लडाइँपछि तालिवानलाई पराजित गर्न सकेन । इराकमाथिको हमलाले सद्दाम हुस्सेन सत्ताच्युत भए । तर, त्यहाँ अहिलेको अस्थिर र आतङ्कपूर्ण अवस्थाले इराकी जनता सद्दाम हुस्सेनको शासनकाल स्मरण गरिरहेका छन् । बितेका बीस वर्षमा संरा अमेरिकाले ‘प्रजातन्त्र, मानव अधिकार र उदार अर्थव्यवस्था’ लाई नाराको रूपमा खुब भट्यायो । तर, अमेरिकाले थोपर्न खोजेको पश्चिमा मूल्यमान्यता र आदर्श सर्वत्र बहिष्कृत भयो । संसारमा संरा अमेरिका अझ बदनाममात्र भएन बरू युद्ध र षड्यन्त्रमा धेरै लगानी गर्नुपर्दा संरा अमेरिकी जनताको जीवनस्तर पनि क्रमशः ओरालो लाग्यो । जीर्ण बनेका पूर्वाधारको जीर्णोद्धार र पुनःनिर्माण गर्न नसक्दा अमेरिकी अर्थतन्त्रमा सङ्कट आयो । कोभिड–१९ महामारीको कारण अमेरिका सबभन्दा बढी प्रभावित हुनुको मूल कारण उसको रूग्न स्वास्थ्य पूर्वाधार पनि हो ।
बीस वर्षको अवधिमा अमेरिकाले लडेको इतिहासकै सबभन्दा लामो लडाइँले उसलाई केही दिएन । बरू उल्टो उसलाई कमजोर बनायो । सेप्टेम्बर ११ को हमला दुःखद थियो । तर, त्यसपछि संरा अमेरिकाले संसारभर फैलाएको आतङ्क अझ बढी निर्मम थियो । साम्राज्यवादले संसारभर कुनै पनि निहुँमा आतङ्क, अशान्ति र अस्थिरतामात्र फैलाउने सत्य बितेका बीस वर्षको समीक्षाको पाठ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *